भर्खरै :

बङ्गलादेशबाट मल आउन ढिलाइ

काठमाडौँ, २० पुस । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया सुरु हुनसकेको छैन ।
सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएको कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउनुहुन्छ । उहाँका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकेको छ । हामीले पठाएको एलसी बङ्गलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ, उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरीदको प्रक्रिया सुरु भइहाल्छ । उहाँले भन्नुभयो, “हामीले जति सक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ तर उताबाट धेरै ढिलाइ हुँदै आएको छ ।”
उहाँका अनुसार सरकारी प्रक्रिया सकिएको दस दिनमा रेल र सडकमार्ग हुँदै मल खरीद सुरु गरिनेछ । बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तिम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ ।
जिटुजीमार्फत मल ल्याउन गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्डष्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । पर्याप्त मौज्दात धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि हाल पर्याप्त मात्रामामलको मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कम्पनीसँग हाल नौ नौ हजार मेट्रिक टन डीएपी र पोटास तथा आठ हजार मेट्रिक टन युरिया मल मौज्दात छ । चालू आवको बोलपत्रमार्फत कर्पाेरेसनले खरीद गरेको मल पर्याप्त छ । सुरुआती चरणमा कम्पनीको मल बिक्री वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पाेरेसनले खरीद गरेको मलको बिक्री वितरण सुरु हुने उहाँले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *