भर्खरै :

बेलायतमा नयाँ शैक्षिक सत्र ढिलामात्र सुरू हुने

लन्डन, २ जनवरी । बेलायतको सबभन्दा ठूलो शिक्षक सङ्गठनले कोभिड–१९ को बढ्दो सङ्क्रमणको कारण क्रिसमसको बिदापछि पनि थप दुई साता सबै विद्यालयहरूमा बिदा दिनुपर्ने बताएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रिय शिक्षा सङ्गठन (एनईयू) का प्रमुखले सबै आधारभूत र माध्यमिक विद्यालयहरू बन्द गर्नुपर्ने बताएका हुन् । ४ लाख ५० हजार सदस्य आबद्ध रहेको सो सङ्गठनले ‘लन्डनको सन्दर्भमा उचित निर्णय देशका अन्य भागमा पनि उचित हुने’ बताएको छ ।
शनिबार एनईयूका उपमहासचिव मेरी बोस्टेडले बीबीसीलाई सबै विद्यालय बन्द हुँदा ठूलो सङ्ख्यामा गरिनु सामुदायिक परीक्षणको लागि समय उपलब्ध हुने बताइन् । उनले सरकारी स्वास्थ्य निकायलाई अविलम्ब यस्तो परीक्षणको थालनी गर्न माग गरिन् ।
बेलायतका शिक्षा सचिव गाभिन विलियमसनले शुक्रबार राति लन्डनका केही प्रशासनिक एकाइमा मात्र नभई सबै आधारभूत र माध्यमिक विद्यालयहरू बन्द गर्ने सूचना जारी गरेसँगै एनईयूबाट यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।
लन्डनका मेयर सकिद खानले बेलायत सरकारले लन्डनका प्राथमिक विद्यालयहरूको सन्दर्भमा गरेको महत्वपूर्ण निर्णयको स्वागत गरेका छन् । विलियमसनले लन्डनका ३२ प्रशासनिक एकाइमध्ये २२ वटामात्र प्रभावित विद्यालयहरू बन्द गर्ने घोषणा गरेका थिए । त्यसको दुई दिनपछि सरकारले लन्डनका सबै विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
लन्डनका केही प्रशासनिक एकाइका नेताहरूले शुक्रबार बेलायत सरकारको नाममा केही क्षेत्रमा आधारभूत विद्यालयहरू खोल्ने निर्णय फिर्ता गर्न पत्राचार गरेका थिए ।
पूर्वयोजनाअनुसार बेलायतका सबै विद्यालयहरूमा जनवरी ४ बाट नयाँ शैक्षिक सत्र सुरू हुने थियो । बेलायत सरकारले बढ्दो सङ्क्रमण दरलाई ध्यानमा राखी विद्यालय आगामी जनवरी १८ सम्मको लागि बन्द राख्ने निधो गरेको हो ।
बेलायत सरकारले विद्यालय बन्दको योजनामा पाक्षिकरूपमा समीक्षा गरिनेछ । शिक्षा सचिवले आफू विद्यालयहरू बन्द हुने अवधि सकेसम्म छोटो होस् भन्ने चाहेको बताएका छन् ।
लन्डनलगायत बेलायतका धेरै क्षेत्रमा अहिले चार तहको बलियो सुरक्षा व्यवस्था लागु गरिएको छ । सो प्रावधानअनुसार स्थानीय जनताले केही अत्यावश्यक परिस्थितिबाहेक घरमा बस्नुपर्नेछ । मानिसहरूलाई मिलेसम्म घरमै बसेर काम गर्न र आफ्नोबाहेकका अन्य क्षेत्रमा प्रवेश नगर्न भनिएको छ ।
कोभिड महामारीविरूद्ध सङ्घर्ष दिलोज्यान दिएर लडिरहेको समयमा केही देशमा आधिकारिक कोरोना भाइरसको खोप अभियान चालू छ । विश्वभर अहिलेसम्म कोरोना भाइरसविरूद्ध २३२ वटा खोपको विकास भइसकेको छ । तीमध्ये ६० वटा क्लिनिकल परीक्षणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *