भर्खरै :

नेपाली व्याकरण सिकौँ – १

पृष्ठभूमि
कुनै पनि प्रकाशन संस्था वा निकायले लिखित सामग्री सम्पादन वा प्रकाशनका लागि आफ्नो अलग्गै शैली वा ढाँचा निर्धारण गर्न सक्छ । यसमा मूलतः व्याकरण, वर्णविन्यास, भाषा, टाइपिङ, अक्षरको आकार, फन्ट, आदरार्थी, तस्बिर आदि सामग्री राख्दाका नियमहरू समावेश गरिएको हुन्छ । यसलाई प्रकाशन शैली (हाउस स्टाइल) पनि भन्ने गरेको पाइन्छ । कतिपय संस्था (जस्तैः रासस, पाठ्यक्रम विकास केन्द्र) जस्ता संस्थाले आफ्नो शैली पुस्तिका तयार गरेको देखिन्छ । यसरी शैली पुस्तिका तयार पार्दा सम्बन्धित संस्थामा भाषिक एकरुपता कायम हुन सक्दछ ।
नेपाली भाषा सम्पादनमा एकरुपता पाइँदैन । कतिपय सञ्चारगृह र प्रकाशन संस्थाहरूले आ–आफ्नै बुझाइको वर्णविन्यासको नियम बनाएर भाषा सम्पादन गरिरहेका छन् । विभिन्न आमसञ्चार माध्यमहरूमा प्रयोग हुने आदरार्थी, भाषा, शब्द, व्याकरण वर्णविन्यास फरक–फरक हुँदा आम ‘अडियन्स’ (पाठक, श्रोता, दर्शक) मा भ्रम वा द्विविधा पर्न गएको छ । यसले गर्दा पाठकहरूमा अन्योल छ । यस्तै विश्वविद्यालयहरू, नेपाल प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्रजस्ता जिम्मेवार संस्थाहरूको समेत आ–आफ्नै नियम छ । प्रेस काउन्सिल नेपालको वेबसाइट, विभिन्न प्रकाशन, प्रतिवेदन, पत्राचारहरूमा समेत आदरार्थी, व्याकरण र वर्णविन्यास एकरुपता पाइँदैन । यसको मूल कारण व्याकरण र वर्णविन्यास (हिज्जे) सम्बन्धी पर्याप्त ज्ञान नहुनु र नेपाली भाषाको मानक व्याकरण र वर्णविन्यास नहुनु नै हो । तर, लेखन शैलीमा विविधता र प्रकाशन शैली आ–आफ्नै हुनसक्ने भए पनि वर्णविन्यासमा एकरुपता हुनुपर्दछ । शब्द र वाक्यको प्रयोग एवं अनुच्छेद लेखनसम्बन्धी ज्ञान हुनुपर्छ । नेपाली, भाषा अधिकांश नेपालीको मातृभाषा, अरू नेपालीको सम्पर्क भाषा र सबैको सरकारी कामकाजको भाषा पनि हो । यसकारण यसको प्रयोग शुद्ध र मानकरूपमा हुनुपर्दछ । समाचार पनि हतारिएको साहित्य हो तर यसमा सरल, प्रस्ट र सोझो भाषा प्रयोग हुनुपर्दछ । किनकि, समाचारका पाठक÷श्रोता, दर्शक साक्षरमात्र वा साक्षरै नभएका पनि हुनसक्छन् । त्यसैले समाचारको भाषामा एकरुपता कायम गर्नका लागि प्रेस काउन्सिल नेपालले पनि लिखित सामग्रीको सम्पादन तथा प्रकाशनका लागि आफ्नो अलग्गै शैली निर्धारण गर्न आवश्यकता देखिएकोे हुँदा सोही आवश्यकताका परिपूर्तिका लागि यो शैली पुस्तिका तयार पारिएको छ ।
२. तत्सम, तद्भव र आगन्तुक शब्दको वर्णविन्यास
नेपाली भाषामा तत्सम, तद्भव र आगन्तुक स्रोतका शब्द छन् । संस्कृतबाट जस्ताको तस्तै आएका शब्दलाई तत्सम, संस्कृतबाट प्राकृत, अपभ्रंश हुँदै रुप परिवर्तन भएर आएका शब्दलाई तद्भव र संस्कृतबाहेक अन्य भाषाबाट आएका शब्दलाई आगन्तुक शब्द भनिन्छ । शब्दस्रोतको यही विविधतासँगै नेपाली वर्णविन्यासमा रहेका मुख्य नियम निम्नानुसार रहेको छ :
१. तत्सम शब्द संस्कृत परम्पराअनुसारै लेख्नुपर्छ । त्यसैले नेपाली उच्चारणमा नरहेका तर लेख्य वर्णका रुपमा रहेका ई, ऊ, ऋ, ञ, ण, श, ष, क्ष, ज्ञ वर्ण केही अपवादहरूबाहेक तत्सम शब्दमा मात्रै प्रयोग हुन्छन् । जस्तैः ईश्वर, ऊर्जा, ऋषि, अञ्चल, गणेश, यश, भाषा, क्षति, ज्ञाता, ज्ञान आदि ।
२. तद्भव र आगन्तुक शब्दमा सुरु र बिचमा ह्रस्व र शब्दको अन्त्यमा सामान्यतः इकार दीर्घ र उकार ह्रस्व लेख्ने । जस्तैः शब्दको सुरु र बिचमाः बिच, बुढो, दुध, तितो, मिठो, ठिक आदि (तद्भव), स्कूल, बिमा, डिन, ग्रिक, कानुन, वकिल, सहिद, गरिब आदि (आगन्तुक) । शब्दको अन्त्यमा ः धनी, अरबी, फारसी, चप्रासी, नकर्मी, सिकर्मी, ज्यामी, दयालु, दुधालु आदि ।
३. तद्भव र आगन्तुक शब्दमा ‘ब’ उच्चारण र ‘व’ उच्चारण भए व नै लेख्ने । जस्तैः ब–बाकस, बाल्टी, बहिनी, बाटो, बाङ्गो, बापत्, बाहेक, बेकार, बटार्नु, किताब, बार आदि ।
व–वकिल, वास्ता, पावर, तावर, वजन, वारिस, सरुवा, वारपार आदि ।
४) तत्सम शब्दमा तद्भव प्रत्यय लागेमा तिनको इकार र उकार ह्रस्व लेख्ने । जस्तैः वर्ष + एनि = बर्सेनि, मूर्ख + याइँ = मुख्र्याइँ, स्वीकार + नु = स्विकार्नु आदि ।
५) तद्भव र आगन्तुक शब्दमा दन्तमूलीय ‘स’ मात्रै लेख्नुपर्छ ।
जस्तैः असार, साउन, पुस, दस, दसैँ, काउन्सिल, पोस्ट, सिफारिस, स्टुडियो, आइसोलेसन, रजिस्ट्रर, एसोसियसन, इन्स्टिच्युट, स्टोर, स्टेसन, पेस्ट, सेयर, सहर, सहिद, पोस्ट अदि । तर तालव्य ‘श’ लेख्ने गरिएका नाम, थर र पदवीमा तालव्य ‘श’ नै लेख्ने । जस्तैः श्याम, शिव, शेर्पा, जोशी, शेरबहादुर, शेरसिंह, शेरचन आदि ।
६) तद्भव र आगन्तुक शब्दमा उच्चारणअनुसार ‘रि (ऋ–नलेख्ने), न (ञ, ण–नलेख्ने), ग्यँ (ज्ञ– नलेख्ने) लेख्ने । जस्तैः रिन (तत्सम शब्दमा भने ‘ऋण’ हुन्छ ) ब्रिटिस, सन्चो, इन्च, बन्चरो, कम्पाउन्ड, माउन्ट, झन्डा, ठन्डी, डन्डी, ग्याँस, ग्याँटिस, ग्याङ (बुटिस, सञ्चो, इञ्च, कञ्चट, बेञ्च, बञ्चरो, कम्पाउण्ड, माउण्ट, झण्डा, ठण्डी, डण्डी, ज्ञाँस, ज्ञाँटिस, ज्ञाङ– नलेख्ने) ।
तर, नाम, थरमा भने प्रचलनअनुसार ऋ, ञ, ण, क्ष, ज्ञ लेख्ने । जस्तै : ऋषिराम, पञ्चकुमार, रक्षकुमार, ज्ञानबहादुर, ज्ञवाली आदि ।
३. ह्रस्वको प्रयोग
३.१ शब्दको सुरुमा ह्रस्व
(क) नाम, सर्वनाम र विशेषण शब्दको सुरुमा ह्रस्व लेख्नुपर्छ । जस्तै:
नाम शब्द
नुन, दुध, मित, सिङ, किरो, घिउ, बिरालो, हिउँ, जिब्रो, इन्जिन, टिन, टिकट, मिल, इनाम, पिर, मितेरी, सिङौरी, सिलौटो, इन्जिनियर, बिल्डिङ, मिटिङ, पुजारी, पुलिस, कुकुर, मुजुर, जुरेली, कुनो, गुन, कुर्सी, उजुर, जुनार, बुढ्याइँ, उमेदवार, धुपौरो आदि । (अपवादः जून (चन्द्रमा), फूल (पुष्प)
सर्वनाम शब्द
उनी, उहाँ, तिनी, तिमी आदि । अपवादः एकाक्षरी सर्वनाम भने दीर्घ लेख्नुपर्छ, जस्तैः यी, ती , ऊ ।
विशेषण शब्द
बुढो, ठुलो, मिठो, तितो, बिस, तिस, तिनेक, बिसेक, तिसेक, चिसो, चिप्लो, दुब्लो, रित्तो, जुम्सो, सिनियर, जुनियर, बुलन्द, उल्टो, सुस्त, दुरुस्त, नुनिलो, दुधालु, मुलुकी, घुमाउरो, बेलायती, युरोपेली, अमेरिकाली, पिराहा, भित्रिया, इलमी, किताबी, इज्जतदार आदि । (अपवादः तीन ।)
ख) नि, वि, कु, सु उपसर्गहरू ह्रस्व लेखिन्छन्, जस्तैः निकट, निकाय, निज, निबन्ध, नियम, नियन्त्रण, निरर्थक, निर्देशक, निर्वाचन, निश्चल, निष्फल, निस्तेज, विकट, विकराल, विकास, विक्रम, बिक्रेता, विद्युत्, विद्या, विधान, विचित्र, विश्वास, विमान, सुकुमार, सुगन्ध, सुगम, सुवर्ण, सुधा, सुदर्शन, कुकर्म, कुचक्र, कुतर्क, कुप्रबन्ध, पुरस्कार, पुरोहित, पुराण, पुरातन आदि ।
ग) अव्यय शब्दको सुरुको ह्रस्व लेख्नुपर्छ, जस्तै : भित्र, तिर, सित, निर, हिजो, मुनि, उँभो, उँधो आदि । (अपवाद : पूरा (सबै, पूर्ण)
घ) क्रियापदको सुरुमा ह्रस्व हुन्छ, जस्तै : किन्यो, दियो, लिन्छन्, उभिइन्, रुन्छ, सुत्छ, धुत्यो, सुन्छन्, पियो आदि ।
ङ) सुरुमा ह्रस्व लेखिने केही प्रचलित तत्सम शब्दहरू, जस्तै : इति, इन्द्र, इन्द्रिय, इन्दिरा, इच्छुक, इच्छा, क्रिया, चित्र, चिह्न, जिह्वा, चिता, दिव्य, नित्य, निद्रा, पित्त, पिण्ड, भिक्षा, मित्र, चिन्तन, जिज्ञासा, तिलक, तिरस्कार, दिवस, धिक्कार, तिल, त्रिभुज, त्रिभुवन, दिन, दिशा, निधि, पिता, प्रिय, मिति, रिपु, लिपि, विष, विधि, शिशु, शिव, स्थिति, हिम आदि ।
उग्र, उक्त, उमा, उल्का, उषा, उष्म, उष्ण, उच्च, उच्चारण, उज्ज्वल, उत्कट, उत्तर, उदार, उन्नति, उल्लेख, उपकथा, उपचार, उपद्रव, उपहार, उपाय, उपासना, दुर्गति, दुर्जन, दुष्कर्म, कुटुम्ब, कुमार, कुश, कुल, कुण्ठा, कुसुम, क्षुद्र, खुर, गुण, गुरु, चुम्बन, त्रुटि, तुच्छ, तुल्सी, दुग्ध, दुष्ट, दुःख, ध्रुव, पुण्य आदि ।
३.२ शब्दको बिचमा ह्रस्व
क) नाम शब्दको बिचमा ह्रस्व लेख्नुपर्छ, जस्तै : कुकुर, मुजुर, मानिस, भानिज, भतिज, इन्जिन, अफिस, लाल्टिन, रेडियो, हाजिर, मितिनी, सम्धिनी, नातिनी, पनातिनी, हाजिरी, बोर्डिङ, मिटिङ, बिल्डिङ, टेलिफोन, टेलिस्कोप, गरिबी, दाडिम आदि ।
ख) विशेषण शब्दको बिचमा ह्रस्व लेख्नुपर्छ, जस्तै : हरियो, अमिलो, खुकुलो, बाटुलो, सिकिस्त, नुनिलो, उन्नाइस, बत्तिस, चालिस, छयालिस, त्रिचालिस, गुनिलो, भित्रिया, झगडिया, घरानिया, घुमाउरो, लाहुरी, दाउरे, गाउँले, मिजासिला आदि ।
ग) क्रिया शब्दको बिचमा ह्रस्व लेख्नुपर्छ, जस्तै : गरिएको, हेरिने, पढिँदै, सुतिँदा, पढिरहन्छ, लिइसक्यो, खाइहाल्नेछ आदि ।
घ) तलका तत्सम शब्दका बिचमा ह्रस्व लेख्नुपर्छ, जस्तै : अधिक, अन्तिम, आदिम, कविता, गरिमा, चरित्र, नायिका, गायिका, पाक्षिक, पण्डित, पठित, प्राकृतिक, प्रतियोगिता, मन्दिर, अङ्कुश, अद्भूत्, आकुल, आतुर, इच्छुक, उत्सुक, करुण, कुसुम, चतुर, तरुण, दारुण, निपुण, प्रमुख, भावुक, मनुष्य, मधुर, वरुण, विदुर, विधुर, अतिचार, अतिरिक्त, अतिशय, अतिसार, अधिकार, अधिपति, अधिराज्य, अधिवेशन, अनुकरण, अनुक्रम, अनुज, अनुदान, अनुसार, अभिधा, अभिनय, अभिमान, अभियोग, अभिषेक, परिक्रमा, परिचय, परिच्छेद, परिणाम, परिभाषा, परिवार, परिश्रम, परिषद्, प्रतिकार, प्रतिगामी, प्रतिघात, प्रतिनिधि, प्रतिभा, प्रतिमा, प्रतियोगी, प्रतिशत, अकुशल, अकुण्ठित, अजित, अनित्य आदि ।
३.३ शब्दको अन्त्यमा ह्रस्व
क) पुलिङ्ग नाताबोधक शब्दको अन्त्यमा ह्रस्व लेख्नुपर्छ, जस्तै : नाति, पनाति, जुवाइँ, पोइ, भाइ, दाइ, दाजु, बराजु, भिनाजु, बाबु, पति, गुरु आदि ।
ख) ‘आइ’ प्रत्यय लागेका नाम शब्द तथा ‘उकारान्त’ नाम शब्दको अन्त्यमा ह्रस्व लेख्नुपर्छ, जस्तै :पढाइ, एकाइ, बसाइँ, अटे¥याइँ, कट्नु, भनाउ, गोरु, भालु, गाउँ, हिउँ, घिउ, धनु, भाउ, ठाउँ, पिँडालु आदि ।
ग) अन्त्यमा ‘री’ आउनेबाहेकका अव्यय शब्दको अन्त्यमा ह्रस्व लेख्नुपर्छ, जस्तै ः अघि, पछि, अनि, पनि, देखि, कि, छि, बरु, फेरि, भोलि, अस्ति, चाहिँ, अगाडि, पछाडि आदि ।
घ) ‘आलु’ प्रत्यय लागेका विशेषण शब्दको अन्त्यमा ह्रस्व लेख्नुपर्छ, जस्तै : सिकारु, विषालु, घरेलु, मायालु, दुधालु, दयालु, रसालु, सिपालु आदि ।
ङ) तलका तत्सम शब्दको अन्त्यमा ह्रस्व लेख्नुपर्छ, जस्तै : अग्नि, अनुमति, अवधि, आपत्ति, इति, उन्नति, कलि, कवि, काान्ति, कीर्ति, कृति, क्षति, गति, गिरि, गीति, ग्रन्थि, ग्लानि, छवि, जाति, अश्रु, अस्तु, अणु, आयु, ऋतु, कटु, कृपालु, केतु, कमण्डलु, गुरु, चक्षु, चञ्चु, जन्तु, डमरु, तन्तु आदि ।
४ दीर्घको प्रयोग
४.१ शब्दको सुरुमा दीर्घ
क) तलका तत्सम शब्दको सुरुमै दीर्घ लेख्नुपर्छ, जस्तै : ईश, ईष्र्या, कीर्ति, जीर्ण, तीर्थ, दीर्घ, वीर्य, शीर्षक, कीट, क्रीडा, क्षीण, गीत, ग्रीष्म, जीव, टीका, तीव्र, धीर, दीन, दीप, नीच, नीति, नील, पीडा, प्रीत, बीज, भीम, भीष्म, मीन, रीति, लीला, वीणा, वीर, शीघ्र, शीत, शील, श्लील, सीता, सीमा, ईशान, ईश्वर, कीर्तन, चीत्कार, पीडित, बीभत्स, भीषण, मीमांसा, शीतल, शीर्षक, स्वीकार, स्वीकृत, हीरक ।
ऊर्जा, ऊध्र्व, कूर्म, चूर्ण, दूर्वा, पूर्व, मूर्ख, मूच्र्छा, मूर्त, मूर्ति, मूर्धन्य, सूर्य, सूक्षम, क्रूर, न्यून, भ्रूण, व्यूह, स्तूप, स्थूल, स्फूर्ति, कूट, कूप, गूढ, चूडा, तूलिका, दूत, दू, धूप, धूलि, नूतन, नूपुर पूजा, पूरक, भूत, भूमि, मूक, मूल, मूत्र, यूश, रुढ, शून्य, शूल, सूचक, सूत्र आदि ।
ख) एकाक्षरी सर्वनाम शब्दको सुरुमै दीर्घ लेख्नुपर्छ, जस्तै : यी, ती, ऊ
ग) यी शब्दको सुरुमै दीर्घ लेख्ने प्रचलन छ : तीन (३), फूल (पुष्प), जून (चन्द्रमा), पूरा
(पूर्ण)
४.२ शब्दको बिचमा दीर्घ
तलका तत्सम शब्दको बिचमा दीर्घ लेख्नुपर्छ, जस्तै : अतीत, ईश्वरीय, उत्तरीय, उल्लेखनीय, उदीच्य, किरीट, कुटीर, कुलीन, निरीह, गम्भीर, तृतीया, दयनीय, दर्शनीय, द्वितीया, नवीन, परीक्षा, पूजारीय, पूर्वीय, प्रतीक, प्रतीक्षा, प्रतीत, एकीकरण, विद्युतीकरण, घोषीकृत, अङ्गीकार, समीभवन, विषभीभवन, एकीभाव, केन्द्रीभूत, उलूक, कर्पूर, प्रसूति, मण्डूकक, मञ्जूष, मयूर, मुहूर्त, समूह, सिन्दूर, राजसूय आदि ।
४.३ शब्दको अत्यमा दीर्घ
क) तलका तत्सम शब्दको अन्त्यमा दीर्घ लेख्नुपर्छ, जस्तै : श्री, स्त्री, जानकी, तरुणी, त्यागी, अग्रणी, अभिनेत्री, अनुभवी, आत्मघाती, उपकारी, उर्वशी, एकाङ्की, कटी, कर्मी, काली, गुणी, चतुर्थी, चिरञ्जीवी, छली, जयन्ती, तामसी, तन्त्री, द्विवेदी, दशमी, धनी, धात्री, नली, नर्तकी, नाडी, प्रतिपक्षी, पातकी, पुरी, प्रार्थी, प्रणाली, पृथ्वी, बहुमुखी आदि ।
ख) जात, थर, पेसा बुझाउने पहिचान जोडिएका शब्दको अन्तिममा दीर्घ लेख्नुपर्छ, जस्तैः किराती, राई, लिम्बू, कामी, दमाई, घर्ती, ठकुरी, जैसी, थारू, ज्यापू, खम्बू, धोबी, हली, भिखारी, मास्टरी, सुवेदी, रेग्मी, भट्टराई, उप्रेती, गिरी, पनेरू, पराजुली आदि । तर, जातले प्रचलनमा ल्याएका ‘सायमि’ जस्ता प्रयोगलाई यथावत् रूपमा लेख्नुपर्छ ।
ग) सर्वनाम शब्दको अन्तिममा दीर्घ लेख्नुपर्छ, जस्तै : आफू, हामी, तिमी, तिनी, यिनी, तपाईँ आदि ।
घ) इकारान्त विशेषण शब्दको अन्तिममा दीर्घ लेख्नुपर्छ, जस्तै : दुई, साठी, असी, पचासी, अठासी, राम्री, गोरी, पातली आदि ।
ङ) इकारान्त ठाउँको नामको अन्तिममा दीर्घ लेख्नुपर्छ, जस्तै  : कास्की, ठिमी, गुल्मी, डोटी, सुनौली, दमौली, सप्तरी, सर्लाही आदि ।
च) स्त्री लिङ्गी शब्दको अन्तिममा दीर्घ लेख्नुपर्छ, जस्तै : राम्री, काली, गोरी, दिदी, बहिनी, सासू, फुपू, जोई, ढोई, गाई, भैँसी, भेडी, केटी आदि ।
च) अन्त्यमा दीर्घ लेखिने अन्य विविध शब्द, जस्तै :  यसरी, कसरी, यहीँ, कहीँ, त्यहीँ, राम्ररी, बेसरी, त्यसरी, हनहन्ती, सरासरी, धुरी, खरानी, ठेकी, थाली, थैली, आरी, पोतारी, खल्ती, कुल्फी, चुपी, पगरी, झन्डी, कोदाली, खोपी, टोपी, फर्सी, सिक्री, कोसी, जवानी, भित्री, छिमेकी, जुरेली, जुनेली, नेपाली, बङ्गाली, गुज्राती, मराठी, गफाडी, हेरी, पढी, देखी (देख्ने काम गरी), लागी (लाग्ने काम गरी) आदि ।
छ) विध्यर्थक शब्द (इच्छाबोधक वा आज्ञाबोधक) को अन्त्यमा दीर्घ लेख्नुपर्छ, जस्तै :  खानू, गर्नू, जानू, हेर्नू, पढ्नू, सुन्नू, निस्की, उफ्री, फर्की, पढूँ, लेखूँ, आदि ।
ज) आगन्तुक शब्दको अन्तिमा प्रायः दीर्घ लेख्नुपर्छ, जस्तै : अरबी, फारसी, चप्रासी, नकर्मी, सिकर्मी, ज्यामी, हाजिरी, इलमी, मुल्तबी, हबल्दारी, सिपाही, सिक्योरिटी, डायरी, युनिभर्सिटी, सेक्रेटरी, अङ्ग्रेजी, जापानी, ताइबानी, फ्रान्सेली, हिन्दी, ग्रिसेली, बैदारी, पादरी आदि ।
झ) वचनबोधक ‘हरू’, सर्वनाम शब्द ‘अरू’ दीर्घ लेख्नुपर्छ ।
४.४ सङ्ख्यावाचक शब्द
तीनबाहेक सङ्ख्यावाचक सबै शब्दका आदि र मध्यमा ह्रस्व गर्ने । सङ्ख्यावाचक सबै शब्दमा दन्तमूलीय ‘स’ को मात्रै प्रयोग गर्नुपर्छ । जस्तै : एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, दश, एघार, बाह्र, तेर, चौध, पन्ध्र सोर, सत्र, अठार, उन्नाइस, बिस, एक्काइस, बाइस, तेइस, चौबिस, पच्चिस, छब्बिस, सत्ताइस, अठ्ठाइस, उनन्तिस, तिस, एकतिस, बत्तिस, तेत्तिस, चौँतिस, पैँतिस, छत्तिस, सैँतिस, अठतिस, उनच्चालिस, चालिस, एकचालिस, बयालिस, त्रिचालिस, चवालिस, पैँतालिस, छयालिस, सतचालिस, अठचालिस, उनन्चास, पचास, एकाउन्न, बाउन्न, त्रिपन्न, चउन्न, पचपन्न, छपन्न, सन्ताउन्न, अन्ठाउन्न, उनन्साठी, साठी, एकसट्ठी, बयसट्ठी, त्रिसट्ठी, चौसट्ठी, पैँसट्ठी, छयसट्ठी, सतसट्ठी, अठसट्ठी, उनन्सत्तरी, सत्तरी, एकहत्तर, बहत्तर, त्रिहत्तर, चौहत्तर, पचहत्तर, छयहत्तर, सतहत्तर, अठहत्तर, उनासी, असी, एकासी, बयासी, त्रियासी, चौरासी, पचासी, छयासी, सतासी, अठासी उनान्नबे, नब्बे, एकानब्बे, बयानब्बे, त्रियानब्बे, चौरानब्बे, पन्चानब्बे, छयानब्बे, सन्तानब्बे, अन्ठानब्बे, उनान्सय, सय ।
(प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘शैली पुस्तिका’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *