भर्खरै :

खाडीमा मूर्छित मदनहरू !

अंशको नाममा पाएको बुढो घर भत्किन थाल्यो
झरीले कुटेर छानो चुहिएको छ
सिरानीमा पहिरो खस्छ
म रातभर निदाउन सक्दिनँ
एक्ली देखेर होला
लाजै नमानी सुसेली हाल्छ त्यो छिमेकी नदी
र भत्काउँदै तटबन्ध सरासर मेरै घर अगाडि बढिरहेछ
सुन कुनै दिन यसले बेपत्ता पार्नसक्छ तिम्री मुना
त्यसैले तिमी जहाँ छौ फर्केर आऊ सम्हाल मलाई
विश्वासको दरो पुल बनाएर पारि तरौँला
जोडी ढुकुरझैँ सतिसालको छहारीमा बसी
समयको रङ टिपी जीवनको ग्यालरी रङ्गाउँला
आऊ दुवै मिलेर यो भत्किएको घर पोतौँ
बाँझो छ खेतबारी जोतौँ
तिमी यहीँ भेट्नेछौ ल्हासाको सुन
मेरो प्रिय मदन !
‘मुनामदन र मुग्लान’ शीर्षकमा कवयित्री रोमा निरौलाको कविता हो यो । मुनामदन र मुग्लान शब्द नेपालीको निम्ति नौला होइनन् ।
महाकवि देवकोटाको ‘मुनामदन’ मा मुना र मदनको बिछोडको प्रेम कथाको वर्णन गरिएको छ । मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ । बिरामी मदनलाई बिच बाटोमै छोडेर घर पुगेका साथीहरूले मदनको मृत्यु भएको कुरा सुनाउँछन् । श्रीमान्को मृत्युको खबरले विह्वल मुना शोकमै डुबेर मर्छिन् । मदन निको भएर घर फर्कन्छन् तर उनले मुना र आमाको मृत्यु भएको थाहा पाउँछन् । मर्माहत मदन पनि मर्छन् ।
लिलबहादुर क्षत्रीको बसाइँ(उपन्यास) नेपाली साहित्यका बहुसङ्ख्यक पाठकमाझ प्रिय मानिन्छ । २०१४ सालमा प्रथम पटक प्रकाशित भएको यस उपन्यासले तत्कालीन नेपाली समाजको जर्जर वर्गीय द्वन्द्व र आर्थिक विषमताले मानिस आफ्नो थातथलो छोड्न कसरी बाध्य हुन्छन् भन्ने यथार्थ स्थिति देखाएको छ ।

२०७७ माघ १० गते, शनिबार नेपाली सञ्चारमाध्यममा मलेसियाबाट ल्याइएका लासका १८ बाकसहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुझ्दै गरेका आफन्तजनको मलिन, क्लान्त र भावहीन अनुहारसहितका तस्बिर तथा दृश्य सामग्री प्रकाशित तथा प्रसारित भइरहँदा यो लेखक भने महाकवि देवकोटा र अन्य साहित्यकारका रचनाहरू सम्झन पुग्यो । गजलकार शिव खत्री यसो लेख्छन् :
पसिनाको कसम खाएर मुग्लान आको छु
गरिबीको टीका लाएर मुग्लान आको छु ।
परिवारको अङ्गालोमा बस्ने मन नभएको हैन
काखको छोरो छुटाएर मुग्लान आको छु ।
साँच्चै मुग्लान पस्नुपर्ने बाध्यता कस्तो कस्तो
साँच्चै नेपाल त्याग्नुपर्ने बाध्यता कस्तो कस्तो ।
सयौँ वर्षदेखि आजसम्म आमनेपालीको नियतिमा तात्विक फरक आएको छैन । परिवारको निम्ति अलिकति खुसी लिएर फर्किने वाचा गरेका हजारौँ नेपाली युवा लास बनी वर्षौँदेखि स्वदेश फर्किरहेका छन् । सुखका दिन आउलान् भन्ने आशामा बसेका बुबा, आमा, श्रीमती तथा केटाकेटी यसरी नै निराश भइरहेका छन् वर्षौँदेखि । नेपाली समाजमा केही गहन प्रश्न उठेका छन् । आखिर केटाकेटीको नाङ्गो शरीर ढाक्न र तिनलाई दुई छाक खुवाउन, शिक्षादीक्षा दिन र आवश्यक परे तिनको स्वास्थ्यउपचारको निम्ति नेपाली सामान्यजन कहिलेसम्म विदेशिन बाध्य हुनुपर्छ ? होनहार युवाको लास कति वर्षसम्म गन्दै रहने ? यो नेपालीको नियति हो वा सत्ताको बागडोर सम्हाल्नेहरूको नालायकी ? यी प्रश्नको उत्तर खोज्न अब विलम्ब गर्नु हुँदैन ।
शासकहरूको मन भने कठोर तथा निर्दयी रहेछ ! अल्पायुमा मृत्युवरण गर्न विवश नेपालीको लास देखेर शासक मन अझै पग्लन सकेको छैन । मजदुरको सरोकार, चासो वा चिन्ताको विषयपट्टी शासकहरूको ध्यान कहिल्यै गएन पनि । वैदेशिक रोजगारीको नाममा विदेशमा युवाहरू ‘निर्यात’ गर्ने व्यापारीहरूको मन त ढुङ्गासरी छ । नत्र हरेक दिन नेपाली युवाको लास किन भित्रिरहन्थ्यो यसरी ! सामाजिक सञ्जालमा पनि यस्तै टिप्पणी देखिन्छन् – “गिद्धलाई चल्लो मर्दा के वास्ता हुन्थ्यो !”, “उनीहरू (शासकहरू) को लागि फट्याङ्ग्रा म¥या सरि हो”, “देखे पो लाज लाग्नु ! वरिपरि ठूलो पर्खालले छेक्छ रे !”, “तिनलाई (शासकहरूलाई) न हिजो फरक प¥यो न आज परिराछ न भोलि नै पर्छ !”, “अब एअरपोर्टमा लास गन्न र हेर्न सजिलो हुने अर्को टावर बन्छ !” यी हुन् शासक वर्गप्रतिका जनताका व्यङ्ग्यमिश्रित कटाक्षहरू !

वैदेशिक रोजगारीमा जाने मजदुर निरन्तर ठगिँदै छन् । सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनि ‘म्यानपावर कम्पनी’ हरूले लाखौँ रुपियाँ असुलिरहेका छन् । सरकारका जिम्मेवार निकाय देख्यानदेख्यै गर्छन् वा भागबण्डामा बिकेका छन् । सरकार भने विदेशमा गएका नेपालीबाट आउने पैसा (विप्रेशण) ले देशको अर्थतन्त्र धानेकोमा मख्ख छ तर त्यो भ्रमबाहेक केही होइन । विप्रेषणले क्षणिक आनन्द त देला तर देशको सुदूर भविष्य बनाउनमा यसले साथ दिने छैन । देशलाई राहत दिइरहेका नेपाली युवा यसरी असमयमै मरिरहँदा पनि सरकार भने असंवेदनशील देखिएको छ ।

नेपालमा एउटा वर्ग छ । त्यो शताब्दीऔँदेखि आफ्नो सोख, सान र ठाँटसाथ जीवनयापन गरिरहेको छ । हिजो तिनीहरू जग्गाका मालिक थिए, कमैया, बँधुवा मजदुर, हली, गोठाला, मोहीको नाममा शोषण गर्थे । तिनको जीवन ऐसआरामले भरिपूर्ण थियोे र छ । आज उद्योग तथा व्यापारका मालिक भएका छन् तिनै । मजदुरलाई उचित ज्याला नदिने, बजारमा कृत्रिम अभाव सृजना गर्ने, लगानीको अनुपातमा कैयौँ गुना बढी ‘भिमसेन भाग’ लगाउने काम त्यही वर्गले गरिरहेको छ । विभिन्न देशमा कामदारको आपूर्ति गर्ने वर्ग पनि त्यही हो । हिजो अफ्रिकाबाट अमेरिकामा कालाजातिका मानिसको बेचबिखन गरिन्थ्यो । आज नेपाली युवा कानुनको सिक्रीले बाँधिएर विभिन्न देश लगिन्छन् । रूपमा फरक सारमा उही काम ¤ तिनलाई अपुग्दो केही पनि हुन्न तैपनि तिनको लोभको घैँटो कहिल्यै भरिन्न । ‘पाप’ ले पोल्न छोडेपछि फोहरको आहालमा पनि पौडी खेल्न पुग्छन् ती असत्तीहरू ! अकुत लाभांश पाएर पनि तिनीहरू कमिसन, भत्ता, दलाली भाग खाएर अनेक ‘रहर’ पूरा गरिरहेका हुन्छन् । मजदुर–किसानको रगतपसिना सोसेर तिनै व्यक्तिहरू कहिले हङकङ त कहिले स्वीट्जरल्यान्ड बिदा मनाउन पुग्छन् । नाफा वा द्रव्यमोहले गर्दा तिनीहरू ‘दानव’ लाई मानिसको रूपमा पूजा गर्छन् । अर्काको दुःखमा अट्टहास गर्छन् । गरिबको मृत्युलाई कीराफट्याङ्गाको आत्महत्या ठान्छन् । यस्ता द्रव्यपिसाचहरूको संरक्षक ‘प्रजातन्त्रवादी’ सत्ता नै भइरहेको छ । कानुन तिनै बनाउँछन्, कानुनका दुलाहरूबाट फाइदा उठाउने पनि तिनै । जनतामाथि भने कानुनका डन्डा लगाइरहन्छन् तिनै । प्रहरी, प्रशासन, अदालत र सरकार तिनै शोषक वर्गकै पक्षमा हुन्छन् । गरिबवर्ग उठ्न नसक्ने मूल कारण यही हो ।
किन मर्दै छन् अकालमा नेपाली ?
साउदी अरेबियामा मात्र दैनिक २५–३० जना नेपालीको मृत्यु भइरहेको तथ्याङ्क केही वर्ष अगाडि पराराष्ट्र मन्त्रालयले निकालेको थियो । त्यहाँ काम गर्ने ५ लाख नेपाली कामदारमध्ये अधिकांश शारीरिक श्रम गर्ने मजदुर हुन् । मृत्युको मुख्य कारण सडक र कार्यस्थलमा हुने दुर्घटना, आत्महत्या, हत्या र अत्यधिक गर्मी मानिएको छ । थकान, यातना, पीडा वा तनाव शान्त पार्ने नाममा कुलतमा लागेर धेरै नेपालीको मृत्यु भइरहेको बताइन्छ । अपमान तथा शोषणको कारण मानसिक विकृति आउँछ नै ।
बेरोजगारी नै युवा पलायनको मुख्य कारण भएकोमा कुनै विवाद छैन । रोजगारी सृजना गर्ने जिम्मेवारी राज्यको हो । कोभिड–१९ को महामारीपछि स्वदेश फर्किएका कामदार फेरि उतै फर्किँदै छन् । कतिपयले स्वदेशमै केही गरौँ भन्ने योजना नबनाएका होइनन् । तर, उचित वातावरण पाएनन्, यहाँको प्रशासनयन्त्रको शैली, ढिलासुस्ती, घुसखोरीबाट आजित भएर कतिपय मजदुर फेरि विदेशिएका छन् । बेरोजगारीको अर्थ अभाव, गरिबी, पीडा, समस्या, भोक, रोग, अशिक्षा हुन् भन्ने बुझेका युवा ‘मर्नुभन्दा बहुलाउनु निको’ ठानेर ‘गृहत्याग’ गर्न विवश छन् ।
वैदेशिक रोजगारीमा जाने मजदुर निरन्तर ठगिँदै छन् । सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनि ‘म्यानपावर कम्पनी’ हरूले लाखौँ रुपियाँ असुलिरहेका छन् । सरकारका जिम्मेवार निकाय देख्यानदेख्यै गर्छन् वा भागबण्डामा बिकेका छन् । सरकार भने विदेशमा गएका नेपालीबाट आउने पैसा (विप्रेशण) ले देशको अर्थतन्त्र धानेकोमा मख्ख छ तर त्यो भ्रमबाहेक केही होइन । विप्रेषणले क्षणिक आनन्द त देला तर देशको सुदूर भविष्य बनाउनमा यसले साथ दिने छैन । देशलाई राहत दिइरहेका नेपाली युवा यसरी असमयमै मरिरहँदा पनि सरकार भने असंवेदनशील देखिएको छ । ती नेपाली दाजुभाइलाई झुक्याएर विदेशमा पु¥याउने म्यानपावर कम्पनीहरू के गर्दै छन् ? सरकार यस मामिलामा के गर्दै छ ? के सरकारको दायित्व अब केही रहेन ?
नेपाली मजदुरको बेहाल
सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ त ल्यायो तर पार्टी कार्यकर्ता पाल्ने काम मात्र भो । नेपालको विकास योजना कसरी असफल हुन्छन् भन्ने कुरा बुझ्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को हविगत हेरे पुग्छ । देशमा कति जना बेरोजगार छन् र कार्यक्रममा कति सहभागी हुन्छन् भन्ने आकलनसमेत नगरी कार्यक्रम सार्वजनिक गरियो । युवा के चाहन्छन्, तिनको सीप के, दक्षता के भन्ने अनुसन्धान पनि गरिएन । स्थानीय तहमा मागअनुसार श्रम गर्ने युवा पाइँदैन । रोजगारीका लागि आवेदन दिएका युवाले काम गर्न मानेनन् । स्थानीय निकायले रोजगारी दिन्छौँ भन्दा पनि कामदार नपाइएको अवस्था कसरी सृजना भयो ? दुईतीन घण्टा नाली सफाइ गर्ने, झार उखेल्नेजस्ता सामान्य काम गरी ‘कामचोर प्रवृत्ति’ सिकेको जनगुनासो पनि यत्रतत्र सुनिएको छ ।
प्रमले ‘काम नपाएर अब कोही नेपाली विदेशिनु पर्दैन’ भन्दाभन्दै हजारौँ युवा रोजगारीको निम्ति कोरिया जान खोजे । तीमध्ये कतिपय स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थी थिए । प्रम रोजगार कार्यक्रमको नाममा करोडौँ रुपियाँ खेर गइरहेको छ । सरकारसँग कार्यक्रम लागु गर्ने क्षमता नभएपछि अरू के होस् !
सहरमा ज्याला मजदुरी गर्नेको सङ्ख्या बढेको छ, जुन स्वाभाविक पनि हो । २०७२ सालको भूकम्पपछि काठमाडौँ उपत्यकामा निर्माण कार्य तीव्र भयो, कोभिड–१९ महामारीले भवन निर्माण केही सुस्तायो । अब भने निर्माणको काम पुरानै लयमा फर्किँदै छ । फेरि निर्माण मजदुरको माग बढेको छ । श्रमबजारको आवश्यकता पूर्ति भने अधिकांश नेपालकै गाउँघरबाट आएका युवाबाट भइरहेको छ । काठमाडौँको श्रमबजारमा तराईबाट आएका युवाको सङ्ख्या पनि उल्लेख्य छ । दक्षिणी छिमेकबाट आएका श्रमिकले पनि नेपाली श्रमबजार भरिएकै छ । तर, श्रमिकको काम गर्ने वातावरण अपेक्षित सुध्रिएको छैन, वातावरण श्रमिकमैत्री बन्न सकेको छैन । ‘थ्री डी’ अर्थात् ‘डर्टी, डिफिकल्ट एन्ड डेन्जरस’ (फोहर, गा¥हो र खतरनाक) वातावरण !
सुरक्षाको निम्ति कुनै साधनको प्रयोग नगरी अग्ला भवनको माथिल्लो तलामा बसी काम गर्ने डकर्मी वा सिकर्मी वा ज्यामी विभिन्न दुर्घटनामा परेका समाचार आइरहेका छन् । धुलोमा काम गर्ने ज्यामीले मास्क पाउँदैनन् । खुट्टामा बुट, हातमा पन्जा हुँदैन । मजदुरी गर्नेहरू पानी कम पिउँछन्, पानी खाँदा पिसाब फेर्ने झन्झट थपिन्छ । कतिपय मजदुरले पानी प्यास लाग्दा पनि मन थामेर बस्छन् । किनभने, त्यहाँ शौच गर्ने उपयुक्त ठाउँसमेत हुँदैन । पानीको मात्रा नपुग्दा मानिसको शरीरमा आलस्य र थकान लाग्छ, पिसाबसम्बन्धी रोग लाग्ने सम्भावना बढ्छ । श्रमिकको स्वास्थ्य र सुरक्षाबारे सम्बन्धित क्षेत्रको कुनै चासो र चिन्ता छैन । मजदुरमाथिको शोषणका अन्य रूपबारे तिनले ध्यान देलान् भन्ने विश्वास गर्ने कुनै आधार देखिँदैन ।
अनि अकालमा मृत्युवरण गर्नु पर्दैन !
सिक्काको अर्काे पाटो पनि हुन्छ । युरोप, अमेरिकाजस्ता विकसित मुलुकमा चर्किएको बेरोजगारी समस्याको परिणामस्वरूप केही वर्षअगाडि वालस्ट्रिट कब्जा गर्ने आन्दोलन भयो । बेरोजगारीबाट सृजित समस्याको जिम्मेवार पुँजीपतिवर्ग हो भन्दै अभियन्ताहरूले आफ्नो आन्दोलन चर्काए । ९९ प्रतिशत जनतासँग भएको स्रोतसाधन र पुँजी १ प्रतिशत मानिसमा केन्द्रीकृत भएपछि गरिबले आधारभूत आवश्यकतासमेत पूरा गर्न सकेनन् । जनतामा निराशा व्याप्त भयो । अनि ‘मर्ता क्या नहिँ कर्ता’ भन्दै आन्दोलनलाई अन्तिम विकल्पको रूपमा लिए । कोभिड–१९ महामारीबिच बेरोजगारी, अभाव तथा विभेदविरुद्ध अमेरिका लगायत विश्वका विभिन्न देशमा सडक प्रदर्शनहरू भए । त्यस आन्दोलनले अहिले क्षणिक विश्राम लिएको मात्र हो ।
भारतीय एकाधिकार पुँजीको कारण हाम्रो देशमा उद्योग तथा कारखानाको विकास हुन सकेको छैन । दलाल पुँजिपति वर्गले औद्योगिक विकास गर्न पनि दिँदैन । भूमण्डलीकरणले नेपाललाई पराधीन बनाएको छ । बहुराष्ट्रिय कम्पनीहरूको चङ्गूलमा परेको नेपालले रोजगारी सृजना गर्ने कुरा सपनामात्रै हो । कृषि तथा पर्यटन उद्योग विकास गर्ने सम्भावना प्रशस्त भएर पनि शासक वर्ग यतापट्टी पूर्णतः उदासीन छ । देश पूर्णरूपमा स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न नभएसम्म हामीले चाहेअनुसारको औद्योगिक विकास सम्भव छैन । अबको औद्योगिक विकास मजदुर वर्गको नेतृत्वमा हुनुपर्छ । त्यसको निम्ति समाजवादी आन्दोलन नै अगाडि बढ्नुपर्छ । अनि खाडीमा कोही मदनले दुःख गर्नुपर्ने छैन, अकालमा मृत्यवरण गर्नुपर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *