भर्खरै :

जोशी स्मृति चेस सुरु

ललितपुर, १२ पुस । नेपाल बुद्धिचाल सङ्घका संस्थापक अध्यक्ष स्व. नारायणकृष्ण जोशीको १३ औँ दिनको पुण्यस्मृतिमा खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट आइतबार सुरु भयो । लुँखुसी ललितपुरस्थित श्रमजीत किशोर माविमा सञ्चालित प्रतियोगिताको पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भए । खेलमा पूर्व नेपाल च्याम्पियनद्वय फिडेमास्टर मनिष हमाल, सुरबीर लामासहित मिलन लामा, सजिन महर्जन, युवराज पौडेल र माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लव जोरपाटीका क्षितिज भण्डारी ३ अङ्कका साथ संयुक्तरूपमा शीर्ष स्थानमा रहेका छन् ।
ललितपुर स्पोर्टस क्लवद्वारा आयोजित प्रतियोगितामा स्वीस लिग ९ चरणका खेल हुनेछन् । दुईदिने खेलमा उत्कृष्ट २५ जनाको लागि कुल ८५ हजार नगद पुरस्कार रहेको छ । प्रथम हुने खेलाडीले नगद १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रोले ७ हजार पुरस्कार पाउनेछन् ।
टुर्नामेन्टमा १२ जिल्लाबाट ६७ जना खेलाडीहरू सहभागी छन् । विजयी तथा सहभागीहरूलाई सोमबार अपरान्ह ४ः०० बजे नगद तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम आयोजक क्लवका अध्यक्ष हेराकाजी महर्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *