भर्खरै :

वागीश्वरी कलेजको आठौँ सभा सम्पन्न

भक्तपुर, १८ पुस । वागीश्वरी कलेजको आठौँ वार्षिक कलेज सभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको साथ र शक्तिको अगाडि पैसा गौण हुने बताउँदै भक्तपुर नगरपालिकाले पर्यटन शुल्क नउठे पनि जनताको साथमा विकास निर्माणका कार्यहरू भइरहेको बताउनुभयो ।
उहाँले कुनै पनि सङ्घ संस्थाको विकास हुनुमा आन्तरिक पक्ष मुख्य हुने भएकोले कलेजको विकासको लागि कार्यरत शिक्षक, कर्मचारीलगायत सम्पूर्ण पक्षको मिहिनेत आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “कलेजको विकासको लागि बाह्य सहयोगलाई मुख्य स्रोतको रूपमा बुझ्नु गलत हो ।”
भक्तपुर नगरपालिकाले विकासको नाममा कसैले दिएको सशर्त सहयोगलाई अस्वीकार गर्दै आएको बताउँदै उहाँले जापानी सरकारले नेपालमै पहिलो पटक श्वासप्रश्वास पुनःस्थापना केन्द्र निशर्तरूपमा भक्तपुर नगरपालिकामा स्थापना गर्न मञ्जुर भएको बताउनुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशको राजनीति मोड्नुका मुख्य कारण शासक पार्टी नेकपाको सैद्धान्तिक विचलन, पद एवम् पैसा (भागबन्डा) भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेकपाभित्रको लोभी पापी, द्रव्यपिशाच र दास मानसिकताका कारण भएको संसद् विघटनको घटना औचित्यपूर्ण छ ।” उहाँ थप्नुहुन्छ, “देश सिक्किम हुनबाट जोगिएको छ ।”
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कम लगानी कम चासो, बढी लगानी बढी चासो राख्ने अभिभावकको वर्तमान मानसिकतामा परिवर्तन आवश्यक भएको बताउँदै शिक्षक, विद्यार्थीपछिको तेस्रो खुट्टा अभिभावकले सक्रिय भूमिका खेलेको खण्डमा कलेजको थप प्रगति हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सरकार शिक्षाको जिम्मेवारीबाट पन्छिँदै गएको वर्तमान परिस्थितिमा कलेज आफैले शैक्षिक गुणस्तर बढाउन अगाडि बढ्नुको विकल्प छैन भन्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ संशोधनसहित पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *