भर्खरै :

वातावरण संरक्षणमा विश्वले खेल्नुपर्ने भूमिका

वातावरण भनेको पृथ्वीमा रहेका प्राणी जीव र वनस्पति बाँच्नलाई आवश्यक चिजहरू जस्तैः हावा, पानी, माटो, घाम, वनस्पति, जङ्गल आदि हुन् अथवा समग्रमा भन्दा वातावरण भनेको प्रकृति हो । जहाँ हामी बाँचिरहेका छौँ । प्राणी वनस्पति र जीवलाई आफ्नो अस्तित्व बचाउनलाई यी सबै कुराको आवश्यकता पर्दछ । हामीलाई श्वास फेर्नका लागि स्वच्छ वायुमण्डलको आवश्यकता पर्दछ । त्यस्तै तिर्खाएको बेला पिउनका लागि स्वच्छ खानेपानीको आवश्यकता पर्दछ । हाम्रा लागि खानेकुरा उमार्न मलिलो माटोको आवश्यकता पर्दछ । घामको ताप न्यानोबिना यस संसारमा मानव, वनस्पति र जीवको जीवनको परिकल्पना नै गर्न सकिँदैन । अर्थात्, हाम्रो वातावरणमा तीमध्ये कुनै पनि चिजको सन्तुलन बिग्रियो भने पृथ्वीमा रहेका सबै प्राणी जीव र वनस्पतिहरूको अस्तित्व सङ्कटमा पर्दछ । वर्तमान समयमा यही कुराहरूमा समस्या सिर्जना भइरहेको छ अर्थात् पृथ्वीको वातावरण क्रमशः बिग्रदै गइरहेको छ । प्रकृतिका सबै चिजहरू हाम्रो प्रतिकूलतामा परिवर्तन हुँदै गइरहेको छ । वातावरणको नकारात्मक परिवर्तनले पुरै विश्वलाई नै समस्यामा पारेको छ । त्यसैले वातावरण विनाश हुनु कुनै एउटामात्र देशको समस्या नभएर पुरै विश्वव्यापी समस्या हो । यसमा समस्याको कारण विकासोन्मुख देश अल्पविकसित देशहरू जसको अकर्मण्यता, अव्यवस्थित विकासको मोडल त हुन् नै त्योभन्दा पनि बढी जिम्मेवार विकसित शक्तिशाली राष्ट्रहरू त्यसमा पनि औद्योगिक विकास गर्ने देशहरू नै हुन् । जसले आफ्नो देशमा रहेका औद्योगिक क्षेत्रबाट वातावरण प्रतिकूल हुने गरी प्रदूषण गराइरहेका छन् । उक्त प्रदूषणबाट पृथ्वीको वायुमण्डल प्रदूषित त भएकै छ, ओजोन तह पनि पातलिँदै गइरहेको छ । जसका कारण सूर्यको विकिरण सीधा पृथ्वीमा आएर हामीलाई असर गरिरहेको छ । पृथ्वीको ताप हरेक वर्ष ०.७ डिग्रीको तापक्रमले बढिरहेको छ । हिमालमा, उत्तर र दक्षिणी गोलाद्र्धका समुद्रमा हिउँहरू कम देखिन थालेका छन् । जुनसुकै बेलामा पनि अत्यधिक अनावश्यक वर्षाका कारण बाढी पहिरो भूक्षयजस्ता प्रकोपले मानवलाई धेरै दुःख दिइरहेको छ । अर्कोतर्फ वन विनाशका कारण हरिया जङ्गलहरू नष्ट हुँदै गइरहेका छन् । पहाडहरू उजाडिएर पानीका स्रोत एवम् मुहानहरू सुकिरहेका छन् । यसले गर्दा खानेपानीको चरम अभाव हुन थालेको छ । सहरी क्षेत्रहरूमा इन्धनयुक्त अत्यधिक सवारीसाधनको प्रयोगले वातावरण अत्यन्तै प्रदूषित बनाइरहेको र जनसङ््ख्याको अत्यधिक चाप र अव्यवस्थित बसोबासले त्यहाँका नदी नालाहरू पोखरी तलाउहरू ढलमा परिणत भई अत्यन्तै फोहोर भएका छन् । प्रत्येक सहरहरू मानव बसोबासका लागि अनुपयुक्त भइरहेका छन् । प्लास्टिक र प्लास्टिकबाट बनेका झोलाको अत्यधिक प्रयोगका कारण गाउँ, सहर, खोला र नदीदेखि समुद्रसम्म प्रदूषित बनाएको छ । त्यहाँ हुने जीव र वनस्पति प्लास्टिक र फोहोर ढलका कारण दिनप्रतिदिन लोप हुँदै गइरहेका छन् । यस्तै क्रियाकलापहरूको नियति भन्नुपर्छ अहिले संसारमा विभिन्न रोगको महामारी व्याप्त भइरहेको छ । यसको उदाहरण अहिले संसारलाई दुःख दिइरहेको कोभिड–१९ कोरोना भाइरस पनि हो । यो महामारीको सङ्क्रमणले वर्तमानमा विश्वलाई नै सताइरहेको छ । धेरै मान्छेहरू महामारीकै कारण अनाहकमा मृत्युवरण गर्न पुगेका छन् । यदि अब पनि नचेत्ने हो भने, यस्तै रहिरहने हो भने निकट भविष्यमा संसारका सबै मानिसहरूले अझै भयावह रोग महामारीहरू झेल्नुपर्ने निश्चित छ । खुला आकाशमा प्रकृतिमा निर्धक्कसँग सास फेर्न पनि गाह्रो हुने स्थिति आउनेछ । मानिस–मानिसबीच शारीरिक दूरी राख्नुपर्ने र निर्धक्कसँग भेटघाट कुराकानी गर्न नसक्ने अवस्था आउनेछ । हामीले कल्पनासम्म नगरेको भयावह स्थितिको सामना हामीले गर्नु
पर्नेछ । त्यो भयावह स्थिति आउन नदिन त्यस्तो स्थितिमा पुग्नुअगावै किन हामी वातावरण र प्रकृति जोगाउन प्रयत्न नगर्ने हो पुरै विश्वभरका सबै मानिसहरू प्रकृति र वातावरण संरक्षणको अभियानमा लाग्ने हो भने हाम्रो प्रतिकूल वातावरणलाई पुनः अनुकूल बनाउन पक्कै पनि सकिन्छ ।
मानव प्रकृतिको उत्कृष्ट सृजना एवम् रचना हो । जसमा बुद्धि र विवेक हुन्छ । जसले चाह्यो भने धेरै कुरा गर्नसक्छ वातावरण र प्रकृतिहरू जोगाउन सक्छ । जीव र वनस्पतिको संरक्षण संवद्र्धन गर्नसक्छ । पृथ्वीलाई आफ्नो अनुकूल बनाएर आफू धेरै वर्ष बाँच्न सक्छ र आफ्नो भावी पींडितका लागि स्वच्छ, सफा र हराभरा पृथ्वी सुम्पन सक्छ । वातावरण र प्रकृति जोगाउने कला आफ्ना भावी सन्ततिहरूलाई सिकाउन सक्छ । त्यो कला यस पुस्ताको उच्चतम सुसंस्कृत संस्कार बन्नसक्छ । हाम्रो लागि संसारमा सबभन्दा प्यारो हामीलाई जन्म दिने आमाबाबु र आफ्नो परिवार हो । तर, प्रकृति र वातावरण हाम्रो आमा, बुबा र परिवारभन्दा पनि ठूलो र महत्वपूर्ण छ । किनभने, हाम्रा ती सबै प्रियजनलाई बचाउने प्रकृति र वातावरण नै हो । यदि हामी आफ्ना प्रियजनहरूसँग लामो समयसम्म स्वस्थ भएर जीवन बाँच्ने हो भने उनीहरूलाई बचाउने हो भने पहिला हामी सबै मिलेर वातावरण जोगाउन आवश्यक छ । यसका लागि हामीले बोलेरमात्र हुँदैन । हाम्रो प्रयत्न र प्रयास त्यसैअनुरूप हुनुपर्दछ अर्थात् हामीले वातावरणमैत्री कार्य गर्नु आवश्यक छ । यो कार्य कुनै एउटा व्यक्ति, देशभन्दा पनि पूरै विश्वभरका मानवहरूले मिलेर गर्नुपर्दछ । विगतमा वातावरण बिगार्न वा बिग्रनका लागि जे–जस्तो क्रियाकलाप गर्यो अब त्यो क्रियाकलाप सच्याउन जरुरी छ । अर्थात्, हाम्रा सबै क्रियाकलापहरू वातावरणमैत्री प्रकृतिमैत्री बनाउन जरुरी छ । यसका लागि पुरै विश्वभर निम्न कुराहरू गर्न जरुरी छ ।
१) संसारका सबै देशहरूले पेट्रोल, डिजेलजस्ता इन्धनबाट चल्ने सवारीका साधनहरूलाई क्रमशः विस्थापित गर्दै त्यसको सट्टा साइकल, विद्युत् वा सोलारबाट चल्ने सवारी साधनको प्रयोगमा जोड दिनुपर्दछ । त्यसैअनुरूप पूर्वाधारहरूको विकास गर्दै लैजानुपर्दछ ।
२) विकसित ठूला औद्योगिक शक्तिशाली राष्ट्रहरूले वातावरण प्रतिकूल हुने गरी उत्सर्जन गर्ने औद्योगिक प्रदूषण कार्बनहरूलाई प्रदूषण मापदण्डअनुरुप गर्न लगाउनुपर्दछ ।
३) प्लास्टिक र प्लास्टिकबाट बनेका झोला र त्यसबाट बनेका अन्य वस्तुहरूको प्रयोगलाई पूरै रोक लगाउनुपर्दछ र यसको विकल्प सोच्नुपर्दछ ।
४) मानिसहरूको बस्ती र बसोबास व्यवस्थित गर्नुपर्दछ । वैज्ञानिक तरिकाले त्यस ठाउँको वातावरण र त्यसको क्षमताअनुसारको बसोबास प्रबन्ध मिलाउनुपर्दछ ।
५) जमिनको सतहबाट जथाभावी तरिकाले ट्युवेल, इनार र बोरिङ गरेर पानी निकाल्ने प्रचलनलाई निषेध गरिनुपर्दछ ।
६) वातावरण जोगाउन र खानेपानीको स्रोतहरू बढाउनका निमित्त भएका वनजङ्गलहरू जोगाउने र पर्याप्त मात्रामा रूखहरूको वृक्षरोपण गर्नुपर्दछ ।
७) कृषकहरूले कृषि उत्पादन गर्दा अनावश्यकरूपमा वातावरण नै दूषित र विषाक्त बनाउने कीटनाशक औषधि प्रयोग नगरी प्राङ्गारिक मलको प्रयोग गरेर माटोलाई मलिलो बनाएर कृषि उत्पादनमा जोड दिनुपर्दछ ।
८) स्कूल तहबाट नै अनिवार्य भूगोल र वातावरण संरक्षणसम्बन्धी जनचेतना दिने पाठ्यक्रम तयार गरी पठनपाठन गराउनुपर्दछ ।
यी माथिका बुँदाहरूमा विश्वका सबै देशहरूले दीर्घकालीन योजना बनाई अविलम्ब कार्यान्वयन गर्न आवश्यक छ । वातावरण स्वच्छ रहे मानव जीवन सम्भव छ । मानव सभ्यताको उत्तरोत्तर विकास सम्भव छ । यसरी पूरै विश्व वातावरण संरक्षणका लागि जुट्ने हो भने पक्कै पनि यो धर्ती पुनः अझै स्वच्छ, सफा र सुन्दर हुनेछ । हामीले विश्व वातावरण दिवस वर्षमा एकदिन मनाउँदछौँ । यो दिवस एक दिन हैन पूरै ३६५ दिन नै मनाउन जरुरी देखिएको छ । विश्वमा भएका हामी सबै मानवको लागि यो एउटा महान् अवसर पनि हो । वातावरण जोगाउने अभियानमार्फत पूरै विश्वभर रहेका हामी मानवहरू एकत्रित हुने एक देशदेखि अर्को देशबीच भाइचारा सम्बन्ध बढाउने र पूरै विश्व एकै रेखामा उभिनेछ । अब यस अभियानका लागि जुटौँ । फेरि धेरै ढिला भएर विश्वले नै पश्चाताप गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *