भर्खरै :

नेताहरू आपसमा बाझ्दै, जनता भारतीय एसएसबीसँग लड्दै

इलाम, २० पुस । नेपालमा राजनीतिक अस्थिरताको फाइदा उठाउने काम भारतीय शासक वर्गको नानीदेखि लागेको बानी हो । जब जब नेपाल कुनै आन्तरिक राजनीतिक समस्यामा अल्झिन्छ, भारतले आफ्नो हितमा नेपालसँग असमान सन्धिदेखि भूमि अतिक्रमणसम्म गर्दै आएको छ । २०६२÷०६३ सालको जनआन्दोलनमा नेपाली जनता लागेको समयमा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले सैनिक उपस्थिति बलियो बनाउनुका साथै त्यहाँ सडक निर्माणको योजना विस्तार गरेको थियो ।
यतिबेला नेपाल सत्तारूढ दल नेकपाका नेताहरूको असैद्धान्तिक झगडाको कारण राजनीतिक अस्थिरतामा फसेको छ । सञ्चारमाध्यम र जनताको ध्यान नेताहरूका बेतुकका ख्याली कुरामा केन्द्रित छ । केन्द्रदेखि स्थानीय तहसम्मका नेकपाका नेता कार्यकर्ताहरू आफ्नो खेमा वा गुट बलियो बनाउने खेलमा लागेका छन् । यही समयमा मौका छोपेर भारतले नेपालको भूमि अतिक्रमणको प्रयास थालेको छ ।
इलाम जिल्लाको सूर्योदय नगरपालिका पशुपति नगर वडा नं २ हिलेमा गत शनिबार भारतका सशस्त्र सीमा सुरक्षा बलले (एसएसबी) नेपाली भूमिमा नक्कली सीमा स्तम्भ गाड्ने असफल प्रयास गरेको थियो । बर्दीमा आएका एसएसबीले नेपाली भूमिमा किल्ला गाडेपछि स्थानीय जनताले विरोध गरेका थिए । सामाजिक सञ्जालमा प्रचार भएको एउटा श्रव्यदृश्यमा एसएसबीको नेपाली भूमिमा किल्ला गाडेको विरोधमा स्थानीय महिला र पुरूषहरू एसएसबी प्रहरीसँग बाझाबाझ गरिरहेको देखिएको छ । ६–७ जनाको सङ्ख्यामा आएका एसएसबी प्रहरीलाई हिलेका महिलाहरूले तत्काल नक्कली किल्ला उखेल्न भनेका थिए । उनीहरूले एसएसबीका जवानहरूलाई आफूभन्दा माथिका निकायहरूलाई तत्काल बोलाउन र नेपाली भूमिमा गाडिएको किल्ला फिर्ता लान आग्रह गरेका थिए । महिलाहरूका प्रतिकारबाट एसएसबी पछि हटेको श्रव्यदृश्यमा देखिएको छ ।

एसएसबीसँग प्रतिवाद गर्दै स्थानीय महिला


“दिउँसो गाड्दा त हामीले देख्यौँ, राति कोही नहुँदा यसरी नेपाली भूमिमा किल्ला गाड्दा के हुन्छ ?”, एसएसबीसँगको प्रतिवादमा एक स्थानीय महिलाले भनिन् ।
एसएसबीले नेपाली जनताको घरको आँगनमै नक्कली किल्ला गाडेका थिए । जनताले तत्कालै स्थानीय जनप्रतिनिधिहरूलाई सो विषयमा खबर गरेका थिए । तर, कोही पनि जनप्रतिनिधि नआएको जनताले गुनासो गरेका थिए । स्थानीय जनता एसएसबीसँग भनाभन गर्दै गर्दा नेपालको सशस्त्र प्रहरीका दुई जना जवान आएका थिए । उनीहरूले एसएसबीका जवानहरूसँग कुराकानी गरेपछि एसएसबी फर्केका थिए ।
भारतीय पक्षबाट सीमा पिलर नम्बर ७१÷११ देखि ७२÷२५ बीचको दशगजा भूभागमा तैनाथ ८ नम्बर बटालियन मातहतको एसएसबीले ‘मिसिङ पिलर’ रहेको भन्दै नेपाली भूमिमा किलो गाडेको थियो । इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा भारतले सीमा मिचेको छ ।

सशस्त्र प्रहरी र एसएसबीबीच कुराकानी हुँदै


नेपालका सुरक्षा निकाय र भारतीय एसएसबीबीच पछि भएको वार्तामा भारतीय पक्षले गल्ती स्वीकारेको बताइएको छ । तर, जानाजान नेपाली भूमि भनी जान्दाजान्दै भारतीय एसएसबी किन नेपालमा प्रवेश गरी नक्कली किल्ला गाड्यो भन्ने विषयमा भने गम्भीर हुन आवश्यक छ । शासक दलका नेताहरू आपसमा लड्दै गर्दा भारतीय पक्षले यसरी नेपाली भूमि मिच्ने गरेको विगतको उदाहरणलाई ध्यानमा राखी यतिबेला सीमा क्षेत्रमा सुरक्षा निकायले अझै चनाखो बन्न जरूरी छ । भारतको पिथौरागढ हुँदै मानसरोबरसम्म भारतले नेपाली भूमि बनाउँदै गरेको सडक यही मौकामा द्रुततर गतिमा बनाउन सक्ने सम्भावनालाई पनि राज्यले ध्यान दिन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *