भर्खरै :

अरूलाई फुटाउँदै हिँड्नेहरू फुटबाटै समाप्त हुन्छन्

हामी प्रदेशसभाको सातौँ अधिवेशनमा छौँ । जनताबाट निर्वाचित भएको तीन वर्ष नाघिसकेको छ । सङ्घीयतालाई देश विकासको मेरुदण्ड साबित गर्ने वचन दिँदै देशको इतिहासमा पहिलो पटक प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भइरहँदा दुईतिहाइ बहुमत प्राप्त प्रदेश सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्न सक्रियतापूर्वक लागिराखेको होला भन्ने अनुमान गर्नु अस्वाभाविक होइन !
यस सम्मानित सदनबाट गत असारमा पारित बजेट कार्यान्वयन गर्न दिन–रात कर्मक्षेत्रमा प्रदेश सरकार डटिरहेको होला ! बजेटको ८० प्रतिशतभन्दा बढी खर्च भइसकेको खुसीको खबर सुनाउन सरकार यो अधिवेशनमा तम्तयार भएर आएको हुनुपर्छ । कार्य सम्पादनको प्रगति तथा उपलब्धिबारे यथार्थ प्रतिवेदन बुझाउन यो अधिवेशन आह्वान गरिएको होला भन्ने अनुमान छ । कोभिड–१९ को खोप वितरण छिटोभन्दा छिटो गरी जनतालाई सुरक्षित बनाउनेबारे गम्भीर छलफल गर्नु नै यो हिउँदे अधिवेशनको प्रमुख विषयवस्तु होला भन्ने जनताको आशा, अपेक्षा तथा अनुमानलाई ‘सुखी नेपाली’ को नारा दिँदै आएको सरकारले गलत साबित नगर्ला कि !
काठमाडौँकेन्द्रित मानसिकतामा व्यापक फेरबदल ल्याई सन्तुलित विकासमा उल्लेख्य प्रगति यो तीन वर्षभित्र हासिल भइसकेको होला भन्ने अनुमान विदेशमा बस्ने सरल नेपालीहरूले समेत गरिरहेको सुनिन्छ । किनभने, बाग्मती प्रदेशमा बहुमतको अत्यन्त बलियो सरकार छ ! स्थायित्व, स्थिरता, सुशासन, शान्ति तथा समृद्धिको लक्ष्यको आधाआधी बाटोमा सरकार पुगिसकेको होला भनी अनुमान गरिइनु अनौठो होइन । प्रदेश मुख्यमन्त्रीले जरुर चित्तबुझदो जवाफ दिनुहुनेछ !
कोरोना कहरमा लगभग ६–७ महिनासम्म जनताले देख्न, भेट्न र अनुभव गर्न नपाएको प्रदेश सरकार हराइसकेको छैन है भनी सातौँ अधिवेशनको आह्वानसँगसँगै सहरबजारमा चर्चा सुरु भएको छ । शासक दलले बन्दाबन्दीको कुनै पनि नियम उल्लङ्घन नगरी महामारीबाट आफूलाई बन्द कोठामा सुरक्षित राख्नु, जनतासँग सामाजिक दूरी कायम गर्नु, हुलमुलमा जिउ जोगाउने उपाय अपनाउनु अनौठो विषय होइन ! शासक, मन्त्रीहरूका पनि बच्चाबच्ची, परिवार होलान् । खतरनाक भाइरसबाट जोगाउनै प¥यो । आफू भलो त जगत भलो नभन्नेहरू आखिर शासक, मन्त्री कहाँ बन्न सक्लान् र ? रामायणमा कुम्भकर्ण भन्ने पात्रको जन्म बिनाकारण अवश्य भएको थिएन होला ! त्यो प्रतीकमात्र जरुर थिएन !
‘महान्’ तथा ‘गौरवशाली’ पार्टी र वर्ग शत्रुको रगतले हात रङ्गिएको विशाल पार्टीबीचको एकतापश्चात् सुविधाजनक बहुमतको सरकार गठन भएको खबरले पुलकित भएको कुनै विदेशी यतिखेर नेपाल आए जरुर सोध्नेछ र प्रस्ताव राख्नेछ – “गरिबी, भोकमरी निमिट्यान्न पार्न भूमिसुधार सुरु भइसकेकै होला । विद्यालय, कलेज स्थापनाको अभियान जोडतोड चल्दै होला । शिक्षा तथा स्वास्थ्य निःशुल्क बनाई जनतालाई अभूतपूर्व सुख–सुविधाको अनुभूति दिइँदै होला । दसवर्षे ‘जनयुद्ध’ को क्रममा भनिएझैँ उद्योग–कलकारखाना राज्यले धमाधम स्थापना गर्दै होला ! घरखेत बेची खाडीमा जानेको भीड अब एयरपोर्टमा छैन होला ! हरेक दिन बाकसमा लास भित्रिने कुरा एकादेशको कथा भइसकेकै हुनुपर्छ ! यी सबै बुभ्mन सबैतिर एकचोटि भ्रमण गर्ने इच्छा छ ।’ त्यतिखेर चित्तबुझ्दो जवाफ दिन शासक दलका नेताहरू कसरी प्रस्तुत होलान्, समयले बताउला । त्यतिखेर बिरालोको घाँटीमा घण्टी झुन्ड्याउने निर्णय गर्ने मुसाहरूबीच भागदौड मचेझैँ नभए त भइहाल्यो !
तीन वर्षअगाडि निर्वाचनमा भोट हालेर विदेश गएको एउटा सोझो युवक यतिखेर स्वदेश फर्केर आए उसले चितवन, हेटौँडा, काठमाडौँ सबैतिर विद्युतीय गाडीमा घुम्ने इच्छा पक्कै जाहेर गर्ला । गाउँ–गाउँमा विकासको बहार पुगी सुख, समृद्धिको मूल फुटिरहेको हेर्ने अभिलाषामा भ्रमण तालिका बनाउला । आत्मनिर्भरता, आधुनिकताबारे खुब बखान सुनेर आइन्दा जन्मभूमि नछोड्ने सपना बोकी देश फर्केको त्यो युवकले घर–घरमा ग्यासको पाइप खोइ भन्ला ! त्यो सरल युवकले पानीजहाज, रेल चढ्ने इच्छा व्यक्त गर्ला ! त्यतिखेर के ‘खोलाले बगायो, खोइ खोला ? सुक्यो !’ भन्ने ?
भ्रष्टाचारी, तस्कर, माफिया, घुसखोर अब त सबै जेल पुगिसके होलान् नि भनी सोधे, देश बर्बाद पार्नेहरू सबै दण्डित भइसके होलान् नि भनी सोधे, के जवाफ दिने ? कतातिर देखाउने ? माइतीघरमा ‘हामी यहाँ छौँ’ भन्नेहरूतिर देखाउने कि ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्नेहरूतिर अथवा ‘बा’ भन्नेहरूतिर देखाउने ? चुच्चे नक्सा खोइ भनी सोधे चुच्चो नाकतिर देखाउने कि चोर औंला दक्षिणतिर सोभ्mयाउने ? शान्ति, सुरक्षा र सुशासन खोइ भनी सोधे के निर्मला पन्तको तस्वीरमा हेर्नु भन्ने ? प्रदेश सरकार खोइ भनी सोधे त्यही हेर्न त त्यतिका भ्यू टावर ठाउँ ठाउँमा बन्दै गरेको भनी जवाफ दिने हो कि ? कोभिड–१९ को खोप चाहियो भन्ने जनतालाई के मांसाहारी आन्दोलन नगरी आउँदैन भन्ने ? यी यक्ष प्रश्नबाट हामी घेरिएका छौँ यतिखेर ।
करिब दुईतिहाइको सरकार हाँकिरहेको नेकपामा चर्को विवाद, झगडा भइरहेको हामीले पनि सुन्यौँ । त्यो नेकपाको आन्तरिक मामिला हो भन्ने हामीलाई लाग्छ । भित्री कुरा सबै सडकमा नपोखियोस् भन्ने हामी पनि कामना गर्छौँ । अन्तर्राष्ट्रिय जगतमा बेइज्जत होस् र शत्रु हाँसून् भन्ने हामी पटक्कै चाहँदैनौँ । नेपाली राजनीति शिष्टताभन्दा बाहिर नजाओस् भन्ने चाहना हाम्रो पनि छ । राजनीतिक दल व्यक्तिगत झगडामा फस्नु कुनै अर्थमा पनि स्वाभाविक हुनसक्दैन । बरु, नेपाली जनताले अपेक्षा गरेको त सैद्धान्तिक तथा नीतिगत बहस हो । सैद्धान्तिक झगडाले प्रजातान्त्रिक आन्दोलनलाई टेवा पु¥याउँछ । अवसरवादविरोधी सङ्घर्षले मात्र नेपाली वामपन्थी आन्दोलन बलियो बनाउनेछ । केही सरल मानिसहरू आजकल सोध्ने गर्छन्– नेकपाको चालू झगडा जस्ताका तस्तै विदेशी भाषामा अनुवाद गरी सुनाइए के भन्ने होलान् ? नेकपा नेताहरूको वाक्कला देख्दा तिनका गुरु को होलान् भनी पक्कै घोत्लिन बाध्य हुनेछ ।
राजनीतिक भाषाको प्रयोग नगरिनाले पार्टीको हो कि पँधेराको झगडा, छुट्याउन गा¥हो भएको जनता गुनासो गर्दै छन् र दुई साँढेको जुधाइ बाच्छोको मिचाइ भइरहेकोमा चिन्ता व्यक्त गर्दै छन् । जाली, महाजाली, कठपुतली, ठग, सर्प, भस्मासुर शब्द यतिखेर सा¥है सस्तो भएका छन् । ती आरोप फिर्ता लिन नपरे त ठिक्कै हो तर फिर्ता लिन परे ? विगतमा राष्ट्रघाती राजीनामा दे भनियो तर त्यही राष्ट्रघाती आरोपितसँग घाँटी जोड्दै सत्ताको सिँढी चढेको पनि देखिएकै हो । प्रश्न उठ्छ, त्यो कस्तो शक्ति हो जसले नेपालमा सधैँ मिलेकोलाई फुटाउन सक्छ र नमिलेकोलाई मिलाउन सक्छ ? के कठपुतली सरकार बनाउन नै आजको यो गञ्जागोल स्थिति तयार पारिएको हो ? जबसम्म शासनमा जाने पार्टीहरू आप्mनै बलबुत्ता, विवेक र जनताको तागतमा विश्वास गर्दैनन् तबसम्म यस्तो दुर्भाग्य दोहरिरहने छ । तसर्थ, नेपालका राजनीतिक दल र नेताहरू वास्तवमै नेपाली जनताका दल र नेताहरू हुन् भन्ने गम्भीरतापूर्वक व्यवहारमा देखाउने समय आएको छ । देशको साँचो कुनै दरबार या शक्तिकेन्द्रलाई कसैले नबुझाऊन् । यही शुभकामना छ ।
एकजना मानिससमेत चिन्न नसक्नेहरूले, दुई–चार वर्षअगाडि र पछाडिको समेत बुझ्न नसक्नेले अरू के गर्लान् ? देश र जनताको भविष्य कसरी कोर्लान् ? सत्ताको बागडोर कसरी हाँके होलान्, कसरी हाँक्लान् ? ती कसरी नेता बने ? कसले बनाए ? प्रश्न उठ्नु स्वाभाविक हो ।
एउटा उद्गार स्मरण गर्न चाहन्छु–जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ, जो आगोसँग खेल्छ त्यो आगोमै मर्छ । त्यसैगरी, जो जालझेल गर्छ, त्यो जालझेलबाटै समाप्त हुन्छ । जो अरूलाई फुटाउँदै हिँड्छ, त्यो फुटबाटै समाप्त हुन्छ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले माघ ७ गते सुरु भएको सातौँ अधिवेशनमा राख्नुभएको विचारको सार–सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *