भर्खरै :

बाइडेनको ल्याटिन अमेरिकासम्बन्धी नीति भिन्न नहुने : विज्ञहरू

काराकस, १० जनवरी (टेलिसुर) । संरा अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई प्रतिस्थापन गरी डेमोक्र्याटिक पार्टीका जो बाइडेन आए पनि ल्याटिन अमेरिकासम्बन्धी उनको नीति ट्रम्प प्रशासनको भन्दा भिन्न नहुने विज्ञहरूले औँल्याएका छन् ।
ट्राइकन्टिनेन्टल इन्स्टिच्युट फर सोसल रिसर्चका निर्देशक विजय प्रसादले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको प्रशासनले पनि ल्याटिन अमेरिकाको विषयमा पुरानै प्रशासनका नीतिहरूको अनुसरण गर्ने र तात्विकै भिन्नता नहुनेमा सचेत पारे ।
हुन त उनले बाहिरिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै क्युवा र भेनेजुयलाजस्ता देशहरूमाथि प्रत्यक्ष हस्तक्षेप नगर्नुहोला तर उनको प्रशासनको आधारभूत ल्याटिन अमेरिकासम्बन्धी नीति परम्परागत अमेरिकी नीतिभन्दा भिन्न हुने छैन – बाइडेन र ट्रम्पको विदेश नीतिमा तात्विक भिन्नता नभएको दाबी गर्दै प्रसादले भने ।
फ्रन्टलाइनमा प्रकाशित उनको पछिल्लो विश्लेषणअनुसार वास्तविक नीति परिवर्तनमा संरा अमेरिकाको रुचि देखिएको छैन बरू उही नीति लागू गर्नका लागि कार्यनीति परिवर्तन गर्ने गरेको छ ।
हट्नै लागेको ट्रम्प नेतृत्वको संरा अमेरिकी प्रशासनले क्युवा, भेनेजुयलालगायत २० भन्दा बढी
देशहरूविरुद्ध एकपक्षीय प्रतिबन्धहरू कार्यान्वयन गर्दै आएको छ । बाइडेन स्वयम् र उनको प्रशासनका लागि प्रस्तावितहरूले विभिन्न अवसरमा संरा अमेरिकाको विदेश नीति र आर्थिक नीतिमा कुनै आधारभूत परिवर्तन नल्याउने र बहुध्रुवीयतावादलाई प्रश्रय नदिने बताउँदै आएका छन् ।
बाइडेनका सल्लाहकारहरू तथा प्रशासनका सम्भावित सचिवहरूले अमेरिकी संसदीय समितिहरूको बैठक र अन्य छलफल कार्यक्रमहरूमा व्यक्त गर्दै आएका मन्तव्यहरूले बाइडेन प्रशासनका नीतिहरूमा कुनै परिवर्तन नहुने चर्चित अमेरिकी लेखक नोम चोम्स्कीलगायत अमेरिकी विश्लेषकहरूकै कथन छ ।
बाइडेन स्वयम्ले निर्वाचन प्रचार अभियानको क्रममा भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो सरकारको विरोध गर्दै भेनेजुयलाको निर्वाचन स्वतन्त्र र धाँधलीरहित नहुने दाबी गरेका थिए । क्युवासितको सम्बन्धबारेमा पनि बाइडेनले खुलेर केही कुरा पनि गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *