भर्खरै :

प्यारातालमा भारतीय दाबी, नेपाली पक्ष अझै मौन

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने प्याराताललाई भारतीय पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हाल स्थानीय तहले तालमा माछा मार्ने ठेक्का दिँदै आएकोमा भारतीय पक्षले तालमा आफ्नो पनि स्वामित्व दाबी गरेर बखेडा झिकिरहेको छ ।
विसं २०६१÷६२ मा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमास्तम्भ गाडेको स्थानीयको भनाइ छ । झन्डै चार दशकदेखि प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै सुरसार देखिएको छैन । विसं २०२२ देखि जिल्ला विकास समितिले तालमा माछा मार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त तालमा आफ्नो पनि दाबी गर्दै विवाद गरिरहेको छ ।
पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले तीन वर्षयता पुनर्वास नगरपालिकाले प्यारातालमा माछा मार्ने ठेक्का दिँदै आएको बताउनुभयो । “नगरपालिकाले ठेक्का दिए पनि भारतीय पक्षले त्यति सहजै माछा मार्न भने दिएको छैन । वडाध्यक्ष जैशीले भन्नुभयो, “पूर्व–पश्चिम फैलिएको तालमा भारतले आधा आफ्नो दाबी छाडेको छैन ।”
तालसँगै छेउमा रहेको भारतीय दुधुवा नेसनल पार्कका वन्यजन्तुको पानीको प्यास मेटाउने एकमात्र ठाउँ प्याराताल हुने भएकोले सो प्रयोजनका लागि भारतले तालमा आँखा गाडेको उहाँको भनाइ छ । “डेढ दशकअघि नेपाली भूमिमै भारतीय पक्षले सीमा स्तम्भ गाडेर हाम्रो भूमि कब्जा गरेको थियो”, जैसीले भन्नुभयो । त्यो बेला स्थानीयले स्तम्भ भत्काएर सीमाको रक्षा गर्दै भूमि फिर्ता लिएका थिए । “अहिले ताल छेउको हामीले फिर्ता लिएको त्यही भूमिमा कच्ची सडक बनाउन वडाले रु. अढाइ लाख रकम विनियोजन गरेर काम सुरु गरेको छ”, उहाँले भन्नुभयो ।
स्थानीयका अनुसार तालभन्दा करीब ५०० मिटर दक्षिणसम्म नेपाली भूमि रहे पनि भारतीय पक्षले त्यहाँ आवागमन गर्न रोक लगाएको छ । करीब तीन किलोमिटर लम्बाइमा प्याराताल फैलिएको छ । माछाको ठेक्का पाएका स्थानीयले भने माछा मारेर ५० प्रतिशत भारतीय पक्षलाई दिनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् ।
पर्यटकीय र जलाधार क्षेत्रको महत्वपूर्ण सम्भावना बोकेको यस ताल पछिल्लो समय स्थानीय निकायले संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोज स्थल बनाइएको छ । प्याराताल क्षेत्रको पारि (दशगजा) क्षेत्रमा पर्ने साविक सीमास्तम्भ नं १९५ अझै तालभन्दा वर जङ्गलमै मर्मतसम्भारको पर्खाइमा छ भने १९६ सीमास्तम्भ लामो समयदेखि हराएको छ ।
पुनर्वास नगरपालिकामै पर्ने आनन्द बजारमा सीमास्तम्भ नं २०० छैन । भारतले सो क्षेत्रमा एउटा रुखलाई सीमास्तम्भ मानी त्यसैलाई दाबी गर्दै आइरहेको छ । सोही रुख नजिकै गत वर्ष कल्भर्ट बनाउने विषयमा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा पुनर्वासका गोविन्द गौतमले शहादत प्राप्त गर्नुभएको थियो । सीमास्तम्भ १९६ देखि सीमास्तम्भ नं २०० सम्म नेपाल–भारतबीच लामो समयदेखि सीमा विवाद हुने गरेको छ ।
त्यसैगरी पुनर्वास नगरपालिकाका प्रमुख जीवनराम थापाले प्यारातालको विवाद सुल्झाउन केन्द्रमा पटकपटक ज्ञापनपत्रसहित आग्रह गर्दा पनि केही पहल नभएको बताउनुभयो । उहाँले तालमा माछा मार्ने ठेक्का नगरपालिकाले दिएको भए पनि भारतीय हस्तक्षेप कायम रहेको बताउनुभयो । “सहिद गोविन्द गौतमले सीमा विवादकै कारण मृत्युवरण गर्दा हामीले प्याराताल विवाद प्राथमिकतामा राखेर पहल गरेका थियौँ”, नगर प्रमुख थापाले भन्नुभयो । यस विषयमा टोली बनाएर काठमाडौँमा धाउँदा पनि कुनै ठोस पहल नभएको उहाँको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *