भर्खरै :

नयाँ जनादेशको लागि निर्वाचन राजनीतिक बाटो

भक्तपुर, २६ पुस । विश्व सर्वहारा वर्गका नेताद्वय स्तालिनको १४१ औँ र माओ त्सेतुङको १२७ औँ जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घको आयोजनामा आइतबार कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले स्तालिन र माओको जीवनीबाट ज्ञान लिई देश र जनताको सेवामा इमानदारीपूर्वक लाग्न सके उहाँहरूको जन्मदिवस मनाउनुको सार्थकता रहने बताउनुभयो ।
रूसी अक्टोबर क्रान्तिलाई समाजवादी क्रान्तिको रूपमा सफल बनाउन स्तालिनको महत्वपूर्ण योगदान रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “रूसमा समाजवाद रहुञ्जेल नारी र पुरूषबीच कुनै भेदभाव थिएन, नारीहरूलाई अझ सम्मान गरिन्थ्यो । समाजवादको अस्थायी हार भएपछि रूसी कामदार जनताको जीवन दयनीय बनेको छ ।”
“चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १ सय वर्षमा चीनले आश्चर्यचकित विकास गरेको छ । सन् २०२८ सम्ममा चीन विश्वको पहिलो अर्थतन्त्र भएको देश बन्नेछ । चीनको यो अदभूत विकास हुनुमा अध्यक्ष माओको योगदान महत्वपूर्ण छ”, सचिव सुवालले भन्नुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदार वर्गको हित गर्ने धारणा राख्दै उहाँले समाजवादी देश प्रजग कोरिया सम्पूर्ण जनतालाई बुद्धिजीवीकरण गर्ने योजनासहित अगाडि बढिरहेको बताउनुभयो ।
“प्रजग कोरियामा अहिले पनि युद्धको स्थिति छ । कोरियाली जनताले समाजवादको रक्षार्थ हाइड्रोजन बम बनाउन सफल भयो”, सचिव सुवालले बताउनुभयो ।
संसद् विघटन गर्ने प्रम ओलीको कदम स्वाभाविक र औचित्यपूर्ण भएको चर्चा गर्दै उहाँले नयाँ जनादेशको लागि राजनीतिक दलहरू चुनावमा जानु राम्रो हुने धारणा राख्नुभयो ।
नेक्रामजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले स्तालिन र माओको योगदानको चर्चा गर्दै विश्वमा समाजवादी लहर ल्याउन उहाँहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
“स्तालिनको कुशल नेतृत्वले औद्योगिकरूपमा पछाडि परेको रूसलाई विश्वको महाशक्ति बनाउन सफल भयो । त्यस्तै अध्यक्ष माओको जनवादी क्रान्तिको जगमा चीन आज विश्वको महाशक्ति बन्न सफल भयो”, उहाँले भन्नुभयो ।
नेक्रामजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले माओ र स्तालिनको जीवन सङ्घर्षबाट सिकेर अगाडि बढ्नुपर्ने धारणा राख्दै जस्तोसुकै विपत्तिमा पनि पार्टी सिद्धान्त र विचारलाई त्याग्न नहुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सूर्यनारायण फाँजू, विक्रम कासिछ्वा र कृष्णप्रसाद गोसाईले पनि बोल्नुभएको थियो ।
त्यस्तै स्तालिन र माओको जन्मदिवसकै अवसरमा नेमकिपा बाँके जिल्ला समितिको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा बाँके जिल्ला अध्यक्ष बखत थापाले सर्वहारा वर्गका महान् गुुरुहरूको पे्ररणादायी जीवनबाट सिक्ने धरै कुराहरू भएकोले हरेक कार्यकर्ताहरूले जीवनी र कृतिहरू पढ्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीभित्र वैचारिक सङ्घर्ष हुनसक्ने तर पद, पैसा र सुविधाको लागि गुटको राजनीति नहुने बताउनुभयो ।
नेमकिपा बाँकेका सचिव प्रकाश शाहीले सर्वहारा वर्गका महान गुुरूहरूले आ–आफ्नो भूमिमा सुहाउँदो तरिकाले माक्र्सवादको प्रयोग गरी जनताको जीवन स्तर उठाई, सामन्तवाद र साम्राज्यवादसँग लड्न सिकाएको हुँदा संसारका शोषित पीडित जनताले उहाँहरूलाई कहिल्यै नबिर्सने बताउनुभयो ।
नेमकिपा नगर समिति नेपालगञ्जका उपाध्यक्ष रूपेस श्रेष्ठले फ्रेडरिक ऐंगेल्सको जीवनीबारे सङ्क्षिप्त रूपमा चर्चा गर्नुभएको थियो ।
नेमकिपा बाँकेका सदस्य रसिद अहमद सिद्दिकीको सभापतित्वमा भएको कार्यक्रममा सुरेशलाल थारू, गौरीकान्त आचार्य, खडगराज थापा, निमबहादुर भण्डारी, प्रभा मल्लाह, कोकिला शाही, कल्पना थापा, भावना थापा, सफल थापा, लालसिंह पुन, प्रकाश शाह, मोहनबहादुर शाही र दीपालक्ष्मी हमाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *