भर्खरै :

अमेरिकी नाकाबन्दीका कारण भेनेजुयलाको खोप कार्यक्रममा नकारात्मक असर

काराकस, २८ डिसेम्बर (टेलिसुर) । भेनेजुयलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले संरा अमेरिकाले लादेको आर्थिक नाकाबन्दीका कारण भेनेजुयलाको खोप कार्यक्रममा ठूलो नकारात्मक असर परेको र विश्व स्वास्थ्य सङ्गठनले नेतृत्व गरेको कोरोना भ्याक्सिन परियोजना–कोभ्याक्समा कोष जम्मा गर्न नसकेको बताउनुभएको छ ।
भेनेजुयलाले कोभ्याक्स परियोजनामा १८ करोड अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको थियो तर अमेरिकी नाकाबन्दीका कारण उत्पन्न आर्थिक कठिनाइका कारण भेनेजुयलाले उक्त कोषका लागि स्रोत जुटाउन नसकेको बताइएको छ ।
स्वास्थ्यमन्त्री अल्भाराडोका अनुसार संरा अमेरिकी प्रतिबन्धहरूका कारण भेनेजुयालीहरूको आर्थिक स्रोतहरूमात्र सुकेका छन् र अखिल अमेरिकी स्वास्थ्य सङ्गठनको खोप कार्यक्रममा कोष योगदान गर्न सकिरहेको छैन । उनका अनुसार कोष राख्न नसकेकै कारण अखिल अमेरिकी स्वास्थ्य सङ्गठनले भेनेजुयाली बच्चाहरूलाई दिनुपर्ने खोपसमेत रोकेको छ । भेनेजुयला सरकारले विभिन्न देशबाट खोप सहयोग जुटाएर आफ्नो देशका बच्चाहरूका लागि खोप व्यवस्था गरिरहेको छ ।
अमेरिकी नाकाबन्दीले सृजित जटिल अवस्थाका कारण भेनेजुयलाको खोप कार्यक्रम असफल भएको साढे दुई वर्ष भइसकेको पनि उनले खुलस्त पार्नुभयो ।
बोलिभारियाली सरकारका ती स्वास्थ्यमन्त्रीले भेनेजुयलामा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले आवश्यक सबै उपायको तयारी गरिरहेको तर छिमेकी देशहरूमा महामारीको रूपमा फैलिएको हुनाले भेनेजुयलामा पनि ढिलो चाँडो सङ्क्रमण भित्रिने सम्भावना रहेको बताउनुभयो ।
छिमेकी देश कोलम्बिया र ब्राजिलमा कोरोना भाइरसको महामारी फैलिएको र ती देशबाट फर्किएका मानिसहरू सरकारविरोधी जुलुसमा सहभागी बनेर धेरै अरूलाई सङ्क्रमित बनाएको विज्ञहरूको कथन छ ।
स्वास्थ्यमन्त्री अल्भाराडोले २ हजार जना भेनेजुयालीमा कोरोनाविरोधी रूसी खोप स्फुटनिक –भी खोपको तेस्रो चरणको परीक्षण गरिएको र त्यसको नतिजा अत्यन्त सकारात्मक देखिएको बताउँदै रूसी खोपले अनुमति पाएपछि नै २०२१ को अप्रिलसम्ममा भेनेजुयलामा व्यापकरूपमा लगाउनका लागि उपलब्ध हुने बताउनुभयो ।
भेनेजुयलाको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको हुनाले अमेरिकी एकपक्षीय नाकाबन्दी र प्रतिबन्धहरू अविलम्ब हटाउन भेनेजुयाली सरकारका साथै विपक्षी पार्टीहरूले अमेरिकी सरकारसँग माग गरिरहेका छन् तर ट्रम्प प्रशासनले त्यसलाई सुनिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *