भर्खरै :

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौँ, २८ पुस । सर्वाेच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । यो आदेशसँगै कक्षा ११ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई यसै शैक्षिक सत्रबाट कार्यान्वयन गर्न बाटो खुलेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मङ्गलबार सो आदेश दिएको हो । गत असोज २८ गते भागवता अर्यालले सो नयाँ पाठ्यक्रम लागू नगराउन माग गर्दै नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराउनुभएको थियो । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएको हो ।
सर्वोच्च अदालतले पुरानो वा नयाँ पाठ्यक्रममध्ये कुन लागू गर्ने विषयमा फैसला नगर्दा कक्षा सञ्चालन भएको महिनौँसम्म पनि देशभरका कक्षा ११ का शिक्षक र विद्यार्थी अलमलमा परेका थिए । कतिपय विद्यालयहरूले नयाँ पाठ्यक्रमअनुसार कक्षा सुरु गरिसकेका छन् भने कति विद्यालय भने अझै अन्योलमा थिए । शिक्षाविद्हरूले आवधिकरूपमा पाठ्यक्रममा परिमार्जन र परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएकोले यो विषयमा अदालतमा लगिएको विरोध गरेका थिए ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यसबीच समयमै फैसला गर्न अदालतलाई आग्रह गरेको थियो । पाठ्यक्रमको टुङ्गो नलाग्दा कोभिड–१९ महामारीको कारण त्यसै पनि विलम्ब भइसकेको कक्षा ११ को पढाइ अझ ढिला भएको भन्दै नेक्राविसङ्घले यथाशक्य चाँडो फैसला गर्न आग्रह गरेको थियो ।
सरकारले यसै शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।
नयाँ पाठ्यक्रम लागू गर्न सरकारले यसअघि विद्यालयलाई निर्देशन दिएको भए पनि अदालतको अन्तरकालीन आदेशले त्यसलाई रोकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *