भर्खरै :

गुराँसमा माओ दिवस

दैलेख, १३ पुस । विश्व सर्वहारा वर्गका गुरु माओ त्सेतुङको १२७ औँ जन्मदिवसको अवसरमा दैलेखको गुराँस गाउँपालिकामा पालिकास्तरीय कार्यकर्ता भेला शनिबार भयो ।
नेमकिपा गुराँस गाउँपालिका समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले कम्युनिस्टहरूले ‘स्वर्ग’ वा ‘नर्क’ जहाँगए पनि कामदार वर्गको हितका लागि सङ्घर्ष गर्न नछोड्ने बताउनुभयो । देश र जनताको हितबाहेक नेमकिपाको अर्को स्वार्थ नभएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका शासक दलहरू आफ्नै कारणले जनतामाझ बदनाम हुँदै छन् । देश र जनताको हितभन्दा व्यक्तिगत लाभ र भागबन्डाका कारण अहिलेको परिस्थिति सिर्जना भएको हो ।”
उहाँले भन्नुभयो, “सिद्धान्त र व्यवहारले मात्र कम्युनिस्ट कार्यकर्ता बन्नसक्ने हुँदा सैद्धान्तिक अध्ययनमा जोड दिनुपर्छ ।”
नेमकिपा डुङ्गेश्वर गाउँपालिका समितिका अध्यक्ष जगत वलीले माओ विचारधारालाई नेपालका केही कम्युनिस्ट नामधारीहरूले माओवाद भनी जनतामा भ्रम सिर्जना गर्ने काम गरेर कम्युनिस्ट सिद्धान्तमा हिलोछ्याप्ने काम गरेको स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङले कक्षा ११ को नयाँ र पुरानो पाठ्यक्रमको अलमलका कारण शिक्षक, विद्यार्थीलगायत सम्बन्धित पक्षहरू अलमलमा परी विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएको बताउनुभयो ।
नेमकिपा गुराँस गाउँपालिका समितिका अध्यक्ष उदयजङ्ग शाहीको सभापतित्वमा भएको कार्यक्रममा हस्तघले गुरुङ र गगन बीसीले पनि बोल्नुभएको थियो ।
सो अवसरमा पार्टी कार्यकर्ताहरूबीच अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सहभागी सम्पूर्णले माओ त्सेतुङ, देशको हालको राजनीतिक परिस्थिति तथा स्थानीय परिस्थितिको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कैलाली
विश्व सर्वहारा वर्गका नेताद्वय स्तालिनको १४२ औँ र माओ त्सेतुङको १२७ औँ जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ लम्कीचुहा वडा नं. ५ तिलकपुर एकाइ समितिको आयोजनामा सोमबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले स्तालिन र माओको जीवनीबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माक्र्सवाद–लेनिनवादलाई व्यवहारमा लागू गरी सोभियत सङ्घमा समाजवादी व्यवस्था स्थापना गर्नमा स्तालिनको महत्वपूर्ण योगदान भएको उहाँले बताउनुभयो ।
“माक्र्सवाद–लेनिनवादलाई चिनियाँ भूमिमा नयाँ जनवादी क्रान्ति गर्न अध्यक्ष माओ सफल हुनुभयो । चीन आज विश्वको महाशक्ति बन्नुमा अध्यक्ष माओको योगदान छ ।” उहाँले भन्नुभयो ।
समाजवाद र पुँजीवादका भिन्नताबारे जनतालाई सुसूचित पार्न पार्टी कार्यकर्ताहरू लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष रावलले साम्राज्यवाद र उदारवादको विरोध गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मी पुनले राजनीति वर्गीय हुने चर्चा गर्दै समाजवादी व्यवस्थाले मात्र महिला मुक्ति सम्भव छ भन्नुभयो ।
चन्द्रा बुढामगरको सभापतित्वमा भएको कार्यक्रममा हरिकला विष्ट, अर्चना रावल र विमला भारतीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *