भर्खरै :

एङ्गेल्सद्वारा “पुँजी”को दोस्रो र तेस्रो भागको लेखन “पुँजी” दोस्रो भागको प्रकाशन

माक्र्सले आफ्नो जीवनमा ‘पुँजी’को पहिलो भागमात्रै प्रकाशित गर्न पाउनुभयो । उहाँले दोस्रो र तेस्रो भाग पनि लेख्नुभएको थियो तर त्यसमा केही परिमार्जित गर्नु आवश्यक थियो । एङ्गेल्सले नै यसलाई पूरा गर्ने जिम्मा लिनुभयो । एङ्गेल्स ‘पुँजी’को दोस्रो भाग तयार गर्न तन–मनका साथ लाग्नुभयो । उहाँले यसलाई थपघट गरी राम्रो बनाउनुभयो । आखिर सन् १८८५ मा ‘पुँजी’का बाँकी भागहरू प्रकाशित भए । यसकारण, ‘पुँजी’को दोस्रो र तेस्रो भागको लेखक माक्र्स र एङ्गेल्स दुवैलाई मान्ने गरिन्छ ।
‘पुँजी’ दोस्रो भागमा मजदुर वर्गको ज्याला चोरेर पुँजीपतिहरूले कसरी नाफा बनाउँछन्, कसरी जग्गाधनी, पुँजीका हिस्सेदार र व्यापारीहरूबीच नाफा बाँडेर लिन्छन् भन्ने कुरो देखाइएको छ ।
लुड्विग फायरबाख र प्राचीन जर्मन दर्शनको अन्त
लुुड्विग फायरबाख (१८०४–१८७२) हेगेलवादी प्राध्यापक थिए । हेगेलवादीहरू दुई समूहमा बाँडिएका थिए । एक समूह कट्टर भौतिकवादविरोधी प्रतिक्रियावादी दर्शनतिर लागेको थियो, त्यसमा ड्यूहरिङ्ग पनि एक थिए ।

दोस्रो समूह हेगेलको दर्शनलाई रहस्यवाद र विज्ञानवादबाट छुट्याएर द्वन्द्वात्मक भौतिकवादतिर लागिरहेको थियो । भौतिकवादीहरू ईश्वरलाई मान्दैनथे । यसकारण, साहु महाजन, सरकारी प्रशासक, सन्त–महन्त, पुजारी, फकिर र धर्मको पछि लाग्नेहरू भौतिकवादलाई आफ्नो ठूलो शत्रु सम्झन्थे । किनभने, ईश्वरमाथि विश्वास घटेर गयो भने काम गरेर खाने भोका–नाङ्गा जनताले आफूलाई बाँकी राख्दैनन् भन्ने कुरा तिनीहरूलाई रामै्र थाहा थियो । भौतिकवादीहरू ज्ञानेन्द्रीयले थाहा पाउन नसक्ने कुरोलाई विश्वास गर्दैनथे । तिनीहरू पृथ्वीमै ‘स्वर्ग’ बनाउन सकिन्छ भन्ने विचारका थिए ।
हेगेलको भौतिकवादी हाँगाको अगुवा फायरबाख थिए । सन् १८४१ मा उनले इसाई धर्मको सार भन्ने कृति प्रकाशित गरेका थिए । त्यसमा उनले धर्म झूटो र खोक्रो छ, कुनै मानिसको स्वभाव र प्रवृत्ति नै उसको ईश्वर हो, जति मानिसको मूल्य छ त्यति मात्रै ईश्वरको मूल्य छ, त्योभन्दा बढी होइन भनेका थिए ।
त्यसबेला एङ्गेल्सले लेख्नुभयो– “चारैतिर उत्साहले भरिएको थियो । हामी सबै तुरुन्तै फायरबाखका अनुयायी भयौँ । फायरबाखले उक्त पुस्तकमा धर्मको आलोचना गरेका हुनाले त्यसको ठूलो चर्चा चल्यो । तर, फायरबाख पूर्णतया ठीक थिएनन् । धर्मको विषयमा उनले लेखेका थिए, “धर्मले मानिसलाई अलग्ग गर्छ । ईश्वर त्यो हो जो मानिस होइन । मानिस त्यो हो जो ईश्वर होइन । ईश्वर र मानिस दुई उल्टा टुप्पा हुन्” ।
फायरबाखले दार्शनिकरूपमा धर्मलाई आलोचना गरे तापनि उनी नास्तिकवादलाई धर्मको ठाउँमा राख्न चाहन्थे । उनी भन्थे, “मानिस र पशुमा भेद वास्तवमा धर्मको भेद हो । पशुमा धर्म हुन्न ।”

फायरबाख धर्म शब्दलाई फाल्न चाहन्नथे । उनी धर्मविरोधी र भौतिकवादका समर्थक मात्र थिए । तर उनका धेरै कमजोरीहरू थिए ।
फायरबाखको विचारधारालाई एङ्गेल्सले सन् १८८६ मा आलोचना गरेर पत्रिकामा लेखहरू लेख्न थाल्नुभयो र त्यसको एक सङ्गालो १८८६ मा ‘लुड्विग फायरबाख र प्राचीन जर्मन दर्शनको अन्त’ नामले प्रकाशित गर्नुभयो । एङ्गेल्सले यस कृतिमार्फत दार्शनिक विचारधाराको सङ्घर्षको इतिहासको पृष्ठभूमिमा दर्शनशास्त्रमा वर्ग र पार्टी भावनाको सिद्धान्तलाई बलियोसित स्थापित गरिदिनुभयो । सर्वहारा पार्टी, भावनाको सिद्धान्तनिष्ठ दार्शनिक चिन्तनको एउटा आदर्श नमूना हो । यसकारण, यस कृतिको ठूलो महत्व छ ।
“पुँजी” को तेस्रो भाग
फ्रेडरिक एङ्गेल्स ६५ वर्षमा पनि सक्रिय हुनुहुन्थ्यो । विभिन्न मजदुर पार्टीहरूसँगको सम्बन्ध बढ्दै गइरहेको थियो । विभिन्न देशका समाजवादी नेताहरूसँगको भेटघाट उहाँको दैनिक जीवनको एक अङ्ग बनेको थियो । तर, लन्डनमा बढी जसो जाडो हुने भएकाले विदेशी मित्रहरूको आवतजावत कम हुन्थ्यो र एङ्गेल्ससँग विदेशीहरूको सम्पर्क बढीजसो चिठीपत्रहरूमार्फत हुन्थ्यो ।
सन् १८९३ मा स्वीट्जरल्यान्डको जुरिच सहरमा सर्वहारा वर्गको महाधिवेशन भयो । त्यस महाधिवेशनमा एङ्गेल्सले पनि भाग लिनुभयो । त्यहाँ उहाँले दिनुभएको भाषण नै उहाँको जीवनको अन्तिम सार्वजनिक भाषण भयो ।
एङ्गेल्स ७० वर्षको हुँदा आँखाले राम्रो देख्न सक्नुहुन्नथ्यो । तर, पनि उहाँले आफ्नो कलमलाई रोक्नुभएन । उहाँ पहिले जस्तै छिटो–छिटो काम गर्न सक्ने स्थितिमा हुनुभएन । उहाँले गर्न बाँकी काम भने धेरै नै थिए । माक्र्सले ‘पुँजी’ को तेस्रो भागको निम्ति खेस्रा मात्र गर्न भ्याउनुभएको थियो । त्यो पनि एकदम अपूरो थियो । सुरुआती भाग बडो होसियारीपूर्वक लेखिएको थियो र लेखाइ पनि राम्रो थियो । एङ्गेल्सले त्यसलाई परिष्कृतरूपमा तयार गर्नुुभयो । पाँचाँै खण्डमा एङ्गेल्सले साह्रै मेहेनत गर्नुभयो । आखिर सन् १८९४ मा ‘पुँजी’ को तेस्रो भाग पनि प्रकाशित गरेर एङ्गेल्सले आफ्नो महान् कर्तव्य पूरा गर्नुभयो । यस विषयमा अस्ट्रियाली सामाजिक जनवादका संस्थापक बिक्टर एड्लरले ठिकै भनेका थिए, “‘पुँजी’ को दोस्रो र तेस्रो खण्ड प्रकाशित गरेर एङ्गेल्सले आफ्नो प्रतिभाशाली मित्रको भव्य स्मारक (शक्ति) खडा गरिदिनुभयो । यो यस्तो स्मारक हो जसमा उहाँले आफ्नो नाम नमेटिने गरी कुँड्नुभयो ।” यसकारण, रुसी अक्टोबर क्रान्तिका महान् नेता लेनिनले पछि भन्नुभयो, “वास्तवमा ‘पुँजी’ का यी दुई भागका रचनाकार दुई व्यक्ति हुन्– माक्र्स र एङ्गेल्स ।”

‘पुँजी’ को तेस्रो भागमा पुँजीपति वर्गको बीच नाफाको वितरणको विषयमा लेखिएको छ । त्यसमा पुँजीवादी समाजका तीन मुख्य विषयलाई उल्लेख गरिएको छ । पहिलो, “पुँजीवादी समाजमा जुन घटनाहरू हुन्छन्, ती नियमअनुसार हुन्छन् । चाहे ती नियम पुँजीपतिहरू आफैलाई थाहा नभएको किन नहोस् ¤ यो कुनै स्वेच्छाचारी शक्तिको फल होइन ।”
दोस्रो, “पुँजीवादी समाजको आर्थिक सम्बन्ध हिंसा, लुट, धोका र बेइमानीमा आधारित छ ।” तेस्रो, “सामाजिक गतिविधिमाथि नियन्त्रण गर्ने खालको यहाँ कुनै सामाजिक बुद्धिले काम गरिरहेको छैन ।”
एङ्गेल्सको अन्तिम लेख
आँखाको कमजोरी, बुढेसकालको मानस तन्तुहरूको सुस्तपना र अरू अनेक बाधाहरू भए तापनि एङ्गेल्सको हातमा बल रहेसम्म उहाँको कलमले विश्राम लिएन । ७५ वर्षको उमेरमा सोच्ने गति घटेपनि उहाँमा विचारको गम्भीरता र तेजिलोपना घटेको थिएन । मार्च १८७५ मा उहाँले माक्र्सको ‘फ्रान्समा वर्गसङ्घर्ष’ भन्ने किताबको नयाँ संस्करणको भूमिका लेख्नुभयो । यो भूमिका नै एङ्गेल्सको अन्तिम लेख हो । यसमा उहाँले १८५०–१८६५ सम्मको युरोपेली समाजको ऐतिहासिक सिंहावलोकन प्रस्तुत गर्नुभयो ।
उहाँले लेख्नुभयो, “१८७०–१८७१ को लडाइँ र (पेरिस) कम्युनको हारपछि युरोपेली मजदुर आन्दोलनको गुरुत्व केन्द्र अस्थायीरूपमा फ्रान्सबाट जर्मनीमा स¥यो । त्यसबारे माक्र्सले पहिले नै अनुमान गरिसक्नुभएको थियो ।”
चीर निद्रा
एक कवि, सिपाही, क्लर्क, व्यवसायीको रूपमा रहेर पनि एङ्गेल्स अर्थशास्त्री, दार्शनिक, सर्वहारा वर्गका एक महान् नेता एवम् गुरु साबित हुनुभयो । अथक, सिद्धान्त र व्यवहारमा एकरूपताका खानी, त्यागको एक अभूतपूर्व नमुना एङ्गेल्सलाई मार्च १८९५ तिर घाँटीमा क्यान्सर रोगले आक्रमण ग¥यो ।
एङ्गेल्सले पुँजीवादी विचारको विरुद्ध सङ्घर्ष गर्नुभए जस्तै क्यान्सरसँग पनि ५ महिनासम्म सङ्घर्ष गर्नुभयो । आखिर मानिसको शरीर न हो, कार्ल माक्र्सको निधन भएको १२ वर्षपछि ७५ वर्षको उमेरमा एङ्गेल्सले पनि सदाको निम्ति विश्राम लिनुभयो–६ अगस्ट १८९५ को दिन ।
एङ्गेल्सले आफ्नो पार्थिव शरीरलाई जलाएर समुद्रमा सेलाइयोस् भन्ने इच्छा व्यक्त गर्नुभएको थियो । सोअनुसार माक्र्सकी कान्छी छोरी एलिनोरले एङ्गेल्सका घनिष्ठ मित्रहरूको उपस्थितिमा २७ अगस्ट १८९५ को दिन एङ्गेल्सको अस्तु समुद्रमा सेलाइन् । अर्को शब्दमा एङ्गेल्स महासागरमा विलुप्त हुनुभयो ।
मर्ने मान्छेको निम्ति मृत्यु कुनै दुःखको कुरो होइन, दुःख त तिनीहरूलाई हुन्छ जो बाँचेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *