भर्खरै :

छिनछिनमा अघोषित लोडसेडिङ्ग

सरकार देश र जनताप्रति जिम्मेवार नहुँदा विगतमा दिनको १८ घण्टासम्म लोडसेडिङ्ग भएको थियो । जलस्रोतको धनी देशमा वर्षौँसम्म १४–१८ घण्टा लोडसेडिङ्ग हुनु सत्तासीन दलको गैरजिम्मेवारी नै हो । लोडसेडिङ्गको बेला मुलुक नै अन्धकारजस्तो थियो । पहिले विकास नभएको र जनताको जीवनस्तर नउठेको देशलाई अन्धकारको देश भनिन्थ्यो । अन्धकार भएको देशलाई सरकारले उज्यालो छरेर प्रगति गर्नुपथ्र्यो । लोडसेडिङ्गको समय घटाउने अभ्यास गर्दागर्दै कुलमान घिसिङ विद्युत् प्राधिकरणको नेतृत्वमा आएपछि लोडसेडिङ्गको समय घटेको थियो । लोडसेडिङ्ग घटाउन भित्रभित्र भइरहेको अभ्यास आन्तरिक पक्ष थियो । तर, घिसिङ्गले प्राधिकरणको नेतृत्व गरेपछि एकाएकजस्तो लोडसेडिङ्ग अन्त्य भयो । त्यो स्वागतयोग्य थियो ।
कुलमान घिसिङ बहिर्गमन भएपछि फेरि बीचबीचमा लोडसेडिङ्ग हुन थालेको छ । सरकारले घोषित लोडसेडिङ्ग नगरे पनि बेलाबखत छिनछिनमा लोडसेडिङ्ग भइरहेको छ । छिनछिनमा भइरहने लोडसेडिङ्गले गर्दा फेरि लोडसेडिङ्ग बढेर देश अन्धकार हुने त होइन भन्ने कुरा उपभोक्ताहरूले आशङ्का व्यक्त गर्न थालेका छन् । सुख्खायाम सुरु भएकोले पनि छिनछिनमा लोडसेडिङ्ग त भइरहेको होइन भन्ने आशङ्का बढेको हो ।
प्राधिकरणले लोडसेडिङ्ग नहुने विश्वास दिलाएको छ । हो, अहिले देशमा घोषित लोडसेडिङ्ग छैन तर अघोषित लोडसेडिङ्ग भइरहेको यथार्थ हो । यसलाई कसैले ढाकछोप गर्नसक्दैन । कुलमान घिसिङले लिएको जनताको विश्वास अहिले गुम्न दिनु हुँदैन । देशको लागि चाहिने बिजुली उत्पादन गर्ने क्षमता देशमा छ । सरकार जिम्मेवारीपूर्वक अघि बढेको भए देशमा लोडसेडिङ्ग हुने नै थिएन । तर, नेपालले पुग्दो बिजुली उत्पादन नगरी भारतसँग आयात गरिरहेको छ । उत्पादित बिजुली पनि नेपाली जनताको घरआँगनमा नपु¥याई भारतमा बिक्री भइरहेको छ । भारतसँग महँगोमा बिजुली किने र नेपालले सस्तोमा भारतलाई बिजुली बेच्ने काम गरिरहेको छ । यो विडम्बनाको विषय हो ।
फेरि लोडसेडिङ्ग बढ्ने जनताको आशङ्का मेट्ने काम सरकारले गर्नुपर्छ । बीचबीचमा भइरहेको लोडसेडिङ्गमा नियन्त्रण गर्नुपर्छ । अघोषित लोडसेडिङ्ग हुँदा सर्वसाधारण जनतामात्र होइन सरकारी तथा गैरसरकारी कार्यालय प्रभावित भएका छन्, उद्योग तथा कलकारखाना र अन्य साना ठूला उद्योग तथा साना ठूला व्यवसाय गरेका व्यवसायीहरू मर्कामा परेका छन् । समयको गतिसँगै विद्युत्को माग स्वाभाविक हो । जनताको माग पूरा गर्न सरकार अघि बढ्नुपर्छ । मागअनुसार आफ्नै देशमा विद्युत् उत्पादन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *