भर्खरै :

क्युवामा सङ्क्रमित बढ्दै, खोप अभियानको तयारी

हवाना, १ फेब्रुअरी । समाजवादी देश क्युवामा गत वर्ष कोभिड–१९ को महामारी फैलिएयता पहिलो पटक कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एकै दिनमा एक हजार नाघेको क्युवाको जनस्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।
आइतबार १ हजार १२ जना नयाँ सङ्क्रमितको सङ्ख्या थपिएसँगै क्युवामा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ६८६ पुगेको र मृतकको सङ्ख्या २१४ पुगेको छ ।
जनवरी महिनामा क्युवाको लागि सबभन्दा खराब महिना बन्यो । जनवरी महिनामा मात्र ६८ जना मानिसको कोभिडको कारण निधन भयो भने १४ हजार ६३० जना थप सङ्क्रमित पुष्टि भएको छ ।
क्युवामा हाल ५ हजार ५५८ जना सक्रिय सङ्क्रमित कोभिड–१९ वार्डमा भर्ना गरिएको छ । तीमध्ये ५० जना सघन उपचार कक्षमा उपचाररत छन् ।
क्युवाको जनस्वास्थ्य मन्त्रालयअन्तर्गत सरसफाइ तथा सरुवा रोग शाखाका राष्ट्रिय निर्देशक फ्रान्सिस्को डुरनले क्युवाली जनतालाई भाइरसको सङ्क्रमणबाट जोगिन सुरक्षा निर्देशिकाको पालना गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।
“भोजभत्तेर, अन्तर्राष्ट्रिय यात्रु र कोभिड–१९ का निर्देशिकाको उल्लङ्घन नै सङ्क्रमण फैलिनुको मूल कारण बनेका छन्”, उनले भने ।
पछिल्लो २४ घण्टाभित्र १८ वर्षभन्दा मुनिका ८५ जना किशोरकिशोरी र बालबालिकालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि स्थानीय निकायले अभिभावकहरूलाई आफ्ना केटाकेटीको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।
क्युवाको राजधानी हवाना नै सङ्क्रमणको केन्द्र बनेको छ । सोमबारबाट त्यहाँ केटाकेटी र किशोरकिशोरीहरूलाई सार्वजनिक स्थलमा निस्कन निषेध गरिएको छ ।
“सरुवा रोगको अवस्था अझ जटिल बन्दै गएको कारण अभिभावकहरूले आफ्ना नानीबाबुको विशेष हेरचाह गर्नुपर्ने भएको छ”, ३८ वर्षकी आमा यस्मिन पेरेजले भनिन्, “भाइरस रोकथामको निम्ति सरकारले निकै प्रयास गरिरहेको छ, हामीले पनि यसमा साथ दिन आवश्यक छ ।”
अघिल्लो साता क्युवामा कोभिड–१९ को कारण पहिलो स्वास्थ्यकर्मी गुमाएको छ । सरकारले फेब्रुअरी ६ बाट अन्तर्राष्ट्रिय यात्रुलाई क्वारेन्टिनमा बस्न अनिवार्य गरेको छ ।
विदेशबाट क्युवा फर्केका क्युवाली नागरिकलाई सरकारकै खर्चमा एकान्तबासमा राख्ने र अन्य देशका यात्रुलाई उनीहरूकै खर्चमा क्वारेन्टिन बस्नुपर्ने नियम सरकारले तर्जुमा गरेको छ ।
हवानासहित छिमेकका अर्टमेसिया र मायाबेक प्रान्तहरूमा आउन र जान बन्द गर्ने घोषणा भएसँगै हाल ३० भन्दा बढी नगरपालिकाहरूले हवाई यातायात सेवा बन्द गरेको छ ।
यसैबीच क्युवाका वैज्ञानिकहरूले विकास गरेको कोभिड–१९ प्रतिरोधी चारवटा खोपमध्येको एउटा अब्दाला खोपको सोमबारबाट दोस्रो चरणको क्लिनिकल प्रयोग थालनी हुने भएको छ । सो परीक्षणमा सान्टियागो डी क्युवाका वयस्क स्वयम्सेवकहरू संलग्न हुनेछन् ।
त्यस्तै क्युवाको औषधि उद्योगका अधिकारीहरूले क्युवाले सोबराना ०२ नामको खोप दस लाख थान उत्पादन गर्न लागेको बताएको छ ।
“ढिलो चाँडो हामीले यो संक्रामक रोगविरुद्ध खोप लिनेछौँ”, एक जना निजी क्षेत्रका व्यापारी योभानी चाभेजले भने, “तर यतिबेला भने हामीले भाइरसबाट जोगिन सावधानी अपनाउनुपर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *