भर्खरै :

कोरोना भाइरस कुनै जीवबाट अर्काे वाहकमार्फत मानिसमा सङ्क्रमण

उहान, ९ फेब्रुअरी । नोबेल कोरोना भाइरसको जैविक अनुक्रम (भाइरल सिक्वेन्स) ले त्यो भाइरस कुनै जीवमा पाइने जीवाणुबाट सङ्क्रमण भएको देखिए पनि अझै त्यसको मूल स्रोत (जीव) कुन हो पत्ता लाग्न नसकेको कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न बनेको चीन–विश्व स्वास्थ्य सङ्गठनको संयुक्त टोलीका चिनियाँ नेता लिआङ वान्नियनले बताएका छन् ।
चीनका १७ र विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट विभिन्न दस देशका १७ जना विज्ञहरू सम्मिलित चीन–विश्व स्वास्थ्य सङ्गठनको टोलीले कोरोना भाइरसको उत्पत्तिबारे चीनतर्फको अध्ययन सकाएपछि लिआङले सञ्चारमाध्यमहरूसामु त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
भाइरल सिक्वेन्सबाट चमेरो र सालकले मात्र कोरोना भाइरसको प्रत्यक्ष उत्पत्तिको स्रोत पत्ता लगाउन नपुग्ने देखाएको लिआङले भने ।
भाइरस सुरुमा कुनै पशुबाट अर्को बीचको वाहकमा अनि मात्र मानवमा
विश्व स्वास्थ्य सङ्गठनका विज्ञमध्ये एक पिटर बेन इम्बाराकले आफ्नो टोली उहानमा दुई वटा लक्ष्यसहित आएको बताए । “पहिलो, सन् २०१९ को डिसेम्बरमा उहानमा फैलिएको कोरोना भाइरसको महामारीको सुरुवातबारे सही बुझाइ बनाउन र अर्को कारण भनेको कसरी भाइरसको उत्पत्ति भयो र मानिस सङ्क्रमित भयो भनी बुझ्न हो”, उनले भने ।
इम्बाराकले उहानमा महामारीअघिको दाँजोमा महामारीका सुरुको समयमा कुनै चामत्कारिक परिवर्तन नभएको बताए । तर, विज्ञहरूले अहिलेको अध्ययनले सुरुको अवस्थाबारे आफ्नो बुझाइ अझ स्पष्ट बनाएको बताए ।
विज्ञ इम्बाराकले चीन–विश्व स्वास्थ्य सङ्गठन संयुक्त टोलीले भाइरस कसरी मानिसमा सङ्क्रमित भयो भन्ने विषयमा सम्भावित चार वटा मार्गबारे वैज्ञानिक अध्ययन गरेको बताए । पहिलो सम्भावना, भाइरस सीधै कुनै पशुबाट मानिसमा सङ्क्रमण भएको हुनसक्छ । दोस्रो सम्भावना, भाइरस कुनै पशुबाट अर्को कुनै बीचको बाहकमार्फत मानिसमा सरेको हुनसक्छ । तेस्रो सम्भावना, भाइरस रुघाको क्रममा सरेको हुनसक्छ र चौथो सम्भावना भनेको कुनै प्रयोगशालाबाट चुहिएको पनि हुनसक्छ ।
तर, उहानको अध्ययनले भाइरस कुनै पशुबाट बीचको कुनै बाहकमार्फत मानिसमा सरेको हुने सम्भावनालाई प्रबल देखाएको छ ।
“सीधै पशुबाट मानिसमा सरेको पनि हुनसक्छ अथवा रुघाको क्रममा सङ्क्रमण भएको हुने सम्भावना पनि छ”, विश्व स्वास्थ्य सङ्गठनका विज्ञले भने । तर, उनले नोबेल कोरोना भाइरस कुनै प्रयोगशालामा बनेको हुनसक्ने सम्भावनालाई भने अस्वीकार गरेका छन् । उनको भनाइमा त्यसो हुनसक्दैन र त्यस्ता परिकल्पनाले भविष्यमा पनि भाइरसको जड पत्ता लगाउन सम्भावना नहुने बताए ।
इम्बाराकले संसारभरका देशलाई सम्बन्धित भाइरसको आणुवंशिक अनुक्रमलगायत भाइरसबारे जानकारी सार्वजनिक गर्न, सबभन्दा बढी प्रभावित बनाएको भाइरसबारे गहिराइमा अध्ययन गर्न र संसारभर महामारीका सुरुवाती दिनका रगतको नमुना परीक्षण गर्न आह्वान गरे । उनले वैज्ञानिकहरूले चीनको मात्र नभई अन्य देशका चमेराको पनि नमुना सङ्कलन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *