९९ चोक क्षेत्रको पर्यटक शौचालय पुनः निर्माणबारे
- असार १९, २०८३
‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक आयोजक समितिको सहर्ष आमन्त्रणमा सहभागी सबैमा स्वागत गर्दै मजदुर, किसान, विद्यार्थी, युवा, महिला, शिक्षक, लेखक, कवि, कथाकार, समालोचक, संवाददाता, अनुवादक, फोटो पत्रकार, व्यङ्ग्य चित्रकार, बुद्धिजीवी, व्यापारी, कर्मचारी, व्यवसायी, पाठक, ग्राहक, विज्ञापनदाता, सहयोगी तथा शुभचिन्तकहरूको हामी स्मरण गर्न चाहन्छौँ ।
समाजवादी चिन्तन, समाजवादी विचार र समाजवादी बन्दोबस्तले मात्र श्रमजीवी वर्गको हित गर्छ भन्ने मूल्य र मान्यताका साथ जनतालाई राजनैतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित पारेर शोषणरहित समाज स्थापना गर्ने उद्देश्यका साथ प्रकाशित ‘श्रमिक’ २८ औँ, ‘मजदुर’ २३ औँ र अनलाइन मजदुर पाँचौँ वर्षमा प्रवेश गरिसकेको छ ।
कम्युनिस्टको सिद्धान्त र विचार तथा देशभक्तिको भावना जनताको घर–आँगनमा पु¥याएर बहुमत जनताको पक्षमा आवाज उठाउने देश र जनताप्रति समर्पित विचारप्रधान ‘श्रमिक’ र ‘मजदुर’ आस्थाको पत्रिका हो । कम्युनिस्ट आन्दोलनमा देखिएको खोटो विचार, कम्युनिस्ट पार्टी र आन्दोलनमा पु¥याइरहेको भ्रम र झूटको खेतीबारे उदाङ्ग्याउने पत्रिका हो । आर्थिक सहयोग र विकासको प्रलोभन देखाएर सरकार र सत्तारुढ दललाई साम्राज्यवाद र विस्तारवादको चङ्गुलमा फसाउने षड्यन्त्र र चलखेलको खबरदारी र विरोध गर्ने पत्रिका हो । देशको स्वाधीनता, सार्वभौमिकता र देशभक्तिपूर्ण आन्दोलनको भावना जगाउने, जनतालाई सुसूचित पार्ने श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पत्रिका हो । अन्तर्राष्ट्रिय मजदुर, किसान, आदिवासी, उत्पीडित जनताको आन्दोलन र सङ्घर्षको लेख र समाचार प्रकाशन गर्ने अन्तर्राष्ट्रवादी पत्रिका हो । यो सबैभन्दा बढी दिन निस्किने पत्रिका हो ।
पत्रिका जनतामाझ पुग्नु सिद्धान्त र विचार पुग्नु हो । पत्रिकामा प्रकाशित सैद्धान्तिक र वैचारिक ज्ञानको आधारमा कार्यकर्ता परिचालन हुन्छ, सङ्गठन गरिन्छ, जनताको सैद्धान्तिक र वैचारिक स्तर उठाइन्छ, पुस्तक प्रदर्शनी, अन्तरक्रिया, गोष्ठी र भेला हुन्छ । यो वर्ष ‘श्रमिक’ र ‘मजदुर’ को अन्तरक्रिया धेरै पटक भयो । यसले पत्रिका पढ्ने बानीको विकास गर्यो । यो सकारात्मक पक्ष हो । पत्रिकाले अप्रत्यक्षरूपमा सङ्गठनकर्ताको काम गरिरहेको हुन्छ । यही कारण नेमकिपाले पत्रिका र किताब प्रकाशनमा जोड दिइरहेको सबैसामु छर्लङ्गै छ । पत्रिका र किताब प्रकाशनमा निरन्तरता दिने, जोड दिने, घच्घच्याउने दूरदर्शी राजनीतिज्ञ, राजनीतिक विश्लेषक, समालोचक, माक्र्सवादी साहित्यकार, जनप्रिय एवम् अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेता नारायणमान बिजुक्छेँ (रोहित) को पार्टी स्थापना दिवस, ‘श्रमिक’ र ‘मजदुर’ नयाँ वर्षमा प्रवेश गरेको अवसरमा स्मरण गर्नु समीचीन हुनेछ ।
नेमकिपाका अध्यक्ष रोहितको प्रवास, जेल, अर्ध–भूमिगत जीवनमा पनि पत्रिका र किताब प्रकाशन भइरहेको हामीमा अवगतै छ । विश्वका कम्युनिस्ट, प्रगतिशील र वामपन्थी आन्दोलनको अध्ययन गर्ने, राजनीतिक विश्लेषण र समीक्षा गरी मार्ग निर्देश गर्ने, पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद, विस्तारवादको हैकम, दमन, दबाब, हस्तक्षेप र अतिक्रमणको विरोध गर्ने अध्यक्ष रोहितकै सक्रियता र अगुवाइमा ‘लालझन्डा’, ‘आह्वान’, ‘मजदुर–किसान’, ‘नेपाल–तराई’, ‘समाचार संसद’, ‘आधार’, ‘ध्रुवतारा’, ‘साकार’, ‘प्रतिध्वनि’ आदि पत्रिका प्रकाशन भएको हो । यसकै सिलसिलामा ‘श्रमिक’ साप्ताहिक नेमकिपाको २० औँ स्थापना दिवस र ‘मजदुर’ दैनिक २५ औँ स्थापना दिवसको अवसरमा प्रकाशित भएको थियो । २०३१ माघ १० गते स्थापना भएको नेमकिपा अहिले ४७ औँ वर्षमा प्रवेश भएको छ ।
नेमकिपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा हो । यही मार्ग निर्देशक सिद्धान्तको आधारमा जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गर्ने नेमकिपाको लक्ष्य हो । लक्ष्य प्राप्त गर्न नेमकिपा समाजवादी प्रचार अभियानमा छ । समाजवादी प्रचार अभियानले जनतालाई सिद्धान्तनिष्ठ र सङ्गठित बनाउँछ । यसले आमूल परिवर्तनको निम्ति सहयोग गर्छ । नेमकिपा कम्युनिस्ट पार्टी भएकैले कम्युनिस्टको सिद्धान्त र विचार, कम्युनिस्ट देशको संविधान जनतामाझ पु¥याएर सुसूचित पार्न समाजवादी गणतन्त्र क्युवाको संविधान, सोभियत सङ्घको संविधान, प्रजातान्त्रिक गणतन्त्र कोरियाको संविधान र गणतन्त्र चीनको संविधान प्रकाशनमा ल्याइएको हो । चीन, भारत, क्युवा, प्रजग कोरिया, बोलिभिया, अमेरिका जर्मनी, रुस आदि देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय नेता, राजनीतिज्ञ र पत्रकारहरूको जीवनी, लेखसम्बन्धी किताब प्रकाशनमा ल्याइएको हो । यिनै प्रकाशनका सामग्री पनि ‘श्रमिक’ र ‘मजदुर’ मा छापिरहेको छ ।
‘श्रमिक’ पत्रिका क्युवा, दक्षिण कोरिया, चीन, भारत, पाकिस्तान, रुस, इटाली, जर्मनी, बेलायत, बङ्गलादेश, भुटान, प्रजग कोरियाली दूतावासमा पुगिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी, कोरियाली मजदुर पार्टी, बेलायत कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी, थाइल्यान्ड कम्युनिस्ट पार्टी, जर्मनी सेन्ट्रल कमिटी, कोरियन सोसल डेमोक्रेटिक पार्टीलगायत पार्टीमा पनि यो पत्रिका पुगिरहेको छ । मन्थली रिभ्यु न्युयोर्क, ग्रान्मा इन्टरनेसनल क्युवा, न्यु वर्कर पत्रिकामा पनि पुगिरहेको छ । ‘श्रमिक’ र ‘मजदुर’ मा नर्थस्टार कम्पास क्यानडा, चाइना रेडियो इन्टरनेसनल, मन्थली रिभ्यु (यूएसए), ग्रान्मा इन्टरनेसनल क्युवा, मिलिटेन्ट न्युयोर्क, मर्निङ्ग स्टार लन्डन, कम्युनिस्ट रिभ्यु लन्डन र द न्यु वर्कर लन्डनलगायत अन्य पत्रिकाका राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखबारे अनुवाद भइरहेको छ ।
बन्दाबन्दीबीच ‘श्रमिक’ र ‘मजदुर’
विश्वव्यापीरूपमा फैलिएको कोरोनाको कारण नेपालमा बन्दाबन्दी भएपछि ‘श्रमिक’ र ‘मजदुर’ बाहिरी जिल्ला र विदेशमा पनि बन्द भयो । भक्तपुरमा चालु रह्यो । हाल गाडीमार्फत चितवन, रुपन्देही, बाँके, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला, हेटौडा, काठमाडौँ, ललितपुर र हुलाकमार्फत बर्दिया, सर्लाही, झापा, हुम्ला, सोलुखुम्बु, सिराहा, धनुषा, दोलखा, सल्यान, गोरखा, कास्की, पाल्पा, पर्वत, म्यादी, जाजरकोट, दाङ, मुगु, सप्तरी, स्याङजा, लमजुङ गइरहेको छ । अन्य जिल्लामा पठाउने प्रयास भइरहेको छ । प्लेन बन्द भएको कारण बारा, पर्सा, रौतहट र कैलालीमा पत्रिका पुगिरहेको छैन । तर, हुलाकमार्फत जिप्रका र जिल्ला समन्वय समितिमा सबै जिल्लामा पुगिरहेको छ ।
कोरोना भाइरसको कारण नेपाली सञ्चार क्षेत्र पनि प्रभावित भयो । बन्दाबन्दीको बेला अधिकांश पत्रपत्रिकाको प्रकाशन नै बन्द भयो । पत्रपत्रिका र छापाखाना बन्द भएकाले काम गर्ने कामदार, कर्मचारी, पत्रकार, पत्रिका वितरक, स्टेसनरी, खुद्रा तथा होलसेलर प्रभावित भए । पत्रिका बन्द भएको कारण कति सञ्चारकर्मीहरू निकालिए, पत्रिका वितरकहरूलाई बिदा दिए । दसौँ वर्षदेखि करोडौँ नाफा खाने पत्रिका सञ्चालकहरूले पारिश्रमिक नदिएपछि पत्रिकामा कार्यरत कामदार, सञ्चारकर्मी, कर्मचारीको जोहो गर्न धौ धौ भयो । प्रमुख आयस्रोतको रूपमा रहेको विज्ञापन झन्डै शून्य भयो । गाडी चलेको थिएन, उद्योग, पसल बन्द थियो । ‘श्रमिक’ र ‘मजदुर’ छाप्न चाहिने कागजको झन्डै समस्या हुन थालेको थियो । पत्रिका निकाल्न चाहिने उपकरणको समस्या देखियो । तर, दसैँ र तिहारमा मात्र होइन कारोनाको सङ्क्रमण कालमा पनि ‘श्रमिक’ र ‘मजदुर’ बन्द भएन । तीन चार महिनापछि विज्ञापन आउन थालेकोले पारिश्रमिकको समस्या भएन । कामको सिलसिलामा पत्रिकामा कार्यरत जिम्मेवार साथीहरू कोरोनाबाट सङ्क्रमित भए । सङ्क्रमित साथीहरू आइसोलेसनमा बसे । कर्मचारीहरूको आलोपालो व्यवस्था भयो । पत्रिका निरन्तर चलिरह्यो । कागज (पत्रिका) बाट पनि कोरोना सर्छ भन्ने चर्चा भयो । कतिले पत्रिका हेर्नैैै छोडे, कतिले ग्राहकै छोडे । लामो समयसम्मको बन्दले पत्रिका छाप्नको लागि नभइनहुने कागज र उपकरणहरू भण्डारण गर्नुपर्ने शिक्षा दियो ।
कोरोना कहरले गतिविधि शून्य भयो । समाचार पनि अभाव भयो । पत्रिका पनि कोरोनामय भयो या कोरोनै कोरोनाको समाचारजस्तै बन्यो । कोरोनाले मानिसमा चिन्ता बढ्यो । रुघा लाग्यो कि, हाँछ्यु आयो कि, ज्वरो आयो कि मानिसहरूले पक्का कोरोनाले छोयो भन्न थाले । कामको सिलसिलामा आवतजावत गर्दा प्रहरी चेकजाँच भयो । ‘लकडाउन थाहा छैन ?’ भनी सुरक्षाकर्मीको बात सुन्नुपर्यो । पत्रिका बेच्न जाने भए साँझ घर नफर्कनु भन्ने सुनियो । काम गर्दा कोरोना लागेर केही भयो भन्ने को जिम्मेवार भन्ने प्रश्न पनि उठ्यो । कार्यालयमा काम गर्दा एकले अर्कोलाई शङ्काले हेर्थे, हेर्ने नजर नै फरक हुन्थ्यो । साथीभाइ भेट्दा टाढाबाटै नमस्कार गर्नुपथ्र्यो । कोरोनाको शङ्का लागेर स्वास्थ्य परीक्षण गराएपछि रिपोर्ट नआएसम्म चिन्ता हुन्थ्यो । चिन्तै चिन्ताले तनाब बढ्थ्यो, रक्तचाप बढ्थ्यो, रिपोर्ट नेगेटिभ आएपछि आधा सङ्ग्राम जितेजस्तै हाइसञ्चो ठान्थे । पोजिटिभ आएपछि कोरोनाबाट कहिले मुक्त होला भन्ने थप चिन्ता हुन्थ्यो । यसरी जोखिमको बेला सञ्चार क्षेत्र ‘श्रमिक’ र ‘मजदुर’ दैनिकमा काम गर्ने, सहयोग गर्ने सबै बन्धु तथा सहयोगीहरूको स्मरण गर्नु जाती नै हुन्छ । विपद्को बेला औषधि, पानी, खाद्यान्न आवश्यक भएझैँ त्यससम्बन्धी सूचना र जानकारी दिन पत्रिकाको आवश्यकता झन् महसुस भयो ।
कोरोना सङ्क्रमण भइरहेको बेला पशुपतिनाथको देश भएकोले कोरोनाले कसैलाई नछुने प्रचार भयो । नेपालीसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्ने हल्ला भयो । कोरोना नेपालसम्म प्रवेश गर्दा, कोरोनाको क्षमतामा ह्रास भई रोग नलाग्ने या नसर्ने कुरो चल्यो । तीतो, पिरोे, अदुवा, बेसार पानी खाएपछि रोगले छुँदैन भनी कत्ति ढुक्क भए । कति युवाहरूले जाँड रक्सी खानेलाई रोगले छुँदैन भनी हेक्का राखे र त्यस्तै अरू के के प्रचार भए । तर, पनि नेपालमा कोरोनाबाट लाखौँ व्यक्ति सङ्क्रमित भए, हजारौँ मृत्यु भए । अहिले पनि कोरोनाको कहर सकिएको छैन । यी सबै देखेका, भोगेका, सुनेका र पढेका तस्वीरहरू हुन् ।
अश्लील सामग्रीहरूको प्रकाशन र प्रसारणले स्वस्थ र आदर्शोन्मुख समाज बन्दैन भन्ने पत्रिकाको अडान र मान्यता हो । नाङ्गो तस्वीर र अश्लील समाचार छापेर युवा वा नयाँ पुस्ताको मन बिगार्ने र मन्दविष छर्ने काम ‘श्रमिक’ र‘मजदुर’ ले गरेका छैनन् । मद्यपान र धूमपानको विज्ञापन सुरुदेखि अहिलेसम्म निषेध गरिएको छ ।
जनतासँग सम्पर्क गर्ने, जनताको कुरा जनतामाझ पु¥याउने, जनताको पिर मर्का पोख्ने, गलत काम र गलत नीतिको खबरदारी गर्ने यी पत्रिकाको कमी कमजोरी औँल्याएर सुधार्नुपर्ने सुझाव हामीले बेलाबखत पाइरहेका छौँ । पत्रिका रङ्गीन बनाउने, पत्रिकाको साइज या आकार ठूलो बनाउने, साजसज्जाको आकर्षण बढाउने, भाषा सम्पादनमा ख्याल गर्नुपर्ने, समयमै पत्रिका पु¥याउने सुझावहरू पनि आइरहेको छ । यसरी पत्रिकालाई अझ व्यवस्थित गर्न घच्घच्याउने, सल्लाह–सुझाव दिने सबैमा धन्यवाद दिँदै फेरि एकचोटि सम्बन्धित सबैको सहयोगको सम्मान र कदर गर्दै अतिथिगण तथा अन्य सबैमा हार्दिक स्वागत गर्छु ।
(‘श्रमिक’ साप्ताहिकको २८ औँ, ‘मजदुर’ दैनिकको २३ औँ र ‘अनलाइन मजदुर’को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा व्यक्त मन्तव्य)
Leave a Reply