भर्खरै :

तुलसी दिवस सम्मानित

भक्तपुर, १२ पुस । मुक्ति सङ्गीत प्रशिक्षण केन्द्र, लैको टौमढी भक्तपुरको आयोजनामा विशिष्ट कवि एवम् लोकवार्ताविद् प्रोफेसर तुलसी दिवसलाई सम्मान तथा लोपोन्मुख महाकाली प्याखँ (देवी नाच) को दीक्षान्त समारोह–२०७७ एक कार्यक्रमबीच शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण भएमात्र हामीले समाजलाई जीवन्त राख्नसक्ने विचार व्यक्त गर्नुभयो । परम्परागत कला र संस्कृति संरक्षण अरूसामु प्रदर्शन गरेर जीवित राख्नुपर्नेमा जोड दिँदै उहाँले भावी पुस्तालाई कला र संस्कृतिको साथै ज्ञान र विज्ञानले सुसज्जित गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
कार्यक्रममा सम्मानित लोकवार्ताविद् प्रोफेसर तुलसी दिवसले भक्तपुर जिल्लाले नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै भक्तपुर देवी देवताका भक्तहरूको मात्र जिल्ला नभई कला, साहित्य, संस्कृति, नाचगान, रीतिरिवाज, अनुसन्धान, बाजागाजा सबैको महत्वपूर्ण सहर भएको बताउनुभयो । भक्तपुरको गरिमा र मर्यादालाई नाचगानको माध्यमबाट कायम गर्नुपर्ने हुँदा यहाँका नाचगान, संस्कृति, बाजागाजाको विषयमा यहीँका स्थानीय व्यक्तिहरूले अनुसन्धान गरेर विश्वलाई चिनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कला, संस्कृति तथा परम्पराको जगेर्नामा स्थानीय पाठ्यक्रमलगायतका अन्य गतिविधिमा भक्तपुर नगरपालिकाले उल्लेखनीय कार्य गरिरहेको बताउँदै लोकवार्ताविद् दिवसले स्थानीय तह आफैले सांस्कृतिक नगर घोषणा गरेर अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले कला र संस्कृतिको जगेर्ना तथा नगरलाई सांस्कृतिक नगरको रुपमा घोषणा गर्न नगरपालिकाले गरिरहेको पहलबारे जानकारी दिँदै समाजलाई बुद्धिजीवीकरण र नगरका जनताको सांस्कृतिक स्तर बढाउने कार्यमा नगरपालिका लागिपरेको जानकारी दिनुभयो ।
कार्यक्रममा लोकवार्ताविद् प्रोफेसर तुलसी दिवस (तुलसीप्रसाद जोशी) लाई खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने लोपोन्मुख महाकाली प्याखँ (देवीनाच)का प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष मुक्तिसुन्दर जधारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रञ्जना सितिखूलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *