भर्खरै :

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लण्डन, २३ जनवरी (सिन्ह्वा) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् ।
उनीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका हुन् ।
प्रधानमन्त्री जोनसनले भने, “यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ । त्यसैले सबै नागरिकले पहिलेकोभन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ ।”
शुक्रबार टेन डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा उनले यो भाइरस पहिलोपटक गत महिना मात्र इङ्गल्याण्डको केन्टमा देखिएको बताएका थिए ।
उनले यो नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सङ्क्रमण फैलिने खालको रहेको बताए ।
पछिल्लो समयमा निकै सङ्क्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो ।
बेलायतका स्वास्थ्य अधिकारीहरुले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङ्क्रमणबाट भएको जानकारी दिएका थिए ।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेका केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।
उता यहीँबाट नै सुरु भएको भनिएको कोरोनाको नयाँस्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त सङ्गठनले महामारीको यो स्वरुप दिनप्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो सङ्क्रमण पुरानोभन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् ।
उनका अनुसार कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ ।
पछिल्लो समयमा यो सङ्क्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।
तर ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको भने बताइएको छ ।
युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने कुरा हालैमात्र जानकारी गराएको छ ।
प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका छन् ।
उनले यो नयाँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई सङ्क्रमित बनाएको बताए ।
उनका अनुसार बेलायतमा कोरोनाको पहिलो लहर आएको थियो । सो लहरका बेलामा भन्दा यस पटकको यो नयाँ सङ्क्रमणले गर्दा कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको छ ।
साथै यसका कारण पहिलेको भन्दा धेरै मृत्यु पनि भएको प्रधानमन्त्री जोनसनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *