भर्खरै :

महामारी पछिको शताब्दी कसको ?

कोभिड–१९ महामारीको सुरुवाती चरणमा राजनीतिक व्यवस्थाको आधारमा देश र तिनीहरूको नियन्त्रण प्रयासलाई विभाजित गरेर हेर्ने सामान्य बनिसकेको थियो । भाइरस नियन्त्रणमा चीनले हासिल गरेको सफलताको कारण पनि यस्तो विभाजन गरिएको हुनुपर्छ । तथापि, सन् २०२० को अन्त्यसम्ममा यस्तो विभाजनको रेखा राजनीतिक नभएर भौगोलिक भएको कुरा प्रष्ट भइसकेको थियो । कुनै पनि देश प्रजातान्त्रिक होस् वा अधिनायकवादी, टापु देश होस् वा समुद्र छेउको, कन्फुसियसवादी होस् वा बौद्ध, सामुदायिक होस् वा व्यक्तिगत त्यसले केही फरक पार्दैन । तर, कुनै देश पूर्वी एसियाली, दक्षिणपूर्वी एसिया वा अस्टे«लियन भए उसले युरोपेली वा उत्तर अमेरिकी देशको तुलना कोभिड–१९ महामारीमा सफल भएको देखिन्छ ।
यो निष्कर्ष पृथ्वीको धु्रवमा ठ्याक्कै आधारित नभए पनि यसले धेरै कुरा सङ्केत भने अवश्य गरेको छ । महामारी नियन्त्रणमा ज्यादै खराब मानिएका फिलिपिन्स र इन्डोनेसियाजस्ता एसियाली देशहरूको तुलनामा युरोपका सबभन्दा ठुला र सबभन्दा धनी देशहरू थप खराब निस्किए । फिलिपिन्स (र भारत) मा कोभिड–१९ को कारण मर्नेको सङ्ख्याको आधिकारिकताबारे केही संशय पक्कै पनि उठेका छन् । तथापि, सन् २०२० मा एक जना युरोपेली वा अमेरिकीको तुलनामा एसियाली नागरिक भए कोभिड–१९ बाट मर्ने सम्भावना कम थियो । यस्तो भिन्नताका कारणबारे विस्तृतरूपमा विविध विषयका आधारमा अध्ययन–अनुसन्धान गर्न आवश्यक छ । किनभने अहिलेका कतिपय बुझाइहरू किस्सा मात्र बनेका छन् । यो बुझाइको सान्दर्भिकता क्षेत्रीय स्तरमा पनि फैलिएको छैन । त्यसकारण यस्ता विषयको राजनीतिक दुरुपयोग वा बङ्ग्याइने सम्भावना पनि बढी हुन्छ । भविष्यमा हुन सक्ने जैविक खतराको लागि सबै देशलाई तयार बनाउन अझै धेरै प्रश्नको उत्तरको खोजी गर्नुपर्छ । धेरै एसियाली देशहरूले सार्स, मर्स, एभियन फ्लुजस्ता विभिन्न रोगको सामना गरेको अनुभव छ । त्यही अनुभवले पनि स्वास्थ्य प्रणालीको सतर्कता र सङ्क्रामक रोगसँग लड्ने सूचनाप्रति जनताको स्वीकार्य बन्न सक्यो ।

क्षयरोग, हैजा, टाइफाइड, एचआइभी÷एड्सजस्ता सङ्क्रामक रोगविरुद्ध लड्दा एसियाली देशहरूले बताएका संयन्त्रले पनि यतिबेला मद्दत गरेको देखियो । उदाहरणको लागि सन् २०१४ मा जापानसँग ४८ हजार ४५२ जना सार्वजनिक स्वास्थ्यकर्मी (पीएचएन) थिए । तीमध्ये ७ हजार २६६ जना सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा परिचालित थिए । उनीहरूलाई कोभिड–१९ को सङ्क्रमितको सम्पर्कमा आउनेहरूको खोजी गर्न परिचालन गर्न सकियो । पेशागत परिभाषा फरक भए पनि जापानमा नर्सको यो अवस्थालाई बेलायतसँग तुलना गर्न सकिन्छ । सन् २०१४ मा बेलायतमा एघार हजार बिरामीलाई ३५०–७५० जना सार्वजनिक स्वास्थ्यकर्मीहरूले हेरचाह गर्ने गर्थे । (जापानको जनसङ्ख्याको तुलनामा बेलायतको जनसङ्ख्या झण्डै आधा मात्र छ ।)
महामारीको समयमा सीमा बन्द गर्ने र अन्तर्राष्ट्रिय यात्रा स्थगित गर्नेजस्ता विशेष निर्णयले महामारी नियन्त्रणमा प्रभाव पारेको कुरा हामीले राम्ररी बुझ्न जरुरी छ । केही देशमा अन्य केही देशका आदर निकेतन र वृद्धाश्रमको तुलनामा ज्येष्ठ नागरिकको राम्रो हेरविचार गर्ने बन्दोबस्त मिलाए । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढी भएका देशहरू जस्तै जापान र दक्षिण कोरिया यस्ता बन्दोबस्त गर्न सफल भए ।

त्यसका साथै जनस्वास्थ्य सूचनाको प्रभावकारिताले पनि विभिन्न देशमा प्रष्टतः फरक परिणाम देखायो । आणुवंशिक भिन्नता र विगतमा क्षयरोगविरुद्धको खोप अभियानले पनि केही क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणलाई सीमित गर्न मद्दत गरेको हुनसक्छ । यस्ता विषयमा गहिरो अध्ययन अनुसन्धानले मात्र हामीसँग भएका सूचनाले भविष्यका जोखिमसँग सामना गर्न मद्दत पुग्नेछ ।
यो वर्ष महामारीको सामना गर्न एसियाली देशहरूले प्राप्त गरेको सफलताले महामारीपछि नीति निर्माण र भूराजनीतिमा पनि अन्तर ल्याउने धेरैको अनुमान छ । भविष्यमा इतिहासकारहरूलाई ‘एसियाली शताब्दी’ को सुरुवात कहिलेबाट भयो भनी सोध्दा सहज रूपमा सन् २०२० भन्ने सम्भावना अधिक छ । जसरी संरा अमेरिकी प्रकाशक हेनरी लुसीले दोस्रो विश्वयुद्धलाई ‘अमेरिकी शताब्दी’ को आरम्भबिन्दु मानेका छन् ।
तर, यो तुलनालाई आधार मानेर निष्कर्षमा पुगिहाल्नु भने अलि हतार हुन सक्छ । किनभने लुसीको अमेरिका एउटा महाशक्ति देश थियो । युद्धको विजेता बनिसकेपछि अमेरिकीले आफ्ना दाबीहरू गर्न सक्थ्यो र अर्को महाशक्ति सोभियत सङ्घसँगको प्रतिस्पर्धा गर्दै युगलाई परिभाषित गर्न सक्थ्यो । तर, एसियाली शताब्दी भने फरक छ । यसमा सिङ्गो महादेश समावेश छ जसमा धेरैथरीका देशहरू सामेल छन् ।
अर्को शब्दमा भन्दा एसियाली शताब्दी सहजै चीनसँग मात्र सम्बन्धित छैन । सुरुवाती चरणमा चीन आफै केही अलमलमा परे पनि उदयीमान शक्ति चीनले समग्रमा महामारीलाई पराजित गर्न सफलता पाएको छ । तर, एसियाका अरु धेरै देशहरूले पनि चीनको कुनै सहायता बिना नै समानरूपमा महामारीविरुद्ध सफलता हासिल गरेका छन् ।
युद्धपछिको अवस्थाको तुलना पनि आर्थिक कारणहरूले अपरिपक्व हुन सक्छ । सन् २०२० मा एसियाली देशहरूको आर्थिक अवस्था महामारीविरुद्धको लडाइँमा प्राप्त गरेको सफलताअनुकूल छैन । भियतनाम, चीन र ताइवानले कुलगार्हस्थ उत्पादन वृद्धिको आधारमा बाँकी संसारलाई पराजित गर्न सफल भयो भने भाइरससँगको लडाइँमा असफल भए पनि संरा अमेरिकाले आर्थिक रूपमा धेरै क्षति भोग्नुपरेको छैन । यो वर्ष संरा अमेरिकाको अर्थतन्त्रमा ३.६ प्रतिशतले सङ्कुचन आउने पूर्वामान भए पनि संरा अमेरिकाले युरोपेली अर्थतन्त्र तथा जापान, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, फिलिपिन्सलगायत अन्य एसियाली देशहरूको तुलनामा आर्थिक अवस्थामा त्यत्ति खराबी देखिएन । यस्तो अन्तरको मूल कारण भने एकअर्कामा जोडिएको संयन्त्र हो । संरा अमेरिकाको तुलनामा धेरै एसियाली अर्थतन्त्रलाई व्यापार र यात्रामा बन्देजको कारण क्षति भोग्नुप¥यो । यात्रामा बन्देजले पर्यटन उद्योगमा गम्भीर क्षति भयो ।
सन् २०२० मा चीनको जनस्वास्थ्य र आर्थिक सूचकाङ्कहरू पश्चिमा देशहरूको तुलनामा अब्बल भए पनि चीनले यो सङ्कटबाट कुनै राजनीतिक वा कुटनीतिक लाभ खोजेको देखिंदैन । अस्ट्रेलियासँग उसको केही कचमच भयो । चीनले आफ्ना मित्र र समर्थकहरूको सञ्जाल बनाउन पुग्दो प्रयास पनि गरेको देखिएन ।
विशेषतः चीनको बेल्ट एन्ड रोड परियोजनासँग जोडिएको अन्तर्राष्ट्रिय ऋण पुनःसंरचनाबारे चीनको धारणा आगामी सन् २०२१ मा प्रमुख चासोको विषय बन्नेछ । निःसन्देह संरा अमेरिका र पश्चिमा देशहरूको पनि अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थादेखि सामाजिक–राजनीतिक स्थायित्वजस्ता व्यापक विषयमा परीक्षण हुनेछ ।
एउटा नयाँ ऐतिहासिक युगको घोषणा गर्न हतार हुन सक्छ । तर, एसियाली जनस्वास्थ्यमा प्राप्त सफलताबाट पाठ सिक्ने कुरामा भने हतार पक्कै हुनेछैन ।

बिल इमोट


(लेखक द इकोनोमिस्टका पूर्व प्रधानसम्पादक तथा उत्तर–महामारी नीति अन्तर्राष्ट्रिय आयोगका सह–निर्देशक हुनुहुन्छ ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *