भर्खरै :

नेपाली बौद्धिक वृत्त : एक आलोचना

नेपाली बौद्धिकहरूको विषयमा लेख्ने अतुल ल्याकत यस लेखकसँग छैन । नेपालको इतिहासमा उनीहरूले खेलेको भूमिका र त्यसले जनजीवनमा पारेको असरले आजित भएर केही प्रश्नमाथि कलम घोट्ने धृष्टता गर्दै छु । एक नेपालीको रूपमा यसो गर्नु लेखकको अधिकार पनि हो ।
डा. हर्क गुरुङले आफ्नो पुस्तक ‘नेचर एन्ड कल्चर ः रेन्डम रिफ्लेक्सन्ज’ मा नेपाली बौद्धिकहरूबारे मिहीन चर्चा गरेका छन् । विशेषतः कमलप्रकाश मल्लको लेखमाथि टिप्पणी गर्दै उनले नेपाली समाजको बौद्धिक एकाइको रूपमा झाँक्री, लामा वा पण्डितको तप्कालाई उभ्याएका छन् । उनी नेपाली बौद्धिकहरूलाई चार धारामा यसरी विभक्त गर्छन् – एक, देशका विभिन्न भेगमा छरिएका विविध भाषा बोल्ने आदिवासी वा जनजातिको धारा । दुई, हिमाली भेगमा प्रचलित बौद्धहरूको लामावादी धारा । तीन, भारतबाट आएका वा धर्मान्तर गरेका हिन्दुहरूको धारा । चार, आधुनिक शिक्षाप्राप्त बौद्धिकहरूको धारा । (इसाईहरूले राजनीतिक पार्टी नै खोलिसकेको र त्यसले नेपाली संस्कृतिमा केही चाडबाड चर्चिसकेको हुनाले आज यस लर्कोमा इसाई बौद्धिकहरूको धारा पनि थप्दा हुन्छ ।) यी सबै बौद्धिकहरूले आफ्नो तहमा एउटै उद्देश्य पूरा गर्छन् । गुरुङले कर्मचारीतन्त्रलाई पनि नेपाली बौद्धिक वृत्तमा स्थान दिएका छन् किनभने कर्मचारीहरूले राज्यको बौद्धिक आवश्यकता सम्बोधन गर्छन् र यसै उद्देश्यका निम्ति राज्यले तिनलाई तयार पनि गर्छ । गुरुङले आधुनिक बौद्धिकहरूलाई दुई भिन्न श्रेणीमा बाँडेका छन् । उदारवादी संंवैधानिक राजनीतिका हिमायती र माओका चार (दार्शनिक) रचनालाई अंगाल्ने बौद्धिकहरू । गुरुङको शब्द छनोट झर्कोलाग्दो छ । पुँजीवादी बौद्धिकहरूलाई संवैधानिक वा संविधानवादी भन्नुले कम्युनिस्टहरू संविधान नमान्ने छाडा हुन्छन् भन्ने अर्थ लाग्छ । अर्को, कम्युनिस्ट बौद्धिकहरूलाई माओका चार रचनाका शिष्य भन्नुले कम्युनिस्टहरू माओबाहेक कसैबाट सिक्दैनन् भन्ने अर्थ लाग्छ । यसप्रकार ‘उदारवादी’ गुरुङको शब्द छनोटले कम्युनिस्ट बौद्धिकहरूप्रतिको उनको ‘अनुदारता’ उदाङ्गो पार्छ ।
हामीकहाँ ०७ सालदेखि नै ‘नयाँ नेपाल’ को हल्ला चल्न थालेको हो । ‘नयाँ नेपाल’ बारे ‘बौद्धिक’ हरूले भिन्दाभिन्दै भाष्य दिँदै आएका छन् । हर्क गुरुङले तिनलाई पुरातनपन्थी र प्रगतिशील भनी बाँडेका छन् । यो भेद अशिक्षित वा रैथाने ज्ञानका वाहकहरूमा मात्र नभई शिक्षितजनमा पनि पाइन्छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक देश हुँदाहुँदै पनि नेपाली इतिहास र संस्कृति कौटिल्य, व्यास, वात्स्यायन आदिका हिन्दु रचनामा खोज्न आधुनिक बौद्धिकहरूको एक तप्का सक्रिय हुने गरेको छ । यसलाई गुरुङले बौद्धिक सङकीर्ण भन्छन् । मङ्गोल जातिहरूलाई आर्य संस्कृतिको एउटा जातमात्र देख्नु र संस्कृत भाषालाई नै संस्कृति ठान्नु यस कोटीका बौद्धिकहरूको भूल भएको गुरुङको ठहर छ । जस्तो, बालचन्द्र शर्माको शब्दकोश (संस्कृत शब्दहरूको भरमारले गर्दा) टर्नरको शब्दकोशभन्दा पनि रुढीवादी भएको उदाहरण गुरुङले प्रस्तुत गरेका छन् ।
हर्क गुरुङ भन्छन् – बौद्धिकहरू सत्ताविरोधी चरित्रको हुनुपर्ने मान्यता छ तर बौद्धिकहरूले शून्यतामा काम गर्न सक्दैनन् । यसरी हेर्दा नेपाली बौद्धिकहरू सत्ताभित्र र बाहिर दुवैतर्फ थिए र छन् । राजनीतिक दृष्टिले यी बौद्धिकहरूलाई तीन भागमा बाँड्नुपर्छ – दक्षिणपन्थी, उदारवादी र वामपन्थी । गुरुङले जसलाई आधुनिक भनेका छन्, तिनलाई समेत यी तीन श्रेणीमा बाँड्न सकिन्छ । गुरुङले जसलाई सङ्कीर्ण भनेका छन्, तिनीहरू वास्तवमा दक्षिणपन्थीहरू हुन् । दक्षिणपन्थी बौद्धिकहरूले नेपाली समस्याहरूलाई निकास दिन सक्दैनन् भन्ने कुरा नेपाली इतिहासले पटकपटक सावित गरिसकेको छ । यसको एउटा बलियो कारण छ । दक्षिणपन्थीहरू आ–आफ्नो धर्मका आधारमा सबै धर्म संस्कृतिका नेपालीलाई एकै राष्ट्रमा एकताबद्ध गर्न चाहन्छन् । धार्मिक सहिष्णुताको फलाकोमा सधैँ इतर धर्म, संस्कृति र सम्प्रदायका मानिसका निम्ति दोस्रो, तेस्रो दर्जाको स्थानमात्र उपलब्ध हुन्छ । खस अहंकारवादभित्र समेत जात, थर र गोत्रका अन्तहीन दज्र्यानीहरू छन् । दक्षिणपन्थको निगाहमुखी प्रवृत्तिले नागरिकलाई दाता र प्रापकमा बाँडिहाल्छ । धार्मिक र साम्प्रदायिक वर्चस्वको लडाइँले इतिहासलाई थुप्रै नृशंस युद्धहरू दिएको छ । यी यावत कारणले दक्षिणपन्थी धाराका बौद्धिकहरूको ‘राष्ट्रिय एकता’ को नारा थोत्रो गीत हो जसमा हुनेखाने खानदानीहरूमात्र नाच्छन् ।
नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेयता उदारवादी र वामपन्थी तप्काबाट उल्लेख्य बौद्धिकहरू दक्षिणपन्थतिर मिसिएको देखियो । उदारवादी खेमाका ढल्कुवाहरूले राष्ट्रिय पुनःजागरणको नारा भट्याइरहेका छन् भने वामपन्थी खेमाका ढल्कुवाहरू पृथ्वीनारायण शाहको नाममा एकजुट भइरहेका छन् । नेपालका ‘कम्युनिस्टहरू’ बाहुनवादी हुन् भनी जुन आरोप लाग्ने गथ्र्यो, त्यो पूर्णतः मिथ्या थिएन भन्ने कुरा यसै परिघटनाबाट पुष्टि हुन्छ । आधुनिक बौद्धिकहरूको उदारवादी र वामपन्थी खेमा अद्यापि छाँटिइसकेको छैन । सत्ता र शक्तिमा ठूलो भागको आशले दक्षिणपन्थीहरू यी दुवै शिविरमा लुकेर बस्ने गर्छन् । बेलाबेला तिनीहरू मुखर बन्ने गर्छन् । त्यसैगरी, दूरदराजका गाउँठाउँमा पुँजीवादी पार्टीहरूले चुनावी घाँटी रेटाइका क्रममा रुढीवादी झाँक्री, पण्डित, लामा, शिक्षक र कर्मचारीलाई उपयोग गर्न थालेको धेरै समय बितिसकेको छ ।
अधिकांश ‘प्रतिबद्ध’ उदारवादी र वामपन्थी बौद्धिकहरूको टाटपल्टाइ हाल खुला रहस्य बनिसकेको छ । १० मा ९ जना पुँजीवादी बौद्धिकहरूको सम्पूर्ण खुनपसिना भारत वा पश्चिमा शक्तिलाई रिझाउनमा खर्च हुने गर्छ । यी विकासे बौद्धिकहरू नेपाली इतिहासमा साम्राज्यवादी विचारका बौद्धिक दलालमात्र सावित भएका छन् । नवउदारवादी अर्थनीति भित्र्याउने रामशरण महत यसका नमुना हुन् । राजधानीका धेरै ‘बौद्धिक’ घरानाहरू वा कन्सल्ट्यान्टहरू यही कोटीका बौद्धिकमा पर्छन् । खासमा उदारवादी बौद्धिकहरूको सोच अनुरूप नेपालमा व्यवस्थित पुँजीवादको विकास गर्न हाम्रो भौगोलिक अवस्थिति बाधक बन्छ । चीन नेपालमा अहस्तक्षेपको स्थितिमा रहे पनि भारतले त्यसो गर्ने छैन । यहाँ उसका प्रशस्त राजनीतिक, सांस्कृतिक र आर्थिक स्वार्थहरू गाँसिएका छन् । स्पष्ट शब्दमा भन्दा नेपाल भारतको एकाधिकार पुँजी खेल्ने मैदान हो । तसर्थ उसले यहाँ ‘राष्ट्रिय पुँजीवाद’ लाई फस्टाउन दिनेछैन । र, नेपाली पुँजीवादमा भारतसँग लड्ने साहस छैन । सम्झौता नै उसको नीति हो । त्यसैले ऊ दलालीमै रमाउने गर्छ । उदारवादी बौद्धिकहरू यसै स्थितिका प्रतिबिम्ब मात्र हुन् । बौद्धिक दलाली गरेर आफ्नो जहान परिवार पाल्नुमै यिनीहरूको जीवन सक्किने गर्छ ।

नेपालमा ‘प्रतिबद्ध’ वामपन्थी बौद्धिकहरूको ठूलो तप्कालाई ‘राष्ट्रवाद’ सँग जोडेर नियाल्न सकिन्छ । नेपालका केही वाम घटकले अहिले पनि राष्ट्रवाद शब्दलाई देशभक्तिको पर्यायवाचीका रूपमा प्रयोग गर्ने गर्छन् । यही एउटा उदाहरणले चौथो महाधिवेशन र त्यसबाट फाटेका हाँगाबिङ्गाका बौद्धिकहरूको सैद्धान्तिक खोट र अल्पज्ञान उदाङ्गो हुन्छ । कम्युनिस्टहरू राष्ट्रवादी नभई अन्तर्राष्ट्रवादी हुन् भनी उनीहरूलाई थाहा नभएको नहोला । हुन्छ नै भने पनि नेपालमा हिन्दु राष्ट्रवाद मात्र संभव छ । के उनीहरूले भनेको राष्ट्रवाद खस अहंकारवाद हो ? यस विषयमा उनीहरू प्रस्ट हुन आवश्यक छ । पूर्व माले घटकसमेत राष्ट्रवादी रुझानले ग्रस्त थियो भनी हालै मात्र एक बुद्धिजीवीले खुलासा गरेका छन् । राजा महेन्द्रका दाहिने हात मानिने दामोदर शमशेर राणाले मालेका बौद्धिकहरूलाई राष्ट्रवादमा दीक्षित गर्थे भनी खगेन्द्र सङ्ग्रौलाले लेखेका छन् । त्यसैको फेरोमा आफू पनि परेको उनको पछुताउ छ ।

विश्व इतिहासले देखाइसकेको छ, उदारवादी बौद्धिकहरू मूल ध्येयमा दक्षिणपन्थीहरूभन्दा भिन्न हुँदैनन् । उनीहरू एकअर्काका परिपुरकमात्र हुन् । यी दुवैथरी बौद्धिकहरू शोषणका जरा उखेल्न चाहँदैनन् । नेपालमा भूमिसुधार जारी गर्दा त्यसलाई ‘रेडबुक’ सँग दाँज्ने हृषिकेश शाह हुन् वा जनताको हित गर्नैका निम्ति भूमिसुधार गरिनुहुँदैन भन्ने महेशचन्द्र रेग्मी, शोषणकारी समाजलाई निमिट्यान्न पार्नु उनीहरूको लक्ष्य थिएन । विपी कोइरालाको जुन गुणगान हुने गर्छ त्यो पनि आधारहीन छ । बेलायती राजदूतलाई साक्षी राखेर सहयात्री नेताहरूसँग कुरा गर्ने कोइराला पश्चिमी ‘विकास’ का कारिन्दाको स्तरभन्दा माथि थिएनन् । बेलाबेला नेपाली अखबारहरूमा ठूलो साजसज्जासाथ छापिने उदारवादी बौद्धिकहरूका ‘पराक्रमहरू’ सारमा नेपाली पुँजीवादीहरूको अल्पज्ञानी जनता सामुन्ने फोस्रो छाती पिटाइ र विदेशी सामुन्ने दाँत ङिच्चाई सिवाय केही होइन । केही उदारवादीहरू आजभोलि नेपाली समाजको बौद्धिक एकाईको रूपमा रहेका शिक्षकलाई प्रभावित गर्ने खालका प्रकाशनमा लागि परेका छन् । उनीहरू बेलायती गुप्तचर विभागका लागि काम गर्ने जर्ज अर्वेल र गान्धीवादी गिजुभाईका रचनाहरूको प्रचार गर्दैछन् । जर्ज अर्वेलको हकमा उदारवादीहरू खसोखास कम्युनिस्टविरोधी ‘अनुदार’ हुन् भने गिजुभाईका रचनाको परिपालन सस्तो ज्याला र हिनताबोधले पीडित सामान्य शिक्षक र अभिभावकको लागि भवसागर हो । नेपालमा भावना असल भए पनि सैद्धान्तिक ठम्याइले गलत स्थानमा श्रम, सीप र समय बर्बाद गर्ने उदारवादीहरू नभएका होइनन् । पछिल्लो पुस्ताले तिनीहरूबाट समेत सिक्नुपर्छ ।
नेपालमा ‘प्रतिबद्ध’ वामपन्थी बौद्धिकहरूको ठूलो तप्कालाई ‘राष्ट्रवाद’ सँग जोडेर नियाल्न सकिन्छ । नेपालका केही वाम घटकले अहिले पनि राष्ट्रवाद शब्दलाई देशभक्तिको पर्यायवाचीका रूपमा प्रयोग गर्ने गर्छन् । यही एउटा उदाहरणले चौथो महाधिवेशन र त्यसबाट फाटेका हाँगाबिङ्गाका बौद्धिकहरूको सैद्धान्तिक खोट र अल्पज्ञान उदाङ्गो हुन्छ । कम्युनिस्टहरू राष्ट्रवादी नभई अन्तर्राष्ट्रवादी हुन् भनी उनीहरूलाई थाहा नभएको नहोला । हुन्छ नै भने पनि नेपालमा हिन्दु राष्ट्रवाद मात्र संभव छ । के उनीहरूले भनेको राष्ट्रवाद खस अहंकारवाद हो ? यस विषयमा उनीहरू प्रस्ट हुन आवश्यक छ । पूर्व माले घटकसमेत राष्ट्रवादी रुझानले ग्रस्त थियो भनी हालै मात्र एक बुद्धिजीवीले खुलासा गरेका छन् । राजा महेन्द्रका दाहिने हात मानिने दामोदर शमशेर राणाले मालेका बौद्धिकहरूलाई राष्ट्रवादमा दीक्षित गर्थे भनी खगेन्द्र सङ्ग्रौलाले लेखेका छन् । त्यसैको फेरोमा आफू पनि परेको उनको पछुताउ छ । साधारण सत्य बुझ्न लामो समय लिएको र सहस्र पाठकलाई भ्रममा पारेकोमा उनीजस्ता बौद्धिकहरूलाई इतिहासले माफ गर्नेछैन । त्यसबाहेक बागी सङ्ग्रौलाले महेन्द्रीय राष्ट्रवादका विरुद्ध अर्को अतिवादको वकालत गरे । मधेस आन्दोलनताका देशविरोधी नाकाबन्दीलाई समेत सही ठह¥याए । त्यस आन्दोलनमा मधेसी किसानका निम्ति क्रान्तिकारी भूमिसुधारको माग छँदै थिएन । किसान आन्दोलनबाहेक तराईका शोषितजनका समस्याहरू हल गर्ने अन्य उपाय थिएन र छैन । अन्य सबै विषय तपसीलका हुन् । सङ्ग्रौलाकै लस्करका केही बौद्धिकहरू आ–आफ्ना क्षेत्रमाथि काठमाडाँैले हेलाहोचो गरेको अथवा आफ्नो भेगलाई सत्ताले ‘आन्तरिक उपनिवेश’ बनाएको चर्चा गर्नेगर्छन् । पूर्वी मधेसदेखि पश्चिम जुम्ला, बझाङसम्म यस्तो लेख्ने र बोल्नेहरूको कमी छैन । वास्तवमा काठमाण्डौ उपत्यकाको कुनाकाप्चाका पहाडी वस्तीहरू सुदूर प्रदेशहरूभन्दा बढी विकसित छैनन् । केही त कर्णालीभन्दा पनि पिछडिएको स्थितिमा छन् ।
वामपन्थी बौद्धिक वृत्तमा मूल्याङ्कन मासिकले प्रशस्त हलचल ल्याएको इतिहास बेवास्ता गर्न सकिन्न । एक अर्थमा मूल्याङ्कनपन्थीहरूले नै नेपालको पछिल्ला वाम बौद्धिकहरू हुर्काएको मान्न सकिन्छ । मूल्याङ्कनपन्थले जन्माएका बौद्धिकहरूको टाटपल्टाइ हेर्दा लाजमर्दो स्थिति छ । यसको भ्रूण मूल्याङ्कनको सैद्धान्तिक अस्पष्टतामा खोज्नुपर्ने हुन्छ । मूल्याङ्कनले एमालेलाई कहिल्यै संशोधनवादी देखेन, त्यसरी उसको पोल खोलेन वा उसलाई चिढाउन चाहेन । यो ज्ञान पाउँदासम्म उसले समाउने अर्को हाँगो पाइसकेको थियो । मूल्याङ्कनले माओवादीलाई कहिल्यै वामपन्थी अवसरवादीको रूपमा छ्याँस्न सकेन । र, यो ज्ञान पाउँदासम्म मूल्याङ्कनपन्थीहरूले सत्ताको स्वाद चाखिसकेका थिए । मूल्याङ्कनपन्थीहरू हाल क्षतविक्षत स्थितिमा छन् । हाल मूल्याङ्कनपन्थ सामाजिक प्रजातन्त्र, जातीय राजनीति र सत्ताबीच विभाजित छ । मूल्याङ्कनपन्थीहरूको नैराश्य र त्यस नैराश्यबाट सिर्जित थप सैद्धान्तिक विचलनले वामपन्थी युवाहरूलाई रनभुल्ल पारिरहेको छ ।
पछिल्ला केही दशकमा माक्र्सवादको नाममा नेपालमा ठूलो सङ्ख्यामा ट्रोट्स्कीपन्थी साहित्य भित्रेको पर्यवेक्षकहरूको ठम्याइ छ । बाबुराम भट्टराईको ‘आजको माक्र्सवाद’ त्यस ट्रोट्स्कीपन्थी बौद्धिकीको प्रथम प्रस्तुति थियो । उनको बौद्धिक यात्रा अन्ततः नवउदारवाद र समाजवादको खिचडीरूपी मानवतावादमा गएर टुङ्गिएको छ । विश्व इतिहासमा ट्रोट्स्कीपन्थ कम्युनिस्ट आन्दोलनलाई धोका दिन साम्राज्यवादीहरूको सेवामा खुफिया साधनको रूपमा प्रयोग हुँदै आएको छ । भट्टराईले ‘श्रीगणेश’ जप गरे यता वामपन्थी बौद्धिकहरू स्तालिन, सोभियत कर्मचारीतन्त्र र लेनिनवादी सङ्गठनशैलीविरुद्ध खनिन थालेका छन् । केहीले हाकाहाकी ट्रोट्स्कीका साहित्यको बखान गर्न थालेका छन् । कोही नवउदारवादी अर्थव्यवस्थाको चपेटामा परेर चेत खुलेका प्रविधिमैत्री ल्याटिन अमेरिकीहरूबाट लोकप्रियतावाद हुँदै समाजवादमा पस्ने पाठ सिक्दै छन् । केहीले ‘नेतृत्वले हामीलाई गलत पाठ पढाएको रहेछ’ भनी पछुतो–पुराण हालिरहेका छन् । यसप्रकार आज वामपन्थी बौद्धिकहरूमध्ये थोरैले मात्र वर्गसङ्घर्ष र सर्वहारा अधिनायकत्वप्रतिको निष्ठा कायम राखेको देखिन्छ ।
वामपन्थी बौद्धिकहरूमा आएको विचलनका जायज कारणहरू छन् । सत्तामा पस्नका लागि माओवादीहरूलाई बौद्धिक कार्यकर्ताहरूको खाँचो थियो । त्यसका निम्ति उसले मूल्याङ्कनपन्थीलगायत देशभरिबाट सत्ताबाहिर बसिरहेका वामपन्थी बौद्धिकहरूलाई समात्यो । मूल्याङ्कनपन्थीहरूले ‘नेपाली क्रान्तिका नायक – प्रचण्ड’ नामक पुस्तक नै छापे । नेमकिपा अध्यक्ष कामरेड रोहितले धेरै पहिलेदेखि – वामपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादमा भासिन्छ भन्दै आउनुभएको थियो । व्यक्ति–हत्याको नारा घन्काउने पूर्व माले र माओवादीहरूले नेकपा नामधारी दक्षिणपन्थी अवसरवादको चौतारीमा सँगै सिरानी हालेर सुत्नु यसको ज्वलन्त उदाहरण हो । कामरेड रोहितको भविष्यवाणी सत्य सावित भएको छ । उहाँका विचारबारे अवगत हुँदाहुँदै पनि त्यस्ता नेपाली वामपन्थी बौद्धिकहरूले नेमकिपा र कामरेड रोहितलाई ‘सङ्कीर्ण’ भनिरहे । प्रतिक्रियावादी संसदवादविरुद्ध क्रान्तिकारी संसदवादको नेमकिपाको अभ्यासलाई मजाकको विषय बनाए । जनमत सङ्ग्रह र आम निर्वाचनहरू बहिष्कार गरेकैले राजावादी र पुँजीवादी दलहरू नेपाली राजनीतिमा हावी भएको यथार्थले नेमकिपालाई नै सत्य सावित गरेको छ । साथै, यसले बहिष्कारवादीहरूको सैद्धान्तिक पंगुतालाई नाङ्गेझार पारेको छ । कामरेड रोहितका सैद्धान्तिक रचनाहरूले आज पनि अन्धकारमा दुर्दशिता र सुझबुझको प्रकाशस्तम्भले जस्तै उज्यालो छरिरहेका छन् ।
बौद्धिकहरू आँखाअगाडिको खाल्डोमा खस्नुले उनीहरूको बौद्धिक शक्तिमाथि प्रश्न उठ्नु स्वाभाविक हो । माओवादीले देशभरबाट सोहोरेका वामपन्थी बौद्धिकहरूको हविगत यस्तै भयो । यसकारण उनीहरूमा ‘कम्युनिस्ट’ रहिरहने नैतिक बल हरायो । आफ्नो यही कुण्ठाको उत्सर्जन उनीहरूले ट्रोट्स्कीपन्थी साहित्यमा खोज्न थाले । त्यहीबाट एउटा अन्योलग्रस्त बौद्धिकहरूको हुल जन्मियो । उनीहरू ‘कम्युनिस्ट’ शब्ददेखि तर्सिन थाले । क्युवा र उत्तर कोरियाको नामले पनि केहीको सातो जान थाल्यो । हिजोआज पुँजीवादी दैनिकहरूमा वामपन्थी नामको बिल्ला टाँगिएका बौद्धिकहरू दुरुह र शुष्क भाषामा अनेक उल्झनपूर्ण भाष्यहरू पस्केर सत्ताको ‘विपक्ष’ मा उभिन्छन् र ‘हस्तक्षेपकारी’ अर्तीउपदेश दिन्छन् । कम्युनिस्ट सिद्धान्तको आफ्नो अल्पज्ञानले उनीहरू उदाउँदो पुस्तालाई दिग्भ्रमित पारिरहेका छन् । यसमा उनीहरूको कमाइ त होला, तर त्यसको हर्जाना कामदार वर्गको आउँदो पुस्ताले तिरिरहनुपर्नेछ । यसको लागि इतिहास उनीहरूउपर क्षमावान हुनेछैन । कालान्तरमा माओवादी सङ्घर्ष देशका वामपन्थी बौद्धिकहरूको शाख गिराउन एक माध्यम बन्यो । कसको ? जो यसबाट लाभान्वित भए तिनैको ।
उदारवादी खेमामा जस्तै वामपन्थी बौद्धिकहरूको खेमाबीच बेठाउँमा परेका असल पाइलाहरू पनि छन् । एक माक्र्सवादी आलोचनाबाट डराउँदैन । यसकारण बाटो भुलेका वा बरालिएका वामपन्थी बौद्धिकहरू पुनः माक्र्सवाद र नेपाली क्रान्तिको अध्ययन, प्रचार र सङ्घर्षमा होमिनुपर्छ । देश र विदेशमा गएका सम्पूर्ण शोषितपीडित अदक्ष, अर्धदक्ष र दक्ष कामदारहरूलाई रातो झन्डामुनि गोलबन्द गर्नुपर्छ । धार्मिक, जातीय, क्षेत्रीय र भाषिक अवरोधहरूलाई छिचोल्ने नयाँ संस्कृतिको जग हाल्नुपर्छ । साम्राज्यवाद र विस्तारवादका सैद्धान्तिक एवम् बौद्धिक हमलाहरूको प्रतिकार गर्नुपर्छ । विश्वस्तरमा साम्राज्यवादविरोधी सङ्घर्षमा सामेल न्यायप्रिय शोषितजनसँग हातेमालो गर्नुपर्छ । आजीविका चलाउन सत्तासीनहरूको स्तुतिमा लागेका बौद्धिकहरूबाट धेरै आश गर्न सकिन्न । तर केही योगदान गर्ने भित्री इच्छा छ भने नेपाली कम्युनिस्ट साहित्यको भण्डारमा भर्नुपर्ने थुप्रै खाल्डाखुल्डी छन् । मर्ने बेला रातो झन्डा ओढ्ने रहरले समेत कतिपय बौद्धिकहरू ‘ठूला’ कम्युनिस्ट पार्टीमा बसिरहेका छन् । यस्तै आकाङ्क्षाले गर्दा केहीमा माओवादी धङधङी बाँकी छ । उनीहरूको चाहना आफैमा केटौले हठसिवाय केही होइन । यस्तो इच्छा राख्नु राम्रै हो, तर यही इच्छाले कलंक लागेको झन्डा ओढाउँछ भने त्यो झन्डा सफा गर्ने साहस र जिम्मेवारीबोध एक कम्युनिस्टले देखाउनैपर्छ ।
केही दिनयता उदारवादी र वामपन्थी बौद्धिकहरूको हात्ती छमाइ पुनः छताछुल्ल भएको छ । प्रम ओलीले संसद विघटन गरेपछि दुवैथरी बौद्धिकहरू सडकमा ओर्लिरहेका छन् र जनसाधरणलाई पनि त्यसै गर्न आह्वान गरिरहेका छन् । यी बौद्धिकहरूका विचारहरू पढ्दै र छिचोल्दै गर्दा उनीहरूको कुनै निश्चित गन्तव्य भएजस्तो लाग्दैन । ‘आन्दोलन नै सबथोक हो, अन्तिम उद्देश्य केही होइन’ भन्ने खालका बर्नस्टीनमार्के वाक्यांश चरितार्थ गरेजस्तो प्रतीत हुन्छ । उनीहरू पुरानै पुङमाङे नागरिक आन्दोलनमा फर्केको देखिन्छ । नागरिक आन्दोलनहरूबाट सरकार फेरिन सक्छन् तर व्यवस्था फेरिनेछैन । नागरिक आन्दोलनबाट राजतन्त्र ढलेको ठान्नु कुतर्क हो । खासमा राजतन्त्र ढलाउनका निम्ति नागरिक आन्दोलन र माओवादी सङ्घर्षलाई केवल मोहरा बनाइएको इतिहासले सावित गरिसकेको छ । यसर्थ वामपन्थी बौद्धिकहरूमा समेत विदेशी शक्ति रिझाउने उदारवादी रोग सरेको त होइन भन्ने प्रश्न पूर्णतः आधारहीन होइन ।
भनिन्छ, प्रत्येक दश वर्षमा नेपालमा ठूलो उथलपुथल आउँछ । प्रत्येक आन्दोलनले आफ्ना पूर्ववर्ती आन्दोलनका कमीकमजोरी देखाएर लज्जित तुल्याउने गरेका छन् । कामरेड रोहितले आह्वान गरेझैँ ०४६ सालको आन्दोलनलाई फेब्रुअरी क्रान्ति मानेर समाजवादी अक्टोबर क्रान्तिको तयारीपट्टि लागेको भए नेपाली कम्युनिस्ट आन्दोलनको यात्रा यति छिन्नभिन्न हुने थिएन । यसको विपरीत नेपाली बौद्धिकहरूले मदन भण्डारीको संशोधनवाद र व्यक्तिहत्यामा आधारित प्रचन्डपथीय अराजकतावादलाई ठाउँ दिए । त्यसको दुस्परिणाम देशका कामदार जनताका दुई पुस्ताले भोगिसकेका छन् । आज उनीहरूको शोषण स्वदेशमा मात्र नभई विदेशमा पनि चुलिएको छ । वामपन्थी युवाहरूले गुप्तचर विभागमा जागिर खान थालेका छन् !वामपन्थी बौद्धिकहरूको रुमानी बेअडान, अदुरदर्शिता र अल्पज्ञान यस दुर्दशाको लागि जिम्मेवार छ । सधैँ ‘हस्तक्षेपकारी’ देखिन खोज्ने वामपन्थी बौद्धिकहरूले अब आत्मसमीक्षा गर्न ढिलो गर्नुहुँदैन । इमानदार आत्मालोचनाबाहेक उनीहरूसँग आफूलाई सुधार्ने अर्को हतियार छैन ।
हरेक राज्यसत्ता एउटा वर्गको रहल वर्गउपर अधिनायकत्व हो । दक्षिणपन्थी अधिनायकत्वले नेपालमा सदिऔँ शासन ग¥यो र आफ्नो गद्दी पनि जोगाउन नसक्ने स्थितिमा गएर त्यसको अवसान भयो । आफ्नो सम्पत्ति जोगाउन ऊ पुँजीवादी दलहरूमा घुलमिल भयो । पुँजीवादी अधिनायकत्व आफ्नो सक्कली स्वरूपमा नेपालमा सम्भव छैन किनभने नेपाली पुँजी कायर छ, ऊ भारतीय ठूलो पुँजीसँग डराउँछ । ऊ भारतीय पुँजीको चाकरीमा सीमित छ । यसकारण कामदार वर्गीय अधिनायकत्व नै नेपाली बौद्धिकहरूको ध्येय हुनुपर्छ । यसमा निष्ठा नभएका बौद्धिकहरू जति उफ्रे पनि र जति चिच्याए पनि राज्यसत्ताले त्यसलाई कुकुर भुकाइभन्दा बढ्दा महत्व दिनेछैन । नागरिक दबाबले सुधारसिवाय केही हात पर्दैन र पुँजीवादी संसारमा सुधार दानदातव्य वा निगाह मात्र हो । यसर्थ, हाल ओली सरकारविरुद्ध खासगरी सत्ताको लुछाचुँडीको निम्ति चलिरहेका आन्दोलनहरू पुरानै आन्दोलनका समय बियाँल्ने दुस्चक्र वा पुनरावृत्ति हुन् । यस्तो नहोस् भनी चाहना राख्नेहरूले सचेत प्रयत्नहरू गर्नैपर्छ । आराम गर्ने समय छैन । बौद्धिकहरूको समाजमा ठूलो प्रभाव हुने गर्छ । ज्ञान र आचरणका हिसाबले उनीहरू आदर्श ज्योति हुने गर्छन् । तसर्थ देशलाई धेरैभन्दा धेरै कम्युनिस्ट बौद्धिकहरूको आवश्यकता छ । जागीर पक्का भएपछि क्रान्तिमा लागौँला भन्ने प्रवृत्ति रुमानी सपना हो । यस्तो सपना सङ्गाल्नेहरूलाई व्यवस्थाले चितामा मात्र बौराउँछ ।
एक कविले लेखेका छन् – कुनै शिकारु हातले बन्चरो चलाउन सिक्दासिक्दा ठुटो बनेको मुढोजस्तो नहोस् मेरो देश । बौद्धिकहरूको आलोकाँचो बुद्धिबाट सतर्क बनौँ ! श्रमजीवी जनता एक होऔँ !!

One response to “नेपाली बौद्धिक वृत्त : एक आलोचना”

  1. rajendra says:

    गज्जब

Leave a Reply

Your email address will not be published. Required fields are marked *