भर्खरै :

एउटा सार्थक भेट

नारायणमान बिजुक्छेँ साहित्यिक दबुहरूमा बारम्बार नेपाली साहित्यमा समालोचना साहित्यको खडेरी परेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । ‘लेखकले नदेखेको कुरा समालोचकले देखाएको हुन्छ । चित्रकारले सिसाकलमबाट कसैको पोटे«ट कोर्दा अलि उठेको देखाउनुपर्ने ठाउँमा केही धर्साहरू कोरेजस्तै समालोचनाले साहित्यको उठेको पक्ष उजागर गर्ने काम गरेको हुन्छ । समालोचना साहित्यले लेखनमा परिपक्वता ल्याउँछ । आजकल समालोचनाको नाममा चाप्लुसी घस्ने काम बढ्ता हुने गरेको छ ।’ यसरी समालोचना साहित्यको महत्वलाई जोड दिँदै गर्दा उहाँले नछुटाई लिने एउटा नाम हो–गोविन्दप्रसाद लोहनी ।
“२०१२–१३ सालदेखि ईश्वर बराल र गोविन्दप्रसाद लोहनीबीच हुने साहित्यिक बहस वा शास्त्रार्थ सैद्धान्तिक हुन्थ्यो । कृष्णचन्द्रसिं प्रधान र तारानाथ शर्माबीच हुने साहित्यिक छलफल पनि वैचारिक हुन्थ्यो । त्यतिबेला उहाँहरूका लामा–लामा बहस र छलफल पढेर नयाँ साहित्य अनुरागीहरू साहित्य लेखनमा अभिप्रेरित हुन्थे । ती हस्तीहरूका बहस पुस्तकाकारको रूपमा छाप्न पाए अहिलेका नयाँ पुस्तालाई नेपाली साहित्यको समालोचना के–कस्ता थिए भनी परिचय हुने थियो ।” उहाँ बरोबर भन्ने गर्नुहुन्थ्यो ।
“साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानले यस्तो काममा ध्यान दिएनन् । भागबन्डाले त्यहाँ यस्ता गम्भीर विषयमा ध्यान दिने को ? हामीले नै केही गर्न सके पुरानो पुस्ताको योगदानको कदर र नयाँ पुस्ताको लागि सिक्ने सामग्री तयार हुने थियो ।” साहित्यप्रेमीहरूसँग औपचारिक र अनौपचारिक भेटमा बिजुक्छेँले नछुटाई दोहो¥याउने विचार हुन्– यी ।
उहाँले यी विचारहरू साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानका घुम्ने कुर्सीमा बस्ने महानुभावहरूकै अघि पनि धेरै पटक व्यक्त गरिसक्नुभएको छ अथवा उहाँका यस्ता विचार सुनेर सहमतिमा टाउका हल्लाउनेहरू पनि धेरै जना अहिले ती कुर्सीमा पुगेका छन् । तर, पार्टीको सदस्यता देखाएर पदमा पुगेकाहरूले इतिहासका यस्ता गम्भीर र महत्वका विषयलाई सजिलै बुझ्ने कुरा पनि भएन । सायद, यही कुराले बिजुक्छेँलाई लामो समयदेखि मनमा कतै घोचिरहेको हुँदो हो । विशेषतः लोहनीजस्तै विगतमा कुनै समय देश र समाजको लागि अतुलनीय योगदान गरेका केही व्यक्तित्वहरूको गुनिलो सम्मान हुुुनुअघि नै उहाँहरूलाई गुमाउनु परेको पीडाले उहाँको मनमा इतिहासका त्यस्ता व्यक्तित्वहरूको सम्झना अझ गाढा भएको हुनुपर्दछ ।
गोविन्द लोहनीसँग भेटेर उहाँले विगतमा लेख्नुभएका अमूल्य निधिको संरक्षणको लागि बिजुक्छेँलाई अन्तरमनले घच्घच्याइरहेको हुनुपर्दछ । गएको असार ३ गते शुक्रबारको दिन बिजुक्छेँ त्यसै कारण झन्डै बीस वर्षपछि खोजी खोजी लोहनीको निवास घट्टेकुलोमा घर पुग्नुभयो ।

भेटमा गोविन्दप्रसाद लोहनी, नारायणमान बिजुक्छेँ र लोहनीका छोरा कपिल लोहनी बायाँबाट

लोहनी सायद बिजुक्छेँको आगमनको प्रतीक्षामा हुनुहुन्थ्यो । गेट खोलेको आवाज सुनिने बित्तिकै उहाँ माथिल्लो तल्लाबाट तल झर्नुभयो । बाहिर निस्केर बिजुक्छेँको स्वागत गर्नुभयो । आत्मीय स्वागत थियो त्यो जहाँ औपचारिकताको कुनै जलप थिएन । लोहनीको आँखामा बिजुक्छेँको आगमनको गुह्य बुझ्ने हतारो देखिन्थ्यो । कान कम सुन्ने भएकोले लोहनी बस्नुभएको सोफाको नजिक बस्नुभयो, बिजुक्छेँ । सेतै फुलेको दारी र कपालको माझमा कालो फ्रेमको चस्माभित्रका आँखाहरूमा चढ्दो उमेरको थकानभन्दा उत्सुकता भरिएको थियो ।
लोहनीको उत्सुकता समन गर्न बिजुक्छेँले ठूलो स्वरमा आफू आउनुको प्रयोजनबारे बोल्न थाल्नुभयो । त्यसै मसिनो उहाँको स्वर ठूलो बनाएर पनि कति नै ठूलो हुने हो र ? लोहनीले त्यति प्रस्ट बुझ्नुभएन सायद । उहाँले भन्नुभयो, ‘अलि अलि बुझेँ ।’ आखिरमा लेखेर दिनुप¥यो ।
लोहनी पाकिस्तानका लागि नेपालका राजदूत पनि बन्नुभयो । तर, उहाँ राजदूतमात्र बनेर बस्नुभएन । बरू, नेपाली जनतालाई पाकिस्तान के हो र त्यहाँको सभ्यता र संस्कृतिबारे अमूल्य अनुभव पनि बोकेर आउनुभयो । अखबारका पानाका पाना छापिने उहाँका विभिन्न यात्रा वृत्तान्तजस्तै मिश्र जाँदाको नियात्रा पढ्न उत्तिबेला बिजुक्छेँ आफ्ना मित्रहरूसँग राष्ट्रिय पुस्तकालय पुग्नुहुन्थ्यो ।
“उहाँको यात्रा वृत्तान्त लेख्ने शैली फरक खालको छ । आजभोलिका यात्रा साहित्यमा यहाँ गएँ, यसो गरेँ आदिमा सीमित भएको पाउँछौँ । तर, गोरखापत्रमा छापिने २–३ पेज उहाँका नियात्रामा त्यस ठाउँका भूगोल, इतिहास, संस्कृति, जनताका आनीबानी र जीवनपद्धतिबारे चर्चा गर्नुहुन्छ । त्यसले गर्दा यात्रा साहित्य पढ्दा त्यो ठाउँको विषयमा धेरै कुरा थाहा पाउने गर्छौँ ।”
त्यतिबेलाका नामी पत्रिकाहरू थिए–धर्ती, प्रगति, रुपरेखा आदि । ती पत्रिकाहरूले लोहनीका साहित्यहरू प्रकाशित गर्थे । समालोचनाहरू छापिन्थे । ती समालोचनाहरू नेपाली साहित्यका लागि निर्देशन भएको बिजुक्छेँको धारणा छ ।

९१ औँ जन्म दिवसमा परिवारसँग गोविन्दप्रसाद लोहनी

तत्कालीन समयमा लोहनी माक्र्सवादी साहित्यबारे लेख्ने थोरैमध्ये पर्नुहुन्थ्यो । उहाँले ‘यो हो सोभियत रुस’, ‘कामरेड जाने होइन ?’ (कथासङ्ग्रह), ‘नेतृत्वको भोक’ (कथासङ्ग्रह), ‘आजको चीन’ र ‘चिनी जनसङ्घर्षको इतिहास’ आदि पुस्तक लेखेर तत्कालीन विश्व परिस्थिति र कम्युनिस्ट बन्दोबस्तबारे नेपाली जनतालाई बुझाउन महत्वपूर्ण योगदान गर्नुभयो ।
‘मानिसले सधैँभरि योगदान गर्न नसक्ला, योगदान भनेको एकपल्ट गर्ने हो ।’ लोहनीले तत्कालीन समयमा गर्नुभएको योगदानको कदर गर्दै बिजुक्छेँले भन्नुभयो ।
‘एकपल्ट दरबारमा बैठकको लागि बोलाइयो । म दौरा–सुरूवाल लगाएर नजाने पक्षमा । उहाँसँग के गर्नुपर्ला भनी सल्लाह मागेँ । उहाँले लुगा महत्वपूर्ण हो कि त्यहाँ गएर आफ्नो विचार राख्ने कुरा महत्वपूर्ण भनी प्रतिप्रश्न गर्नुभयो । उहाँको सल्लाह पाएपछि म दरबारमा दौरा सुरूवाल लगाएर गएको थिएँ ।’ लोहनीसँगको भेट र विगतको स्मरणबाट उत्साहित बन्दै बिजुक्छेँले सुनाउनुभयो ।
लोहनीका पुराना रचनाहरू त्यत्ति सुरक्षित छैनन् । उहाँका कान्छा छोरा कपिल लोहनीले भए जति पुराना कागजात एउटा बाकसमा थुपार्नुभएको छ । उहाँका केही पुराना कागजात आनन्ददेव भट्टले लानुभएको छ भने प्रज्ञा प्रतिष्ठानका सूर्य सुवेदीले पनि केही पुराना सङ्कलन लग्नुभएको छ । हालै प्रज्ञाले भने लोहनीको एउटा कृति प्रकाशित गरेको छ ।
भेटमा लोहनीले कम बोल्नुभयो । सायद, उहाँको कानको समस्याका कारण उहाँले धेरै कुरा प्रस्ट बुझ्नुभएन र त्यसकारण कममात्र बोल्नुभयो । तर, नेपाली साहित्यको सैद्धान्तिक समालोचनाको अभावको विषयमा केही वाक्यहरू भने गुनिलो बोल्नुभयो । “खोइ आजभोलि यस्ता छलफल नै हुने गरेका छैनन् ।”
८८ वर्षको रिटायर्ड लाइफ । तर आजसम्म कुनै औषधि खानु परेको छैन । जथाभावी खाना खानु हुन्न । बिहान ५ः३० बजेसम्ममा बिउँझनुहुन्छ । कोठामै केही शारीरिक व्यायाम गर्नुहुन्छ । बत्ती भए टीभीमा समाचार हेर्नुहुन्छ । त्यसपछि घरकै आँगनमा १५–३० मिनेट हल्का हिँड्नुहुन्छ । चिया पिउनुहुन्छ । दिनको एकचोटि चिया पिउनुहुन्छ । अखबारहरू हेर्नुहुन्छ । केही केस्रा केरा वा केही दाना सुन्तला खानुहुन्छ । भेज खाना उहाँको रोजाइ हो । दिउँसो ११ बजेदेखि १ बजेसम्म निदाउनुहुन्छ । दिउँसो अरू केही खानुहुन्न । साँझ ५ः३०–६ः०० सम्ममा खाना खाइसक्नुहुन्छ । यसरी जीवनचर्या बितिरहेको छ सिद्धहस्त समालोचक गोविन्दप्रसाद लोहनीको ।
धेरै मानिसहरू बिजुक्छेँसँग कुराकानी गर्दा अथवा उहाँको विषयमा कुरा गर्दै नछुटाइने एउटा विषय हो–२०४५ सालको भक्तपुर काण्ड । लोहनीसँग यो पटकको भेटमा बिजुक्छेँलाई पनि आजसम्म थाहा नभएको एउटा प्रसङ्ग सार्वजनिक भयो । बिजुक्छेँलगायत तत्कालीन नेमकिसंका सयौँ नेता–कार्यकर्ताहरू झूटा आरोपमा पञ्चायती राज्यस्तरको दमनको कोपभाजनमा पर्नुभएको थियो । तर, बिजुक्छेँको विषयमा राम्रो जानकारी भएका र नजिकको परिचय भएका लोहनीलाई उहाँहरूमाथि अन्याय भएकोमा कुनै सन्देह थिएन । त्यसकारण, उहाँ तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई भेट्न प्रम निवास पुग्नुभयो । सिँहको भान्छासम्म पुग्नसक्ने मानिस हुनुहुन्थ्यो, लोहनी । उहाँले रोहितहरूलाई दुःख दिएको र आफै कार्यपालिका प्रमुख भएर ‘फाँसी दे’को नारा लगाएको विषयमा सिँहलाई भन्नुभएछ ।
जवाफमा मरिचमानले भनेछन्, “म सल्यानजस्तो ठाउँको किसानको छोरो आज प्रधानमन्त्री भएको छु । मलाई मेरो पदको माया त लाग्छ नि । म रोहितलाई ‘फाँसी द’े भनेर नहिँडे मैले यो पद कहाँ जोगाउन सकुँला र ? यहीँ त कति दरबारका मानिसहरू मेरो निगरानी राख्न यता–उता गरिरहेका हुन्छन् ।”
यो संवादको समयमा गोविन्द लोहनीका कान्छा छोरा कपिल पनि त्यहीँ हुनुुहुन्थ्यो । आजभोलि कपिल आफ्ना बुबाका विभिन्न पक्षहरूबारे आफ्नो संस्मरण लेख्ने तयारी गर्दै हुनुहुँदोरहेछ ।
छलफलकै बीच चिया आइपुग्यो । चिया ल्याउनुहुने लोहनीकी बुहारीले बिजुक्छेँलाई पुराना परिचितको रूपमा व्यवहार गर्दा विगतको आत्मीय सम्बन्धले पुनःजीवन पाएको आभास भयो । जमाना फेसबुकको छ–बिदावारी हुन बाहिर निस्कँदै गर्दा कपिलकी श्रीमतीले तस्वीर खिच्न प्रस्ताव गर्नुभयो । वर्षौंपछि पाहुना लागेका बिजुक्छेँले हुन्न भन्ने कुरै थिएन । लोहनी परिवार–बाजेदेखि नातिसम्मको तस्वीर खिचेपछि एउटा सार्थक भेटले विश्राम लियो । एउटा प्रतिबद्धताका साथ–चाँडै गोविन्द लोहनीका अमूल्य निधिहरूको सङ्कलन गरी प्रकाशन गर्दै जाने ।
स्रोत : जनताको साहित्य, अङ्क–१०

One response to “एउटा सार्थक भेट”

  1. प्रमोद न्यौपाने (दैलेख) says:

    मन छोयो,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *