भर्खरै :

एड्गर स्नोले चिनाएका ‘चीनको आकाशमा रातो तारा’–२

चीनका ‘राता मान्छेहरू’ले क्रान्तिका निम्ति कस्ता आधारभूत नीतिहरू अवलम्बन गरे ? यो प्रश्नको सेरोफेरोमा लेखक एड्गर स्नोले गरेका एक दर्जनभन्दा बढी छलफल र कुराकानीका अंशहरू पुस्तकमा सङ्कलित छन् । लामो सङ्घर्षको वैचारिक आधार माक्र्सवाद–लेनिनवाद नै थियो । तर, चीनको माटो सुहाउँदो व्यावहारिक प्रयोगका निम्ति नेतृत्वले कस्तो नीति अपनायो भन्ने सवाल तत्कालीन समयमा जति महत्वपूर्ण थियो आज पनि उत्तिकै छ । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना र सन् १९२३ मा सन यात्सेन नेतृत्वको पार्टीसँग कम्युनिस्ट पार्टीको एकताको सन्दर्भलाई देशको मुक्ति आन्दोलनसँग जोडेर व्याख्या गरिएको छ । पार्टी एकताको प्रारम्भिक दुई उद्देश्य थिए । क्रान्तिकारी गतिविधिमार्फत साम्राज्यवादको विरोध र जापानी उपनिवेशवादविरुद्ध लडेर देशलाई राजनीतिक, आर्थिकरूपमा पूर्ण स्वतन्त्र र सार्वभौम बनाउनु नै पहिलो उद्देश्य थियो अनि त्यसका निम्ति साम्राज्यवादविरोधी नीति अवलम्बन गरिएको थियो । जापानी उपनिवेशविरोधी आन्दोलनसँगै देशभित्रको सामन्तवादलाई जरैदेखि उखेल्नु पार्टी एकताको दोस्रो उद्देश्य थियो, त्यसका निम्ति आन्तरिक नीति जरुरी थियो । जनताको सामाजिक, आर्थिक, राजनीतिक जीवन परिवर्तनको सुरुआत प्रजातान्त्रिक आन्दोलनबाटै हुन्छ भन्ने विश्वास पार्टी एकताको थियो । सन् १९२७ मा पार्टी एकता टुङ्गियो । देशको प्रजातान्त्रिक आन्दोलनले अधिकांश जनताको जीवनमा परिवर्तन नहुने पक्का थियो । त्यसमाथि दक्षिणपन्थी कोमिन्ताङहरू विदेशी शक्तिको प्रभावमा परे । जमिनदार, बैङ्क मालिकहरू तिनकै साथमा थिए । च्याङ् काई–सेक नेतृत्वको प्रतिक्रान्तिकारी दल पनि सक्रिय हुन थालेको थियो । त्यसकारण, चिनियाँ कम्युनिस्ट पार्टीले जनताको साँचो मुक्तियुद्धको आवश्यकताबोध ग¥यो । ती क्रान्तिकारीहरू यो पनि विश्वास गर्थे कि सन् १९२७ इतिहासमै देशको मुक्ति र प्रजातन्त्र स्थापनाको युगीन समय थियो । पार्टीको साम्राज्यवादविरोधी बाह्य नीति र किसान आन्दोलनको आन्तरिक नीतिविना यो कुरा सम्भव थिएन ।
निरन्तरको क्रान्तियात्राबाट विमुख कोमिन्ताङ, अर्थात् च्याङ् काइ–सेकहरूले नानकीङ फुट गराए । तिनले ‘नो वार’ अर्थात् युद्धविरोधी नीति लिए । त्यतिबेला चिनियाँ भूमिमा जापानी साम्राज्यवादीहरूको हस्तक्षेप समाप्त भइसकेको थिएन । भूमि, यातायात, उद्योग र प्राकृतिक स्रोतसाधनमा तिनको कब्जा कायम थियो । जापानी साम्राज्यवादीहरूले शान्ति भङ्ग गर्न छोडेका थिएनन् । तत्कालीन समयमा जापानी साम्राज्यवादले चिनियाँ जनताको सुखचैन मात्र खोसेको थिएन, सारा विश्वमै अशान्तिको उत्पात मच्चाइरहेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले जापानी साम्राज्यवादविरुद्ध निरन्तर लड््ने र सँगै चिनियाँ जनताको मुक्तिका निम्ति राष्ट्रिय पुँजीपतिवर्ग, प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीविरुद्ध लड्ने नीति लियो । अध्यक्ष माओ भन्नुहुन्थ्यो –“यतिबेला हामी रोकियौँ भने चीनमा युगयुगसम्म जापानको उपनिवेश कायम रहनेछ । त्यसकारण, हामीसँग निरन्तर सङ्घर्ष गर्नुको विकल्प छैन । यो लडाइँमा संसारकै न्यायप्रेमी जनताको साथ र ऐक्यबद्धता रहनेछ । त्यसैले साम्राज्यवादको रक्तिम इतिहासले हाम्रो सङ्घर्षको मार्गलाई अँध्यारो बनाउन सक्दैन ।” त्यहीबाटै चीनको आकाशमा राता मान्छेहरूको जन्म भयो र चीनको भविष्यलाई सुनौलो–रातो बिहानीतिर डो¥याउने सङ्कल्प चीनको आकाशमा गुञ्जियो ।
क्रान्ति सफलताका निम्ति चिनियाँ जनताको एकता सबैभन्दा महत्वपूर्ण थियो । युद्ध कति लम्बिन्छ ? भन्ने स्नोको प्रश्नमा माओको जवाफ यस्तो थियो – “त्यो त चिनियाँ जनताको एकताबद्ध शक्तिमा निर्भर गर्छ । त्यसका अलावा चीन र जापानबीचका अवस्थाहरू, अन्तर्राष्ट्रिय सहयोग र जापानमा क्रान्तिकारी विकासको डरले युद्ध समयावधि निर्धारण गर्नेछ ।” माओले जापानमा क्रान्तिकारी आन्दोलन र परिवर्तनको सम्भावनाबारे स्नोसँग राख्नुभएको विचार पुस्तकमा छ । सुदूरपूर्वमा भइरहेको चीन–जापान युद्धमा सोभियत रुस चुपचाप बस्दैन अर्थात् बेवास्ता गर्न सक्दैन भन्ने माओको ठम्याइ सही थियो ।
अन्तर्राष्ट्रिय सहयोगहरूसँग माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले लालसेना विश्वविद्यालय निर्माण ग¥यो । युद्ध द्रुतगतिमा अगाडि बढ्दै गयो । सेनाका कमान्डर युवा नै थिए । अधिकांश लालसेना २७–३० वर्षका थिए । तिनलाई विश्वविद्यालयमा विचारका साथसाथै तालिम, खानपान पनि सिकाइन्थ्यो । लाल नाटकघर सञ्चालनबाट जनताको चेतनास्तर उकास्न मद्दत मिल्यो । किसान, गरिब किसानको मस्तिष्कमा क्रान्तिचेत भर्न सजिलो थिएन । युगान्तकारी परिवर्तनका निम्ति लड्नुको विकल्प किन छैन ? समाजवाद के हो ? साम्यवाद स्थापना किन आवश्यक छ ? भन्ने बुझाउन लाल सांस्कृतिक टोलीले सघायो । तिनका नाटकहरूमा चिनियाँ किसान नायक बनाइन्थे । तिनका वाद्यवादनहरूमा क्रान्तिको बिगुल बज्थ्यो । तिनका गीतहरूबाट चिनियाँ जनता प्रभावित हुन्थे । थुप्रै लाल नेताहरू, लालसेनाहरूको बलिदानी सगौरव मञ्चन गरिन्थ्यो । सांस्कृतिक टोली वास्तवमै क्रान्तिको यात्रामा महत्वपूर्ण सहयोगी सिद्ध भयो ।
पुस्तकमा चिनियाँ क्रान्तिको इतिहास र अध्यक्ष माओको जीवनगाथा समानान्तररूपमा प्रस्तुत गरिएको छ । अध्यक्ष माओको बाल्यकालदेखि नयाँ चीन एवम् क्रान्तिकारी चीन निर्माणको समयावधिलाई पुस्तकले समेटेको छ । पत्रकार स्नोले चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ क्रान्तिबारे लाल अखडाहरूबाट जानकारी पाए । अध्यक्ष माओले पनि धेरै बताउनुभयो । तर, उहाँको व्यक्तिगत जीवनबारे कहिल्यै बताउन चाहनुभएन भन्ने गुनासो स्नोले ठाउँ–ठाउँमा गरेका छन् । अध्यक्ष माओ मात्रै होइन अरू लालसेनाहरू पनि आफ्नो भूमिका बताउँदैनथे । स्नोले पछि थाहा पाए तिनको जीवन क्रान्तिभन्दा पटक्कै अलग थिएन । व्यक्तिगत अनुभूति र जीवनभन्दा देशको मुक्ति र समाजवाद महत्वपूर्ण थियो । व्यक्तिगतभन्दा सामूहिक भावना माथि थियो ।
यद्यपि, स्नो बाहिरी दुनियाँमा चल्ने हल्लाहरूबाट आक्रान्त थिए । “माओका थुप्रै श्रीमती छन्, उनी फ्रेन्च भाषा फररै बोल्छन्, उनी अज्ञानी किसान मात्रै हुन्, उनी क्षयरोगले मर्नै आँटेका छन्, उनी मरिसके ।” यावत् हल्लाबारे जान्ने इच्छा स्नोलाई थियो । माओ स्नोलाई आफ्नो बाल्यकालदेखिको घटना, अनुभव, भोगाइ बताउन तयार हुनुभयो । सानैदेखि अत्यन्त अध्ययनशील माओ आफ्नो बुबाको व्यवहारबाट असन्तुष्ट हुनुहुन्थ्यो । ठिकै कमाइ गर्ने परिवारमा हुर्कनुभएको माओको जीवनमा आमाको प्रभाव ज्यादा देखिन्छ । सानैदेखि देशभक्तिपूर्ण भावनाले ओतप्रोत कथाहरू पढ्न रुचाउने र विद्रोही स्वभावका माओले सानैमा जापानी उपनिवेशवादको बर्बरता महसुस गरिसक्नुभएको थियो । चाङ्शामा माओले राजनीतिक जीवनको सुरुआत गर्नुभयो । सेनामा भर्ती, अखबारहरूको नियमित अध्ययन, पुस्तकको अध्ययन, समाजवादी बन्दोबस्तबारे अध्ययनसँगै माओले औपचारिक शिक्षा अगाडि बढाउनुभयो । उहाँ साहित्यमा गम्भीर अभिरुचि राख्नुहुन्थ्यो । विश्वको इतिहास, भूगोल, राजनीतिशास्त्रमा दख्खल राख्नुहुन्थ्यो । तत्कालीन समयमा माओको अन्तर्राष्ट्रिय विचार–विश्लेषण आज पनि अध्ययन गर्न पाइन्छ । चाङ्शामै उहाँले देशभक्त युवाहरूको समूह स्थापना गर्नुभयो । त्यो नै सङ्गठनको बिउ थियो । त्यसपछि क्रान्तिको उत्थानबारे पुस्तकमा सविस्तार वर्णन छ । चीनका ‘राता मान्छे’ हरू आफू कम्युनिस्ट हुनुभन्दा अघिको जीवनकाललाई एक किसिमको अँध्यारो युग ठान्दथे भने आफू कम्युनिस्ट भइसकेपछि मात्रै साँचो जीवनको थालनी भएको ठान्दथे । स्नोको अध्ययनले उजागर गरेको यो गौरवपूर्ण सत्यले चिनियाँ क्रान्तिका इतिहासद्रष्टाहरूको स्मरण गराउँछ । माओले पुस्तकालयका दर्शनका ठेलीहरू, माक्र्सवादी साहित्य अध्ययन गर्नुभयो । कम्युनिस्ट घोषणापत्रदेखि पुँजीसम्मको यात्राले उहाँलाई क्रान्तिप्रति विश्वस्त बनायो । लेनिन र सोभियत जनताको समाजवादले चिनियाँ माटोमा सम्भावनाको ढोका खोल्यो । माओसँग चीनको अर्थ–राजनीतिक, भू–राजनीतिक इतिहासको राम्रो ज्ञान थियो । चीनमा वर्गसङ्घर्षको इतिहासबारे उहाँ जानकार हुनुहुन्थ्यो ।

अनेकौँ कठिनाइ पार गर्दै, चीनका अग्ला र ज्यादै अप्ठेरा पहाड–भन्ज्याङ् छिचोल्दै, अनकन्टार घाँसे मैदान पार गर्दै, रगत जमाउने जाडो र हड्डी पगाल्ने गर्मी खप्दै, हिँऊको बतास र आँधीबेहरीसँग जुझ्दै चीनका आधाजसो स्वेत पल्टनबाट लखेटिँदै लालसेनाले सन् १९३५ मा सेन्सीमा सफलताको झन्डा गाड्यो, चीनको विशाल उत्तर–पश्चिम भेगमा आधार विस्तार ग¥यो । त्यो सफलताको आगमन कम्युनिस्ट पार्टीको सही नेतृत्वविना सम्भव थिएन । लालसेना र कम्युनिस्ट कार्यकर्ताको समर्पण, कौशल, साहस, दृढसङ्कल्प, उच्च सहनशीलता र क्रान्तिकारी ऊर्जाविना यो काम असम्भव नै हुन्थ्यो । सम्पूर्णखाले अवसरवादविरुद्ध लड्दै माक्र्सवाद–लेनिनवादप्रति निष्ठावान् क्रान्तिकारीले नै चीनमा क्रान्ति सम्भव तुल्याएको हो भन्नेमा शङ्का छैन । शान्सीमा आधार विस्तारसँगै क्रान्ति सफलतामा टुङ्गिने सङ्केत बन्यो ।

मानवसमाजको विकासक्रम र सभ्यताको विकासबारे उहाँ प्रस्ट हुनुहुन्थ्यो । आफ्ना सम्पूर्ण अध्ययन र अनुभवको व्यावहारिक प्रयोग उहाँले सोभियत आन्दोलनहरूमार्फत गर्नुभयो । सन् १९२७ पछि उहाँले चाङ्शाको ‘शरदको विद्रोह’ को नेतृत्व गर्नुभयो । त्यतिबेलाको आन्दोलन प्रान्तीय पार्टीलाई कोमिन्ताङबाट पूरै अलग्याउनु, किसान–मजदुरको क्रान्तिकारी सेनाको गठन गर्नु, जमिनदारहरूको सम्पत्ति जफत गर्नु, हुनानमा कम्युनिस्ट पार्टीको सत्ता खडा गर्नु र सोभियतको सङ्गठन गर्नु थियो । माओ हुनानी मजदुरहरूमाझ सङ्गठन गर्दा कोमिन्ताङहरूबाट समातिनुभएको सन्दर्भ छ । त्यहाँबाट भाग्नुको विकल्प थिएन । सिपाहीको आँखा छली बसेको ठाउँमा तिनीहरू निकै पटक खोज्दै एकदमै नजिक आए । यद्यपि, उहाँ शत्रुको चङ्गूलबाट उम्कन सफल हुनुभयो । उहाँ त्यो रातभर पहाडैपहाड हिँड्नुभयो । उहाँसँग जुत्ता थिएन । खुट्टामा फोकैफोका उठेको थियो । यस्ता आँखा रसाउने दृष्टान्तहरू पुस्तकमा थुप्रै छन् । माओ मात्र होइन उहाँका सहयात्रीहरूको मुटु कमाउने कथाहरू पुस्तकमा सङ्कलित छन् । चिनियाँ जनताको आँसु र हर्षको कथा छ । थुप्रै आँधीबेहरी, उकाली–ओराली, असिना–पानीको सामना गर्दा पनि अविचलित ‘राता मान्छेहरू’ को गाथाले पुस्तक भरिएको छ ।
किसान विद्रोह हुनानबाट दक्षिणतर्फ लाग्दै गर्दा सेनाभित्र अनुशासन, राजनीतिक तालिमको अभाव माओले महसुस गर्नुभयो । विचारमा ढुलमुलेहरू युद्धमैदान छोडेर भाग्दै थिए । लालसेनाको विकासमा माओले निकै मेहनत गर्नुभयो । अनुशासन र सङ्गठन गर्ने काइदा गज्जबको बन्दै गयो । “आदेशको तुरुन्त पालना गर, गरिब किसानको कुनै पनि चिज जफत नगर, जमिनदारहरूबाट जफत गरिएका मालसामान लगत्तै सरकारलाई बुझाऊ” अनुशासनका यी तीन नियम लागु गरियो । किसानको समर्थन प्राप्त गर्न मेहनत गरियो र आठ नियम थपियो । ‘घरबाट हिँड्दा ढोकाहरू जस्ताको तस्तै मिलाइदेऊ, सुतेका गुन्द्रीहरू फिर्ता गर, मानिससँग दयालु र विनम्र व्यवहार गर र सकेको बेला तिनलाई मद्दत गर, पैँचो लिएका सबै सामान र चिज फिर्ता गर, बिगारे–भत्काएका सबै चिजहरू जस्ताको तस्तै मिलाइदेऊ, किसानसँग गरेका सबै किसिमका लेनदेनमा इमानदार होऊ अर्थात् जनतासँग सित्तैमा सियो–धागोसमेत नलेऊ, किनेका सबै चिजको मोल तिर, सफाइमा ध्यान देऊ, खास गरी चर्पीहरू मानिसको घरदेखि टाढै राख ।’ यी अनुशासनका नियमलाई लालसेनाले इमानदारीपूर्वक अवलम्बन गरेकै कारण जनताको मन जित्न ती सफल भए । कडा अनुशासनका नियमसँगै उँचो उद्देश्य तिनीहरूसँग थियो । शत्रुविरुद्ध मृत्युलाई समेत वास्ता नगरी सङ्घर्ष गर्ने, जनसमूहलाई सशस्त्र सङ्घर्षमा सहभागी बनाउने, सङ्घर्षका लागि आर्थिक सहयोग जुटाउने कार्यलाई लालसेनाले आफ्नो उद्देश्य बनाए । सङ्घर्षको मैदानमा युद्धकौशलको आवश्यकता सदा रहन्छ । “जब शत्रु अघि बढ्छ, हामी पछि हट्छौँ । जब शत्रु युद्धलाई छल्न खोज्छ, हामी उसमाथि जाइलाग्छौँ । जब शत्रु पछि हट्छ, हामी उसलाई लखेट्छौँ ।” लालसेनाको रणनीति थियो ।
सङ्घर्षको मैदानमा आफन्तहरूमाथि बैरीले पु¥याएको सासना र अत्याचारको लेखाजोखा नै थिएन । धेरै कामरेडको टाउकोको मूल्य तोकिएको थियो । माओ र चू तेहलाई जसले जिउँदो वा मरेको अवस्थामा समाउँछ उसलाई ठूलो इनामको घोषणा गरिएको थियो । तर, त्यतिन्जेल माओ जनताको प्यारो नेता, जनताको आँखामा नबिझाउने व्यक्तित्वको रूपमा स्थापित भइसक्नुभएको थियो । त्यसकारण, जनताको माझमा उहाँ सदा सुरक्षित रहनुभयो । तर, उहाँको श्रीमती, बहिनी, छोरा पक्राउ परे । श्रीमती र बहिनीको निर्मम हत्या गरियो । आफन्तहरूको वियोगमा पनि लालसेनाको क्रान्तिभावना डग्मगाएन बरु अझ उँचो आत्मविश्वास सहित कठिन यात्रामा प्रतिबद्ध बन्यो । शत्रुहरूसँग निकै कठिन र खतरनाक भिडन्तहरू गर्दै लालसेना अविश्रान्त अघि बढ्यो ।
अनेकौँ कठिनाइ पार गर्दै, चीनका अग्ला र ज्यादै अप्ठेरा पहाड–भन्ज्याङ् छिचोल्दै, अनकन्टार घाँसे मैदान पार गर्दै, रगत जमाउने जाडो र हड्डी पगाल्ने गर्मी खप्दै, हिँऊको बतास र आँधीबेहरीसँग जुझ्दै चीनका आधाजसो स्वेत पल्टनबाट लखेटिँदै लालसेनाले सन् १९३५ मा सेन्सीमा सफलताको झन्डा गाड्यो, चीनको विशाल उत्तर–पश्चिम भेगमा आधार विस्तार ग¥यो । त्यो सफलताको आगमन कम्युनिस्ट पार्टीको सही नेतृत्वविना सम्भव थिएन । लालसेना र कम्युनिस्ट कार्यकर्ताको समर्पण, कौशल, साहस, दृढसङ्कल्प, उच्च सहनशीलता र क्रान्तिकारी ऊर्जाविना यो काम असम्भव नै हुन्थ्यो । सम्पूर्णखाले अवसरवादविरुद्ध लड्दै माक्र्सवाद–लेनिनवादप्रति निष्ठावान् क्रान्तिकारीले नै चीनमा क्रान्ति सम्भव तुल्याएको हो भन्नेमा शङ्का छैन । शान्सीमा आधार विस्तारसँगै क्रान्ति सफलतामा टुङ्गिने सङ्केत बन्यो ।
‘लामो हिँडाइ’ विश्व इतिहासमै अत्यन्त उल्लेखनीय सङ्घर्षको रूपमा आज पनि अध्ययन गरिन्छ । लामो हिँडाइको क्रममा लालसेनाले सामना गरेका कठिन परिस्थितिको वर्णन मार्मिक छ । तातु (Tatu) नदी पार गर्दाको मुटु कमाउने घटना र तातुका नायकहरूका बुद्धिमत्ता र साहसको चर्चा स्नोले चाख दिएर गरेका छन् । तातुको उत्तरमा हिँऊको अग्लो पहाड १६ हजार फिट चढिसकेपछि पनि बरफको समुद्र छिचोल्दै मानिस नै नबस्ने घाँसेमैदानमा १०/१२ दिनको बसाइ कति कष्टसाध्य भयो होला ? तर लालसेना, कम्युनिस्ट कार्यकर्ताहरूले पटक्कै थकाइको महसुस गरेनन् । ऊर्जाशील भई गन्तव्यतिर लम्किरहे ।
सेन्सीमा सोभियतको सुरुआत, पार्टी स्कुल स्थापना, पार्टीको लाइनअनुरूप आर्थिक, राजनीतिक तथा सांस्कृतिक मोडल तयार गर्न चालिएका कदमहरूको चर्चा पुस्तकमा छ । स्नोले योद्धा ल्यू छिन थानको योगदानबारे चर्चा गरेका छन् । सोभियत समाज माक्र्सवादको वैचारिक आधारशिलामा चीनका अन्य गाउँहरूभन्दा आर्थिक र सांस्कृतिकरूपमा परिष्कृत या विकसित बन्दै गए । शिक्षा, सहकारी, सैन्य तालिम, राजनीतिक तालिम, भूमि समस्या समाधान, जनस्वास्थ्य, पार्टी कार्यकर्तालाई तालिम, क्रान्तिकारी प्रतिरोध, लालसेनाको विस्तार, कृषि आपसी सहयोग, खेत जोत्न लालसेनाको सहभागिता जस्ता गतिविधिले सोभियत समाज पृथक बन्दै गयो । सोभियत समाजभित्र महिलाको स्थान एक लडाकु र पुरुष सरहकै कामरेडको थियो । सामूहिक भावना र कार्यलाई जोड दिइयो । भ्रष्टाचारलाई निर्मूल पार्ने काइदा सोभियत समाजले चीनलाई सिकायो । उत्पादन र अर्थतन्त्रमा आत्मनिर्भरताको प्रश्न अहम् थियो । कोमिन्ताङ समूहले विदेशी शक्तिसँग मिली लालसेनाका लालइलाका र सोभियत समाजमा नाकाबन्दी गरेको अवस्था थियो । अभाव र कष्टबीच पनि गरिब जनता लालसेनाको रातो झन्डालाई आफ्नो मुक्तिको झन्डा बनाउँथे । सोभियत समाजभित्रै उत्पादन र आर्थिक गतिविधि चुस्त बनाइयो । रेडियो, मेडिकल, नर्सिङ, इन्जिनियरिङ क्षेत्रमा पनि प्रगति गर्न थाल्यो ।
स्नोले जनतासँग प्रत्यक्ष भेटेरै लालसेना र गाउँ–गाउँमा क्रान्तिकारी गतिविधिबारे जिज्ञासा राखेका थिए । जनतामा भएको विदेशीप्रतिको घृणाबाट स्नो अछुतो बनेनन् । जनताको हृदयभित्र कहीँकतै लालसेनाबारे असन्तुष्टि छ कि भनी जान्ने हुटहुटी स्नोसँग थियो । एक किसानले भने –“लालसेना हामीसँग अन्न, कोदो, मकै लिन्छौँ । ती घोडा र गाई जस्तै बढी खानुपर्ने खालका छन् । लडाइँ र लामो हिँडाइ सजिलो नभएर हो कि ?” स्नोको प्रतिप्रश्न – “तिनले पैसा तिर्दैनन् ?” किसान –“तिर्छन्, हामीलाई खुशी पनि पार्छन् तर वर्षभरि खानुपर्ने अन्न !” एक वृद्धले थपे – “हामीलाई अफिम किन्न दिइन्न । सहकारीबाट आवश्यक सामग्री भने उपलब्ध गराइन्छ । जनताको त्यही जमघटबाट एक जनाले प्रस्ट बोले – “लालसेना हाम्रो निम्ति लड्दै छ । हामीले एक छाक काटेर हाम्रै मुक्तिका निम्ति योगदान गर्दै छाँै । त्यसो त लालसेना सित्तैमा एक अन्न पनि लिँदैन । के हामीलाई श्वेत पल्टनले दुःख दिएको मञ्जुर छ ?” स्नोका निम्ति श्वेत सेनाको आतङ्क कस्तो भन्ने जान्ने इच्छा भयो, उनले सोधे –“स्वेत सेना आउँदा के गर्छन् ?” श्वेत पल्टन जनतालाई धम्काई–तर्साई खाना माग्थे र त्यसको पैसा तिर्दैनथे । गाईवस्तुका गोठहरू भत्काउँथे । कुखुरा, खसी चोर्थे । जनताको सम्पत्ति जफत गर्थे । तिनलाई सुविस्ता र खाना नदिए यी कम्युनिस्ट हुन् भनी पक्राउ गर्थे । असाध्यै दुःख दिन्थे । ती लालसेनाको विपरीत थिए ।
एक किसानले स्नोसँग भने –“मसँग श्वेत पल्टनलाई सुम्पन केही–केही थिएन । तिनले मेरी छोरी बेच्नका निम्ति मागे । यहाँ बस्तुभाउ र छोरी बेच्नका निम्ति नभएकाहरू सिधै जेल जानुपर्छ ।” लालसेना स्वेत पल्टनको आतङ्कविरुद्ध पनि लड्दै थियो । लालसेना र कम्युनिस्ट कार्यकर्ताले आर्थिक, सामाजिक र राजनीतिकरूपमा मात्र अब्बल समाज होइन महिलालाई सम्मान गर्ने समाजको निर्माण समेत गरे । स्नो लेख्छन् – “मैले किसान महिलामाथि बलात्कारको एउटा घटना पनि सुनिनँ, अत्याचारको सुइँको समेत पाइनँ ।”
जनताको सेवा गर्ने पार्टी र सही नेतृत्व मिले जनताका घर, अस्पताल, बालिनाली, विद्यालयहरू नभत्काइकनै क्रान्ति जित्न सकिन्छ । जनताको मन जितेर गरिएको सङ्घर्ष अजेय बन्छ । क्रान्तिवीरहरू अमर बन्छन् । चिनियाँ क्रान्तिमा लालसेनाहरूको भूमिका र योगदानले संसारलाई यही शिक्षा दियो । त्यसकारण, चिनियाँ सङ्घर्ष र माओको विचारलाई भाँचकुच गरी नक्कल गरेको बनाउनेहरू पतन भएको इतिहास छ । नेपालको राजनीतिक इतिहासमा त माओवादी कलङ्क साबित भइसकेको छ ।
यसरी पुस्तकमा चिनियाँ क्रान्तिकालीन कम्युनिस्ट पार्टीका नीतिहरू र जनताको अवस्थाबारे प्रस्ट व्याख्या गरिएको छ । पुस्तकको अध्याय चारदेखि आठसम्म स्नोले माओसँगै हो छेन, ङ्केन थेन हुआइ लगायतका व्यक्तित्वहरूसँग पाठकलाई साक्षात्कार गराएका छन् । चीनको भूगोलसँग पनि यी अध्यायहरूले पाठकलाई जोड्छन् । चिनियाँ जनताको वास्तविक अवस्था र तिनको जीवनमा सोभियत समाजले ल्याएको परिवर्तनका चरणहरूलाई स्नोले मिहिन विवेचना गरेका छन् । पुस्तकको नवौँ अध्यायदेखि अर्को अङ्कमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *