भर्खरै :

भक्तपुर जिल्ला फूटबल सङ्घको अपिल

अखिल नेपाल फूटबल सङ्घ (एन्फा) को १९ औँ साधारणसभा माघ ६ गते हुने जानकारी प्राप्त भएकोले साधारणसभामा सहभागी हुन गौतम सुजखुको नेतृत्वमा रहेको भक्तपुर जिल्ला फूटबल सङ्घलाई पत्राचार नभएकोले सहभागिताको लागि गत पुस २८ गते एन्फामा पत्राचार गरेका थियौँ ।
भक्तपुर जिल्लालाई निमन्त्रणाको चिठी के–कति कारणले नभएको हो सोको जानकारी पाउने आशाका साथ मौजुदा रहेको भक्तपुर जिल्ला फूटबल सङ्घ विघटन गरी नयाँ जिल्ला तदर्थ समिति गठन गर्ने एन्फाको विधानले नदिएको र सो केन्द्रीय समितिबाट पारित नभएकोले अहिले हुने साधारणसभामा यस भक्तपुर जिल्ला समिति सहभागी हुन पाउने नैतिक अधिकारबाट वञ्चित गर्न मिल्दैन । साधारणसभाको दुईतिहाइ बहुमतले मात्र जिल्ला समितिलाई भङ्ग गर्नसक्ने भएकोले यस जिल्लालाई सहभागिताको लागि अनुरोध गरेका थियौँ ।
भक्तपुर जिल्लामा नयाँ तदर्थ समिति गठन गरेकोमा सर्वोच्च अदालतमा परेको रिटको किनारा नलागेसम्म गौतम सुजखु नेतृत्वको भक्तपुर जिल्ला फूटबल सङ्घ एन्फाको साधारणसभामा सहभागी हुने अधिकार सुरक्षित रहेकोले पत्र लेखेका थियौँ । आशा छ, फूटबल विकासको निम्ति भक्तपुर जिल्लालाई सहभागिताको लागि आवश्यक कदम चाल्नेछ ।
अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का प्रतिनिधि सन्जीव मिश्रलगायतको उपस्थितिमा २०७४ चैत २७ गते भक्तपुर जिल्ला फूटबल सङ्घको साधारणसभा भएको थियो । उक्त साधारणसभाबाट गौतम सुजखुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भयो । तत्पश्चात् भक्तपुर जिल्ला फूटबल सङ्घका प्रतिनिधिहरू उपस्थित एन्फाको २०७५ वैशाख २२ गते १६ औँ साधारणसभाबाट हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा निर्वाचित हुनुभएको थियो । भक्तपुर जिल्ला फूटबल सङ्घका प्रतिनिधिहरू उपस्थित भई अखिल नेपाल फूटबल सङ्घको १७ औँ विशेष साधारणसभा २०७५ साउन ३० गते चितवनमा भएको थियो । त्यसपछि २०७६ चैत ९ गते साफ महिला फूटबल प्रतियोगिता विराटनगरमा भएको बेला साधारणसभामा पनि यस सङ्घबाट प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।
एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा ६ महिनाभित्र कार्यादेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने सर्वसम्मत निर्णयअनुसार अहिले ६ महिना नाघिसकेकोले तदर्थ समिति स्वतः बदर हुने देखिन्छ ।
भक्तपुर जिल्ला फूटबल सङ्घले विभिन्न फूटबल प्रतियोगिताहरू सञ्चालन गर्दै आयो । यस सङ्घको बैठक बसी जिल्ला लिग सञ्चालनबारे छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई भक्तपुर आउँदा धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यानसहितको टीम क्लव दर्ताको कागजात पेश गरेका थियौँ ।
यस सङ्घले धारा १४ (क) अनुसार दायित्व बहन गरेको छ । बरू विगत केही समयदेखि एन्फा कार्यसमितिले निजी स्वार्थलाई सर्वोपरी ठानी विधानविपरीत, आर्थिक अनियमियतता गरेको हुँदा हामी एन्फाका जिल्ला सदस्य सङ्घहरूले यस विषयमा छानबिन गरी कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद्लगायतको निकायमा उजुरी दर्ता गरेका थियौँ । एन्फाको कार्य समितिले गरेको अनियमिततालगायतका कार्यविरूद्ध फूटबल र एन्फाको हितमा आवाज उठाउँदा विधानविपरीत भक्तपुर जिल्ला फूटबल सङ्घलाई २०७७ असार २ गते एन्फा कार्य समितिको बैठकले एन्फाको विधानको धारा ५४ अनुसार प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।
एन्फा कार्य समितिले भक्तपुर जिल्ला फूटबल सङ्घलाई विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न पाउने कुनै पनि अधिकार विधानले प्रदान गरेको छैन । तर, एन्फा कार्यसमितिले विधानविपरीत भक्तपुर जिल्ला फूटबल सङ्घलाई विघटन गरी फूटबल र खेलाडीलाई क्षति पु¥याउने काम गरेको हुँदा न्यायका लागि उपस्थित भएका छौँ । अतः विधानविपरीत एन्फा कार्यसमितिको २०७७ असार २ गतेको निर्णय बदर गरी गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फूटबल सङ्घलाई यथावत काम गर्न यहाँहरूको सहयोगको निम्ति यो अपिल गरेका छौँ ।
– गौतम सुजखु,
अध्यक्ष,
भक्तपुर जिल्ला फूटबल सङ्घ

Leave a Reply

Your email address will not be published. Required fields are marked *