भर्खरै :

सिकर्मीहरूले मनाए नेमकिपा स्थापना दिवस

भक्तपुर, १८ माघ । नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा नेपाल सिकर्मी सङ्घको आयोजनामा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेमकिपा देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्य लिई स्थापना भएको बताउनुभयो ।
उहाँले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई नेपालको परिस्थिति अनुकूल व्यवहारमा कार्यान्वयन गर्न नेमकिपा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको प्रजातन्त्रमा मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुजीपति वर्गको सरकार हुन्छ । नेपाली काङ्ग्रेस भारतीय एकाधिकार पुँजी र नेपालका दलाल पुँजीपति वर्गको पक्षमा राजनीति गर्छ । नेकपा रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने हरियो घाँसभित्र लुकेको सर्प हो ।”
अहिलेको व्यवस्था पुँजीवादी गणतन्त्र भएको र कामदार जनताको हितको लागि समाजवादी गणतन्त्र आवश्यक भएको चर्चा गर्दै सचिव सुवालले सत्तामा गएका ठूला भनिने दलहरूले भ्रष्टाचारी, पुँजीपति, ठेकेदार पोस्ने देशघाती काम गरिरहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले नेमकिपा स्थापनाका आधारहरूबारे जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टको लक्ष्य कामदार वर्गको सेवा गर्ने हो । श्रमजीवी वर्गको हकहित र संरक्षणको लागि नेमकिपा विभिन्न भाषा, धर्म र क्षेत्रका जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरी देशको सार्वभौमिकता रक्षाको लागि सङ्घर्षरत छ ।”
आयोजक समितिका अध्यक्ष बिक्रम ढुकुछूको सभापतित्वमा भएको कार्यक्रममा उपेन्द्र सुवाल, रामसुन्दर सुवाल, पुण्यराम न्हुछेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *