भर्खरै :

नयाँ शैक्षिक चिन्तन

खुला शिक्षालय
२० औँ शताब्दीको सुरुमा क्षयरोगले युरोप र अमेरिकामा प्रत्येक ७ जनामध्ये एकको ज्यान लिइरहेको थियो । हावाका माध्यमबाट सर्ने क्षयरोगका ब्याक्टेरिया हावामा कैयौँ घण्टासम्म सक्रिय रहनसक्ने भएकोले सास फेर्ने क्रममा असङ्ख्य मानिस सङ्क्रमित हुनथाले । त्यो नयाँ रोगको उपचार उपलब्ध थिएन । क्षयरोग झन् व्यापक फैलिने डर भएपछि विद्यालय बन्द भए । भविष्यका कर्णधारहरूको भविष्य अन्योलग्रस्त भएको थियो । आवश्यकता नै आविष्कारको जननी भनिन्छ । सन् १९०४ मा बेल्जियम र जर्मनीमा ‘खुला विद्यालय’ अवधारणाको सुरुआत भयो । टेबल र कुर्सीहरूलाई विद्यालयको चौर, बगैँचा वा खुला ठाउँमा राखियो । स्वच्छ र पर्याप्त हावाको प्रवाह हुने प्राकृतिक वातावरण कक्षाकोठा हुनगए । अग्ला भवनका छत र प्रयोग नगरिएका पानीजहाजमा कक्षा सञ्चालन गर्न थालियो । प्रकृतिको रमणीय वातावरणमा पढ्दा विद्यार्थीलाई रमाइलो पनि भयो । शिक्षक पनि उत्साहित भए । चिकित्सककै सल्लाहअनुसार सन् १९०७ मा संयुक्त राज्य अमेरिकामा पनि त्यस्ता विद्यालय सञ्चालन हुनथाले । एवम्रितले युरोप र अमेरिकामा ‘खुला विद्यालय’ को अभियान अगाडि बढ्यो । भिडभाड हुने अस्वस्थ्य ठाउँबाट टाढा प्रकृतिमा रम्न दिएर विद्यालयहरूले विद्यार्थीको सिकाइको मात्रै सम्बोधन गरेनन्, बालबालिकाको रोगप्रतिरोधी क्षमता बढाउन पनि योगदान गरे ।
कोभिड–१९ महामारीको कारण नेपालमा करिब १० महिनादेखि बन्द विद्यालय खोल्ने तयारी हुँदैगर्दा आजभन्दा करिब १०० वर्षअगाडिको अनुभव तथा अभ्यासको पाना पल्टाउन कर लागेको छ हामीलाई । कोभिड महामारीको समयमा लामो समयदेखि बन्द शिक्षण संस्था खोल्न उतिबेलाको अनुभव धेरै हदसम्म काम लाग्ने देखिन्छ । पुरानो पुस्ताको अनुभवले नयाँ युगको सेवा गर्छ भन्नुको अर्थ त्यही त हो! युगले तेस्र्याएका चुनौती छिचोल्दै मानव समाज त्यसरी नै अगाडि बढिरहेको छ । शिक्षा क्षेत्र पनि !

न्यूयोर्कको खुला विद्यालय


कोरोना भाइरस र क्षयरोगका ब्याक्टेरियाको सङ्क्रमण तरिकामा केही भिन्नता छन् । कोभिड–१९ सङ्क्रमित व्यक्तिबाट निष्कने ठूला ‘ड्रपलेट्स’ हरूसँग प्रत्यक्ष वा थोपाहरू पुगेका स्थानको सतहको सम्पर्कमा आउँदा सर्ने रोग हो । त्यसैले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र स्यानिटाइजर वा साबुनपानीले हात सफा गर्ने हो भने कोरोना भाइरस सङ्क्रमणबाट बच्न सकिने तथ्य मानिसले बुझेकामात्र होइन धेरैले अनुभवसमेत गरिसकेका छन् । कोठा अभाव व्यहोरिरहेका विद्यालयको निम्ति भौतिक दुरी कायम गराई कक्षा सञ्चालन गर्नु सबभन्दा ठूलो चुनौतीको विषय भइरहेको सन्दर्भमा क्षयरोगको महामारीको क्रममा पुरानो पुस्ताले खुला ठाउँमा विद्यालय सञ्चालन गरेको अनुभव अनुकरणीय पनि छ ।
बालबालिकाको पढाइ प्राकृतिक वातावरणमै हुनुपर्ने तर्क गर्छन् सुप्रसिद्ध शिक्षाशास्त्री डा. मारिया मन्टेसरी । १९ औँ शताब्दीका डा. मन्टेसरीले बालबालिकालाई स्नेह, वात्सल्यसहित वैज्ञानिक तथा प्राकृतिकरूपमा शिक्षा दिने धारणा अगाडि सारेका थिए । बालबालिकाको लागि आफैले विभिन्न वस्तु निर्माण गर्ने, नक्कल गर्ने र विभिन्न अनुभव हासिल गर्ने वातावरण बनाउँदा छिटो सिक्छन् । प्लास्टिकको स्याउले प्राकृतिक स्याउको स्वाद दिनसक्दैन, धान रोपेको भिडियो हेरेर धान रोप्न जानिँदैन, ह्वाइटबोर्डमा आँपको रुख लेखिदिँदैमा आँपको रुखमुनिको शीतल अनुभव गर्न सकिन्न, चिया÷कफी पकाउने विधि भनिदिँदैमा पकाउन सकिँदैन । सिकाइको निम्ति प्राकृतिक वातावरण चाहिन्छ । विद्यालयको पर्खालबाहिरको सिकाइमा अबको शिक्षण केन्द्रित गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।
गरिबलाई शिक्षालयमा समेट्ने चुनौती कोभिड–१९ महामारीबाट सबभन्दा बढी गरिबकै छोराछोरी प्रभावित भए । यो महामारीको समयमा सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन त भइरहेका छन् तर सहरी गरिबको निम्ति त्यो सेवा सहज छैन । ग्रामीण क्षेत्रमा बिजुली नभएकाको निम्ति इन्टरनेटको सम्भावना हुने कुरै भएन । घरमा जति केटाकेटी छन् ती सबैलाई स्मार्टफोन वा ल्यापटप किनिदिन निम्नमध्यम वर्गको निम्ति थप ठूलो कठिनाइ हुन्छ । सरकारले वैकल्पिक शिक्षा भनेर उर्दीमात्र जारी ग¥यो भच्र्युअल कक्षाको निम्ति कुनै भौतिक सुविधाको बन्दोबस्त गरेन । छाक काटेरै भएपनि महँगो मोबाइल किनेर पनि वैकल्पिक शिक्षा खासै प्रभावकारी नभएकाले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न दबाब परेको हो । (लकडाउनयता १२ अर्ब रुपियाँ बराबरको मोबाइल फोन भित्रिएबाट स्थितिबोध गर्न सकिन्छ ।) विद्यालय सञ्चालन नहुँदा बालबालिकामा अनेक विकृति देखिएको छ, कतिपय विद्यार्थीमा मानसिक विकृतिसमेत देखिएका ‘रिपोर्ट’ आएका छन् । विद्यालय सञ्चालन गर्नुअगाडि विद्यार्थीलाई मनोपरामर्श सेवा आवश्यक परेको शिक्षकहरूको भनाइ छ ।
विद्यालय पुनः सञ्चालन भएपनि खासगरी छात्राहरूको सङ्ख्या घट्ने सम्भावना भएको विभिन्न अनुसन्धानले देखाएका छन् । महामारीको कारण परिवारिक आम्दानी घटेको परिवारका अधिकांश बालिकाहरू पढाइको अवसरबाट वञ्चित हुने सम्भावना बढिरहेको छ । महामारीकै क्रममा बालविवाह बढेको समाचारले पनि यो कुराको पुष्टि गर्छ । परिवारको दबाबमा बिहे गरेकाहरू विद्यालय फर्कने सम्भावना कम छ । आमाबुबा दुवै काममा जानुपर्दा घरको काम गर्नुपर्ने वा आमाबुबालाई काममा सघाउनुपर्ने बाध्यताको शिकार बढीजसो बालिका हुने देखिन्छ । देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ७० लाख विद्यार्थीमध्ये आधाभन्दा बढी बालिका छन् । तीमध्ये कतिले विद्यालय छोड्ने हुन् आगामी दिनमा तथ्याङ्क सार्वजनिक हुने नै छ । तर, मानव जीवनमा त्यसको नकारात्मक प्रभाव अहिल्यै आकलन गर्न सकिन्छ ।
विद्यार्थीलाई सामाजिक बनाउने प्रश्न
पुँजीवादी संस्कृतिले युवा पुस्तालाई व्यक्तिवादी, प्रचारमुखी एवम् स्वार्थी बनाएको छ । थोरै प्रयासले ठूलो सफलता प्राप्त गर्ने वा एकै दिनमा ‘भाइरल’ हुने, नत्र ‘टेन्सन’ मान्ने प्रवृत्ति बढेको छ । विद्यालयमा सामाजिक विषय त पढ्छन् तर उनीहरूमा असामाजिक मनोवृत्ति बढ्दै छ ।
आजको चीनको विकासको जगमा रहेको चिनियाँ शैक्षिक क्रान्तिको समेत नेतृत्व गर्ने माओ त्सेतुङको एउटा भनाइ यहाँनिर राख्नु सान्दर्भिक छ – “शिक्षित बन्न उसले (विद्यार्थीले) सामाजिक सिकाइ मिसाएकै हुनुपर्छ ।” माओले जनताबाट सिक्न धेरै जोड दिनुभएको छ । जनताको पिरमर्का विद्यार्थीलाई नबुझाउँदा, समाज परिवर्तनको नियम नबताउँदा, सामाजिक रूपान्तरणमा शिक्षक आफूस्वयम् सहभागी भई विद्यार्थीलाई पनि उत्साहित नबनाउँदा, जनताको दुःखसुखका कुरा नगर्दा विद्यार्थी एकाङ्गी हुँदा रहेछन् ।
माओ अगाडि भन्नुहुन्छ – “बुद्धिजीवीले गाउँ जानुपर्छ । विद्यार्थीले मुलायम पोशाक फुकालेर खस्रा लुगा लगाउनुपर्छ । किसान के चाहन्छन् भनी थाहा पाउनुपर्छ !” (माओको सङ्कलित रचना, भाग ५) । ‘क्युवामा मानिस र समाजवाद’ नामक प्रशिद्ध पुस्तकमा चे ग्वेभाराले भनेझैँ सिङ्गो समाज एउटा विशाल विद्यालय हुनैपर्छ । हाम्रो शिक्षाले श्रम गर्न ‘लाज मान्ने’ बनाइरहेको छ । पढेर सरकारी जागीर वा ‘ह्वाइट कलर जब’ खान वा कारिन्दा बन्न उत्साहित गरिरहेको छ । एक हिसाबले कलम चलाएर, घुम्ने मेचमा बसीबसी वा आरामपूर्वक पैसा कमाउन उत्प्रेरित गरिँदै छ । शारीरिक श्रम गर्नेलाई हेला गर्ने त पुँजीवादी समाजको अवगुण नै हो । पुँजीवादी बन्दोबस्तले मोजमज्जाको जीवन जिउने, ‘म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ’, भन्ने सिकाइरहेको छ । पैसाले मान्छे किन्ने र बेच्ने बनाइरहेको छ । तिलस्मी कथाहरू सुनेर वा त्यस्तै चलचित्र हेरेर तुरुन्तै ‘राजकुमार वा राजकुमारी’ भएको सपना देख्छन् अचेलका केटाकेटी ।

सूचनाप्रविधिले ल्याएको परिवर्तनले केटाकेटीको संस्कृतिमा व्यापक फेरबदल आउँदै छ । यो परिवर्तनलाई अभिभावक तथा शिक्षकले कति आत्मसात गरेका छन् ? केटाकेटी भन्छन् – “हाम्रो कुरा आमाबुबाले सुन्नुभएन । बुबाआमा पैसा कमाउनमै व्यस्त हुनुभयो । बुबाआमा मिनेट मिनेटको हिसाब लगाएर पैसा टिप्न कुद्नुभयो । उहाँहरूले पैसा कमाउने धुनमा हामीसँग कुराकानी गर्न फुर्सदै पाउनुभएन । एकछिनको निम्ति घर पस्नेले वा सुत्नेबेलामात्र घर आउने बुबाआमाले कुरै नबुझी गाली गर्नुभयो । आफूले भनेझैँ बसे राम्रो मान्नुभयो ।

उनीहरू ‘फिल्म’ का हिरोले पाएको आकस्मिक सफलता देखेर आफू पनि त्यस्तै हुने सपना देख्छन् । कतिपय युवा जीवनको यथार्थ त्यस्तो सहज नहुँदा निराश बन्छन्, ‘फ्रस्टेसन’ को शिकार बन्छन् । यो समस्याको निराकरणको एउटा पाटो शिक्षालयले पनि सम्भाल्नुपर्छ ।
नेपाली संस्कारले छोरा र छोरीको काममा भागबण्डा लगाउँछ । छोरालाई डुल्न, घुम्न, खेल्न, बरालिन छुट दिन्छ, हौसला दिन्छ । छोरीको भागमा खाना पकाउने, कपडा धुने, घरको सफाइ गर्ने, सिलाउने, बुन्ने, कुटो–कोदालो गर्ने, घाँस काट्ने काम पर्छन् । कदाचित् छोराले भाँडा माझेमा वा कपडा धोएमा त्यो तेरो काम होइन, गर्नु हुन्न भनिन्छ । भेदभाव गर्दैनौँ भन्ने समाजका बुझक्कडहरूमा पनि यही संस्कार पाइन्छ । सामाजिक गतिविधिमा संलग्न हुन छोराछोरीलाई उत्प्रेरित नगर्दासम्म युवापुस्ता कसरी सामाजिक र हुन्छन् !?
सूचनाप्रविधिले ल्याएको परिवर्तनले केटाकेटीको संस्कृतिमा व्यापक फेरबदल आउँदै छ । यो परिवर्तनलाई अभिभावक तथा शिक्षकले कति आत्मसात गरेका छन् ? केटाकेटी भन्छन् – “हाम्रो कुरा आमाबुबाले सुन्नुभएन । बुबाआमा पैसा कमाउनमै व्यस्त हुनुभयो । बुबाआमा मिनेट मिनेटको हिसाब लगाएर पैसा टिप्न कुद्नुभयो । उहाँहरूले पैसा कमाउने धुनमा हामीसँग कुराकानी गर्न फुर्सदै पाउनुभएन । एकछिनको निम्ति घर पस्नेले वा सुत्नेबेलामात्र घर आउने बुबाआमाले कुरै नबुझी गाली गर्नुभयो । आफूले भनेझैँ बसे राम्रो मान्नुभयो । हाम्रो इच्छा बुझ्नुभएन ।” केटाकेटीको कुरा आमाबुबाले नबुझ्नु, आमाबुबाको आकाङ्क्षा केटाकेटीले नबुझ्नु । समस्याको चुरो नै यही हो । सबैले आत्ममूल्याङ्कन गर्ने बेला भएको छ, तर्क (लजिक) ले काम नगर्दा गालीको लठ्ठी चोटिलो नै हुन्छ । केटाकेटीले आफूले भनेझैँ मात्र गरून् र आफूले देखाएकै बाटोमा मात्रै हिँडून् भन्ने सामन्तवादी विचार हो । आफ्नो बुबाले भनेझैँ मात्र गरेका भए चाल्र्स डार्विन पादरी भएर चर्चमा रल्लिन्थे । डार्विन आफ्नो इच्छा मारेर बसेको भए मानव समाजले क्रम विकासको सिद्धान्त कहिले पाउँथ्यो ? अरूले देखाएको बाटोमा मात्र हिँड्ने मानिसले नयाँ बाटो हिँड्न सक्दैन ।
विद्यार्थीलाई व्यावहारिक जीवनमा पनि सफल बनाउने जिम्मेवारी हरेक अभिभावक, शिक्षक तथा समाजको हुन्छ । शिक्षा क्षेत्रका कालिगडहरूको यतापट्टि ध्यान पुगोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *