भर्खरै :

म्यान्मारमा सैन्य कूः देशमा एक वर्षको लागि सङ्कटकाल घोषणा

काठमाडौँ, २० माघ । दक्षिणपूर्वी एसियाली देश म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
त्यहाँकी राज्य सल्लाहकार तथा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू ची, राष्ट्रपति, मन्त्रीहरू, केही सांसद तथा सबै प्रदेशका मुख्यमन्त्रीलाई नियन्त्रणमा लिएको केही घण्टापछि सङ्कटकाल घोषणा गरेको हो । सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले बहुमत प्राप्त गरेको थियो । यद्यपि, उक्त निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले निर्वाचन परिणाम स्वीकार गर्न नसकिने बताउँदै आएको थियो । नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलोपटक सोमबार बस्ने योजना थियो । तर, सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो । नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादका बीच सैनिक कूको खबर आएको हो ।
सन् २०११ मा प्रजातान्त्रिक सुधारअघि बर्मा भनेर परिचित म्यान्मारमा त्यहाँको सेनाले शासन गर्दै आएको थियो ।
सडकमा सेनाको उपस्थिति
म्यानमारको राजधानीसहित मुख्य सहरहरुमा सेनाको बाक्लो उपस्थिति रहेको जनाइएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार म्यानमारको राजधानी न्यापितमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । सेनाले सबै प्रान्तमा मुख्यमन्त्रीका घरहरूमा पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् ।
सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिबार त्यहाँको सशस्त्र फौजको सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।
म्यानमारलाई अमेरिकाको चेतावनी
संरा अमेरिकाले म्यानमारको सेनाले हिरासतमा लिइएका सबैलाई रिहा गर्न आग्रह गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन पास्कीले म्यानमारको सेनाले चालेको कदम फिर्ता नलिए कडा कारबाही गर्ने चेतावनी दिएकी छिन् । अमेरिका म्यानमारका जनताको पक्षमा रहेको भन्दै आफूहरूले पछिल्लो स्थितिबारे जानकारी राखिरहेको उनले प्रतिक्रिया दिइन् ।
त्यस्तै, भारतले म्यानमारको पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ । त्यस्तै अस्ट्रेलिया, अमेरिकालगायतले पनि म्यानमार सैनिकको पछिल्लो कदमको आलोचना गरेका छन् । भारतले लोकतान्त्रिक व्यवस्था जारी राख्न आवश्यक रहेको भन्दै म्यानमारको लोकतान्त्रिक बदलावमा भारतले हमेसा समर्थन गरेको जनाएको छ । पछिल्लो घटनाक्रमलाई हेरिरहेको जनाउँदै भारतले म्यानमारको घटना चिन्ताजनक भएको प्रतिक्रिया दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *