भर्खरै :

नयाँ योजना निर्धारणसँगै सकियो भियतनाम कम्युनिस्ट पार्टीको ते¥हौँ महाधिवेशन

हनोई, २ फेब्रुअरी । कोभिड–१९ को महामारीबीच भियतनाम कम्युनिस्ट पार्टीको ते¥हौँ महाधिवेशन निर्धारितभन्दा एक दिनअघि गत सोमबार बिहान सम्पन्न भयो ।
छोटो समयको तयारीबीच महाधिवेशनले आगामी पाँच वर्षको लागि देशको सामाजिक–आर्थिक विकासको मूल जिम्मेवारी निर्धारण गर्न सफल भएको छ । साथै भियतनामको विकासको नयाँ चरणको मार्ग निर्धारण पनि महाधिवेशनले गरेको छ ।
सुधारको मुद्दा
ते¥हौँ महाधिवेशनबाट पारित दस्तावेजअनुसार अर्को चरणमा भियतनाम कम्युनिस्ट पार्टी केन्द्रीय समितिको मूल अभिभारा ‘डोई मोई’ कार्यक्रमलाई अझ अघि बढाउनु हो । भियतनामको औद्योगीकरण र आधुनिकीकरण गरी एक्काइसौँ शताब्दीको मध्यसम्ममा भियतनामलाई समाजवादउन्मुख विकसित देश बनाउने सुधारको कार्यक्रम नै ‘डोई मोई’ कार्यक्रम हो ।
विशेषतः भियतनामले आगामी सन् २०३० सम्ममा उच्च मध्यम आय भएको आधुनिक औद्योगिक देश बनाउने र सन् २०४५ सम्ममा उच्च आय भएको विकसित देश बनाउने लक्ष्य निर्धारण गरेको छ ।
यसअघिका कुनै पनि महाधिवेशनमा यो वर्षजस्तै दस वर्ष र पच्चिस वर्षको लक्ष्य पारित गरिएको थिएन । तर, यो वर्षको प्रतिवेदनले यी लक्ष्य निर्धारणलाई विशेष महत्व दिएको भियतनाम–चीन मैत्री सङ्गठनका उपाध्यक्ष तथा रणनीतिक अध्ययन तथा अन्तर्राष्ट्रिय विकास केन्द्रका वरिष्ठ सल्लाहकार न्युगेन भिन छ्वाङले भने ।
भियतनाममा ‘डोई मोई’ कार्यक्रम थालनी भएको ३५ वर्ष पुगेको छ । सन् २०१६ देखि २०१९ सम्ममा भियतनामको कुल गार्हस्थ उत्पादन वार्षिकरूपमा औसत ६.८ प्रतिशतले बढेको थियो । कोभिड–१९ को प्रभावबीच पनि सन् २०२० मा कुल गार्हस्थ उत्पादनमा २.९ प्रतिशतले वृद्धि भएको छ ।

यद्यपि, अझै पनि क्षमताअनुसार भियतनामको आर्थिक विकास हुन सकेको छैन । त्यहाँको आर्थिक स्वाधीनता र लचकतामा अझै पनि सुुधार गर्न सकिने ठाउँ भएको भियतनाम कम्युनिस्ट पार्टीका महासचिव तथा भियतनामका राष्ट्रपति न्युगेन फु त्रोङले महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा भने ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा उल्लेखित संस्था, मानव स्रोत र पूर्वाधारसम्बन्धी प्रस्तावहरू भियतनामको विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण हुने हनोईको भियतनाम सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत विश्व आर्थिक तथा राजनीति प्रतिष्ठानका पूर्वअध्यक्ष भो डाई ल्योकले भने ।
भियतनामले आफूले हस्ताक्षर गरेका स्वतन्त्र व्यापार सम्झौतालाई चालू राख्दै निजी व्यापारलाई उच्च महत्व, विज्ञान–प्रविधिमा अनुसन्धानमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचारको विरोध
महाधिवेशनमा त्रोङलाई तेस्रो कार्यकालको लागि पार्टी महासचिव पदमा पुनःनिर्वाचित गरेको छ । भियतनामको केन्द्रीय भ्रष्टाचारविरोधी स्टेरिङ समितिका प्रमुखसमेत रहेका त्रोङले वर्षौँदेखि धेरै पटक भ्रष्टाचारविरोधी प्रयासमा जोड दिँदै आएका छन् ।
“भ्रष्टाचारविरोधी काम गर्न कुनै पनि क्षेत्र निषेधित छैन । भ्रष्टाचारको विरोधमा खुलेर लडौँ”, महाधिवेशनको समापनसँगै आयोजित पत्रकार भेटघाटमा त्रोङले भने ।
“भ्रष्टाचार पद र शक्ति भएका मानिसको लागि रोग हो”, उनले भने,“भ्रष्टाचारविरोधी लडाइँ अत्यन्त जटिल लडाइँ हो । बिना साहस, प्रतिबद्धता र आत्मस्वाभिमान यो लडाइँमा सफलता हासिल गर्न सम्भव छैन”, त्रोङले भने ।
“भियतनामको विकासको नयाँ चरणको प्रमुख कार्यभार भनेको कानुनी शासनको हिसाबबाट देशको विकास र सुधार गर्नु हो । साथै, इमानदार र शक्तिशाली राजनीति प्रणाली निर्माण अघि बढाउने हो । भ्रष्टाचार र कर्मचारीतन्त्रविरुद्ध कडा कदम चाल्ने हो”, महाधिवेशनको प्रतिवेदनमा उल्लेख छ ।
“भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी निकाय र उचित कारबाहीको व्यवस्था हुन जरुरी छ । यसले मात्र अधिकारीहरू भ्रष्टाचार गर्न डराउनेछन्”, भियतनाम सरकारअन्तर्गत भ्रष्टाचार नियन्त्रण कार्यालयका उपप्रमुख त्रान गोन लियमले भने ।
भियतनाम कम्युनिस्ट पार्टीको बा¥हौँ महाधिवेशन सन् २०१६ मा भएको थियो । त्यसयता कम्तीमा ८७ हजार भियतनाम कम्युनिस्ट पार्टीका कार्यकर्ता र सदस्यहरूलाई अनुशासनको कारबाही भएको छ । तीन हजारभन्दा बढी नेता कार्यकर्ता भ्रष्टाचारमा संलग्न भएको पुष्टि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *