भर्खरै :

सचेत जनता, लोभी कार्यकर्ता र धूर्त नेता

गाईले पराल उघ्राएजस्तै नेपाली जनताले दोहो¥याइतेह¥याइ भ्रष्ट नेताहरूको कर्तुतबारे गुनासो गर्दै कहिलेसम्म दिन बिताउनुपर्ने हो ? कानुनी दाउपेच जानेकाले अनेक तर्क÷कुतर्क गर्लान् तर एकै वाक्यमा भन्नुपर्दा यी नेताहरूको गतिविधिले कदापि देश र जनताको भलो गर्दैन । स्वार्थ मिल्दा नेताहरू एकआपसमा मिल्छन् । स्वार्थ बाझिँदा छुटिन्छन् । आत्मालोचना भन्दै फेरि मिलाप गर्छन् । “ओली र मेरो केमेस्ट्री मिलेको र चौध वर्ष कम्युनिस्ट आन्दोलनको निम्ति अथक योगदान गरेको” भन्दै हिजो प्रचण्डले ओलीको खुब प्रशंसा गरे भने आज त्यही ओलीलाई राष्ट्रघाती धोकेबाज भन्दै छन् ! गठबन्धनताका ओलीले प्रचण्डलाई कम्युनिस्ट आन्दोलनका नायक भनेर खुब प्रशंसा गर्दथे तर आज त्यही प्रचण्डलाई १७ हजारको हत्यारा भन्दै हेग पठाउने धम्की दिन्छन् ¤ प्रचण्डले माधवकुमारलाई ‘विष वृक्ष’ भनेर गाली गरेको उनीहरूले बिर्से पनि जनताले बिर्सेका छैनन् । एमालेको आठौँ महाधिवेशनमा अध्यक्षमा झलनाथ खनालले ओलीलाई हराइसकेपछि ओलीले भनेका थिए, “अध्यक्ष जित्नु भनेको जुवामा पैसा जित्नेले जे मनलाग्यो त्यही गर्न पाएजस्तै होइन, सबैको सहमतिमा पार्टी चल्छ ।” तर, आफू प्रधानमन्त्री भएपछि भने उनले जुवामा जितेजस्तै सत्ता चलाइरहेका छन् । यसरी खनाल प्रधानमन्त्री हुँदा आफ्नै पार्टीको सरकारविरुद्ध ओलीले पनि घेराबन्दी गरेका थिए । उहिल्यै गिरिजाले पनि संसद विघटन त गरेका थिए तर अहिलेको विघटनलाई काङ्ग्रेसले विरोध गर्दै छ । त्यसैले यस्ता दुईजिब्रे नेताको पछि लागेर देश र जनताको बर्बादीको साक्षी नबनौँ !
सतीले सरापेको भनिने इतिहास भएको देशमा राजनीतिक नेतृत्व भनेको ‘कि आँटले खायो, कि ढाँटले’ भनेजस्तै भइरहेको छ । पृथ्वीनारायण, जङ्गबहादुर, महेन्द्र, गिरिजा, प्रचण्ड, शेरबहादुर, ज्ञानेन्द्र र अहिले आएर ओली सबैले ‘आँटेरै र ढाँटेरै’ सत्ता पाएका हुन् भन्नेमा कुनै शङ्का छैन । तैपनि, तिनैको कीर्तन गर्ने कार्यकर्ताहरूको सङ्ख्या प्रशस्तै छ । नेताहरूमा चरम सत्तालिप्सा र दम्भ एकाएक उत्पन्न भई रातारात छिप्पिएको पक्कै होइन । दुर्भाग्यवश कार्यकर्ता दास मनोवृत्तिका भएर नेताहरू छाडा साँढेजस्ता भएका हुन् । यदि राजनीतिक कार्यकर्तामा आत्मसम्मान र विवेक भएको भए परिस्थिति अर्कै हुन्थ्यो । नेतामात्रै गतिलो नभएका होइनन् कार्यकर्ता पनि गतिलो नभएका कारण बिसङ्गगतिको पहाड चुलिएको हो । सुसंस्कृत, विवेकशील र स्वाभिमानी कार्यकर्ताले मात्र नेतालाई जिम्मेवार बनाउँछ ।
नेताहरूको जुँगाको लडाइँले जनताको भोटलाई ‘बाँदरको हातमा नरिवल’ बनाएको छ । ‘केटाकेटीले गुलेली चलाए मट्याङग्राको सत्यानास’ भनेजस्तै लोभी पापी नेताहरूको दन्तबजानले ३ करोड जनताले दुःख पाएका छन् भने आगामी दिनमा देश रगतपच्छे हुन गयो भने आश्चर्य नमाने हुन्छ । आगामी दिनमा अझै धेरै बितण्डा र हर्कतहरू हुनेजस्तो देखिन्छ, यतिमा नै सकियो भने हामी जनता ‘भाग्यमानी’ भयो भन्नुपर्ने हुन्छ । यो दुईतिहाइको सरकार जनताको लागि ‘लुतो कनाइ’ भएको छ । शासक दलका नेताहरूले आफ्नो जागिर बचाउन यस्तो सङ्कट सिर्जना गरेका हुन् नत्र यो महामारीमा जनताको स्वास्थ्यसम्बन्धी चिन्ता गर्न छाडेर ‘बेला न कुबेला बजि नयला’ भनेजस्तै संवैधानिक सङ्कट कसले निम्त्याउँछ ?
प्रचण्डले सभामुख पदमा आफ्नो मान्छे भर्ती गरेजस्तै अख्तियारलगायत अरू संवैधानिक अङ्गमा पनि आफ्नो मान्छे राख्न खोजेका थिए तर ओली नमानेपछि अविश्वास प्रस्ताव ल्याइएको र त्यही झोकमा ओलीले संसद नै भङ्ग गरिदिए भन्ने सतही गफ बजारमा चलेको छ । त्योभन्दा पनि खतरनाक भित्री खेल महिनौदेखि ‘रअ’ का हाकिमले काठमाडाँैमा डेरा जमाएर खेल खेलिरहेको रहेछ । अहिले परिणाम सतहमा आएको छ । भारतीय दूतावासबाट तलब थाप्नेलाई अब सतहमा ल्याएर पत्तासाफ गराउनुपर्ने दिन आयो । विदेशीको इसारामा सरकार प्रमुख र राष्ट्रप्रमुखलाई एक्कै पटक हटाएर देशमा चरम रिक्तता र अराजकता सृजना गर्ने षड्यन्त्रको आभाष पाइन्छ । चुनावको घोषणाले तत्कालका लागि मात्र त्यो षड्यन्त्र परास्त भएको देखिन्छ तर अरू खेल त हेर्नै बाँकी छ ।
यी सम्भावित षड्यन्त्रलाई मध्यनजरमा राखी सत्तासँगको निकटता कहिल्यै पनि नराख्ने, सत्ताबाट कुनै लाभ नलिएका र भोलिका दिनमा पनि त्यस्तो लाभको आश नगर्ने परिपक्व नेता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले “देश टुक्रिनुभन्दा पार्टी टुक्रिएकै ठीक” भनेर वर्तमान राजनीतिक सङ्कटमाथि गर्नुभएको टिप्पणीलाई केही मान्छेहरूले ‘रोहित ओलीको झोले’ भनेर सामाजिक सञ्जालमा तल्लो स्तरको प्रतिक्रिया दिइरहेका छन् । रोहितको इतिहास थाहा नभएका ती मानिसहरू वास्तवमा आफै केही लाभको लोभमा कसैको झोला बोकेर यस्तो नीच भाषा बोलिरहेका छन् ।
नेताहरूको नियत सफा भएको भए अहिलेको जस्तो संवैधानिक सङ्कट आउँदैनथ्यो । तैपनि ‘जे भयो भयो’ भनेजस्तै ओलीको अहिलेको कदम संवैधानिक हो वा होइन भन्ने विषय अदालतको निर्णयलाई पर्खिनुबाहेक अर्को विकल्प छैन । यदि ताजा जनादेशको लागि जनतामा इमानदारीका साथ जान खोजेको हो भने अन्यथा लिनुभएन तर पद्धति नै बिगार्न खोजेको हो भने ओलीले ठूलै मूल्य चुकाउनुपर्ने छ । जनताले स्थिरता र समृद्धिको लागि यिनीहरूलाई सरकारमा पठाएको हो । यदि अदालतले संसद पुनस्र्थापना नगरेमा दलहरू चुवावमा जान खुट्टा कमाउनु हुँदैन, डेढ वर्षपछि हुने चुनाव डेढ वर्षअघि हुने भयो । नत्र भने फेरि खिलराजहरूमा महत्वाकाङ्क्षा जाग्न सक्छ । दलका हातबाट सत्ता अनिर्वाचितको हातमा जानेछ । यसो भयो भने पुनः ठूला दलको असक्षमताको इतिहास दोहोरिनेछ ।
अन्तमा, अब तपाईं हाम्रा घर–घरमा जति दलाएनि कहिल्यै नथाक्ने, खाना, ज्याला पनि दिनु नपर्ने बेतलबी सुटेट बुटेट खेतालारूपी उम्मेदवारहरू आउँदै छन् । चुनावको घोषणासँगै ‘युवाहरूका ढुकढुकी’ ‘श्रद्धेय गुण्डाहरू’ पेट्रोल, मासुभात, सेकुवा, बियरको कल्पनामा रमाउन थालिसके । हामी जनताले चुनावको समयमा मासु भात खान निम्तो बोलाउने यस्ता गुण्डाहरूलाई खेद्नैपर्छ । नत्र भने फेरि नेताको नाम लिएर ‘यो गरेन वा त्यो गरे’ भनेर रोइलो गर्नुको विकल्प हामी जनतामा हुँदैन । अब हुने चुनावलाई अवसरको रूपमा लिने हो भने पहिल्यै असफल प्रमाणित भइसकेका ओली, प्रचण्ड, देउवालगायत गुण्डा नेताहरूलाई जित्नै नदिउँ ! जनता सचेत होऔँ !
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *