भर्खरै :

सिमसार क्षेत्रको संरक्षण

विश्व सिमसार दिवस मङ्गलबार नेपाललगायत विभिन्न देशमा विभिन्न रचनात्मक तथा जनचेतनामूलक गतिविधि गरेर मनाइयो । जलवायु परिवर्तनबारे संसारभर चासो र चिन्ता बढिरहेको परिस्थितिमा यस वर्ष ‘पानी, सिमसार र जीवन’ भन्ने मूल नारासहित विश्व सिमसार दिवस मनाइएको हो । सिमसार दिवस जलवायु परिवर्तनको प्रतिरोधी अभियानकै शिलशिलामा मनाइएको छ । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्ष फेबु्रअरी २ मा दिवस मनाउँदै आएको छ । जलवायु र मौसम परिवर्तनसँगै संसारभरबाट सिमसार क्षेत्र क्रमशः घट्दै गएको छ । सिमसार मानव समुदायको लागि मात्र होइन, बरु पर्य–पर्यावरणको बहुमूल्य हिस्सा बनेका असङ्ख्य प्राणीहरूको जीवनसँग पनि सम्बन्धित सम्पदा हो । विशेषतः जलचर, उभयचर, सरीसृप, पक्षी आदि कैयौँ पृथ्वी परिवारका सदस्यहरूको जीवनमरण सिमसार क्षेत्रसँग प्रत्यक्षरूपमा गाँसिएको हुन्छ ।
आज सबै प्राणीहरूको साझा पृथ्वी र प्रकृतिमाथि सबभन्दा बढी दोहन मानवबाट भइरहेको छ । मानिसले आफ्नो फाइदाको लागि प्रकृतिको अभिन्न अङ्ग बनेको सिमसार क्षेत्रलाई दुरुपयोग वा विनास गर्दा वातावरणीय सन्तुलनमात्र बिग्रेको छैन, बरु पृथ्वीका अरू असङ्ख्य बासिन्दाको जीवनसमेत जोखिममा परेको छ । कैयौँ त्यस्ता प्राणीहरूले त आज आफ्नो अस्तित्व नै पनि गुमाइसकेका छन् । बढ्दो सहरीकरण, मानिसको जनसङ्ख्या वृद्धि, नाफामुखी व्यवस्था, वातावरण अमैत्री औद्योगीकरणको कारण आज सिमसारको क्षेत्रफल क्रमशः घट्दै गइरहेको छ ।
अन्तर्राष्ट्रिय दबुहरूमा नेपालले पनि सिमसार क्षेत्रको संरक्षणको लागि प्रतिबद्धताहरू व्यक्त गरेको छ । सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । सो महासन्धिमा १६९ देश सामेल भएका थिए । नेपाल भने औपचारिकरूपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो ।
विश्व सूचीमा नेपालका १० सिमसार दर्ता भएका छन् । पानी र जमीन मिश्रित दलदल भएका, ओसिला र धापिला घोडाघोडी ताल, रारा ताल, कोसीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शेफोक्सुन्डो ताल, माइपोखरी तथा पोखराका नौ ताल सिमसार क्षेत्रअन्तर्गत पर्छन् । पुराना अध्ययनहरूले नेपालमा सानाठूला गरी करीब चार हजार सिमसार क्षेत्र छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्व आत्मसात् गर्दै विसं २०५९ मा जारी गरेको सिमसार संरक्षण नीतिलाई विसं २०६९ मा परिमार्जन र स्वीकृति दिएको थियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति अघि सारिएको थियो । यस्तै राष्ट्रिय सिमसार नीति, २०५९ मा उल्लेख भएअनुसार नेपालको तराईका सिमसार क्षेत्रमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चरा (तीमध्ये १५ प्रजाति दुर्लभ), नौ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
जसरी एउटा कलपुर्जाको लागि सानोभन्दा सानो पेचकिलाको पनि आफ्नै महत्व हुन्छ, त्यसरी नै पृथ्वीको लामो आयुको लागि यहाँका सानाभन्दा साना जीवजन्तु र बोट बिरुवाको पनि समान महत्व हुन्छ । पृथ्वी मानिसको मात्र वासस्थान होइन । त्यसकारण, पृथ्वीका प्राकृतिक स्रोत साधनको मानिसले मात्र एलौटी दोहन गर्न न्यायपूर्ण होइन । मानिसको नाफामुखी र स्वार्थी सामाजिक चरित्रको कारण पृथ्वीका अन्य सन्तानहरूलाई सङ्कटमा पार्न कदापि मिल्दैन । असङ्ख्य पृथ्वीवासीको वासस्थान, आश्रयस्थल, शिकार गर्ने थलो बनेका सिमसारको संरक्षण गर्नु पृथ्वीको विविधता र सहस्र परिवारको रक्षा गर्नु हो । जलवायु परिवर्तनको जरामा रहेको नाफामुखी व्यवस्थाका अवगुणलाई पराजित नगर्दासम्म सिमसार संरक्षणको विषय विशुद्ध सैद्धान्तिक र वैज्ञानिक छलफलमा सीमित हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *