भर्खरै :

देश र जनताका शत्रुलाई पराजीत गर्न निर्वाचन

भक्तपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले नेमकिपा स्थापना नभएको भए देश र जनताको विषय उठाउने पार्टी नै नहुने अवस्था देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका पार्टीहरूले देश र जनताको हितमा काम गर्न सकेनन् । कामदार वर्गको हितमा नेमकिपा सङ्घर्षरत छ ।”
नेकपाको विवाद सैद्धान्तिक नभई पद र पैसाको भागबन्डाको लागि भएको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “देश र जनताका शत्रुहरूलाई हटाउने अवसर निर्वाचन पनि हो ।”
उहाँले भन्नुभयो, “नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन, नेपाल–भारत सम्बन्ध र भारत, रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन आदि दस्तावेजको आधारमा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल मजदुर किसान पार्टी स्थापना गर्नुभएको हो ।”
पार्टी सदस्य र समर्थकहरूले पार्टी प्रकाशन अध्ययन र आम्दानीअनुसार पार्टीलाई चन्दा दिनु आफ्नो कर्तव्य भएको सचिव सुवालले बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाले बहुमत कामदार वर्गलाई राजनैतिक र सैद्धान्तिकरूपले सचेत र सङ्गठित पारी वर्गसङ्घर्षद्वारा शासक वर्गमा पु¥याउने उद्देश्यले स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशी शक्तिको आडभरोसामा होइन, नेपाली कामदार वर्गकै आडभरोसामा आन्दोलन गर्नुपर्ने नेमकिपाको विचार हो ।”
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले वर्तमान नेकपा सरकारको कृषि क्षेत्रमा विदेशी पुँजी भित्र्याउने नीतिले कृषिमा पनि विदेशी एकाधिकार कायम हुने भएकोले देश झन् सङ्कटमा पर्नेछ भन्नुभयो ।
किसान सङ्घर्षको जगमा नेमकिपा स्थापना भएको चर्चा गर्दै उहाँले इतिहासबाट सिकेर अगाडि बढ्नुपर्ने र अग्रजहरूको योगदानलाई सधैँ मनन गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सूर्यबहादुर फोजू र नारायणभक्त न्हेम्हाफूकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *