‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेपाल प्राध्यापक समाज तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले पुँजीवादी व्यवस्थाले व्यापक कामदार जनताको हितमा काम नगर्ने स्पष्ट पार्दै समाजवादी गणतन्त्रमा मात्र शोषित पीडित श्रमिक जनता मुक्त हुने बताउनुभयो ।
दुःखको मुख्य कारण शोषण हो भन्ने माक्र्सवादी दर्शनलाई आत्मसात गरेको नेमकिपाले कामदार जनतालाई राजनैतिकरूपमा सचेत र सङ्गठित गरी समाजवादी क्रान्तिको आधार तयार गरिरहेको उहाँले बताउनुभयो ।
यही गतिमा पुँजीपति वर्गले पृथ्वीको प्राकृतिक स्रोत साधन दोहन गरिरहने हो भने ६ सय वर्षपछि पृथ्वीको तापक्रम २०० डिग्री सेल्सियस पुग्ने हकिन्सको भनाइ उद्धृत गर्दै उहाँले पुँजीलाई सीमित व्यक्तिहरूको हातमा केन्द्रीकृत गर्ने पुँजीवादी चिन्तनबाट विकास भएको औद्योगीकरणले गर्दा पृथ्वीको विनास हुँदै गएको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले दुईतिहाइको सरकारले शासन गर्न नसकेको अवस्थामा नयाँ जनादेशमा जाने निर्णय औचित्यपूर्ण भएको स्पष्ट पार्दै करोडौँ रुपियाँ खर्च गरेर सत्तामा पुगेका नेकपाका नेताहरू लगानी उठाउनका लागि सडकबाट संसद् पुनःस्थापना गर्न लागिपरेको बताउनुभयो ।
नेमकिपा निर्वाचनबाट बहुमत ल्याई समाजवाद स्थापना गर्न सकिँदैन भन्ने स्पष्ट सैद्धान्तिक अडानमा रहेको उल्लेख गर्दै उहाँले निर्वाचनलाई जनताको राजनीतिक सचेतता मापन गर्नका लागि उपयोग गर्दै आएको स्पष्ट पार्नुभयो ।
उहाँले जनता राजनैतिक रसैद्धान्तिकरूपमा स्पष्ट, सचेत र सङ्गठित नभई गरेको क्रान्ति बलिदानमा टुङ्गिने बताउनुभयो ।
केन्द्रीय अध्यक्ष प्रजापतिले ‘श्रमिक’ र ‘मजदुर’ दैनिक कामदार जनताको विचार बोकेको आस्थाको पत्रिका भएको स्पष्ट पार्दै राजनैतिक र सांस्कृतिक चेतनास्तरलाई माथि उकास्नको लागि प्रकाशित लेख रचनाहरू अध्ययन गर्नमा जोड दिनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले जनतालाई राजनैतिकरूपले शिक्षित बनाउने रात्रीकालीन कक्षाबाट सुरु गरेको नेमकिपाको शैक्षिक अभियान आज विश्वविद्यालय स्थापनाको लागि समेत तयार रहेको भन्दै देशलाई आत्मनिर्भर बनाउन श्रममा जोडिएको शिक्षा लागू गर्न नेमकिपा प्रयासरत छ भन्नुभयो ।
नेप्रास, वागीश्वरी एकाइ समितिका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्य, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षकहरू विश्वेश्वर मानन्धर, भानुभक्त हुमागाइँ, पवित्राकुमारी शाही र राजन चौगुठीले पनि बोल्नुभएको थियो ।
देवीमा प्राध्यापक भेला
नेपाल प्राध्यापक समाज देवी माविको आयोजनामा शनिबार नेमकिपाको ४७ औँ स्थापना दिवस मनाइयो । नेपाल प्राध्यापक समाजका केन्द्रीय प्रतिनिधि हरिसुन्दर सुवालले शिक्षामा व्याप्त अस्तव्यस्त अवस्थामा सुधार गर्न शिक्षक – प्राध्यापकहरू राजनीतिक र वैचारिकरूपमा स्पष्ट हुनुपर्ने आवश्यकताबारे प्रकाश पार्दै पुँजीवादका विकृति विसङ्गतिविरुद्ध नयाँ पुस्तालाई सचेत र सङ्गठित पार्नुपर्ने बताउनुभयो ।
देवी माविका प्राचार्य राजाराम छुकांले पार्टी स्थापनाका आधारहरूबारे स्पष्ट पार्दै नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा रहँदै आइरहेको नेमकिपाले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा समय सापेक्ष विचार र दृष्टिकोण राख्दै आएको चर्चा गर्नुभयो ।
देवी मावि प्राध्यापक समाजका संयोजक कृष्णहरि फैजूको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समितिका चन्द्रबहादुर थुयाजूलगायतले बोल्नुभयो ।
Leave a Reply