भर्खरै :

कार्यकर्ता पक्राउको विरोधमा पत्रकार सम्मेलन र कोणसभा

सुर्खेत, २२ माघ । मालपोत कार्यालय सुर्खेतमा भएको अनियमितताको विरोधमा लागेका नेमकिपाका कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेमकिपा सुर्खेत जिल्ला समितिले बिहीबार पत्रकार सम्मेलन गरी वक्तव्य जारी गरेको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले अन्याय र अनियमितताको विरोधमा लागेका कार्यकर्ताहरूलाई मानव अधिकारको उल्लङ्घन हुने गरी प्रशासनले गरेको पक्राउले सरकारलाई नै घाटा हुने चर्चा गर्दै दमन र थिचामिचो जनतालाई सह्य हुनेछैन भन्नुभयो ।
नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराले प्रजातान्त्रिक व्यवस्थामा आफ्नो हक, अधिकारको लागि कानुनसङ्गतरूपमा सबैले बोल्न पाउने चर्चा गर्दै पक्राउ परेका कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा धनेन्द्र विक र शेरबहादुर शाहीले पनि बोल्नुभएको थियो । कार्यकर्ता पक्राउकै विरोधमा बिहीबार जुलुससहित कोण सभा भयो । जुलुस सुर्खेत बजार परिक्रमा गरी पीपलचौतारीमा पुगी कोण सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले देशको सिमाना मिच्दा पनि बोल्न नसक्ने सरकारले अन्यायको विरूद्धमा बोल्ने कार्यकर्तालाई पक्रनु आपत्तिजनक कदम भएको बताउनुभयो ।
सभामा धनेन्द्र विकले पनि बोल्नुभएको थियो । जुलुसमा मालपोत कार्यालयका भ्रष्ट कर्मचारीलाई कारबाही गर्नुपर्ने नारा लगाइएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *