भर्खरै :

गफाडी र अवसरवादीहरू पछिको हेर्दैनन्

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल उनीहरूकै अभिव्यक्तिअनुसार कम्युनिस्ट आन्दोलनविरोधी र कम्युनिस्टविरोधी नेता हुन् । एकले अर्कोलाई कम्युनिस्टविरोधी दाबी गरेको हुँदा उनीहरूमा कम्युनिस्ट चरित्र नभएको थप पुष्टि हुन्छ । त्यसो त नेकपा अहिलेमात्र कम्युनिस्ट नभएको होइन । नेकपा साँच्चै समाजवादको पक्षमा छैन । नकपा साँच्चै माक्र्सवादी–लेनिनवादी पार्टी होइन । नेकपा साँच्चै साम्राज्यवाद र विस्तारवादविरोधी पार्टी होइन । नेकपा अवसरवादी र संशोधनवादी पार्टी हो ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दाहाल–नेपाल पक्षधर नेकपाले दलालको दलाल भन्यो, प्रतिगामी भन्यो, प्रतिक्रान्ति भन्यो, कम्युनिस्टविरोधी भन्यो । ओली पक्षधरले पनि दाहाल–नेपाल पक्षधर नेकपालाई भारतीय दलाल भन्यो, विदेशी दलाल भन्यो । यसले उनीहरू शक्तिराष्ट्र देशका नायकहरूको उठबसमा चलिरहेको सङ्केत गर्छ । यसले नेकपाका नेताहरू आफ्नो बुद्धि र विवेकले होइन अरूको भरमा दासी भएर पार्टी र देश चलाइरहेको बताउँछ । अरूको भर या उठबसमा बस्नुको अर्थ नेपाल परनिर्भर हुनु हो । परनिर्भर देशले विकास गर्दैन, गर्न चाहे पनि हुँदैन ।
ओलीले दाहाललाई गफाडी नेता सम्झे र दाहालले ओलीलाई गफाडी नेता ठाने । गफ छाटेर दर्शक हँसाउने, दर्शक तताउने र उचालेर ताली, पाउने नेताहरू साँच्चै गफाडी बने । नेपाल गफाडी नेताहरूको भरमा चलेको छ । गफाडी नेताहरूको भाषण सुनेर जनता सन्तोष हुनुपरेको छ । गफै गफमा भुलेर, गफैमा एकले अर्को नेतालाई उडाएर नेपाली जनता तमासे भएर बस्नुपरेको छ । गफमा भुल्ने गफाडीले के देश हाँक्छ ? ओली गफाडी अनि दाहाल पनि गफाडी । दुवै गफाडी, दुवै अवसरवादी ¤
गफाडी र अवसरवादीहरू पछिको हेर्दैनन् । त्यस्ता नेताहरू दूरदर्शी हुँदैनन् । देश हाँक्ने अदूरदर्शी नेताहरूकै कारण देशमा विकासको मुहान नफुटेको हो । पद, पैसा र भागबन्डामा अल्झिनु देश र जनताको बेवास्ता गर्नु हो । व्यवहारतः नेकपाको विभाजन सिद्धान्त र विचार नमिलेर पक्कै भएको होइन । सिद्धान्त र विचारको आधारमा नेकपा विभाजन भएको हो भने नेकपा र सूर्य चिह्नको किन माया ¤ विगतमा नेकपा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार अनुसार नचले पनि अबका दिनदेखि नयाँ पार्टी खोलेर माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराअनुसार अघि बढ्नुपर्छ । वर्गसङ्घर्षको बाटो लिनुपर्छ । विस्तारवाद र साम्राज्यवादको विरोध गर्नुपर्छ । समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पार्नुपर्छ । अरू देशबाट भइरहेको थिचोमिचो, सीमा अतिक्रमण र दबाबको विरोध गर्नुपर्छ । देशका बहुमत जनताको सेवा या हितमा लाग्नुपर्छ ।
विभाजित दल साँच्चै कम्युनिस्ट पार्टी भएर अघि बढेमा, जनतालाई कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार बुझाएर सङ्गठित गरेमा देशमा समाजवादी व्यवस्था ल्याउन सहयोग पुग्छ । कम्युनिस्टहरूको उद्देश्य देशमा समाजवादी व्यवस्था ल्याउनु हो, समाजवादी व्यवस्था ल्याउन नै कम्युनिस्ट पार्टी स्थापना गरिएको हो । जनताको मत लिन, मत लिएर सरकारको नेतृत्व गर्नमात्रै कम्युनिस्ट पार्टी बनाउने होइन, सरकारको नेतृत्व गर्ने दल नेकपाले गरिरहेको यहीँ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *