भर्खरै :

नेमकिपाको ४७ औँ स्थापना दिवसमा गतिविधि चालु

दैलेख
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा दैलेखको राकम कर्णालीमा जनसभा तथा जुलुस भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेपालमा कम्युनिस्ट पार्टीका नाउँमा तस्कर र दलालहरूको राजनीतिक संरक्षण भइरहेको बताउनुभयो । उहाँले देशमा अस्थिरता फैलाउनका लागि भारतीय विस्तारवाद सक्रिय रहेको र सत्तासीन राजनीतिक दलहरूको बेइमानीको कारण देशमा सङ्कट निम्तिएको बताउनुभयो ।
पार्टीका दैलेख जिल्ला सदस्य केशेन्द्रप्रकाश कार्कीले देशभक्तहरू अवसरको कुरामात्र नगरेर समाज रूपान्तरणका लागि तत्पर रहन आग्रह गर्नुभयो ।
पार्टीकै जिल्ला समिति सदस्य निरकबहादुर शाहीले प्रतिक्रियावादी क्रियाकलापहरूकै कारण देश भताभुङ्ग भइरहेको हो भन्नुभयो ।
नेमकिपा दैलेख जिल्ला सदस्य लालबहादुर सिजापतिले निर्वाचनलाई जनताको चेतनास्तर उकास्ने मञ्चको रूपमा नेमकिपाले लिएको स्पष्ट पार्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य डा. कृपाराम विश्वकर्माले देशभक्तहरूले नेपालको सार्वभौमिक अखण्डता, स्वाधीनता जोगाउन र उन्नत राजनीतिक संस्कारको विकास गराउन विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा आठबीस नगरपालिका वडा नं. ९ का वडाध्यक्ष धनबहादुर सिजापति, नेक्राशिसङ्घका दैलेख जिल्ला समिति सदस्य दीपकबहादुर शाहीलगायतले मन्तव्य राख्नुभएको थियो । पार्टीका आठबीस नगर अध्यक्ष जयबहादुर बडुवालले जनसभाको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरूले स्थानीय देउडा प्रस्तुत गर्नुभएको थियो ।
काठमाडौँ 
नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समिति वडा नं ५ को आयोजनामा ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रम आइतबार विशालनगरमा सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे अध्ययन गर्न जोड दिनुभयो । नेमकिपा स्थापनाको कारणबारे प्रकाशित पुस्तक नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका ‘खोटा विचारको खण्डन’ पुस्तक अहिले पनि सान्दर्भिक रहेको उहाँले बताउनुभयो । सिद्धान्त र विचारका राजनीति नगर्ने पार्टीहरू नटिक्ने उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले कार्यकर्ताहरू जनताको सेवामा सधैँ लागिरहनुपर्छ भन्नुभयो ।
नेमकिपा काठमाडौँ महानगर समितिका सदस्य नरमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सुरेन्द्र महर्जन, सानुकाजी महर्जन, कुलनारायण डंगोललगायतले पार्टी स्थापनाको इतिहास र राजनैतिक गतिविधिबारे बोल्नुभएको थियो ।
सर्लाही
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार सर्लाहीको धनपति डाँडामा स्थानीय पार्टी कार्यकर्ता र समर्थकहरूको सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेमकिपा स्थापनाको आधारबारे चर्चा गर्दै व्यापक कामदार जनताको हितमा समाजवादी व्यवस्था स्थापना नै नेमकिपाको लक्ष्य भएको बताउनुभयो ।
उहाँले मजदुरहरूले आफ्नो वर्गीय हितको निम्ति सङ्घर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले सत्तारूढ नेकपा नामले कम्युनिस्ट भए पनि व्यवहार र वर्गीयरूपमा कम्युनिस्ट नभएको भन्दै नेकपालाई कम्युनिस्ट पार्टी भन्ने भ्रमबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो । “नेकपाका नेताहरू पद, पैसा र सुविधाको लागि झगडा गरिरहेका छन्, यो कुनै सैद्धान्तिक झगडा होइन”, उहाँले भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सरोजकुमार साहले तराईका किसानहरूलाई तराईकै सामन्त र पुँजीपति वर्गले शोषण गरिरहेको भन्दै वर्गीय मुक्तिले मात्र तराईका कामदार जनताले शोषणबाट मुक्ति सम्भव हुने बताउनुभयो ।
उहाँले तराईका उखु किसानहरूका मागलाई पुँजीपति वर्गले बेवास्ता गरिरहेको र ती पुँजीपतिहरूलाई शासक दलहरूले संरक्षण गरिरहेको धारणा राख्नुभयो ।
नेमकिपा सर्लाही जिल्ला समितिका रमाकान्त कापरको सभापतित्वमा भएको कार्यक्रममा किसुनदेव शर्मा, रमेश प्रजापतिलगायतले बोल्नुभएको थियो ।
सिरहा
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार सिरहाको ठाडीमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले कोरोना सङ्क्रमणको कारण निधन हुनुभएका सिरहा पार्टी जिल्ला सदस्य सञ्जयकुमार सिँहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कोभिड–१९ महामारी अझै पनि संसारबाट अन्त्य भइनसकेको हुनाले स्वास्थ्य सुरक्षामा अझै सजग हुनुपर्ने धारणा राख्नुभयो ।
समयमै भारतसँगको सीमा नियन्त्रण गरेको भए नेपाली जनताले कोरोनाको कष्ट झेल्नुनपर्ने धारणा उहाँले राख्नुभयो ।
उहाँले संरा अमेरिकाले चीनको विकास रोक्न कोरोना भाइरसलाई लिएर चीनको बदनामतिर लाग्दा संसारमा महामारी व्यापक भएको बताउनुभयो ।
कम्युनिस्टहरूले नाफा नोक्सानको लागि भन्दा समाजको हितलाई केन्द्रमा राखेर काम गर्ने चर्चा गर्दै उहाँले पुँजीवादी व्यवस्थाले मानिसलाई स्वार्थी र लोभीपापी बनाउने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले चुनावमा पैसा, भोजभत्तेर र सुविधाको पछि लागेर मत दिने जनताको कारण गलत तथा स्वार्थी मानिसहरू सरकारमा पुगेको बताउनुभयो ।
उहाँले नागरिकतामा खुकुलो गर्दा देशको सार्वभौमिकता र स्वतन्त्रतामा आँच पुग्ने धारणा राख्नुभयो ।
नेमकिपा सिरहाका अध्यक्ष विजय महत्तोको सभापतित्वमा भएको कार्यक्रममा हरिनारायण महत्तो, चण्डेश्वर महत्तो, शत्रुघ्न यादव, देवी सदाय, संगीता सदाय, दुर्गा साह, राजकुमार पासवान, गुणदेव साहलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *