भर्खरै :

नारायणी किनारामा पुस्तक प्रदर्शनी

नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा चितवन जिल्लामा पनि पुस्तक र पत्रपत्रिकाको अध्ययन गोष्ठी, अन्तरक्रिया, पुस्तक प्रदर्शनीलगायत विभिन्न रचनात्मक कार्यक्रमहरू पार्टी र जनवर्गीय सङ्गठनहरूले गर्दै आइरहेका छन् ।
त्यसै क्रममा माघ २१ गते बुधबार नारायणगढस्थित सहिद चोकमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पुस्तक प्रदर्शनी सम्पन्न भयो । कार्यक्रममा विभिन्न समुदायका मानिसहरूले पार्टी प्रकाशित पुस्तकहरू, पत्रपत्रिका, प्रत्यक्ष भेटघाटमार्फत पार्टीलाई चिन्ने बुझ्ने मोका पाए । नारायणगढको व्यस्त सहरमा भएको पुस्तक प्रदर्शनीमा मजदुर, व्यापारी, बुद्धिजीवी, युवा, विद्यार्थीलगायतले नजिकबाट नियालेका थिए ।
२०६२ सालदेखि नारायणगढमा जुत्ता चप्पल बेच्ने र सिलाउने काम गर्दै आएका बारा जिल्लाका वृजकिशोर चमारले सो पुस्तक प्रदर्शनीमा अल्मलिनुभयो । कक्षा ८ सम्म औपचारिक शिक्षा भएका उहाँले देशको राजनीतिक परिवेश अस्तव्यस्त भइरहँदा अस्थिर राजनैतिक अवस्था र परिस्थितिलाई बुझ्न आफ्नो काम छोडेर महत्वपूर्ण समय पुस्तक प्रदर्शनीमा दिनुभयो । नेमकिपाबारे बुझ्न चार पाँच वटा पुस्तक र ‘मजदुर’–‘श्रमिक’ पत्रिकाहरू लिनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय, देशको राजनैतिक इतिहास र समसामयिक अवस्थाको विषयमा जनतालाई सिकाउन र बुझाउन नेमकिपाले गरेको पुस्तक प्रदर्शनी सराहनीय रहेको चमारको बुझाइ थियो । उहाँ भन्नुहुन्छ, “मानिस जुनसुकै क्षेत्रमा रहे तापनि राजनीति र देशको अवस्थाको बारेमा बुझिराख्नुपर्छ । भोलि देश दुर्घटनामा जान लाग्दा वा पर्दा विरोध गर्न, नेताहरूलाई खबरदारी गर्न हामी जानकार भइरहनुपर्दछ ।”
देश हितविपरीत भएको सन्धि सम्झौताका विषयमा पनि अध्ययन गर्न, बुझ्न उहाँ उत्सुक हुनुहुन्थ्यो । सुगौली सन्धिबाट प्रत्यक्षरूपमा कमजोर भएको देश कोसी सम्झौता, गण्डकलगायतका ठूलठूला नदी नालाहरूको भारतसँग भएको सन्धि सम्झौताले देशले ठूलो क्षति भोग्नुपरेको चमारको विचार थियो । बिप्पा सम्झौता, एमसीसी परियोजनाजस्ता विषयमा पनि उहाँले बुझ्ने इच्छा गर्नुभएको थियो । नेपालको राज्य पुनःसंरचनामा नेमकिपाको धारणाबारेको पुस्तक आफ्नो हातबाट देखाउँदै माओवादीले जात, भाषा र क्षेत्रको आधारमा गलत सङ्घीय संरचनाको अवधारणा ल्याउँदा विगतमा देशले भोग्नुपरेको राजनैतिक दुर्गतिको घटना वृज किशोर चमारले सम्झनुभयो । राज्य पुनःसंरचनामा नेमकिपाको विचार के रहेछ भनी बुझ्नको लागि पुस्तक लिएको उहाँले जानकारी गराउनुभयो ।
भरतपुरका उत्सव पौडेलले नेमकिपाको पुस्तक प्रदर्शनीले माक्र्सवादलाई बुझ्न थप सहयोग मिलेको विचार राख्नुभयो ।
प्रदर्शनीमा उपस्थित नवलपुर चोरमाराका रोशन पौडेलले युवाहरू माक्र्सवादी हुनुपर्दछ भन्नुभयो । कम्युनिस्ट भन्ने पार्टीका विद्यार्थी सङ्गठनहरूमा लागियो तर नाममात्रैको कम्युनिस्ट हुँदा तिनीहरूको व्यवहारले वाक्क र दिक्क भएको उहाँको कुरा थियो । माक्र्सवादी सिद्धान्तलाई व्यापकरूपमा फैलाउनुपर्ने पौडेलको बुझाइ थियो ।
कम्युनिस्टको बदनाम गर्न नामधारी कम्युनिस्टहरू जति क्रियाशील भए तापनि सचेत जनता आदर्शाेन्मुख समाजतर्फ नै अघि बढ्न चाहेको कुरा पुस्तक प्रदर्शनीमा अवलोकनकर्ताहरूबाट बुझ्न सकिन्थ्यो । माक्र्स, एङ्गेल्स, लेनिनलगायत कम्युनिस्ट नेताहरूका जीवन सङ्घर्षका पुस्तकहरूको माग र आवश्यकता बढ्दै गएको कुरा सो पुस्तक प्रदर्शनीबाट थापा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *