व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमानदारिता र कर्मले निर्धारण गर्ने
- असार २१, २०८३
पक्राउ, फैसला र मृत्युदण्ड
अरूहरू पक्राउ परेर हाम्रा गोप्य कागजपत्रहरू फेला परेपछि राणाशाहीले म पनि आन्दोलनमा मुछिएको थाहा पाइहाल्यो । मेरो बनारसको ठेगानामा राणाहरूले ‘बा साह्रै बिरामी हुनुहुन्छ, तुरुन्त जनकपुर आऊ’ भनी तार पठाए । तार पाउनासाथ बाको माया लाग्यो र बाको मुख आखिरीपटक देख्न नपाइने हो कि भन्ने चिन्ता लाग्यो । तार जलेश्वरका बडाहाकिम रामशमशेरले पठाएका थिए । उनी पनि रुद्रशमशेर पाल्पा धपाइएजस्तै गरी जनकपुर धपाइएका थिए किनभने तिनीहरू दुवै ‘सी’ क्लास राणा थिए । रामशमशेर बाका साथी भएकाले मैले तार षड्यन्त्रमूलक छ भन्ने शङ्कै गरिनँ र म बनारसबाट जयनगरको टिकट काटी हिँडे । तर, म १९९७ साल कार्तिक १० गते बिहान नेपाली सरहदभित्र के पुगेको थिएँ म समातिइहाले । त्यसपछि मलाई नेल, सिक्री, गलफन्दी र हत्कडी लगाई आलोपालो गरी दसजना भरियाहरूले बोक्ने खटौलीमा हालेर अड्डासार गरी त्यति नै सङ्ख्यामा सङ्गीन बन्दुकधारी प्रहरीको पहरामा काठमाडौँ सिँहदरबार ल्याइपु¥याइयो ।
सिंहदरबारभित्र थुन्दा तिनीहरूले मेरा हात, गोडा, गर्धन र तिघ्रालाई बाक्लो फलामका नेल, हतकडी आदिले बाँध्याबाँध्यै गरे । यसरी हामीहरूलाई तीन महिनासम्म राखियो । हिउँदका दिनहरूमा त्यस्ता ‘गहनाहरू’ लगाएर सुत्न बडो गाह्रो पर्दथ्यो, किनभने साह्रा शरीरलाई चिसोले डाम्थ्यो र तिनीहरूलाई ओढ्ने चीजहरूले छोपेर न्यानो नबनाउञ्जेल निद्रा लाग्दैनथ्यो । पछि हामीलाई झ्यालखानमा चलान गरेपछि हामीले हाम्रो खोरमा त्यसै परिरहेको एउटा ढुङ्गाबाट घनजस्तो औजार बनायौँ र नेल– सिक्रीलाई पिटी–पिटीकन खुकुलो पा¥यौँ । त्यसपछि त हामीले त्यसको एकएक ओटा जोर्नीलाई फुस्काएर जीउबाट फुकाल्नसक्ने बनायौँ ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ
शोभा भगवतीस्थान पुगेर उनीहरू दुवैले सबभन्दा पहिला विष्णुमतीको पवित्र जलमा हातमुख धोए । सेचन गरेपछि माता भगवतीको दर्शन गर्न चाहे । दुईजना जल्लाद पोडेहरू समेत लिई त्यहाँ पुगेको जर्नेल नरशमशेरले हुन्न, पर्दैन भनेन । उनीहरूले माता भगवतीको अन्तिम दर्शन गर्दै प्रार्थना गरे, “माता, हामीले नेपाल माताको निम्ति केही काम ग¥यौँ, बत्ती बाल्यौँ, हामीले बालेको बत्ती ननिभोस् यही आशीर्वाद हामी पाऊँ ।”
जेल लगिएको केही दिनपछि हामीले भद्रगोल जेलको २ नं को घरको माथिल्लो तलाको हाम्रो झ्यालबाट दक्षिणपट्टिको सडकमा मानिसहरूको आउनुजानु बढी भएको देख्यौँ । मध्याह्नतिर जेलको चौकीदार आएर हामीलाई गए राति शुक्रराज शास्त्रीलाई झुन्ड्याएर मारेको खबर सुनाइयो । खालि गीताका श्लोकहरू पढेर सुनाएको अभियोगमा उनलाई राणाशासनले १९९७ माघ १० गते राति त्रिपुरेश्वरबाट कालीमाटी जाने बाटोको बीचमा पर्ने पचली भन्ने ठाउँमा रुखमा झुन्ड्याएर मा¥यो । त्यस अघिसम्म पनि म राणाहरूसँग आवश्यक परेमा सीमित मात्रामा केही सम्झौता गर्ने मनस्थितिमा थिएँ तर तिनीहरूले शुक्रराजलाई झुन्ड्याएर मारेपछि म राणाशाहीको अन्त्य गर्ने हाम्रो मागमा कतै कुनै सम्झौता नगर्न दृढ प्रतिज्ञ भएँ ।
शुक्रराजलाई झुन्ड्याइएको दुई दिनपछि धर्मभक्तलाई सिफलमा झुन्ड्याइयो । गोविन्दप्रसाद उपाध्यायले यस घटनालाई आफ्नो अनुसन्धानको आधारमा ‘नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ’ नामक पुस्तकमा यी शब्दहरूमा वर्णन गरेका छन्, ‘१९९७ साल माघ १२ गते दिउँसो धर्मभक्त माथेमालाई सिंहदरबार स्कूलबाट सेन्ट्रल जेल ल्याइयो । त्यसैदिन अपराह्न उनका नातेदारहरूलाई भेट्न आउनु भन्ने खबर राणाशासनले गरेको रहेछ तर उनका बाबु आदिभक्तलाई राणाशासनको अनुरोधमा अङ्ग्रेज सरकारले कलकत्तामा थुनिराखेको थियो । भाइहरू पनि उतै थिए । यहाँ उनका फुपूका छोरी सूर्यलक्ष्मीमात्र थिइन् । उनी र उनका टोलका केही उत्साही मित्रहरूमात्र जेलको ढोकामा पुगे ।
‘धर्मभक्तलाई खुट्टामा नेल–सिक्री हाली र हातहरू पछिल्तिर फर्काई फलामे हत्कडी लगाई जेलको ठीक अघिल्तिर जगन्नाथ मन्दिरको सामु उनीहरूलाई भेट्न लगियो । सूर्यलक्ष्मीले “माफी मागेको भए छुट्छ भन्छन् किन माफी नमाग्नु भा ?” भनेर सोधिन् । धर्मभक्तले जवाफ दिए, “हामीले प्रजातन्त्र र राजाको निम्ति काम गरेको हो, हामीले के बिराएका छौँ र माफी माग्ने ?” यस्तो क्रुर शासकहरूसँग पनि माफी माग्छन् ? मैले देशको निम्ति ज्यान अर्पण गर्ने नै निश्चय गरेँ । भावी पुस्ताले यिनीहरूसँग मेरो मृत्युको बदला लिनेछन् । त्यसपछि पुनः बहिनीलाई उनले भने, “मैले तिमीलाई धेरै दुःख दिएँ । अब भोलिदेखि त्यो दुःख दिन्न है ।” यस्तो उद्गार उनले त्यस दिनसम्म आफू सिंहदरबारमा थुनिँदा बिहान–बेलुकी नै लगातार खाना बनाई पठाउने, लुगा धोइकन पठाउने आदि बहिनीको सेवालाई सम्झेर र दाजुलाई के पो हुने हो कि भन्ने बहिनीको चिन्तालाई बुझेर पोखेका हुन् । यत्तिकैमा भेट गर्ने समय सकियो भनी जेलको कप्तानले भनेपछि मलाई शरीर गलाउने र कमजोर बनाउने इन्जेक्सन बलजफ्ती दिइरहेका छन् तर धन्दा नमान्नु, अब सब चाँडै सकिने छ भनी धर्मभक्त बहादुरीसाथ जेलभित्र लागे । सूर्यलक्ष्मी र अरू भेट्न जानेहरू गहभरि आँसु लिई घर फर्के ।
सोही दिन बेलुकी ८ बजेदेखि नै डिल्लीबजार, ज्ञानेश्वरतिरका पसलहरू बन्द गर्नु भन्ने उर्दी दिइएको थियो । १० बजेपछि धर्मभक्तलाई लहरीमा राखी डिल्लीबजार हुँदै कमलपोखरीको चार दोबाटो पूर्व ज्ञानेश्वरबाट कालो पुल भई सिफलको उकालोमा लगियो ।
यसै सम्बन्धमा लप्टन कृष्णबहादुर थापा भन्दछन्, “त्यसै दिन राति ७ बजेतिर मैले २० जनाजति सिपाहीहरू लिई धोवीखोलाको कालोपुलपारि सिफलको उकालोमा रहेको ठूलो रुखमा फाँसीको डोरी तयार गर्न र त्यहाँ पु¥याइएको अभियुक्तलाई त्यसैमा झुन्ड्याउनु भन्ने आदेश पाएँ ।” म ९ बजेतिर २० जवान सिपाही र आवश्यक सामानहरू लिई त्यसतर्फ गएँ । राति ११ बजेतिर धर्मभक्तलाई केही सिपाहीहरूले लहरीमा राखी दुईजना पोडेसहित उक्त ठाउँमा ल्याइयो । उनले नीलो कमिज, सेतो सुरुवाल, ऊनी इस्टकोट लगाएका थिए । धर्मभक्तका दुवै हात पछाडिपट्टि लगी बाँधिएको थियो र आँखामा पनि पट्टी बाँधिएको थियो ।
त्यहाँ उनलाई पु¥याएपछि जर्नेल नरशमशेरले उनको आखिरी इच्छा के छ भनी सोधे । धर्मभक्तले “राणा सरकारको छिट्टै अन्त्य होस्” भन्ने मेरो इच्छा छ भने । त्यसपछि उल्लेखित रुखको दक्षिणतिर बढेको हाँगामा ठीक गरिएको फाँसीको डोरीमुनि लगाइएको पाक्व इँटको सानो गारोमा धर्मभक्तलाई उभ्याइयो र फाँसीको डोरी घाँटीमा हाली जमिनको गारो ढल्याइयो तर फाँसीको डोरी उल्टो परेकोले र उनको बलियो वजनदार शरीरले गर्दा रुखको हाँगो लच्किन पुग्यो र उनी गोडाले जमिन टेक्न पुगे । उनलाई पुनः झुन्ड्याउनका लागि दक्षिणतिरै बढेको अर्को हागाँमा फाँसीको डोरी हाली फेरि गारो उभ्याइयो । उनलाई झुन्ड्याउन उनी उभिएको गारो ढालियो । धर्मभक्त छटपटाए र उनको वजनले फाँसीको डोरी नै छिन्यो । फाँसीको डोरी फुकाल्न लाग्दा चाँडो फुकाउन सकिएन । नरशमशेर आत्तिएर छिटो गर भन्दै एक जम्कामा उक्त फाँसीको डोरी आफैँले चक्कुले काट्न खोज्दा हडबडमा धर्मभक्तको गालादेखि चिउँडोसम्म धारिलो चक्कुको टुप्पाले काटियो र डोरी पनि काटियो । यस्तो व्यवहारबाट धर्मभक्त रिसले आगो भएर आफ्नो नगिचै उभिएको नरशमशेरलाई एक लात हाने । नरशमशेर सम्हालिन नसकेर ५–६ फिट पर हुत्तिदै गएर लडे । त्यसपछि नरशमशेरले धर्मभक्तलाई चुट्ने आदेश दिए । त्यहाँ उभिएका त्यत्तिका सिपाहीहरूले धर्मभक्तलाई निर्घातसँग पिटे । यस पिटाइले धर्मभक्त मुर्छा परे । त्यसपछि उक्त रुखको पश्चिमपट्टि बढेको हाँगामा फेरि फाँसीको डोरी कसियो । अनि मुर्छा परेको धर्मभक्तलाई ८–९ जना सिपाहीहरूले उभ्याएर फाँसीको डोरी उनको घाँटीमा बाँधी तेस्रो पटक उनलाई झुन्ड्याइयो ।
यसरी माघ १३ गते बिहान पशुपतिनाथको दर्शन गर्न जाने मानिसहरूले धर्मभक्तलाई सिफलको उकालोको बकैनाको रुखमा झुन्ड्््याइएको देखे । तिनीहरूमध्ये एकजना प्रख्यात कवि भीमनिधि तिवारी पनि थिए । उनी लेख्दछन्, “त्यसरी झुन्ड्याइएका धर्मभक्तको घाँटी छड्के परेको, आधा आँखा चिम्लेको, मुखबाट रगत बगेको, गालादेखि चिउँडोसम्म काटिएको, रगतको धर्सो जमेको, माथितिर फर्काइएको कपाल, अलिअलि दाह्री, गोडाको टुप्पोले भुइँ छुनै–छुनै लागेको थियो ।” उनको छातीमा एउटा कागजको बोर्ड झुन्ड्याइएको थियो जसमा ‘संस्था खडा गरी दुनियाँ भड्काउने, पर्चा छरी हातहतियार खोजी हिँडी केही जम्मा गरी श्री ५, श्री ३ सरकार र रोलवाला जर्नेलहरूको गाथ बिताई राजकाजसमेत आफूले चलाउने उद्योग गरेको हुनाले यस्तो सजाय भयो भनी लेखिएको थियो ।
१९९७ साल माघ ६ गते आफूलाई ज्यान सजाय सुनाउँदा दशरथ चन्दले क्यै डरपिर मानेनन् बरु “ज्यान क्या चीज है” भनेर हलल्ल हाँस्दै राणाशाहीलाई लल्कारेका थिए । उनले भारतमा पढेका थिए र हामीसँग कुरा गर्दा पनि उनी अक्सर हिन्दीमै बोल्दथे । गंगालालले आफ्ना साथीहरूलाई जन्मकैद सुनाउँदा “जुद्धशमशरेको जन्मभर” भनी राणाहरूमाथि कटुव्यङ्ग्य प्रहार गरेका थिए । (उनको यस व्यङ्ग्यको अर्थ जुद्धशमशेरको पनि चाँडै नै हत्या गरिने छ भन्ने थियो ।)
दशरथ चन्द र गंगालाललाई माघ १४ गतेसम्म सिंहदरबारमै राखियो । त्यहाँ राममाया भन्ने च्यामिनी उनीहरूको कोठा बढार्ने काम गर्दथिन् । दशरथ चन्दकी प्रेमिका जुलियाना पहिले नै पाल्पामा क्षयरोग लागेर मरिसकेकी थिइन् । आफूलाई मृत्युसजाय सुनाएको भोलिपल्ट राममायालाई बोलाएर दशरथ चन्दले भने, “राममाया, मेरा साथीहरू मारिएपछि उनीहरूको निम्ति रुने आफन्तहरू धेरै छन् तर मेरो निम्ति रोइदिने यस संसारमा कोही छैन । मलाई मारेपछि तिमी मलाई सम्झेर रोइदेऊ है ?”
माघ १५ गते अबेर साँझ दशरथ चन्द र गंगालाललाई सैनिक पहरामा लहरीमा हाली प्याफलको बाटो गरी शोभा भगवतीतर्फ लगियो । आफ्नो घर नगिचै पुगेपछि गंगालालले आफ्नै धमै पत्नीलाई ‘हसिना हसिना’ भनी चर्को आवाजले बोलाए । ‘हसिना’ उनको जीवनको अति प्यारो शब्द थियो … सधैँ हँसिली, सधैँ प्रसन्नचित्त । गंगालालले त आफ्नी हसिनालाई सम्बोधन गर्दै कविताहरू पनि लेखेका थिए ।
शोभा भगवतीस्थान पुगेर उनीहरू दुवैले सबभन्दा पहिला विष्णुमतीको पवित्र जलमा हातमुख धोए । सेचन गरेपछि माता भगवतीको दर्शन गर्न चाहे । दुईजना जल्लाद पोडेहरू समेत लिई त्यहाँ पुगेको जर्नेल नरशमशेरले हुन्न, पर्दैन भनेन । उनीहरूले माता भगवतीको अन्तिम दर्शन गर्दै प्रार्थना गरे, “माता, हामीले नेपाल माताको निम्ति केही काम ग¥यौँ, बत्ती बाल्यौँ, हामीले बालेको बत्ती ननिभोस् यही आशीर्वाद हामी पाऊँ ।”
उनीहरूलाई विष्णुमती र भाचाखुसीको दोभानमा एकै ठाउँमा गाडिएका बाँसहरूतिर लगियो । त्यहाँ दशरथ चन्दलाई उत्तरतिर र गंगालाललाई पश्चिमतिर फर्काएर बाँधियो । त्यसपछि नरशमशेरले दशरथ चन्दलाई अन्तिम इच्छा के छ भनी सोध्यो । दशरथ चन्दले “राणाशासनको अन्त्य भएको र प्रजातन्त्र कायम भएको हेर्ने इच्छा छ” भनी जवाफ दिए । त्यसपछि नरशमशेरले गंगालाललाई माफी माग भन्यो । गंगालालले “किन माफी माग्ने ?” मैले माफी माग्नुपर्ने के काम गरेको छु र हँ ? बरु, राणाशाहीजस्तो कसाहीले गरेको अत्याचारको निम्ति हामीसँग माफी माग” भनी जवाफ दिए । यस्तो जवाफ पाउँदा नरशमशेरको मुखमा थुक सुक्यो, नाकमुख खुम्चियो र ऊ क्यै बोल्न नसकी चुप लाग्यो ।
अनि अब पहिले गोली को खाने भनी दशरथ चन्द र गंगालालका बीच कुरा भयो । दशरथ पहिले गंगालाललाई र त्यसपछि आफूलाई गोली हानियोस् भन्ने चाहन्थे तर नरशमशेर, जेठाबाठा, दशरथ चन्दलाई गोली हानेर गंगालाललाई माफी माग्न लगाई नैतिक पतन भएको सिद्धान्तच्युत गराएको कुरा दुनियाँमा प्रचार गरी राणाशाहीको नाम ठाडो राख्न चाहन्थ्यो । नरशमशेरलाई उसको बाजे जुद्धशमशेर र बाबु हजुरिया जर्नेल बहादुरशमशेरको यही निर्देशन हुँदो हो । यो कुराको दशरथ चन्दले पहिले नै अनुमान लगाइसकेका थिए । दशरथ चन्दले पहिले गंगालाललाई गोली हान्न अनि उनलाई हान्न तिनीहरूसँग अनुरोध गरे । दशरथ चन्दको मनको कुरा बुझेर गंगालालले भने, “दाइ, तपाईँ ढुक्क हुनुहोस्, म माफी माग्दिनँ । कुनै हालतमा पनि माफी माग्दिनँ ।”
दशरथ चन्द र गंगालाललाई गोली हानेर मार्न भनी कैयौँ दिनदेखि दुई बलिया पोडेहरूलाई पेस्तोल हान्न सिकाइएको थियो । त्यसदिन तिनीहरूलाई प्रशस्त रक्सी ख्वाएर ल्याइएको थियो र तिनीहरू बेसुरै थिए । एउटा पोडेलाई दशरथ चन्दको घुँडामा गोली हान्न अह्राइयो । त्यसले नगिचै आएर हान्यो । दशरथले पीडा ओठ टम्म गरे, तर दुखेको आवाज झिकेनन् । बरु उनले ‘राणाशाही मुर्दावाद’ भनी नारा लगाए । गंगालालले पनि त्यो नारा दोहो¥याए । त्यो निस्तब्ध मध्यरातमा ‘राणाशाही मुर्दावाद’ को नारा घन्कियो । नरशमशेर रिसले बहुलाजस्तो भयो र त्यही पोडेलाई दशरथको तिघ्रामा गोली हान्न अह्रायो । त्यसले नगिचै गएर तिघ्रामा गोली हान्यो । अब पीडा सही नसक्नु भयो र दशरथ चन्द छटपटाउन थाले । त्यो राक्षसी अत्याचार देखेर गंगालालले खप्न सकेनन् र कराए ‘सक्छस् भने तेरो बाबुलाई एउटै गोली हानेर मार न ।”
त्यस्तो आवाज सुनेपछि नरशमशेरले रिसले काँप्दै आफैँले गंगालालको घुँडामा गोली हान्यो । यसले गंगालाललाई कुनै असर परेन । गंगालालले नरशमशेरलाई, “तँ अत्याचारी क्रुर बजिया” भनी गाली गरे । अब दशरथलाई उनको कोखामा तेस्रो गोली हान्न त्यही पोडेलाई अह्राइयो । त्यसले नगिचै आएर कोखामा गोली हान्यो । यस्तो निर्मम दृश्य देखाएर नरशमशेरलाई गाली गर्न थाले । अब नरशमशेरले गंगालालको घुँडाको जोर्नीभन्दा अलि तल दोस्रो गोली हान्यो । उता दशरथ चन्द छटपटाइरहेका थिए । केही समयपछि त्यही पोडेले दशरथ चन्दको छातीमा चौथो गोली हान्यो । यसरी राणाशाहीको चार गोली खाएर दशरथ चन्द नेपालका प्रातः स्मरणीय सहिद भए ।
त्यसपछि फेरि नरशमशेरले गंगालालको तिघ्रामा तेस्रो गोली हान्यो । गंगालाल छटपटाउन थाले । यो सबै अत्याचारको दृश्यलाई वाल्ल परेर हेरिरहेको दोस्रो पोडेलाई गंगालाललाई आखिरी गोली हान्न अह्राइयो । त्यो पोडेले गोली हान्न मानेन र घ्वाँघ्वाँ गरेर रुन थाल्यो । त्यसपछि उसलाई फकाईफुल्याई गर्न थाले तैपनि त्यसले गोली हान्न मानेन । तिनीहरूले कति कोशिश गर्दा पनि केही लागेन । त्यसपछि पहिलो पोडेलाई नै यो क्रुर काम गर्न अह्राइयो । तर, त्यसले पनि आनाकानी गर्दै नगिचबाट गोली हान्न असम्भव छ र टाढाबाट हानेको गोली लाग्न सक्तैन भनेर गोली हान्न मानेन । गोलीकाण्डको यो नृशंस दृश्य देखेर त्यो पोडे आफैँ कामिरहेको थियो । नरशमशेरले त्यसलाई फकाई छाड्यो र टाढैबाट गोली हान्न अँगालो हाली पेस्तोल समाउन पनि आफैँले मद्दत ग¥यो । एकपछि अर्को गरी दुइटा गोली छुटे जुन क्रमशः गंगालालको पेट र कोखामा लाग्न पुगे । यसरी पाँच गोली खाएर गंगालाल सहिद भए ।
यसप्रकार धर्मभक्तलाई झुन्ड्याएको दुई दिनपछि तिनीहरूले गंगालाल तथा दशरथ चन्दलाई गोली हानेर मारे । अर्को व्यक्ति, नायवसुुब्बा पूर्णनारायण प्रधानलाई आखिरी बेलामा जुद्धशमशेरको हुकुमले ज्यानसजायबाट फुकुवा गरियो । उनी हाम्रो पार्टीका सदस्य थिएनन् । कसैले भनेको उनको अपराध के थियो भने उनीसँग त्यतिबेला घरमा राख्न प्रतिबन्ध लगाइएको रेडियो थियो रे, उनी त्यसबाट खबर सुन्थे रे ! उनलाई टुँडिखेलको रुखमा झुन्ड्याउने डोरी तयार थियो, गारो पनि उठाइसकिएको थियो तर त्यही बेला प्रधानमन्त्री जुद्धशमशेर त्यही बाटोबाट जानलाग्दा रुखनिर केको भीड भनी सोधेछन् । त्यसपछि पूूर्णनारायण प्रधानको ज्यानसजायलाई जन्मकैदमा सारिदिए ।
त्रिभुवनलाई पनि सिंहदरबारको मुद्दामा ल्याइयो । उनका दुई पुत्र हिमालय तथा बसुन्धरा पनि आफ्ना पिताका साथ भए । कोही महेन्द्र पनि साथै थिए भन्दछन् तर यतिञ्जेल हामीलाई त त्यहाँ त्रिभुवन, हिमालय तथा बसुन्धरामात्र भएको लाग्दछ । राणाहरूले त महेन्द्रलाई सुरुदेखि नै आफ्नो पक्षमा तान्ने कोशिश गरेका थिए । राणाहरूले त त्यही कारणबाट महेन्द्रका सबै सहायक र कर्मचारीहरूमा आफ्नै नातेदार र मान्छेहरूलाई राखेका थिए ।
राजा त्रिभुवन राणा खलकसँग बिहेवारी सम्बन्ध राख्न पटक्कै चाहन्नथे तर राणाहरूले त्यसका लागि अड्डी लिएको लियै गरे । आखिरमा त्रिभुवनको केही लागेन र जुद्धशमशेरको माहिला छोरा जर्नेल हरिशमशेरकी जेठी छोरी इन्द्रराज्यलक्ष्मीको बिहे महेन्द्रसँग भयो । इन्द्रराज्यलक्ष्मीको मृत्यु भएपछि महेन्द्रले २००८ सालमा आफ्नै साली रत्नराज्यलक्ष्मीसँग बिहे गरे । यो कत्तिको साँचो हो, म ठोकेर भन्न त सक्तिनँ तर राणाहरूको बसुन्धारासँग झगडा परेको थियो भन्ने सुनेको हुँ । हाम्रो मुद्दामा पनि राणाहरू त्रिभुवन र उनका दुई भाइ–छोरा हिमालय तथा बसुन्धारालाई डाँडो कटाएर गोर्खा धपाउने र महेन्द्रलाई श्री ५ बनाउने तरखरमा थिए । उनीहरूलाई सिंहदरबारमा ल्याएर राति ९–९ बजेसम्म नजरबन्द गरियो भन्ने कुरा हामीले पछि हामीलाई पहरा दिने सिपाहीहरूबाट सुन्यौँ ।
सोही दिन राति साढे ८ बजेतिर बेलायतका राजदूत सर जियोफ्रे बेथाम काठमाडौँ आइपुगे । राणाहरूले त्रिभुवनलाई काठमाडौँबाट धपाउनेबारे उनीसँग सल्लाह गरे । ती अङ्ग्रेज अधिकारी यो योजनासहित सहमत भएनन् । भारतमा तैनाथ गोरखा फौजहरूले राजामाथि यस्तो दुव्र्यवहार भएको सुने भने त फौजमा विद्रोह नै हुने डर राजदूतले राणाहरूलाई सुनाए । त्यसैकारण त्रिभुवनलाई गद्दीच्युत गर्ने कुरा त परै जाओस् राजधानी बाहिर धपाउनु पनि हुँदैन भन्ने उनले सल्लाह दिए ।
धेरै पछि मैले त्रिभुवनसँग यसबारे सोधेँ, “सरकारलाई गोर्खा धपाउन राणाहरूले पक्का गरेका थिए भने सरकारलाई किन धपाएनन् त ?” अनि उनले बेलायतको राजदूतको आगमनको कुरा बताए । यसरी त्रिभुवन निष्काशनबाट जोगिए ।
यही वार्ताको क्रममा उनले भने, “टङ्कप्रसादजी, तपाईँ यतिका वर्षसम्म जेल पर्नुभयो तर मैले पनि त कम्ता दुःख, कष्ट पाइन नि ¤ हेर्नोस्, मलाई आफ्नै दरबारका कोठामा नजरबन्द गरेर राखिएको थियो । बडामहारानीहरूले नै हामीहरू सबैको लागि बिहान–बेलुकीको भात र खाजाहरू पकाउनुपर्दथ्यो ।” त्रिभुवले हामीलाई साँच्चि नै ठूलो समर्थन दिएका हुन् ।
माघ १५ गतेका दिन रामहरि र मलाई फेरि सिंहदरबार बग्गीखाना हाजिर गराइयो । त्यसबीच राणाहरूले हाम्रा साथीहरूलाई फाँसी दिइसकेका र गोली हानेर मारिसकेका थिए । हामीहरू संस्थाको नेता भएकोले हाम्रो पनि ज्यान सजाय लिने तय भइसकेको थियो । तर, रामहरि र म ब्राह्मण थियौँ, त्यसैकारण राणाहरूले हामीलाई सुनाइएको ज्यान सजाय लागू गर्न सकेनन् । मनुस्मृतिमा बाह्मणलाई ज्यान सजाय दिनुहुन्न भनेर लेखिएको छ । ब्राह्मण हत्या त्यस समयमा सबभन्दा ठूलो पाप ठानिने भएकोले बाह्मणलाई जात–च्युत गरेर देशबाट धपाइदिनु नै उसलाई दिनसकिने कठोरतम दण्डसजाय हो भनेर मुलुकी ऐनमा किटान गरिएको छ । राणाहरूले हाम्रो गतिविधिलाई कत्रो ठूलो अपराध ठानेका थिए भन्ने देखाउनलाई तिनीहरूले हामीलाई ज्यानसजाय दिन सक्दथे तर त्यो लागु गर्न सकेनन् ।
जात लिने अर्थात् जातबाट च्युत गर्ने पद्धति यस्तो थियोः पहिला त हाम्रो टाउकोलाई चारपाटे मुडियो, यसो गर्दा टुपी पनि खौरी दिइयो, त्यसपछि चारै पाटामा चारवटा बेग्लाबेग्लै रङ्गहरू पोतिए । रङ्ग पोत्नाको खास कुनै माने थिएन, खालि हाम्रो बेइज्जती गर्न यसो गरिएको थियो । त्यसपछि हाम्रो जनै फुकालिदिइयो । ब्राह्मणले सधैँभरि जनैरुपी पवित्र डोरी लगाउनैपर्दछ । अतः हामी फेरि जेल फर्केर आएपछि घरबाट जनै पठाइदिए र हामीले फेरि जनै लगायौँ । हामीलाई सुँगुर बोकाएर लैजान खोजिएको थियो क्यारे, तर किन हो कुन्नि, तिनीहरूले त्यसो गर्न लगाएनन् । आखिर, राणाहरूको सनकको न कुरा हो । तिनीहरूले हाम्रो अरू मानमर्दन गर्नका लागि हामीलाई चारपाटे मोडेर नेल–हत्कडीले बाँधेर सहर घुमाउने योजना बनाएका थिए तर त्यो पनि तिनीहरूले आँट गर्न सकेनन् । त्यस्तो अवस्थामा हामीलाई देख्दा जनता राणाहरूसँग क्रुद्ध हुने डरले गर्दा हामीलाई सिंहदरबारबाट जेल लैजाँदा टुँडिखेलमा कवाज खेल्न लगाइयो र त्यतिबेला त्यहाँ वरिपरि कसैलाई आउन–जान दिइएन । अनि हामीलाई शरीरको नेल–हत्कडी छन्द्राङ्ग–छन्द्राङ्ग बजाउँदै हिँडाएर सिंहदरबारबाट जेल फर्काइयो ।
दुःखको कुरा, राणाहरूले हामीलाई देश निकाला गर्ने सजाय पनि दिएनन् । हामीलाई देश निकाला ग¥यो भने त हामीले झन् भारतबाट राणाहरूको विरुद्ध काम गर्ने सुवर्ण अवसर पाउने डर तिनीहरूलाई भयो (हाँसो) । त्यसको साटो तिनीहरूले हामीलाई झ्यालखानमा कोचे । यसको साथै राणाशासनले हाम्रो निजी सम्पत्तिमात्र होइन, अंशसमेत सर्वस्व हरण ग¥यो । यस सर्वस्वमा मेरो सिफलको घर र त्यसको चर्चेको जमिन पनि प¥यो ।
राणाहरू बीचबीचमा आफ्ना मान्छेहरू हामीकहाँ पठाएर माफी मागेमा पूरै क्षमादान पाइन्छ भन्न लगाउँदथे । तर, हामी तिनीहरूको प्रस्तावलाई लत्याइदिन्थ्यौँ । हामीले माफी किन माग्ने हँ ? गल्ती राणाहरूको हो र हामी ठीक बाटोमा छौँ भने हामीले क्षमायाचना किन गर्ने हँ ? ल, हामीले माफी माग्नेथ्यौँ होला । तर, तिनीहरूले हाम्रै अघिल्तिर जसो शुक्रराज शास्त्रीलाई फाँसी दिएपछि त हाम्रो रगत यस्तरी उम्ल्यो कि हामीले माफी मागेर राणाहरूसँग सम्झौता कहिल्यै नगर्ने किरिया खायौँ ।
रामहरि, गोविन्दप्रसाद, चुडाप्रसाद र मगरी हामी चारजना सँगै बस्यौँ र हामीले जेलमा सडेर मर्नै प¥यो भने पनि राणाहरूसँग कहिल्यै माफी नमाग्ने सङ्कल्प ग¥यौँ । पछि हामीले त्यस्तै आचरण गरेकोमा ठूलो खुसी मनायौँ । हामीले बिनाशर्त रिहाइबाहेक अरू कुनै शर्त नमान्ने वचन दियौँ । एकपटक राणाहरूले रामहरिलाई रिहा गर्न खोजे तर उनले जीउमा फेरि सिक्री बाँधे र जेल छाडेर जान अस्वीकार गरे । हामीले जेलमा १०–१० वर्ष गोडामा फलामे नेल बाँधेरै काट्यौँ ।) अनि दस वर्षपछि हामीलाई विनाशर्त रिहा नगरिकन सुख्खै पाएनन् । तर, जेल जाँदा (राणाशाही यति छिट्टै ढल्ला भन्ने सोचेका पनि थिएनौँ ।
–समाप्त
स्रोतः ज्युँदा सहिदहरू
Leave a Reply