भर्खरै :

‘श्रमिक’ साप्ताहिकको सम्पादकीय अध्ययन गर्दा

(‘श्रमिक’ साप्ताहिकको २८ औँ, ‘मजदुर’ दैनिकको २३ औँ र ‘अनलाइन मजदुर’ को पाँचौँ वार्षिकोत्सव कार्यक्रम (२०७७ माघ १७ शनिबार) मा व्यक्त विचार)
नेपाल मजदुर किसान पार्टीले लिएको सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ्ग विचारधाराबाट जनतालाई सचेत गराई जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य प्राप्तिको एउटा सशक्त माध्यमको रूपमा ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ ले भूमिका निभाइरहेका छन् । देश, विदेशका घटनाहरूमात्र नभई अनेक विषयवस्तुहरूलाई मिहिन ढङ्गले केलाएर हामीले कसरी बुझ्नुपर्छ भन्ने स्पष्ट विचार यी प्रचार माध्यमहरूले दिन्छन् । पार्टी भनेको आफ्नो स्वार्थपूर्ति गर्ने, आफ्ना अपराधहरूलाई लुकाउने वा त्यसको सजायबाट उन्मुक्ति पाउने र जनताको सेवाभन्दा पनि व्यापारको रूपमा फस्टाएको नेपालको परिस्थितिभन्दा बिल्कुलै फरक तरिकाबाट पार्टीलाई चिन्तनको चौतारी, जनतालाई सचेत बनाउने विश्वविद्यालय तथा साँचो अर्थमा काम गरेर खाने मजदुर, किसान र बहुमत कामदार जनताको सेवा गर्न निरन्तर लागिरहेको नेपाल मजदुर किसान पार्टीको विचारलाई जनतामाझ पु¥याउने कार्य पत्रिकाहरूले गरिरहेका छन् । हरेक अङ्कमा राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाहरूको विश्लेषण, विचारप्रधान लेख, पुस्तकको समीक्षा, साहित्य र समाचारहरू सम्मिलित ‘श्रमिक’ साप्ताहिकको कुनै पनि अङ्क छुटाउनु भनेको विश्वविद्यालयको एउटा महत्वपूर्ण कक्षा छुटाउनुभन्दा पनि बढी बेफाइदा हुने देखिन्छ । हप्ताभरि भएका विभिन्न घटनाहरू थाहा पाउनेमात्र नभई ती घटनालाई कसरी बुझ्नुपर्छ र त्यसको असर के हुनसक्छ भन्नेबारेमा बुझ्न ‘श्रमिक’ साप्ताहिकको अध्ययन गर्नैपर्ने हुन्छ । यो पत्रिकाले पार्टी कार्यकर्ताहरूलाई सचेत गराउनुका साथै काम गर्ने तरिका, अब हामीले के गर्नुपर्छ, कुन कुरालाई कसरी बुझ्नुपर्छ र जनतामाझ हामी कसरी प्रस्तुत हुनुपर्छ भन्ने ज्ञान यो पत्रिकाले दिँदै आएको छ । गत वर्ष कोभिड–१९ ले संसारका पत्रपत्रिकाले छाप्ने कार्य रोक्दा पनि ‘श्रमिक’, ‘मजदुर’ ले कुनै पनि अङ्क नछुटाई प्रकाशन गरेबाट यी पत्रिकाहरूको समर्पण र आस्था स्पष्ट हुन्छ । पत्रिका निकाल्न अहोरात्र खट्नुभएका साथीहरूलाई कोभिड–१९ रोगले दुःख दिए पनि पत्रिकाहरू सुचारु रहनुबाट उहाँहरूको आस्था र जनताको सेवा गर्ने भावना उँचो रहेको स्पष्ट हुन्छ । यो अथक मेहेनत गरेर पाठकहरूलाई खुराक प्रदान गर्नुभएकोमा सबै टीमलाई हामीले धन्यवाद दिनैपर्छ ।
पत्रिकाको आधिकारिक धारणाको रूपमा रहेको सम्पादकीयबाट धेरै ज्ञान दिएको छ । गत वर्षका ५२ वटै अङ्कको सम्पादकीय सरसरती अध्ययन गर्दा विभिन्न घटना, समाचार र विचारको समीक्षा गरिएको छ । देशका बेथितिहरूलाई छ्यास्ने, सरकारमा गएका र अन्य दलहरूको खोटपूर्ण सिद्धान्त र विचारको खण्डन तथा देशको सार्वभौमिकता, जनतालाई परेका पिरमर्काको बारेमा सम्पादकीय केन्द्रित भएको पाइन्छ ।
सम्पादकीयका २४ प्रतिशत लेखहरूमा गलत विचार र प्रवृत्तिको खण्डन गरिएको देखिन्छ । देशका विसङ्गतिहरूको चिरफार गर्दै त्यसबाट सचेत हुन र ती विसङ्गतिहरूका समाधानका उपायसहित २० प्रतिशत लेखहरू केन्द्रित रहेको छ । जनता र कार्यकर्ताहरूलाई राजनैतिक शिक्षा दिने हिसाबले लेखिएको सम्पादकीयले १९ प्रतिशत भाग ओगटेको छ भने भारतीय विस्तारवाद र एकाधिकार पुँजीले गरेका अनुचित कार्यहरूको विरोध १४ प्रतिशत सम्पादकीयमा उल्लेख छ । अमेरिकी साम्राज्यवादले नेपाललगायत एसियाली मुलुकमा गरेका अनुचित कार्यहरूको विषयमा १३ प्रतिशत सम्पादकीय लेखले हामीलाई सचेत गराएको छ । चीनविरुद्ध भएका गलत प्रचार तथा चीनले कोभिड–१९ लगायत मानवसमाजको उत्थानमा गरेका विभिन्न कार्यहरूको बारेमा ९ प्रतिशत सम्पादकीय अङ्ककेन्द्रित भएको पाइन्छ । (हेर्नुस् रेखा चित्र १)
सम्पादकीयका प्रत्येक अङ्कमा रहेका विचारहरूको अध्ययनको सार तल प्रस्तुत गरिएको छ ।
अङ्क १. अधिनायकवाद र तानाशाहको फरक–फरक दृष्टि ?
पुँजीवादी वा व्यावसायिक समाचारपत्रहरूले समाजवादी देशका सरकारलाई अधिनायकवादी, तानाशाह र निरङ्कुश भन्नु गलत (पूर्वाग्रह) हो ।
पुँजीवादी देशहरूमा जस्तै समाजवादी देशहरूमा पनि सशस्त्र क्रान्ति पुरानो सत्ताको ठाउँमा नयाँ सरकार बन्ने र प्रतिनिधिसभा, जनकाङ्ग्रेस वा जनप्रतिनिधिमार्फत नै ऐन कानुन बन्छ । यी प्रचारमाध्यमहरूमा पुँजीवादी तथा साम्राज्यवादी शक्तिहरूकै लगानी वा समर्थन हुने भएकोले संरा अमेरिकी ट्रम्प, भारतको मोदी सरकारको अधिनायकवाद र फासीवाद उनीहरू देख्दैनन् ।
मिलेनियम च्यालेन्ज प्रोजेक्टबारे
एमसीसीको कुरामा नेका, एमाले – माओवादी (नेकपा) र राप्रपा (थापा) एकै लाममा छन् । वर्ग र विचारले सबैलाई एकै ठाउँमा पु¥याउँछ भन्ने कुरा यसबाट पुस्टि हुन्छ ।
अङ्क २. नेमकिपा, ‘श्रमिक’, ‘मजदुर’ र ‘अनलाइन’ को गर्व
नेमकिपाले संसारभर भएका साम्राज्यवादी देशहरूले गरेका थिचोमिचो, दमन र शोषणको विरोध गर्दै नेपाली जनताका बाह्य र भित्री शत्रुहरूलाई चिनाउँदै ती शत्रुहरूविरुद्ध सङ्घर्षलाई नेतृत्व दिँदै आएको छ । पञ्चायत, बहुदल र कम्युनिस्ट भन्नेहरूको सरकार आए पनि सञ्चारमाध्यमहरूमा नेमकिपालाई स्वीकृति दिएको छैन । यी सबैको सामना गर्दै ‘श्रमिक’, ‘मजदुर’ र ‘अनलाइन मजदुर’ मार्फत प्रचार गर्दै आएका सक्रिय हातहरू सबै मजदुर, किसान र गरिब परिवारका युवाहरू हुन् ।
अङ्क ३. तकियामुनिका सर्पबाट होसियार!
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले सार्क, बिम्स्टेक, एमसीसी हुँदै नेपाललाई हिन्द प्रशान्त रणनीतिक सैन्य गठबन्धनमा पु¥याउने योजना बनायो । यसमा नेपाल नफस्ला भनेर चीनसँगको सुपुर्दगी सन्धि संरा अमेरिकाको चेतावनीपूर्ण सन्देशका कारण रोकेको हो । यसबाट संरा अमेरिकाको एसियामाथिको गिद्देदृष्टि राखेको पुष्टि हुन्छ ।
नातागोता र व्यक्तिगत स्वार्थ त्यागौँ
शान्ति सेना, प्रमोसन, अनेक क्षेत्रमा अवसरको लागि पैसा खाएर सेनामा भर्ती गराउने प्रवृत्ति र सेनालाई देश विदेशमा भएका क्रान्ति, लडाइँ र साम्राज्यवादी देशहरूको आक्रमणको बारेमा राम्रो शिक्षा नदिँदा स–साना स्वार्थको लागि देशलाई खतरामा पार्न सकिन्छ । यसबारे सचेत नभए देशलाई भविष्यमा खतरा हुनेछ ।
अङ्क ४. सरकारको जिम्मेवारी
देशमा कम्युनिस्ट नाम गरेको भाइ काङ्ग्रेस सरकारमा रहेको कारण विभिन्न खालका आपराधिक, जनताको अहित हुनेखालका कार्यहरू हुँदै गरेको देशमा उहानबाट आएका नेपालीलाई उचित बन्दोबस्त र उपचार गर्छ भन्नेमा विश्वास गर्न सकिँदैन ।
अङ्क ५. दिउँसै आँखा नदेख्ने प्राणीप्रति दया
नेपालका बुद्धिजीवी भनी टोपलेका व्यक्तिहरू बहुमत कामदार जनताको हित छोडेर शोषक, सामन्त, पँुजीवादी र साम्प्रदायिक राजनीतिक दलहरूको पक्षमा अस्पष्ट र भ्रामक कुराहरू लेख्छन् । सीके लालजस्ता कथित बुद्धिजीवीहरू नेमकिपा र का. रोहितबारे सुनेको भरमा पूर्वाग्रही र दूराग्रही भएर लेख्छन् । निश्चय पनि सुन्ने र हेर्ने विषयमा धेरै भिन्नता हुन्छ । दृष्टिकोण फरक भएपछि सम्पूर्ण लेखाइ भिन्न हुनु स्वाभाविक हो ।
नेमकिपालाई धारे हात लगाउनेहरू आफ्नै कुपमण्डुक, सङ्कीर्ण, अन्ध–राष्ट्रवादी, झूटा प्रजातन्त्रवादी र साम्राज्यवादी एवम् उपनिवेशवादी दृष्टिकोण राख्ने ‘उदारवादीहरू’ आजको अर्थमा आक्रामक पुँजीवादी र हस्तक्षेपकारी हुन् ।
अङ्क ६. नेपालमा संरा अमेरिकी हालीमुहाली
एमसीसीको नाममा नेपाललाई हिन्द प्रशान्त रणनीतिमा फसाउँदै एसियालीलाई एसियालीसँगै भिडाउने संरा अमेरिकी साम्राज्यवादको उद्देश्य पूरा गराउन खोज्दै छ । यो हाम्रो मित्र देश अथवा हाम्रो देशसँग कुनै प्रकारको शत्रुता नभएको देशलाई समेत आफ्नो दुश्मन भनी लडाउने योजना हो ।
अङ्क ७. बुझेरमात्र समर्थन वा विरोध गरौँ ।
संरा अमेरिकी पत्रिकाहरूमा काम गरेका र त्यसको लगानी भएका पत्रिकाहरूमा काम गरेका सम्पादकहरूले चीनविरुद्ध विज्ञप्ति निकाल्नु स्वाभाविक हो । तर, आफ्नै देशको भनी के जस्तोसुकै मान्छेको समर्थन गर्ने हो ?
अङ्क ८. शिक्षामन्त्रीलाई लाज…!
आफ्नो विद्यालयले उत्कृष्ट नतिजा ल्याउँछ भनेर विज्ञापन गर्ने होडमा लागेका विद्यालयहरूबाट बालबालिकाहरू प्रताडित छन् ।
बाल मनोविज्ञान र विद्यार्थीको भावनामा चोट पुग्ने व्यवहार शिक्षकहरूबाट हुनुहुन्न भन्नेबारे तालिमको बन्दोबस्त गर्ने काम शिक्षामन्त्रीको हो । विद्यालयहरूकै विषयमा अन्योल हुने शिक्षामन्त्रीलाई विश्वविद्यालयको बारे अन्योल हुनु स्वाभाविक छ ।
अङ्क ९. खोइ सरकार कहाँ छ ?
नागरिकहरू रातमा निदाउँदा पनि राज्यले आफ्नो कर्तव्य पूरा गरिरहन्छ, देशमा निरन्तर सेवा प्रवाह भइरहन्छ । समाजका समाजविरोधी तत्वहरू सदा सक्रिय नै रहन्छन् । शिक्षा, स्वास्थ्यलगायत जनताको दैनिक दिनचर्यामा प्रभाव पार्ने विभिन्न अपराधी तत्वहरूले चलखेल गरिरहँदा पनि नेकपाकै वा मधेसवादी भएकै कारण छुट पाउने हो ? जघन्य अपराध गरेका र कमिसनखोरहरूलाई के सरकारले संरक्षण गर्ने हो ?
अङ्क १०. प्रधानमन्त्री ‘कमेडियनहरूको प्रतिस्पर्धी होइनन्’
वर्तमान प्रम ओलीले पनि उखान–टुक्का र ठट्टा गरेर देश चलाउने हो भने भविष्यमा नेपाल धेरैजना कमेडियन प्रमका दावेदार हुनेछन् । भ्रष्टाचारी, बलात्कारी, देह व्यापारी र कुख्यात अपराधीहरूलाई नै पगरी गुथ्ने हो भने पञ्चायती सरकार र काङ्ग्रेसको सरकारभन्दा यो कसरी भिन्न हुनसक्छ ?
अङ्क ११. कोभिड – १९ को पछाडि सीआईए ?!
आफ्नो वर्चस्व कायम गर्न र नाफाको लागि जस्तोसुकै अपराध गर्ने संरा अमेरिकी साम्राज्यवादी र पुँजीवादी नीति र विभिन्न तथ्यहरूले चीनमा भन्दा पहिले संरा अमेरिकामा यो कोरोना भाइरस देखिएको तथ्यका कारण यो संरा अमेरिकी सैनिक प्रयोगशालामा तयार गरिएको हो भन्नेमा शङ्का गर्नुपर्ने देखिँदैन ।
अङ्क १२. युवा श्रमिकहरू र रेमिट्यान्सको चमत्कार !
नेमकिपाले विरोध गर्दा गर्दै युवाहरूलाई विदेश पठाउने नीति सरकारले लिएका कारण देशका सबै क्षेत्रहरूमा नकारात्मक असर प¥यो । केही सीमित दलालहरूले गरिब जनतालाई घरखेत बेच्न लगाएर विदेशीको दास बनाउन पठाउँदा सीमित ठगहरू करोडपति बने तर देशको अर्थतन्त्र तहसनहसमात्र भएन कोभिड–१९ को समयमा सबैतिरका नेपाली जनताले धेरै दुःख पाए ।
अङ्क १३. २०७७ को नयाँ साललाई स्वागत गरौँ ! हामी आफै इमानदार बनाँैं !
‘राजाले तेल बाँड्दा खास्टोमा भए पनि थाप्नुपर्छ, पछि घरमा आएर निचोर्ने हो’ भन्ने समाज नसुहाउने पुराना उखान त्याग्नुपर्छ, बरु सक्नेले अरूलाई सहयोग गर्नु राम्रो हो । हामीले विदेशमा पुँजी लगानी गर्ने अरबपति र खरबपतिको सिको नगरौँ, हामी जनताले भित्री हृदयदेखि कोरोना भारइरस (कोभिड–१९) को महामारीको दुःखमा देश र जनताको निःस्वार्थरूपले सेवा गरौँ । राजनैतिक कार्यकर्ताहरूले नै यसमा प्रतिबद्धता देखाउनु जरूरी छ ।
अङ्क १४. कुबेरहरूको चिप्लो घसाइमा नफसौँ !
पुँजीपतिहरूको एकमात्र धर्म भनेको नाफा हो । जस्तोसुकै चिल्लो कुरा गरेर देश र जनताकै लागि विभिन्न काम गरेको भने पनि मुख्य उद्देश्य आफू जसरी भए पनि धनी बन्ने हो । देशको ढुकुटी सकेसम्म बढी दोहन गरेर आफ्नो धन आर्जन गर्ने बाटोमा अड्चन हुनेबित्तिकै विदेश पलायन भएर पुनः देशलाई नै खराब गर्ने भएकोले देशमा सबै बन्दोबस्त सरकारले नै गर्ने व्यवस्था भएमा जनताले महामारीजस्ता अप्ठ्यारा परिस्थितिबाट मुक्ति पाउने छन् ।
अङ्क १५. शत्रु र मित्र जातले होइन वर्गले छुट्याऔँ !!!
वर्ग भनेको जात होइन । एउटै जातका मानिस पनि धनी र गरीब हुन्छन् र ठग्ने गर्दछन् । मानिसले गर्ने आम्दानी र खर्च र त्यसको स्रोत अनि प्रवृतिले वर्ग छुट्याउँछ । जातकै आधारमा शोषक र शोषितलाई एउटै हो भन्नु गलत हुन्छ ।
अङ्क १६. कोरोना, क्रान्ति र अत्याचारीको टाटपल्टाइ
कोरोना भाइरस (कोभिड–१९) का कारण चर्च, मस्जिद र मन्दिरजस्ता ठाउँहरू खाली गरिए । यसले अन्धविश्वासको पराजय र मानिसको चिन्ता, चिन्तन एवं विवेकको विजय देखियो ।
नयाँ नयाँ जागरणले संसारमा हरेक पुरानो विचारले हार व्यहोर्ने समाजको नियम हो । संसारका कुनै पनि बहुमत जनताविरोधी अत्याचारी व्यवस्थालाई अणुबम, तारा युद्ध वा जीवाणु युद्धले जोगाउन सक्नेछैनन्, भित्ताका पात्रोहरू फेरिएजस्तै अत्याचारी व्यवस्थाका युगका पात्रहरू पनि तासका घरहरूजस्तै पल्ँिटदै जानेछन् ।
अङ्क १७. सत्ताको लुछाचुँडी ‘धुवाँको पर्दा’ ?
लिपुलेकसम्म भारतीय सडक खन्दा र नेपाली भू–भाग अतिक्रमण गर्दा पनि नेपाल सरकारको तर्फबाट विज्ञप्ति र प्रतिक्रिया दिने शासक दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्डको ‘दुःख प्रकट’ पूर्णरूपले ‘आत्मसमर्पणवादी’ र ‘निरीह’ अभिव्यक्ति हो । सार्वभौमसत्ता दान दिने भिक्षा होइन ‘भित्री वा बाहिरी कुनै पनि शक्तिसँग झुक्नु नपर्ने स्थिति’ हो ।
प्रधानमन्त्रीको लागि लुछाचुँडी वास्तवमा भारतले नेपाली भूमिमा बनाएको सडकलाई छोप्नको निम्ति रचिएको ‘धुवाँको पर्दा वा छल’ हो, जो निन्दनीय छ ।
अङ्क १८. सबैले आ–आफ्नो कर्तव्य पालन गरौँ !
सीमा अतिक्रमणबारे जनताले समय सचेत गराएको वा आफ्नो प्राणसमेत दिएर रक्षा गर्दा पनि देशका कर्मचारी, प्रशासनमात्र नभई सरकार र ठूला दलका नेताहरू चुप बस्दा देशको सार्वभौमिकता खतरामा परेको हो ।
हाम्रो कुरा भारतले नसुनेमा छिमेकी सङ्गठन सार्क, अन्य छिमेकी र संयुक्त राष्ट्र सङ्घमा गुहार माग्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरू प्रयोग गर्ने हो । जिम्मेवार व्यक्तिहरूले सोचेर बोल्नु उपयुक्त हुन्छ !
अङ्क १९. भारतीय प्रचारमाध्यमको स्याल हुइयाँ
भारतको दक्षिणपन्थी प्रचारमाध्यममध्ये केहीले भारत नेपालभन्दा २२ गुणा ठूलो छ, सैनिक, आर्थिक र जनसङ्ख्याको हिसाबले धेरै शक्तिशाली छ भनी प्रचार गरे । भारतीय मित्रहरूलाई थाहै होला, बेलायती साम्राज्यवादले २ सय वर्ष भारतमा राज ग¥यो । तर, बेलायत भारतभन्दा क्षेत्रफल र जनसङ्ख्यामा सानै थियो ।
इतिहासको नियम आफ्नै छ – अमेरिकी साम्राज्यवादलाई भियतनामी जनताले झुकाइ छाडे, त्यस्तै अफगानी जनताले सोभियत सङ्घलाई । यसकारण, न्यायपूर्ण लडाइँ र अन्यायपूर्ण लडाइँबीचको चरित्र फरक हुनु स्वाभाविक छ ।
भारतीय प्रचारमाध्यम वा पत्रकारिता अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादबाट जोगिनु आवश्यक छ ।
अङ्क २०. बजेटले सोच्नुपर्ने विषय
कोभिड–१९का कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दारका लागि यस्तो बेला बजेटले सीमा नाकाहरूमा अस्पताल नपुग भए अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीहरूको बन्दोबस्त गर्न बजेट बढाउनुपर्ने हो, अहिलेको तयारी सन्तोषजनक छैन । उनीहरूलाई म्यानपावर कम्पनीहरूले फिर्ता ल्याउनुपर्नेमा मजदुर सबैलाई सरकारले नै ल्याउँदा ‘चोरलाई चौतारी’ हुँदै छ ।
यस्तो स्थितिमा बाहिरबाट आएका युवाहरूलाई आ–आफ्नो प्रदेश र स्थानीय निकायमार्फत रोजगारी दिलाइनुपर्दछ ।
अङ्क २१. संसारमा सबै जातीय विभेदको विरोध गरौँ !
सबभन्दा ‘उँचो प्रजातन्त्र’ भएको देश संरा अमेरिकामा जर्ज फ्लोयडको हत्याको विरोधमा विस्फोट भएको आन्दोलन दोस्रो हप्तामा प्रवेश ग¥यो, आन्दोलन दबाउन ४० भन्दा बढी सहरमा कफ्र्यु लगाइयो र १५ राज्यमा सेना परिचालन गरियो ।
‘सपनाको देश’, अमेरिकाको स्थिति यस्तो छ –
संरा अमेरिकामा अश्वेत बालकको औसत जीवनकाल बङ्गलादेश वा भारतमा जन्मिने बालकको भन्दा छोटो छ । एक अश्वेत अभिभावकको शिशु बालककालमै मर्ने सम्भावना श्वेत शिशुको भन्दा दुई गुणा बढी छ । गर्भवती समयमा अश्वेत महिला मर्ने सम्भावना श्वेत महिलाको भन्दा साढे दुई गुणा बढी छ । संरा अमेरिकाका विभिन्न कालखण्डमा अश्वेत जनताले अनेक ऐतिहासिक सङ्घर्षमा रगत बगाए तथा उत्पादन एवम् विकासमा पनि पसिना बगाए । तर, आज अश्वेत समुदायको बस्तीका सार्वजनिक विद्यालयमा पर्याप्त लगानी हुँदैन । अश्वेतहरूको स्वास्थ्यमा हानी पु¥याउँदा उनीहरू अल्पायुमै मर्छन् । अश्वेतहरूलाई सरकारी तथा निजी सेवाबाट वञ्चित गरिन्छ । अश्वेतहरू ठूलो सङ्ख्यामा काराबासमा हुनुका साथै उनीहरूप्रति अत्यधिक प्रहरी दमन, यातना र अन्य रङ्गभेदी व्यवहार हुन्छ । श्वेत समकक्षीको तुलनामा अश्वेतहरूको कोभिड–१९ को परीक्षण हुने सम्भावना कम छ
अङ्क २२. संसारमा परिवर्तन आउँदै छ
संरा अमेरिकामा अश्वेतहरूविरुद्ध भएका अत्याचार र हत्याका श्रृङ्खलाहरूका कारण परिवर्तनका लागि आन्दोलन हुँदै जाने सङ्केतहरू देखिएका छन् । बारम्बार र निरन्तर हुँदै जाने परिवर्तनले क्रान्तिलाई टेवा दिँदै जाने हो । विश्वमा भइरहेका परिवर्तन, स्रोत तथा पर्यावरणीय ¥हासका कारण पँुजीवाद, साम्राज्यवाद र सैन्यवादजस्ता पुराना व्यवस्थाहरूले धेरै समयसम्म आफ्नो प्रभुत्व जमाउन सक्दैनन् । आगामी दशक संरा अमेरिकालाई देशभित्र र बाहिर दुवैतिर चुनौती छ ।
अङ्क २३. प्रधानमन्त्री मोदी प्रश्नको घेरामा
भारत र चीनबीचको सीमा विवाद तथा सीमामा भएका स–साना भिडन्तबारे भाजपाको प्रचारमाध्यमले गरेका प्रचार–युद्धको भाषा, प्रस्तुति सुन्दा र हेर्दा भारतले भारतीय सभ्यता र उच्चस्तरीय चिन्तन प्रणालीको प्रतिनिधित्व गर्न नसकेको प्रस्ट हुन्छ । बेलायती साम्राज्यवादले छरेको झगडाको बीउकै पछि लागेर सबै छिमेकीहरूसँग झगडा गर्नु कुन बुद्धिमानी हो ?
बाँकी भोलिको अङ्कमा
अङ्क २४. भारत – अमेरिकी हस्तक्षेपको विरोध गरौँ !
१९६२ को ‘भारत–चीन सीमा विवादको अन्तर्य, भारत – चीन सीमा भिडन्त’ र बेलायती लेखक नेभिल म्याक्सवेलको ‘भारतको चीन युद्ध’ को अध्ययन गर्दा वर्तमान भारतको दक्षिणपन्थी भाजपाको मोदी सरकारको नियत र उद्देश्य थाहा पाएपछि छर्लङ्ग हुन्छ ।
ट्रम्प प्रशासनको उक्साइबाट सृजित भाजपाको अन्धराष्ट्रवादी भावनाका कारण भएको गलवन घटनाले भारत र चीनको मात्रै होइन एसियाकै जनतामा असमझदारी फैलाउनेछ ।
अङ्क २५. भारतको दक्षिणपन्थी सञ्चारमाध्यमबाट नेपाली जनता सचेत हुन जरुरी
संरा अमेरिकी ट्रम्प प्रशासन र भारतको मोदी सरकारले विश्व शान्तिमा खलल पु¥याउने खालका सैन्य शक्तिको घमण्ड, अन्य देशप्रति घृणा र गरिब एवं अन्य महादेशका जनताप्रति द्वेषको भावनाले हिटलरको नाजीवाद, मुसोलिनीको फासीवाद र जापानको सैन्यवादले संसारका जनतालाई दिएको दुःखको स्मरण गराउँछ । यही कुरालाई भारतको दक्षिणपन्थी, उग्रराष्ट्रवादी सरकारका समर्थक प्रचार माध्यमहरूले संसारभर फैलाएर झूटो प्रचार गरिरहेका छन् । यस्ता प्रचार माध्यमहरूको समाचार र प्रचारले सांस्कृतिक स्तरहीनतालाई प्रस्ट्याउँछ ।
अङ्क २६. आ–आफ्ना सीमा ननाघौँ !
नेपालका प्रधानमन्त्री तथा अन्य व्यक्तिहरूले राजदूतलगायतका व्यक्तिहरूसँग गरेका भेटघाटका सबै कुरा आफ्ना कार्यकर्ता र सञ्चार माध्यमलाई भन्नैपर्छ भन्ने होइन । हामी नेपालीहरूको विदेशी कूटनैतिक व्यक्तिहरूबारे चट्ट बोल्ने र लेख्ने बानीले गर्दा देशलाई नै नकारात्मक असर पर्दछ ।
अङ्क २७. के गर्नु मङ्गले आफ्नै ढङ्गले…
प्रखर प्रतिपक्ष (नेमकिपा)ले समयमै सचेत गराएका विषयहरू जस्तै मेलम्ची बन्न २० वर्षभन्दा बढी लाग्छ, खानेपानीको व्यवस्थापनलाई मिलाऔँ, कमैया मुक्ति होइन जोताहा किसानलाई जग्गा दिउँ, सरकारले जथाभावी खर्च गर्ने खालका नीतिको विरोधहरू नसुनेका कारण देशमा अहिले भष्टाचार, अनियमितता, कालाबजारी तथा बेथितिहरूको सामना गर्नु परिरहेको छ ।
अङ्क २८. तथाकथित ‘राष्ट्रिय’ दलहरूबाट जनता पीडित
सरकारमा गएका र प्रतिपक्ष दुबै पार्टीहरू आ–आफ्नो झगडा र सत्ताको लुछाचुँडीमै व्यस्त छन् । ठूला पार्टी भनाउँदाहरूले आ–आफ्नो ठाउँमा गएर जनताको सेवा गरेका भए, जनताले कोरोनाका कारण भोकले मर्नुपर्ने स्थिति आउँदैनथ्यो । जनतालाई काठमाडौँमै ओइरिनुपर्ने बाध्यता हुन्नथ्यो ।
अङ्क २९. शासक दलको निर्लज्जताको हद
माथिल्लो स्तर एवम् ठूलो पुँजी वा लगानी भएको क्षेत्रमा बिचौलियाको अर्थ विदेशी पुँजीको दलाल भन्ने हुन्छ । विदेशी पुँजीको दलाली अर्ध–उपनिवेश र नव–उपनिवेशको एक लक्षण हो । देशको निम्ति यो ‘दुर्भाग्य’ समेत हुने गर्छ । तेस्रो विश्व वा विकासशील देशहरू पिछडिनुको कारणमध्ये विदेशी पुँजीको दलाली पनि एक हो ।
लगानी बोर्डको विरोध गरिँदा केही नसुनेका शासक दलहरूले आज विदेशी दलालहरूलाई ती संस्थाहरूका प्रमुख बनाएका छन् ।
काठमाडौँ महानगरमा बेथिति
अहिले काठमाडौँ स्थानीय जनताको भन्दा पनि नव–प्रवेशीहरूको दख्खलमा छ, कार्यकारी अधिकृतहरू सबै गैर–काठमाडौँवासी हुन् । काठमाडौँ आफ्नो घर होइन, शासन गर्ने ‘उपनिवेश’ मात्रै हो भन्ने भावनाले काठमाडौँलाई ‘बेथिति’ मा पु¥याइएको हो ।
अङ्क ३०. छानबिन र परिणामबारे सोचौँ ।
जनताको स्वास्थ्यसँग सम्बन्धित औषधिको खरिद तथा वितरणजस्तो संवेदनशील विषयहरूमा कर्मचारी र सरकारका मन्त्रीहरूसमेत कमिसन र भ्रष्टाचारमा लाग्दा औषधि समयमै खरिद नगर्ने र खरिद गर्दा पनि म्याद नाघेका औषधिहरू गाउँ–गाउँमा पुग्दा रोगले मात्र नभई औषधिले समेत जनताको ज्यान लिने गरेको छ । सबै मन्त्रालय, विभाग र मुख्य–मुख्य कार्यालयका कर्मचारीहरूको नाम, ठेगाना र डेरा, अनि तस्विर पनि ‘गोरखापत्र’ मा छापिदिए जनताबीच सर–सल्लाह गर्न र थप जानकारी लिन सजिलो हुनेछ ।
अङ्क ३१. मन्त्री, मन्त्रालयहरू र संवेदनशीलता
मन्त्री बनेकाहरू युवा हुँदैमा राम्रो गर्ला भन्नेहरूलाई कृषिमन्त्रीले मल ल्याउनै नसक्नु, शिक्षामन्त्री लकडाउन वा कोभिडको समयमा शिक्षालाई कसरी अगाडि बढाउने विषयमा केही पनि गर्न नसक्नु र स्वास्थ्यमन्त्री जनताको स्वास्थ्त्र्न्दा भ्रष्टाचार र कमिसनमै लिप्त हुनुबाट जस्तोसुकै मन्त्रीहरू आए पनि जनताको बारेमा सोच्ने संवेदनशीलता नभएको प्रस्ट देखिन्छ ।
अङ्क ३२. मन्त्रीहरूको राजीनामा एक प्रायश्चित ?
शासक दलहरूले करोडौँ करोड रकम लिएर एकाधिकारवादी निजी विद्यालयका पुँजीपति वा शोषकहरूलाई नै सांसद बनाएका छन् । शिक्षाका अनेक जाली र नयाँ पुस्तालाई बर्बाद गर्ने शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकहरू तिनीहरूकै सल्लाहमा तयार गराउँछन् । परिणाम के होला ? कतिपय विद्यार्थी आफ्नो परीक्षा परिणामलाई साँचो मानेर मेडिकल कलेजमा लाखौँ रूपैयाँ तिरेर भर्ना हुन्छन्, एक दुई वर्ष पढेर निराश हुन्छन् र आत्महत्या गर्नेछन् । कतिपय विद्यार्थी अहङ्कार र घमण्डले घर र समाजमा उपद्रव गर्नेछन् ।
अङ्क ३३. नेतृत्व योग्य बन्न राजधानी बस्ने होइन !
संसारभर युवा नेतृत्वले परिवर्तन गर्दा उनीहरूलाई कसैले अगाडि ल्याएका होइनन् । आफ्नै जोश जाँगर र जनताको सेवा गर्ने भावनाले आएका हुन् । माक्र्स, एङ्गेल्स, लेनिन, क्यास्ट्रो, चे, क्रामवेल, ज्याकोबिन्स र जिरोन्डिस कसैलाई पनि कसैले ठाउँ छोडेर अगाडि बढेका होइनन्, जनताको सेवाको भाव, अन्यायको विरूद्ध लड्ने साहसबाट अघि बढेका हुन् ।
नेपालको मामिलामा नेतृत्वमा युवा नभएको कारण देश बिग्रियो भन्नेहरूले युवा नेतृत्वमा हुँदा गरेका देशमा भएका भ्रष्टाचार, देशको सार्वभौमिकतामा आँच आउँदा पनि चुप बसेको आदि उदाहरणबाट अनुभव र जानकारी नभएका युवा र महिलाहरूलाई महत्वपूर्ण काम दिँदा अज्ञानता र अनुभवहीनताको कारण थरीथरीका दलाल र बिचौलियाका खेलौना बनेको कुराको साक्षी सारा नेपाली छन् ।
अङ्क ३४. छायाको युद्ध गर्न छोडौँ !
चीनबाट आउने सस्तो सामानले भारतीय सामान नबिक्ला भनेर चीनबाट आएका कन्टेनरहरू रोक्ने काम मन्त्रालय, विभाग कर्मचारीहरूले गरेको जस्तो देखिए पनि यसको पछाडि भारतीय व्यापारीहरूको हात रहेको स्पष्ट हुन्छ । सरकार अर्थात् गुप्तचर विभाग र प्रहरीलाई ती असम्बन्धित व्यक्तिहरूले भनेकै भरमा सामान नछोड्दा गृह मन्त्रालय र प्रहरीको हेडक्वार्टर किन मौन बस्छन् ? ती गुन्डाहरू अरू ठाउँबाटै सञ्चालित थिए, त्यसकारण नै तिनको अगाडि गृह मन्त्रालय र प्रहरी हेडक्वार्टर लाचार भए ।
अङ्क ३५. जनतामाझको चर्चामा ध्यान देऔँ !
कम्युनिस्ट नामलाई कम्युनिस्ट नामधारी नक्कली कम्युनिस्ट नेकपा (एमाले +माओवादी)ले बदनाम गरिरहेको अवस्थामा नेपाली काङ्ग्रेसले उनीहरूलाई नै कम्युनिस्ट भन्दै बदनाम गर्न खोज्नुको पछाडि दुबैलाई एउटै शक्तिले खेलेको चर्चाबारे सोच्न आवश्यक छ ।
अङ्क ३६. जनताको अर्थ के ?
व्यापक जनतालाई सचेत र सिद्धान्तनिष्ठ बनाउनु आवश्यक छ । उम्मेदवार चयन गर्दा र मतदानको समयमा माथि उल्लेख गरिएका अनियमितता, गैरकानुनी एवम् निर्वाचनका नियम उल्लङ्घनलगायत अनैतिक कार्यहरूको विरोध र घृणा गर्नु आवश्यक छ । ती अपराधी दल, नेता र कार्यकर्ताहरूलाई हराएर सजाय दिएपछि मात्रै आफूलाई ‘जनता’ भन्ने हक र नैतिक बल जनतालाई प्राप्त हुन्छ ।
अङ्क ३७. पुँजीवादी व्यवस्था आफ्नो चिहान खन्दै
सिद्धान्त र विचारको आधार नभई पैसा र लोभका लागि जे पनि गर्ने प्रवृत्तिले पुँजीवादका प्रवृत्तिहरू उजागर हुँदै छन् । यही प्रवृत्तिका कारण सरकारमा गएका र प्रमुख प्रतिपक्ष नै मिलोमतो, भागबन्डामा लाग्दा सरकारलाई लगाम कसले लगाउने ?
पुँजीवादी यी प्रवृत्तिहरू जनताले बुझेसँगै पुँजीवादको विरोधमा जनता आउनेछन् । यसका लागि राजनैतिक दलहरूले सचेत गराउँदै लग्नुपर्दछ ।
अङ्क ३८. केन्द्र, प्रदेश र स्थानीय निकाय !
मधेस आन्दोलनजस्ता साम्प्रदायिक भावना बोकेकाहरू मन्त्री हुँदा अपराधीहरू जति त्यही दलहरूमा रहेको प्रस्ट हुँदै छ । गरीबका लागि भनेर पठाइएका राहत पनि वितरण गर्न नसक्दा वा कमिसनखोरहरूले राज्यको ढुकुटी लुट्दा पनि केन्द्र सरकार चुप रहनुबाट फेरि पनि सबै दोष पहाड र काठमाडाँैलाई नै लगाउन तानाबाना बुनिरहेका त होइनन् ? भन्ने शङ्का उब्जेको छ ।
अङ्क ३९. संरा अमेरिका ‘बन्दुक’ र ‘ईश्वरको बरदान’ हो (नोम चोम्स्की)
अमेरिकी समाजशास्त्री एवम् चिन्तक नोम चोम्स्कीले भनेका छन्, “अमेरिकाको लोकतान्त्रिक रूप शक्तिशाली मिडियाले बनाइदिएको हो भने सार फेरि पनि टु जी अर्थात् ‘गन’ र ‘गड’ ले नै बनाइदिएको हो । ट्रम्प त्यही सिक्काको मोहरा हुन् ।” बाइबल वा क्राइस्टको नाममा जनतालाई मुसोलिनीले झैँ आफ्नो पक्षमा लिन्छु भन्ने सोच्नु ट्रम्पले समयसँगै भएको विकासक्रमलाई नबुझेको स्पष्ट हुन्छ ।
अङ्क ४०. संरा अमेरिकादेखि नेपालको तराईसम्मको सङ्घर्ष शासक वर्गको विरोधमा
संसारका हरेक ठूलठूला राजनैतिक आन्दोलन वर्गीय, नश्लीय वा जातिवादी भएको देखिन्छ । दास युगको स्पार्टाकस आन्दोलन, बेलायतको पुँजीवादी क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, क्रामबेलको नेतृत्वमा बेलायतमा राजालाई काटिएको सङ्घर्ष, अमेरिकी स्वतन्त्रता आन्दोलन, भारतमा स्वतन्त्रता आन्दोलन, नेपालमा विभिन्न समयमा भएका आन्दोलनहरू, तराईमा भएका किसान आन्दोलन र क्रान्तिहरू शासकहरूविरूद्ध भएका हुन् ।
अङ्क ४१. शब्दका विविध रूप र अर्थ
‘राष्ट्रिय’ शब्दको विभिन्न परिभाषा गरिएको छ । पञ्चायतका लागि राजतन्त्रको प्रमुख राष्ट्रिय थियो, हिटलरका लागि आर्य रगत र मुसोलिनीका लागि रोमको गौरव । नेपालमा व्यापारी र उद्योगपतिहरूको प्रचार गर्ने ठूलठूला आकारका देशी विदेशी विज्ञापन दिने पत्रिका राष्ट्रियस्तरका भन्ने चलन चलाएको छ । के ठूलठूला भवनहरू राष्ट्रिय र साना साना स्थानीय हुने हो ?
व्यक्ति र व्यक्तिवाद
पुँजीवादी व्यवस्था पुँजीपति वर्गको हित गर्ने व्यवस्था हो । यिनीहरू संविधान, ऐन कानुन, विधिको शासन आदि नाममा शोषित पीडित जनतालाई दमनचक्र चलाउँछन् । पँुजीपतिहरूको तानाशाह नै पुँजीवादी प्रजातन्त्र हो । व्यक्ति धनी हुने, व्यक्तिलाई प्राथमिकता दिने र समाज र समूह, देश र बहुमत गरिब जनताको हित नहेरिने बन्दोबस्त नै पँुजीवाद हो ।
अङ्क ४२. जनताको दुःखको बेला के शासक नेताहरूलाई विदेशीको सहारा हो ?
जनता रोग, अन्धविश्वास, कुरीति तथा अपराधहरूले आक्रान्त हुँदा शासकहरू आफ्नो पार्टीको किचलोमै व्यस्त हुनु, सानो सानो रोगको उपचारका लागि पनि विदेश जानु र कोभिड–१९ ले जनता आक्रान्त हुँदा पार्टी एकता जोगाउन आह्वान गर्नुबाट यी शासक दलका नेताहरूमा सामान्य पशुको जति पनि संवेदनशीलता नभएको देखिन्छ ।
अङ्क ४३. ओली र प्रचण्ड गुटको ‘धुवाँको पर्दा’ ?
नेकपाको एक गुटले अर्को गुटलाई लाञ्छना लगाएर आफू देश र जनताको अगाडि चोखो देखिन खोज्दै छ । तर, ती नयाँ पात्रहरू नभई पुरानै पात्रहरू भएको हुँदा जनता कुनै पनि पक्षमा देखापर्दैनन् । सरकारमा रहेकाले कोभिड–१९को व्यवस्थापन, मलको व्यवस्थापन जस्ता कार्य गर्न सकेको छैन भने, अध्यक्ष प्रचण्ड शिक्षामन्त्रीको अनुहारमा काठको नाक राखेर लाज छोप्दै छन् । विद्यालयहरूको परीक्षालाई नै प्रवेशिकासरहको परीक्षाफल मान्ने पहिले नै सल्लाह गरेर पनि सार्वजनिक गरिसकेको परिणाममा बढी नम्बर दिएको परीक्षाफललाई सदर गर्ने शिक्षामन्त्रीलाई के भन्ने ?
अङ्क ४४. औद्योगिक अपराधीलाई पनि कारबाही आवश्यक
अपराधीहरूले अपराधीहरूकै हितको निम्ति काम गर्छन् । तिनीहरूले अपराध ‘नियन्त्रण’ होइन अपराध उन्मुक्तिका छिद्रहरू राखेर संविधान र ऐन–कानुन बनाउँछन् । महिनौँ लगाएर प्रहरीले खुब मेहनत गरी पक्राउ गरेका अपराधीहरू कार्यालय र अदालतमा पुगेलगत्तै छुट्कारा पाउँछन् । यसबाट जनतामा निराशा छाउनु र ‘कानुनी शासन’ प्रति नै अविश्वास जाग्नु स्वाभाविक हो ।
विभिन्न आन्दोलनहरूबाट गुज्रेको तराईमा आन्दोलनपछि नयाँ पुस्ता (युवक र युवती) हरूले आर्थिक र सामाजिक सङ्घर्ष चालु राख्नु आवश्यक हुन्छ ।
अङ्क ४५. भारतीय एकाधिकार पुँजीले कसको सेवा गर्छ ?
आचारसंहिताविपरीतका कार्य गरेर जितेका दलहरूले आफ्नो स्वार्थ, सत्तामोहका कारण किचलो गर्छन् । ठूलठूला घराना, उद्योगी व्यापारीलगायत विदेशीका दलालहरूलाई सहुलियत दिनुपर्ने आदि काम गर्छन् र देश र जनताको हितमा कहिले पनि काम गर्दैनन् । यस्तो कार्यमा सरकारमा गएका दलमात्र नभई प्रमुख प्रतिपक्ष दलसमेत लाग्दा पुँजीवादी प्रजातन्त्र नभएको बुझ्न सक्छौँ ।
अङ्क ४६. फ्रेडरिक एङ्गेल्सका रचनाहरूबाट सिकौँ !
मानव समाजको विकास, वर्ग र वर्गीय राज्य व्यवस्था, समुच्च मानव समाजमा अर्थतन्त्रले खेल्ने भूमिकाबारे उहाँहरूले विश्लेषण गर्नुभयो । दास युग, सामन्तवादी र पुँजीवादी समाजको अन्तरविरोधबाट विजयी वर्गहरू अन्ततः सर्वहारा वर्गको नेतृत्वमा समाजवाद हुँदै साम्यवादमा सङ्क्रमणले वर्गविहीन, शोषणविहीन र राज्यविहीन एउटा फरक संसारमा समाजको पदार्पण हुनेछ ।
सुदूर क्षितिजमा पुग्ने वैज्ञानिक चिन्तनलाई मनन गर्न एङ्गेल्सका केही महत्वपूर्ण रचनाहरू जस्तै ‘समाजवाद’ (काल्पनिक वा वैज्ञानिक), ‘कार्ल माक्र्सको समाधिमा फ्रेडरिक एङ्गेल्सको भाषण’, ‘फ्रान्स र जर्मनीका किसानहरूको प्रश्न’ आदिको अध्ययनले माक्र्सवादबारे बुझ्न नयाँ साथीहरूलाई सहयोग पुग्नेछ ।
समाजवादको उपलब्धि र पुँजीवाद
कोभिड–१९ को महामारीले संसारभरका जनतालाई दुःख दियो, करोडौँले सङ्क्रमणको पीडा भोगे र लाखौँ मानिसको मृत्यु भयो । आश्चर्य छ, संरा अमेरिका र युरोपजस्ता विकसित देशहरूमा समेत कोभिड–१९ ले हाहाकार मच्चायो । तर, चीन, प्रजग कोरिया, भियतनाम, क्युवाजस्ता देशहरू तथा मजदुर र किसान जनतामा समर्पित नगर, गाउँ र क्षेत्रहरूमा पुँजीवादी देशहरूमा भन्दा पीडित जनताको ‘निःस्वार्थरूपले’ स्वास्थ्य सेवाको प्रदर्शन भयो । पुँजीवादी व्यवस्था रहेसम्म रोग, भोक, लुट, भ्रष्टाचार, हत्या र हिंसा भइरहन्छ । त्यसको ठीक उल्टो, समाजवादी देश चीनले कोभिड–१९ लाई नियन्त्रण गर्दै छ ।
अङ्क ४७. सरकारको ‘क्रान्ति’ र शान्ति सुरक्षा
स्वास्थ्य क्षेत्रमा एकै दिन ३९६ अस्पतालको शिलान्यासलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति भन्नुअघि नक्कली डाक्टरले बिरामी उपचार गरेको, म्याद नाघेको औषधिका कारण जनताले दुःख पाएको कुरामा सुधार गर्नसक्नु धेरै राम्रो हुन्थ्यो । अस्पतालको शिलान्यास नै क्रान्ति भए त काठमाडौँमा त क्रान्ति नै क्रान्ति भयो त !
अङ्क ४८. नेता नै पार्टी हो, पार्टी नै नेता हो !
पार्टी डुङ्गा र जहाज हो भने नेतृत्व गर्ने व्यक्ति नाविक हुन्छ । संवैधानिक र कानुनीरूपले ओली नै नेता छन् किनभने बहुमत दलकै नेता प्रधानमन्त्री हुन्छन् । यसकारण, ओली नै पार्टी नेता हुन् र प्रधानमन्त्री पनि उनी नै हुन् ।
जसरी कुनै वैज्ञानिकले कुनै एउटा नयाँ वस्तुको आविष्कार गरेपछि त्यस सिद्धान्त वा वस्तुमा उसको नाम गाँसिएजस्तै बेलायतमा राजनैतिक इतिहासमा महत्वपूर्ण विषयहरूबारे निर्णय गर्दा कुन प्रधानमन्त्री वा कुन पार्टीको सरकारको बेला, कुन नेताको पालामा भएको भनी चर्चा भएको हुन्छ ।
अङ्क ४९. संसद विघटनबारे छलफल
प्रधानमन्त्री ओलीको सिफारिसमा ५ पुसको दिन संसद् विघटन भएपछि राजनैतिक दल, कानुन व्यवसायी र बुद्धिजीवीहरूले समर्थन तथा विरोधका अभिव्यक्ति र गतिविधि वा प्रदर्शनहरू गरिरहेका छन् । प्रजातान्त्रिक देशहरूमा यस्ता गतिविधि हुनुलाई आश्चर्य मानिन्न । पुँजीवादी प्रजातन्त्रको यो एक सौन्दर्य हो । देशलाई नै भड्खालोमा पु¥याउने अमुक पक्षको उद्देश्यबाट जोगाउन र जनतामा व्यापक छलफल चलाई नयाँ जनादेश लिएर नयाँ संसद् र नयाँ सरकारको कल्पना गर्नुलाई ‘प्रतिगामी’ कदम मानिँदैन । तर, कम्युनिस्टको झन्डा उचालेर कम्युनिस्ट आन्दोलन र सिद्धान्तलाई समाप्त पार्ने कोसिस गर्नु निश्चय पनि ‘प्रतिगामी’ पाइला हुनेछ ।
अङ्क ५०. के अब नेपालमा घोडा फेरिँदै छ ?
नेपाली राजनीतिमा प्रजापरिषद्पछिको राजनैतिक पार्टी नेपाली काङ्ग्रेस हो । तर, नेका बुढो हुँदै गएपछि एमाले र एमाओवादी ‘नयाँ घोडा’ को रूपमा प्रयोग हुँदै छन् । नेकपा दक्षिणको शक्तिको इसारामा नचल्दा एउटै राजनैतिक दलमा दुई अध्यक्षको बन्दोबस्त गराई झगडाको बीउ रोप्यो । अब नेकपाका गुटहरू एक आपसमा मारकाटमा झर्दै छन् ।
निःस्वार्थरूपले जनताको सेवा गर्नुबाहेक अरू कुनै इज्जत र प्रतिष्ठाको बाटो छैन । भ्रष्टाचारी, ठेकेदार, विदेशी एजेन्ट, तस्कर, कालाबजारिया, हत्या र हिंसाका लागि गुण्डाहरूको भरमा देश र जनताको सेवा गर्नु मृगतृष्णासरह हो । आफ्नै खुट्टामा उभिऔँ !
अङ्क ५१. सन् २०२० लाई बिदा र सन् २०२१ लाई स्वागत !
सन् २०२० ले बिदा लिनुभन्दा पहिले संसारमा लामो समयसम्म प्रभाव पार्ने अनेक घटना भए । ‘कोरोना भाइरस’ को कारण हुने कोभिड – १९ रोगले पृथ्वीका सबै महादेश एवम् टापु राज्यका जनतालाई आतङ्कित पा¥यो ¤ धनी र गरिब सबै जनताले पीडा भोगे ।
रोगको निदान, अनुसन्धान, औषधि र स्वास्थ्य सेवाका उपकरण एवम् आवश्यक सामानको उत्पादन तथा वितरणलाई सँगसँगै अगाडि बढाउँदै चीनले एक हप्ताभित्रै ठूल–ठूला अस्पतालहरू निर्माण ग¥यो । सबैलाई आश्चर्यचकित पार्दै चीनले सारा संसारलाई सेवा पु¥याइरहेको छ । ठीक त्यही समयमा संरा अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनालाई सामान्य रोग सम्झँदै, साझा सरोकारको विषय भएकाले मिलेर समस्या समाधान गर्ने चीनको सल्लाह र अनुरोधलाई पञ्छाएर आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य र दायित्वबाट पञ्छिए ।
सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षमा पदार्पण गर्छ । समाजवाद र साम्यवादमा पुग्ने दुईसय वर्षको आकाङ्क्षा र योजनाको यो पहिलो वर्ष हो । छिट्टै नै संरा अमेरिकामा नेतृत्व बदलिँदै छ र पेरिस सम्झौतामा फर्कने लक्षण देखिँदै छ । एसिया र अफ्रिकी देशमा पनि आर्थिक विकासले फड्को मार्ने सम्भावना बढेको छ । चीनको कृषि, उद्योग, व्यापार, विज्ञान एवम् प्रविधिको विकासले संसारलाई सकारात्मक प्रभाव पार्नेबारे दुईमत नहोला !
अङ्क ५२. संविधान, राजनीति र वर्ग
संविधान राज्य सञ्चालनको एक राजनीतिक दस्तावेज र निर्देशन हो । यो एक समयसापेक्ष र परिवर्तनशील विषय हो ।
साम्राज्यवादी र विस्तारवादी शक्तिहरूले नेपाललाई नयाँ अफगानिस्तान बनाई दक्षिणबाट जनवादी गणतन्त्र चीनमाथि चढाइ गर्ने उद्देश्यले ‘बिम्स्टेक’ र ‘एमसीसी’ जस्ता उपायहरू ल्याएका हुन् । सत्तालोलुप र महत्वाकाङ्क्षी तत्वहरू अगाडि सारेर नेकपामा ‘समान’ ‘दुई अध्यक्ष’ बनाइयो । एक अध्यक्षको उमेर तोकियो । अर्को ‘पार्टी अध्यक्ष’ मार्फत १० वर्षको गृहयुद्धपछि पनि प्राप्त गर्न नसकेको नेपाललाई दोस्रो सिक्किम बनाउने विस्तारवादी योजना थोपर्ने सम्भावनालाई किन अनुमान नगर्ने ?
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *