भर्खरै :

केन्द्रीय सदस्य बन्ने सपना !

बालुवाटारको फुटपाथमा हिँडिरहेकाहरूलाई पनि समातेर नेकपा–ओलीको केन्द्रीय सदस्य बनाउँदै छ भनेर गफ गरिरहेका साथीहरूको कुरालाई विश्वास गरेर म पनि केन्द्रीय सदस्य बन्छु कि भनेर ओलीजीको क्वाटर नजिक बालुवाटारको पेटीमा हिँडिरहेँ तर कसैले केन्द्रीय सदस्य बन्नुपर्छ भनेर भन्न आएन । ओलीजीका मान्छेले देखेनन् कि भनेर ओहरदोहर गरिनै रहेँ तैपनि कसैले पनि केन्द्रीय सदस्य बन्नु भनेर समात्न आएन ।
तर केन्द्रीय सदस्य बनेर केही लाभ पाउने आशले मेरो मन झनै हत्तारिरह्यो । सोमप्रसादको सपनाजस्तै मेरो पनि सपनाले आकाश छुन खोजेजस्तै भयो । केन्द्रीय सदस्य भएर ओलीजीकै सलाहकार पो बन्न पाउने हो कि भनेर मन रोमाञ्चित पनि भयो । सल्लाहकार बन्नेबित्तिकै करोडपति भएका थुप्रै मान्छेको अनुहार आँखामा नाच्न थाल्यो । मन व्यग्र भएर अब चाहिँ म अग्लो पर्खाल भित्रबाट कसैले देखोस् भनेर उफ्रिन थालेँ । कम्पाउण्डभित्र थुप्रै मान्छेहरू ओली नै भविष्य द्रष्टा, राष्ट्रनायक, राजनेता हुन् भनेर होहल्ला गरिरहेका थिए । सायद सबै केन्द्रीय सदस्य हुनुपर्छ । तिनीहरूको उत्साह देखेर आफू पनि केन्द्रीय सदस्य बन्न मन झनै हतारियो । यत्तिकैमा एकजना मान्छे आएर च्याप कठालो समातेर घुरेर हेर्न थाल्यो । मलाई लाग्यो कठालै समातेर केन्द्रीय सदस्य बनाउनु पर्ने त थिएन, मिजासले इज्जतका साथ अनुरोध गरे पनि त हुने थियो । उसले सोध्यो “यहाँ किन ?”
मैले केन्द्रीय सदस्य बन्ने इच्छा भएर यहाँ आएको भनेँ । एक थप्पड हानेर मेरो हुर्मत लिदैँ सोध्यो, “केन्द्रीय सदस्य हुन तिमीले पार्टीको लागि के योगदान ग¥या छौ ? के तिमीले कसैको हत्या ग¥या छौ ? तिमी कति वर्ष जेल बस्यौ ? के तिमीले ढुङ्गामुढा वा रेलिङ भाँच्या छौ ? तिमीले पार्टीको लागि कति करोड चन्दा उठायौ ? के तिमी करोडौँ चन्दा दिन सक्ने ठूला व्यापारी हौ ? कि तिमी मन्त्रीका नातेदार हौ ?”
बाफरे बाफ ¤ हाजिर जवाफ प्रतियोगिताको ¥यापिड फायर राउण्डमा जस्तै यति धेरै प्रश्न सोधियो कि त्यसमध्ये एउटा प्रश्नको पनि जवाफ मसँग थिएन । मैले भने यी सबै काम मैले गरेको छैन तर ओलीजीसँग भेटेर देशको बारेमा केही सल्लाह दिन सक्छु, म ओलीजीलाई भेट्न चाहन्छु । उनले भने “तिमीहरूको सल्लाह ओलीजीलाई चाहिँदैन । थुतुनो लामो लामो भएका एउटै वाक्यले विरोधीलाई थचार्न सक्ने, अनि चाहिएको बेला जस्तोसुकै झूठलाई पनि सत्य बनाउन सक्ने उहाँका थुप्रै सूर्य थापा, विष्णु रिमालजस्ता नेपाली गोयबल्स सल्लाहकारहरू छन् । तिमीहरू अव्यवहारिक, हुनै नसक्ने कुरा बोलेर सल्लाहको बहानमा उल्टै ओलीजीको हातखुट्टा बाँधेर काम गर्नै दिदैनौ । तिमीहरू गोकुल बास्कोटाजस्ता इमानदार नेतालाई पनि गलत आरोप लगाएर देश बनाउने काममा अवरोध सिर्जना गर्छौ ।” उनले बास्कोटाको प्रशंसा गर्दै गर्दा मैले मनमनै भनेँ “आफूले बोकेको सिनो आफैलाई कहाँ गन्हाउँछ र ?” उनले फेरि थप्दै भने “तिमीजस्ता मान्छेले गर्दा नै तीन वर्षसम्म ओलीजीले जनताको निम्ति काम गर्न सक्नुभएन । नत्र अहिलेसम्म नेपाली झण्डा फरफराएको पानीजहाज आन्ध्र महासागरमा तैरिरहेको हुन्थ्यो, चुच्चे मुख भएको बुलेट ट्रेन काठमाडौँ–बेइजिङ्ग कुदिरहेको हुन्थ्यो, सबै गाडीहरू नेपालमै उत्खनन गरिएको पेट्रोलले चलिरहेको हुन्थ्यो ।” “उहिल्यै उहिल्यैजस्तै ९–महिने सरकार भए पो यस्तो बहाना बनाउन पाइन्छ ? ओलीले त ३ वर्ष सरकार चलाएर २ वर्षमा गर्छु भनेको कुनै काम भएको छैन अनि ‘नाच्न नजाने आँगन टेढो’ को पारामा नौरङ्गी कथाहरू बुन्दै अरुलाई दोष दिन पाइन्छ त ?” भनेर मैले पनि उल्टो प्रश्न तेस्र्याएको ओलीजीको झोलेले त झण्डै खाउँलाजस्तो गरी चिच्याउँदै ‘अब धेरै बोलिस् भने सिधै जेलकोे हावा खान्छस्’ भनेको आवाज सुनेर झसङ्ग बिउझेँ । शरीरमा त पसिना पसिना । हट्, साथीहरूको हावा गफ सोचेर निदाउन नहुने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *