भर्खरै :

फास्ट ट्रयाकविरुद्धको आन्दोलन

नेपाल कृषिप्रधान देश हो । नेपालको ठूलो हिस्साको जनसङ्ख्या कृषिमा आश्रित छ । तथापि, विगतको तथ्याङ्कलाई हेर्ने हो भने कृषि क्षेत्र प्रत्येक वर्ष ओरालो लाग्ने क्रममा छ । राज्यले कृषि क्षेत्रका लागि योजना र कार्यक्रम ल्याउने गरिए तापनि राज्यको प्राथमिकतामा कहिले पर्न सकेन । यसको ज्वलन्त उदाहरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरव रहेको सम्पदा क्षेत्र खोकना÷बुङ्गमतीमा अवस्थित उर्वर भूमि हो जहाँ भौतिक विकासको नाममा विभिन्न विकासका परियोजनाहरू सञ्चालित तथा प्रस्तावित अवस्थामा छन् ।
खोकना सदियौंँदेखि आत्मनिर्भर, स्वाधीन रही ऐतिहासिक पहिचान एवम् धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको ठाउँ हो । यस बुङ्गमती, खोकना क्षेत्रमा नेपाल सरकारद्वारा विभिन्न राष्ट्रिय आयोजनाहरू तराई मधेस फास्ट ट्रयाक, १३२ के.भी. हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बाग्मती करिडोर, स्मार्ट सिटी, पेट्रोलियम भण्डार, काठमाडौँ रेलवेलगायतका योजनाहरूको नाममा जबरजस्ती जग्गा अधिकरण गरिएको छ । यसले हजारौँ वर्षदेखि आफ्नै मूर्त÷अमूर्त कला संस्कृति, पुरातात्विक महत्व बोकी कृषि पेशा अङ्गाली सहजरूपमा आफ्नो जीविकोपार्जन गर्दै आइरहेका यस क्षेत्रका स्थानीय वासीहरूको अस्तित्व नै सङ्कटमा परी आदिभूमि छोडेर भई जानुपर्ने अवस्था छ । त्यसकारण, करिब एक दशकभन्दा अगाडिदेखि उक्त परियोजनाहरूको विरोध हुँदै आएको हो ।
लिच्छवीकालीन सभ्यता रहेको खोकना र बुङ्गमती बस्तीहरू नेपालकै प्राचीन बस्तीहरूमध्ये एक हो । कुःदेश, सिखलीजस्ता पुरातात्विक र सांस्कृतिकरूपमा ठूलो महत्व बोेकेको बस्ती हो । कुःदेशमा अझ खन्ने हो भने पहिलेका अवशेष संरचनाहरू भेट्टाउन सकिन्छ । खोकनाका मानिसहरू पहिले कुःदेशमा बस्ने गर्दथे भन्ने विश्वास अझ पनि खोकनावासीमा रहेको छ ।
किसानहरूले जीविकोपार्जनका लागि खेती गरी आएका अधिकांश कित्ता जग्गा सूचनामा परेका छन् । यसबाट खेती गर्ने किसानको जग्गा प्रयोजनहीन बनाइएको छ र बन्ने अवस्था देखिन्छ । अर्कोतर्फ मछिन्द्रनाथ, रुद्रायणीलगायत अनेकौँ मूर्त तथा अमूर्त सम्पदा र संस्कृतिलाई विनास गर्ने गरी यी जग्गा लिन लागेको छ । रुद्रायणी जात्रा, सिकाली जात्रा यहाँका बासिन्दाहरूले विशेषरूपमा मनाउने गर्दछन् । अधिकांश बासिन्दाहरू अझ पनि कृषिमा निर्भर छन् । यहाँको संस्कृति र कृषिबीच पनि गहिरो सम्बन्ध पाइन्छ । मौसमअनुसार पर्वहरू मनाउने र विभिन्न परिकारहरू बनाई पारिवारिक तथा सामाजिक सम्बन्धलाई मजबुद बनाइन्छ ।
तराई मधेस फास्ट ट्रयाकजस्ता परियोजना खोकना र बुङ्गमतीका लागि उपयुक्त छैन । यसले विश्वकै गौरव मूर्त तथा अमूर्त सामाजिक, सांस्कृतिक तथा सम्पदा नष्ट गर्छ भन्दै वातावरणीय प्रभाव मूल्याङ्कनका लागि गरिएको सर्वेक्षणबाट स्थानीय जनताले विरोध गरेका थिए । विसं २०७२।१२।०४ गते राष्ट्रिय दैनिक पत्रिका अन्नपूर्ण पोष्टमा खोकनाको खुदोलमा फास्ट् ट्रयाकको बसपार्क राख्ने निर्णयसँगै मुआब्जा निर्धारणको जग्गा अधिकरणको सूचना प्रकाशित गरिएको थियो । यसै सूचनासँगै खोकना, बुङ्गमतीमा फास्ट् ट्रयाक योजनाको विरोधमा खोकना, बुङ्गमतीका पीडित किसानहरू विरोध गर्दै आएका छन् । विगत १२ वर्षदेखि वार्ता, बैठक, माइतीघर मण्डलामा सांस्कृतिक झाँकी, रुद्रायणी देवगणको उपस्थितिमा हजारौँ पीडित किसानहरूको शान्तिपूर्ण ¥याली तथा विरोध सभा, फास्ट् ट्रयाक आयोजना कार्यालय बानेश्वरमा मागसहित धर्ना आदि कृषि आन्दोलन भइरहेको छ । सर्वोच्च अदालतमा रित परेको छ । सडकदेखि सदनसम्म पटक–पटक आवाज उठिरहेको छ । तर, सरकारबाट कहिल्यै ठोस निर्णय दिइएको छैन ।
खोकना विकासको विरोधी होइन विगतका वर्षहरूमा आधुनिकता र राष्ट्रको विकासका लागि प्रसिद्ध सैवु आवास (हाल मुख्यमन्त्री क्वाटर बन्दै गरेको) क्षेत्र ३५० रोपनी, रेडियो स्टेसन ८० रोपनी, खानेपानी भण्डारण र वितरणका लागि ६५ रोपनी, पाइप लाइनका लागि निःशुल्क जग्गा, नेपाली सेनालाई प्यारा डम्पिङ्गका लागि सयौँ रोपनी, कुष्ठरोग अस्पताल, आवास व्यवस्थापन र पुनःस्थापनाका लागि सयौँ रोपनी किसानहरूले राज्यलाई उपलब्ध गराइसकेका छन् ।
स्थानीय आदिवासी जनता र गुठीलाई जानकारी नै नदिई कानुनविपरीत गैरन्यायिक ढङ्गले राष्ट्रिय गौरवको नाममा काठमाडौँ तराई फास्ट् ट्रयाकको नाममा कृषि भूमि र सम्पदा क्षेत्र अधिकरण गरिएको छ । सम्पूर्ण मूर्त अमूर्त जीवन्त सांस्कृतिक सम्पदा र संस्कृति यस खोकना र बुङ्गमतीको भूमिसँग अन्योन्याश्रित सम्बन्ध छ । यी सम्पदा क्षेत्र तथा कृषियोग्य भूमिलाई संरक्षण र संवद्र्धन गर्नका लागि तत्कालै फास्ट् ट्रयाकलगायतका परियोजनाहरू यथाशीघ्र यस क्षेत्रबाट खारेज गरी जीवन्त सङ्ग्रहालयको रूपमा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरव बोकेको सांस्कृतिक नगरी क्षेत्र खोकना–बुङ्गमतीलाई बचाउनुपर्ने स्थानीय जनता तथा जनसरोकार खोकना बुङ्गमतीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *