भर्खरै :

के दाहाल–नेपालले आफ्ना गल्ती स्वीकारेका हुन् ?

काठमाडौँ, ८ माघ । बुधबार देशका केही सम्पादक र पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा नेता पुष्पकमल दाहालले आफ्ना कमी–कमजोरीकै कारण देशले आजको राजनीतिक सङ्कट सामना गर्नुपरेको स्वीकारेका छन् । उनले आफ्नो ‘मन्तव्यको अधिकांश समय आत्मालोचना र गल्ती सच्याउने प्रतिबद्धता’ गरेका थिए । उनले पार्टीलाई विधि पद्धतिमा हिँडाउन नसकेकोमा पनि आत्मालोचना गरे । सडक आन्दोलनमा होमिएका दाहाल–नेपाललाई जनताले नपत्याएपछि सम्पादकहरूसमक्ष हार गुहार गर्न पुगेका नेताद्वयलाई सम्पादकहरूले ओली र दाहाल–नेपालबीच कुनै अन्तर नभएको प्रस्ट शब्दमा भनेका थिए । उनीहरूले नेताहरूबीचको पद–पैसा र सुविधाको भागबन्डालाई सैद्धान्तिक रङ दिन खोजिएको बताएका थिए ।
नेकपा नेताहरूबीचको झगडा कुनै सैद्धान्तिक झगडा नभएको कुरा उनीहरूबीचको अशिष्ट गालीगलौज र आरोप प्रत्यारोपणबाट पनि प्रस्ट भइसकेको छ । विशेषतः दाहाल र नेपालका समूहले प्रधानमन्त्रीसँग आफ्ना मान्छेलाई पद, ठेक्कापट्टा, सुविधा आदि दिन दबाब दिने गरेको वास्तविकता पार्टी विभाजनको दिशामा जानु अघिबाटै जनताले सङ्केत पाइसकेका थिए । भ्रष्टाचारमा कुख्याति कमाएको व्यक्तिलाई अख्तियारमा पद दिनुपर्नेदेखि निर्वाचनमा पराजित भएका व्यक्तिलाई राष्ट्रिय सभा सदस्य र मन्त्री बनाउनुपर्नेसम्मका दबाबकै कारण आज देशले राजनीतिक सङ्कट सामना गर्नुपरेको हो । पार्टी कार्यकर्तालाई अनुशासन सिकाउन नसकेको भन्दै दाहालले यसअघि पनि केही सभाहरूमा माफी मागिसकेका छन् ।
नेकपा नेताले पार्टी नेताको हैसियतमा न पार्टीलाई सही दिशामा डो¥याउन सके न सत्तारूढ दलको नेताको हैसियतमा सरकार सञ्चालनको निम्ति भूमिका नै खेल्न सके भने उनले नेता बनेर गरे चाँही के ? बुधबारको बैठकमा सम्पादकहरूले उठाएका प्रश्नको जवाफमा दाहालसँग माफी माग्नुबाहेक अरू उत्तर भएन । पत्रकारले सोधेका थिए,“प्रधानमन्त्री ओलीभन्दा तपाईंहरू उत्तम भन्ने ठाउँ कहाँ छ ?”, यत्रो वर्ष गरेका गल्तीमा तपाईंहरूले चाँहि खुला माफी किन नमाग्ने ?”, “तपाईंहरूको आन्दोलन पदका खातिर होइन, (सैद्धान्तिक हो) भन्ने पत्यार कसरी गर्ने ?” यस्ता सबै प्रश्नको जवाफमा दाहाल र नेपालसँग माफी माग्नुको अर्को उत्तर नहुनु भनेको खासमा उनीहरूले जनताको पक्षमा केही गर्न नसक्नु र आफ्ना मान्छे र गुटको निम्ति गर्न हुने र नहुने सबै काम मात्र गरेको स्वीकार्नु हो ।
पद, पैसा र आफूले भनेको मान्छेलाई मागेकै पदमा राख्न तयार नभएपछि त्यसलाई राजनीतिक रङ दिएर आफ्नो पल्ला भारी बनाउन खोज्नु दाहाल–नेपालको अनैतिकता नभए के ?
जनताको आँखा दुर्बिनसरह हुन्छ । कुन नेता कसको लागि के गरिरहेका छन्, जनताले बुझिरहेका छन् । त्यसैकारण आज सडकमा ‘हामी यहाँ छौँ’ भनी बसेका नेताहरूलाई जनताले देख्न सकिरहेका छैनन् । फलतः एक पूर्व प्रधानमन्त्री आज ‘मांशाहारी आन्दोलन’ को लागि आह्वान गर्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *