भर्खरै :

चीनबाट ३ लाख थान कोभिडको खोप आउँदै

काठमाडौँ, १८ माघ । छिमेकी देश जनवादी गणतन्त्र चीनले नेपाललाई ३ लाख थान कोभिड–१९ को खोप उपलब्ध गराउने भएको छ । आइतबार नेपाली सञ्चारमाध्यमका प्रतिनिधिहरूको प्रश्नको जवाफमा नेपालको लागि जनवादी गणतन्त्र चीनको दूतावासले नेपाल सरकारको आग्रहमा चीन सरकारले तीन लाख थान खोप अनुदानमा उपलब्ध गराउन लागेको बताएको हो । चीनबाट उपलब्ध खोपले १ लाख ५० हजार नेपालीहरूलाई खोप दिन सकिने छ ।
दूतावासले भनेको छ, “चीन र नेपाल असल छिमेकी, असल मित्र र असल साझेदार हुन् । भूकम्प होस् वा महामारी जस्तोसुकै चुनौतीको सामना गर्दै दुई देशले हरेक घाम–पानीमा एक–अर्कालाई समर्थन र सहयोग गर्दै आएको छ । राष्ट्रपति सी चिनफिङको दृढ प्रतिबद्धता पूरा गर्न कोभिड – १९ विरोधी खोपलाई चीनले सार्वजनिक वस्तुको रूपमा उपलब्ध गराउनेछ ।”
चीनभित्रै र संसारभरबाट चीनमा बनेको खोपको माग अत्यधिक भएको भन्दै यस्तो अवस्थामा चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्नुले चीन–नेपालको मित्रताको उच्च महत्वलाई उजागर गरेको दूतावासले बताएको छ ।
चीन सरकारको स्वामित्वमा रहेको साइनोफार्मले विकास गरेको खोप नेपालमा दिइन लागेको हो । आइतबारसम्ममा सो खोपको २ करोड ४० लाखभन्दा बढी थान प्रयोग भइसकेको बताइएको छ । दुई मात्रामा लगाइने यो खोपले कोभिड – १९ को प्रतिरोध गर्न ७९.३४ प्रतिशत प्रभावकारिता देखाएको छ । त्यस्तै कोभिड – १९ को प्रतिरोधी तत्व (एन्टीबडी) लाई निष्प्रभावी बनाउने बदलाव दर (सेरो कन्भर्जन रेट) ९९.५२ प्रतिशत रहेको बताइएको छ । सो खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य सङ्गठनको बजार मापदण्डअनुसार रहेको छ । चीनको सो खोप संसारका विभिन्न देशले प्रयोग गरिरहेका छन् । पाकिस्तान, यूएई, इजिप्ट, हङ्गेरीलगायत १३ वटा देशले सो खोप सार्वजनिक र आपत्कालीन प्रयोगको लागि अनुमति दिइसकेका छन् ।
चिनियाँ दूतावासले चीनबाट खोप ल्याउने समन्वय भइरहेको र सकेसम्म चाँडो खोप नेपाल आइपुग्ने बताएको छ ।
“चिनियाँ पक्ष सबैको लागि सामुदायिक स्वास्थ्य बनाउन र विकासको लागि दिगो मित्रताको लागि रणनीतिक साझेदारी प्रवद्र्धन र सबल बनाउन नेपाली पक्षसँग काम गर्न चाहन्छ”, दूतावासले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *