भर्खरै :

सडकमा जानुअघि नेकाले दिनुपर्ने जवाफ

काठमाडौँ, ८ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जनादेशअनुसारको राजनीतिक जिम्मेवारी पूरा गर्न नसक्दा देशले पछिल्लो अस्थिर अवस्थाको सामना गर्नुपरेको हो । २०७४ सालको निर्वाचनले नेकालाई दोस्रो ठूलो दल बनाएर प्रमुख प्रतिपक्षमा रहने जनादेश प्राप्त भयो । सत्ता राजनीतिमा अनुभवी नेकालाई जनताले यो पटक प्रतिपक्षको बेन्चमा राखेर त्यो राजनीतिक भूमिकामा परीक्षण गर्न खोजेको थियो । तर, सत्ताकै न्यानोमा हुर्केको नेकाको नेतृत्वको निम्ति प्रतिपक्षतिरका कुर्सीहरू चिसा थिए । सत्तापक्षका कमीकमजोरीको सशक्त विरोध गर्ने छायाँ सरकारको रूपमा प्रमुख प्रतिपक्षको भूमिका निभाउन नेकालाई हम्मेहम्मे भयो ।
एकातिर क्यान्सर बनिसकेको नेकाभित्रको अन्तरकलहले उसलाई कमजोर बनाइसकेको छ भने अर्कोतिर सत्तापक्षको ठूलो सङ्ख्याले पनि उसलाई लगातार हतास बनाइरह्यो । यीबाहेक नेका नेताहरूको लोभी–पापी चरित्र त छँदै छ ।
फलतः सत्तापक्षको खरो विरोधमा उत्रनुपर्ने नेकाका प्रमुख नेताहरू उल्टो सत्तापक्षसँग पद र सुविधाको मोलमोलाइमा लागे । सत्तापक्षको निम्ति प्रमुख प्रतिपक्षलाई यसरी गुलियोमा भुलाइरहनु आफ्नो सरकारको आयुको निम्ति सुखद् नै थियो । २०६२÷०६३ सालपछि विशेषतः शासक दलहरूबीचको भागबन्डाको स्वाद नेकाले आफूलाई जनताले प्रमुख प्रतिपक्षको जिम्मेवारी दिएको अवस्थामा पनि छोड्न सकेन । प्रमुख प्रतिपक्ष दलका नेताहरू नै सत्ता केन्द्रहरूमा झोली फैलिरहेको विडम्बनापूर्ण र राजनीतिकरूपमा अनैतिक दृश्य यसबीचमा देखियो ।
२०४६ सालको जनआन्दोलनपछि देशको राजनीतिलाई फोहोरी र अनैतिक बनाउन सबभन्दा बढी जिम्मेवार नेका नै थियो । राजनीतिमा अपराध, अनैतिकताको भेल भित्र्याउने नेकाकै कारण समयान्तरमा देशले लामो समय राजनीतिक अस्थिरता भोग्नुप¥यो । उत्तिबेला सत्ताको आडमा नेकाले गरेको गल्ती यतिबेला प्रमुख प्रतिपक्षमा रहेर पनि निरन्तरता दिइरहेको छ ।
‘संसद विघटन’ को विरोधमा नेकाले आन्दोलन गर्ने तय गरेको छ । तर, सडकमा जनताले प्रश्न गर्नेछन्, “प्रमुख प्रतिपक्ष दलले सत्तापक्षसँग किन पदीय भागबन्डाको लागि हात फैलायो ? प्रधानमन्त्रीसमक्ष आफ्नो भाग खोज्न नेका सभापति किन बरोबर बालुवाटार प्रवेश ग¥यो ?” यी प्रश्नहरूको स्पष्ट जवाफ दिने तयारीका साथ नेकाका नेता–कार्यकर्ता सडकमा आउनु बुद्धिमानी हुनसक्छ । राजनीतिले बाटो छोडेपछि देशलाई फेरि पनि सम्हालिन लामो समय लाग्ने गर्छ । तर, राजनीतिलाई मूल बाटोबाट अन्यत्र हिँडाउन नेका मुख्यतः जिम्मेवार छ । प्रजातन्त्र र संसदीय व्यवस्थालाई आफ्नो आदर्श मान्ने नेकाका आजका नेताहरू आफ्नो स्वार्थको निम्ति ती मूल आदर्शलाई समेत नालीमा मिल्काउन लाज नमानेको हुनाले नै आज देश फेरि अर्को राजनीतिक अन्योलको अवस्थामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *