भर्खरै :

बुङमतिमा माओ मोह

‘म किन जाने आन्दोलनमा ?’
दर्शन दाइ अचानक रन्किनुभयो । उहाँ आवेशमा आएको यो पहिलोचोटि होइन । बुङमतिको यस कोठामा सरेपछि मलाई अलि सजिलो भएको छ । कोठा सामुन्नेको पसलमा अनेक पत्रपत्रिकाहरू आउँछन् । अचेलवली प्रभातकर्मबाट निवृत्त भएपछि म दर्शन दाइको पसल जाने गर्छु । उहाँको पसल खासमा किराना पसल हो । तर उहाँलाई पत्रिका र चियाको लतजस्तै छ । राजधानीमा १ रुपियाँ कप चिया पाइने जमानामा उहाँ चियाका अम्मली नै हुनुहुन्थ्यो रे । पसलमा पत्रिका पढ्न र गफिन आउने ग्राहकलाई चिया पिलाउन उहाँलाई फजुल खर्च गरेजस्तो लाग्दैन । कुनै बेला मदन भण्डारी, रूपचन्द्र विष्टजस्ता नेताहरू उहाँको पसलमा नपसी वसन्तपुरतिर लाग्दैनथे रे । त्यसबेला उहाँको पसल राजधानीमै थियो ।
आज एक दैनिक पत्रिकामा नेकपाका दुई नेताको तस्बिर छापिएको छ । राजधानीमा आलिसान बङ्गलामा बस्ने दुवै नेता मास्कभित्र मुख लुकाई सडकमा बसेको तस्बिर कत्ति पनि सुहाएको छैन । पत्रिकातिर देखाउँदै म दर्शन दाइसँग जिस्किएँ, “कामरेडहरू आन्दोलनमा उत्रेछन् त !”
“कामरेड नभन्नुस् सर । शब्दकै अपमान हुन्छ । अब यिनीहरू मेरा कामरेड होइनन् ।”
“यसको अर्थ पहिला यिनीहरू हजुरका कामरेड थिए भन्ने लाग्यो, हैन र ?!”
“ए, मैले हजुरलाई बताएको छैन है ¤ पहिला म मदन भन्डारी र रूपचन्द्र विष्टको कामरेड थिएँ । उहाँहरूसँग मेरो कुराकानी खुब जम्थ्यो । राजाले रूपचन्द्रलाई थाहा आन्दोलनको छाप लगाएको गाडी दिए । तैपनि राजाका मान्छेहरूको विरोध गर्न नहिच्किचाउने ! हरे, कस्तो जमाना थियो !”
“कस्तो थियो ?”
“एउटा घटना बताउँछु । पञ्चायतकाल सिधिएको थिएन । भर्खरभर्खर मोटरसाइकल किनेको थिएँ । एकजना साथी पसलमा आयो । कहाँ गएर आएको भनी सोधेँ । कर तिरेर भन्यो । केको कर भनेको, मोटरसाइकलको पो भन्छ । मोटरसाइकलको कर तिर्नुपर्ने, कहाँ गएर तिर्ने भन्दा, बबरमहलमा भन्यो । अनि दिउँसोपख कर कार्यालयमा गएँ । मोटरसाइकलको कर तिर्ने यहीँ हो भनी एकजना कर्मचारीलाई सोधेको, उसले अगाडिको कोठामा पठाइदियो । कर्मचारीलाई मोटरसाइकलको कर तिर्नु थियो भनेँ । उसले २५ रुपियाँ लाग्छ भन्यो र बिलबुक हे¥यो । तपाईंको घर कहाँ हो भनी सोध्यो । मैले बुङमति भनेँ । बुङमति गाउँ हो कि नगर हो, सोध्यो । मैले गाउँ हो भनेँ । ए, त्यसो भए कर तिर्नुपर्दैन, नगरको भए मात्र तिर्नुपर्छ भन्यो । लु हेर्नुस् त, अहिलेको कर्मचारी भएको भए २५ को ठाउँमा ५० लिन्थ्यो, तर हातमा आएको पैसा छोड्दैनथ्यो ।”
“यो त समयको फेर भयो । पञ्चायतकालमा भ्रष्टाचार र मण्डलेहरूको बिगबिगी पनि अचाक्ली थियो, हैन र ?”
“थियो । त्यसैले त ०४६ सालमा लडेको हो । त्यसबेला पसलमा काम गर्ने मान्छे राखेर पार्टीको कामले म देशैभरि गएको थिएँ । मदन भण्डारीको घरमा एक महिनाभन्दा बढी बसेँ र सँगै खाएँ ।”
“त्यसो भए दाइले धोका खानुभएछ ! ”
दर्शन दाइ अमिलो हाँसो हाँस्नुभयो । पसलमा एउटा केटो मिठाइ लिन आयो । उसको मैलो धुस्रो लुगा र अनुहारबाट गरिबी चिहाइरहेको थियो । तैपनि उसको मुस्कान संसारको कुनै पनि मिठाइभन्दा बढ्ता मीठो थियो । चकलेटी प्रचारबाजीमा लागेर बच्चोले एकाबिहानै अनारदानाजस्ता दाँत बिगार्न गइरहेको थियो । न दर्शन दाइले उसलाई चकलेटको पछाडि नलाग भन्नुहुन्छ, न केटो नै मान्छ । बजारु आडम्बरको मात लागेका सहरिया र पढेलेखेका नेपालीहरू त्यो केटोभन्दा धेरै फरक छैनन् ।
म पत्रिकामा आँखा लगाइरहेको थिएँ । बच्चो गएपछि दाईले कुरा सुचारु गर्नुभयो । मजदुर दैनिकको अग्रपृष्ठमा अध्यक्ष माओको तस्बिर छापिएको थियो । त्यतै नजर लगाउँदै दर्शन दाइ बोल्नुभयो ।
“मेरो कामरेड त उहाँ हो । सुरुमा माओलाई देखेर नै म कामरेड बनेको थिएँ । एउटा कामरेडले विश्वासघात गरेपछि जङ्गलबाट निस्केको कामरेडको पछाडि लागेँ । तर उनीहरू दुवैजना सक्कली कामरेड रहेनछन् । झन् राजाभन्दा खराब पो निस्किए । माओले जनतालाई लुट्नुपर्छ भनेर कतै भन्नुभएको छैन ।”
पत्रिकामा मेरा आँखा साहित्यपृष्ठमा पुग्यो । एक “वामपन्थी बुद्धिजीवी” नामधारी जीवातले आन्दोलनको आह्वानसहितको अन्तर्वार्ता दिएका रहेछन् । म पुनः जिस्किएँ ।
“बुद्धिजीवी कामरेडले पनि आन्दोलनमा बोलाएछन् त ।”
“तिनीहरूले भनेर हुन्छ ?”
“किन हुन्न ?!”
“यहाँ तल हाउजिङ कोलोनी छ नि ! त्यहाँ सबै बुद्धिजीवीहरू त बस्छन् । कोही पूर्व कर्मचारीहरू पनि छन् । सबैका छोराछोरी विदेशमा छन् । कसैकसैको त श्रीमती पनि उतै छन् । आफ्ना छोराछोरी विदेशमा पठाउने, अरूका छोराछोरीलाई सडकमा आऊ भन्ने ?… कसको लागि आन्दोलनमा जाने ?”
“लौ, उखु किसानहरू आन्दोलनमा आए । खोकना बुङमतिका किसानको आन्दोलन छ । आन्दोलन त कति छ कति ।”
“नेकपाको आन्दोलनले अरू सबै आन्दोलन खायो नि ¤ त्यही आन्दोलनमा जाँदिन भनेको हो । दुईजना नेताको कुर्सीको लागि किन आन्दोलनमा जाने ? किन उनीहरूको भरेङ बन्ने ? उनीहरूले हाम्रो लागि आन्दोलन गरेको हो र ? उनीहरूको नाटक सत्ताको लागि हो । जनताको लागि आन्दोलन गरेका हुन्थे भने उखु किसानको पक्षमा जान्थे । चिनी मिल राष्ट्रियकरण गर्नुपर्छ भनेर माग राख्थे । किसानलाई जमिन दिनुपर्छ भन्थे । राजधानीमा स्मार्ट सिटी थपेर किसानको जग्गा र वातावरण सत्यानाश गर्नुहुन्न भन्थे ।”
“जनताको आन्दोलन ख्रुश्चेभजस्ता खन्चुवाहरूले किन उठाउँथे र ! माओजस्ता अगुवाले पो उठाउलान् ।” मैले जोड दिएँ ।
“खै, नेपालमा त्यस्तो नेता आउँदैन होला !”
“नेता आकाशबाट बर्सिने हो र दाइ ? सङ्कट चर्किँदै जाँदा ‘अब त अति भयो ! भनी दरबार र घरबार छोड्नेहरू पनि होलान् नि । माओ र चाउ एन–लाइ पनि जमिनदारकै छोराहरू हुनुहुन्थ्यो । लेनिन वकिल हुनुहुन्थ्यो । सुविधाभोगी जीवन त्यागेर उहाँहरूले जनताको आन्दोलन उठाउनुभयो, जनतालाई राजनीतिको शिक्षा दिनुभयो । चाउ एन–लाइलाई त लामो अभियानमा कैयन दिन भोकभोकै हिँड्नुपरेकोले पेटको समस्या बल्झेर क्यान्सर लाग्यो । जमिनदारको छोरा भोकले म¥यो ¤ कोरियाका किम इल सङले १३ वर्षको उमेरमा देशलाई मुक्त नगर्दासम्म नफर्कने किरिया खाएर घर छोड्नुभयो । देशलाई जापानीहरूबाट मुक्त गरेर २० वर्षपछि घर फर्कनुभयो ।”
दर्शन दाइ रल्ल परेको देखेर मैले कुराको बिट मारेँ ।
“दाइ, अब धोका खाने होइन । हाम्रै पालामा यो देशमा माओ जन्माउनुपर्छ । सके मशाल बनेर आफै सल्किनुपर्छ । यो देशको भाग्य अब हाम्रै हातमा छ ।”
“खै भाइ, आजभोलि पसलमा सबै काम आफैले हेर्नुपर्छ । पहिलेजस्तो खटिन सकिँदैन होला ।” अलिबेर रोकिएर तीलचामले दाह्री पाल्नुभएका दर्शन दाइले अध्यक्ष रोहितको तस्बिर छापिएको पत्रिका समाउँदै भन्नुभयो, “हुन त उहाँले यो उमेरमा पनि हार खानुभएको छैन ।”
यत्तिकैमा गितार बोकेर पसलमा दर्शन दाइको छोरा सुदिन पस्यो । दाइले छोरालाई यसरी हेर्नुभयो मानौँ उसको गोलो गहुँगोरो मुहार र चिम्सा आँखामा माओको निष्कपट हाँसो खोजिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *