भर्खरै :

सन् २०२१ मै कोभिडको सामूहिक प्रतिरोधी क्षमताको विकास सम्भव नहोला

जेनेभा, १२ जनवरी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिकले संसारका विभिन्न देशमा कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सुरु भए पनि सन् २०२१ मा संसारभर यो रोगविरुद्ध सामूहिक प्रतिरोधी क्षमता (हर्ड इम्युनिटी) को विकास नहुने बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथमले सामाजिक दूरी कायम गर्नेलगायत महामारीको प्रतिरोधी सावधानीका उपायको पालना निकट भविष्यसम्म चालू राख्नुपर्ने बताइन् । पछिल्ला साताहरूमा संसारका बेलायत, संरा अमेरिका, फ्रान्स, चीन, क्यानाडा, जर्मनी, इजरायल, नेदरल्यान्डलगायत देशहरूले कोभिड–१९ को प्रतिरोध खोप अभियान थालिसकेका छन् ।
“खोपले सबभन्दा जोखिममा रहेका जनतालाई भाइरसबाट जोगाउने काम सुरु गरिसकेको छ । तर, सन् २०२१ मै हामीले सबै जनसङ्ख्यामा सामूहिक प्रतिरोध क्षमता भने हासिल गर्न सक्नेछैनौं”, उनले भने, “केही निश्चित क्षेत्रमा यस्तो प्रतिरोधी क्षमता विकास हुन सम्भव होला । तर, संसारभर यस्तो हुन सम्भव छैन ।”
स्वामिनाथमले संसारभर कूल ७० प्रतिशत मानिसले खोप लगाइसकेपछि मात्र रोगको सामूहिक प्रतिरोधी क्षमता विकास हुन सम्भव भएको बताइन् । त्यसपछि मात्र संसारभरका जनतालाई यो रोगबाट जोगाउन सकिनेछ । तथापि, कोभिड–१९ को सङ्क्रामकता निकै उँचो भएकोले त्यसको निम्ति सिमाना अझ माथि पु¥याउनुपर्ने बताइन् ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकका सल्लाहकार डा.ब्रुस एलवार्डले जनवरीको उत्तर्राद्र्ध अथवा फेब्रुअरी महिनामा संसारका केही गरिब देशमा पनि कोरोना भाइरसको प्रतिरोध खोपको सार्वजनिक वितरण गरिने बताए । उनले संसारका सबै देशलाई सहजरूपमा खोप सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।
संसारका सबभन्दा कमजोर र गरिब जनतालाई पनि खोपको व्यवस्था विश्व स्वास्थ्य सङ्गठनको एक्लो प्रयासबाट मात्र सम्भव नभएको भन्दै उनले त्यसको निम्ति स्वास्थ्य सङ्गठनलाई खोप उत्पादकहरूको सहायताको खाँचो रहेको बताए । उनले आगामी महिना खोप अभियान थालनी गर्ने विकासशील देशहरूको कार्यतालिका सार्वजनिक गर्ने लक्ष्य राखेको पनि बताए ।
संसारमा हाल उत्पादन भएका कोभिड–१९ को अधिकांश खोप धनी देशले किनेका छन् । संयुक्त राष्ट्र सङ्घको अगुवाईमा भएको खोप कार्यक्रम कोभ्याक्सले विकासशील देशमा खोप आपूर्ति गर्ने लक्ष्य राखे पनि ती देशमा पु¥याउन खोप, पैसा र अन्य बन्दोबस्तीका साधनको अभाव भएकोले अझै त्यो लक्ष्य पुरा हुन सकेको छैन । अधिकांश दातृ देशहरू आफै आफ्ना नागरिकको रक्षामा लागेका हुनाले तत्कालै यो काम सुरु हुन नसकेको हो । पछिल्लो समय बेलायत र दक्षिण अफ्रिकामा नयाँँथरी कोभिड–१९ भाइरस फैलिएपछि अधिकांश देशको ध्यान आफ्ना नागरिकको सुरक्षामा केन्द्रित भइरहेको छ । विज्ञहरूले नयाँ थरी भाइरस तीब्र गतिमा संसारका विभिन्न देशमा फैलिरहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *