भर्खरै :

भारत भ्रमणमा परराष्ट्रमन्त्रीले के कुरा गर्लान् ?

काठमाडौँ, २६ पुस । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली माघ १ गते भारत भ्रमण जाँदै छन् । उनको यो भ्रमण दुई कारणले महत्वपूर्ण हुने अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषकहरू बताउँछन् । देशको पछिल्लो राजनीतिक घटनाक्रममा भित्र–भित्र भारतीय पक्षको चलखेल ‘ओपेन सेक्रेट’ भए पनि प्रतिनिधिसभा विघटन यता भारतको कुनै पनि सरकारी टोली औपचारिकरूपमा नेपाल भ्रमणमा आएको छैन । त्यसकारण ज्ञवालीको भारत भ्रमणमा प्रतिनिधिसभा विघटनको अवस्था र आगामी चुनावको विषयमा भारतलाई जानकारी र परामर्श हुने अनुमान गरिएको छ ।
सरकारले नेपाल र भारतबीचको सीमालाई परराष्ट्र मन्त्रीको भ्रमणको प्रमुख विषय हुने बताएको छ । प्रधानमन्त्री ओलीले धनगढीमा आयोजित सभामा भारतसँग सीमाको विषयमा परराष्ट्रमन्त्रीको कुराकानी हुने खुला घोषणा गरेका थिए । नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक हुँदै भारतले मानसरोवर जाने सडक निर्माण गरेसँग दुई देशबीच सो भूभागको विषयमा भएको विवादपश्चात् पहिलो पटक नेपालका परराष्ट्रमन्त्री उता जान लागेका हुन् । भारतले नेपाली भूमिमा एकपक्षीयरूपमा सडक निर्माण गरेपछि नेपालले पनि सो क्षेत्र समेटेर नेपाली नक्सा सार्वजनिक गरिसकेको छ । तर, सो नक्सासहित छापिएको विद्यालय तहको पाठ्यपुस्तक भने सरकारले सार्वजनिक वितरणमा रोक लगाएको छ ।
प्रतिनिधिसभा विघटनको विषयमा आफ्नै दलको एउटा खेमा र प्रमुख प्रतिपक्ष दललगायत केही राजनीतिक शक्ति सडक सङ्घर्षमा रहेको बेला देशको सीमाको विषयलाई प्राथमिकतासहित परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई पर्यवेक्षकहरूले ध्यानान्तर गर्ने सरकारी प्रयासको रूपमा लिएका छन् । प्रधानमन्त्रीले सार्वजनिक सभामै प्राथमिकताका साथ परराष्ट्रमन्त्रीको भारत
भ्रमणको चर्चा गर्नुलाई सो कोणबाट हेरिएको छ । यसले सरकारलाई ‘देशभक्त’ पनि देखाउने र प्रतिनिधिसभा विघटनको मुद्दालाई लिएर भइरहेको आन्दोलनलाई ओझेलमा पार्दै लाने चालबाजीको रूपमा पनि लिइएको छ ।
परराष्ट्रमन्त्रीले भारतमा सीमासम्बन्धी उच्चस्तरीय बैठकमा के कस्ता छलफल गर्ने हुन् र त्यसको निम्ति नेपाल सरकारले के कस्ता तयारी गरेको छ भन्ने विषयमा भ्रमणपूर्व नेपाली जनतालाई जानकारी दिनु मर्यादित राजनीति हुने विश्लेषकहरूको भनाइ छ । बिना तयारी दिल्लीको कुतुमिनार हेर्न परराष्ट्रमन्त्रीको भ्रमण हुन नहुने र त्यसो भए दुई देशको सम्बन्धमा अझ जटिलता र अविश्वास आउन सक्ने बताइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले सडक निर्माणलाई तीव्रता दिइरहेको अवस्थामा औपचारिकताको लागि मात्र भ्रमणको कुनै अर्थ छैन ।
यसैबीच गत शुक्रबार ‘द हिन्दुस्तान टाइम्स’ मा प्रकाशित भारतीय प्राध्यापक एसडी मुनीको लेखमा भारतले विभिन्न दुईपक्षीय चासोका विषयमा रातो लाइन राख्नुपर्ने बताएका छन् । भारतको नेपाल नीतिमा ‘बोली बिक्ने बुद्धिजीवी’ मुनीले परराष्ट्रमन्त्रीको भ्रमणमा भारतले आफ्नो नियन्त्रणमा रहेको भूभाग नेपाललाई फर्काउन नसक्ने प्रस्ट कुरा राख्न सङ्केत गरेको देखिन्छ । परराष्ट्रमन्त्रीको भ्रमणको कुरा समेत उल्लेख गर्दै मुनीले लेखेको सो लेखलाई भारतीय संस्थापनको सङ्केतको रूपमा लिइन जरुरी छ । मुनीको ‘रातो लाइन’ नेपालको सीमा र भूअखण्डतामाथि थिचोमिचोको अर्थमा कदापि स्वीकार्य हुन नसक्ने नेपाली जनताको भावना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *