भर्खरै :

सिन्जियाङमा उइगुर समुदायको जनसङ्ख्या वृद्धि

इस्लामाबाद, ७ फेब्रुअरी । चीनको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रको आर्थिक वृद्धि र उइगुर समुदायको जनसङ्ख्या वृद्धिलाई लिएर केही पश्चिमा राजनीतिक नेताहरूले झूटको खेती गरिरहेको पाकिस्तानका एक जना नेताले भन्नुभएको छ ।
“मुख्यतः चीनको उइगुर आदिवासी समुदायको बसोबास रहेको सिन्जियाङ कजाक र कीर्गिजजस्ता अन्य आदिवासी समुदायको पनि घर हो । विशेषतः सिन्जियाङमा उइगुर समुदायको जनसङ्ख्या क्रमशः विस्तार भइरहेको छ”, पाकिस्तानका सांसद मुशाहिद हुस्सेन साइडले भन्नुभयो ।
पछिल्लो दुई दशकमा सिन्जियाङमा झन्डै बीस पटक भ्रमण गरिसकेका पाकिस्तानी संसदको परराष्ट्र मामिला समितिका सभापति साइडले उइगुर जनता शान्तिका साथ सिन्जियाङमा बस्दै आएको बताउनुभयो । उहाँले सिन्जियाङका स्थानीय जनतासँगको अन्तरक्रियाबाट त्यहाँका विभिन्न समुदायबारे गहिरो जानकारी हासिल गर्नुभएको छ ।
“म काशघरका मस्जिदहरूमा गएको छु । म उरुम्छीको ग्रान्ड बजारमा पनि गएको छु । म सिन्जियाङका विभिन्न समुदायका सांस्कृतिक र नाचगानका कार्यक्रममा सहभागी बनेको छु । त्यस्ता कार्यक्रममा उइगुर, चिनियाँहान, कजाक, कीर्गिज र उज्वेक समुदायका जनता सहभागी हुने गरेका छन्”, उहाँले भन्नुभयो ।
“सिन्जियाङ बहुलवादी, परिवर्तनशील र तीव्रगतिमा फैलिरहेको क्षेत्र हो । यो रेशम मार्ग आर्थिक क्षेत्रको मुख्य क्षेत्र हो”, साइडले भन्नुभयो ।
पाकिस्तानी नेताले विगत दुई दशकको अवधिमा बदलिँदो सिन्जियाङ आफ्नै आँखाले देख्नुभएको छ । उहाँले त्यहाँका सहरमा अग्ला अग्ला भवन, मानिसहरूका उत्तम घर आवास र सुधारिएको जीवनशैली र पूर्वाधार देख्नुभएको छ ।
यी सबै पक्षले उइगुर समुदायलगायत सिन्जियाङका जनताको बढ्दो जीवनशैली देखाएको छ । त्यहाँका जनताले रोजगारी पाएका छन् । शिक्षा र रोजगारीमा उनीहरूले नयाँ नयाँ अवसर हात पारेका छन् । उहाँले भन्नुभयो, “त्यसकारण मेरो विचारमा चीनका अन्य क्षेत्रका जनताजस्तै सिन्जियाङका जनता पनि समयक्रममा आफ्नो उत्तम भविष्यको लागि नयाँ बाटो खन्दै छन् ।”
सिन्जियाङको अर्थतन्त्र सन् २०२० मा अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशतले बढेको छ । स्थानीय सरकारको प्रतिवेदनअनुसार यो वृद्धि भनेको राष्ट्रिय आर्थिक वृद्धिभन्दा १.१ प्रतिशतले बढी हो ।
गत वर्ष कोभिड–१९ को गम्भीर प्रभावबीच सिन्जियाङले आर्थिक उपलब्धि हासिल गरेको चर्चा गर्दै पाकिस्तानी सांसदले विश्व अझै पनि महामारीसँगै लड्दै गर्दा चीनले भाइरससँगको लडाइँमा एउटा उदाहरणीय कदम चाल्न सकेको बताउनुभयो ।
पछिल्ला वर्षहरूमा सिन्जियाङमा उइगुर समुदायको जनसङ्ख्या पनि चुस्तरूपमा बढिरहेको छ । सन् २०१० देखि २०१८ सम्ममा सिन्जियाङमा उइगुर समुदायको जनसङ्ख्या १ करोड १ लाख ७० हजारबाट १ करोड २७ लाख २० हजार पुगेको छ अर्थात् २५.७२ प्रतिशतले जनसङ्ख्या वृद्धि भइरहेको छ ।
उइगुर समुदायको जनसङ्ख्या वृद्धि सिन्जियाङको कुल जनसङ्ख्या वृद्धिभन्दा उँचोमात्र छैन, बरु सबै आदिवासी अल्पसङ्ख्यक समुदायको तुलनामा पनि उनीहरूको वृद्धि दर बढी नै छ । सिन्जियाङको समग्र जनसङ्ख्या वृद्धि दरभन्दा उइगुर समुदायको वृद्धि दर १३.९९ प्रतिशतले बढी छ भने सो क्षेत्रका अन्य अल्पसङ्ख्यक समुदायको तुलनामा २२.१४ प्रतिशतले वृद्धि दर बढी छ । चिनियाँ हानको तुलनामा समेत उनीहरूको वृद्धिदर २ प्रतिशतले बढी छ ।
संरा अमेरिकाका पूर्व विदेश सचिव माइक पम्पेओसहित पश्चिमा देशका केही राजनीतिक नेताहरूले भ्रमको खेती गरिरहेको भन्दै पाकिस्तानी संसदीय समितिका सभापतिले त्यस्ता अभिव्यक्तिहरू चीनबारे गलत सूचना प्रवाह गर्न राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित भएको बताए ।
पम्पेओले सिन्जियाङमा ‘नरसंहार’ र ‘मानवताविरोधी अपराध’ गरेको भन्ने आरोप राजनीतिक हिसाबकिताबसहितको भएको र विशेषतः संरा अमेरिकाका अति दक्षिणपन्थी युद्धपिपासुहरूलाई खुसी पार्न त्यस्तो अभिव्यक्ति आएको उहाँले बताउनुभयो ।
साइडले केही पश्चिमा राजनीतिक नेताहरूले चीनलाई नयाँ शत्रुको रूपमा चित्रण गर्दै सम्भव सबै उपाय प्रयोग गरी चीनलाई राक्षसीकरण, विभाजन र अस्थिरता मच्चाउन खोजिरहेको बताउनुभयो । त्यसको निम्ति उनीहरूले झूटा समाचार प्रचार गर्ने, झूटा बोल्ने र राक्षसीकरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
“चीनको बद्ख्वाइँ गर्नु र आन्तरिक मामिलामा हस्तक्षेप गर्नु खतरनाक काम हो । यसले जोखिम बढाउनेछ । अनि नयाँ शीतयुद्धको सम्भावना बढाउन सक्छ”, साइडले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *